टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

२६ माघ, काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गरेका छन् । उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गरेका छन् । उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

तर टर्कीको मुख्य विपक्षी पार्टीका नेताले त्यसप्रति असहमति जनाएका छन् । उनले यति धेरै क्षतिको जिम्मेवार राष्ट्रपति एर्दोआन नै भएको आरोप लगाएका छन् । राष्ट्रपति एर्दोआनले भने आरोप खण्डन गर्दै भनेका छन्, ‘यो एकजुट हुने समय हो । यस्तो स्थितिमा राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउनेलाई म सहन सक्दिनँ ।’

 

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

टर्कीमा विनाशकारी भूकम्पको भयानक असर, साढे ३ मिटर सर्‍यो जमिन

                   भूकम्पले जमिन सर्दा टुटेको सडक 

 

काठमाडौं । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पका कारण त्यहाँको भौगोलिक अवस्थिति नै बदलिएको छ ।भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

सोमबार टर्कीमा गएको ७.८ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पको झट्काले गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । टर्कीको भौगर्भिक अवस्थिति उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमा छ । यो मुलुक एनाटोलियन प्लेट, अरेबियन प्लेट र युरेसियन प्लेटको सीमाक्षेत्रस्थित फल्टलाइनमा पर्दछ । जसका कारण यहाँ भूकम्पीय गतिविधि तिव्र रहेको छ ।

 

वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ । इटालियन भूकम्पविद डाक्टर कार्लो डोग्लियोनिका अनुसार सिरियाको तुलनामा टर्कीको जमिन ५‍.६ मिटरसम्म सरेको हुनसक्छ । यद्यपि यो प्रारम्भिक डेटा भएको हुनाले आगामी दिनमा प्राप्त गरिने स्याटेलाइट डाटाहरुबाट यसको एकिन जानकारी प्राप्त गर्न सकिनेछ ।

डरहाम विश्वविद्यालयका भूगर्भशास्त्रका प्राध्यापक डाक्टर बब होल्डस्वर्थका अनुसार भूकम्पको तिव्रता अनुसार अहिले भएको टेक्टोनिक प्लेटको स्थानान्तरण स्वभाविक हो । उनका अनुसार ठूला भूकम्पमा टेक्टोनिक प्लेट स्थानान्तरण हुने र त्यसबाट कुनै ठाउँको जमिनको अवस्थिति सर्ने कुरा अनुमानयोग्य तथा पुष्टि भएको कुरा हो । उनका अनुसार ६.५ देखि ६.९ रेक्टर स्केलसम्मको भूकम्पमा १ मिटरसम्म जमिन सर्न सक्दछ । जबकि सबैभन्दा ठूलो भूकम्पमा टेक्टोनिक प्लेट १० देखि १५ मिटरसम्मले पनि सर्न सक्छ ।

टर्कीमा भएको टेक्नोनिक प्लेटको स्थानान्तरण तेर्सो स्थानान्तरण रहेको र यसमा ३ देखि ६ मिटरसम्म सर्नु सामान्य रहेको उनको भनाइ छ । यस्तो प्रकारको तेर्सो स्थानान्तरणले सतहमा रहेका तथा भूमिगत भौतिक संरचनाहरुमा व्यापक क्षति हुने पनि उनले बताए ।

भूकम्पले जमिन सर्दा बाङ्गिएको लिक

जब दुईवटा एक अर्काको विपरीत दिशामा घुसिरहेका टेक्टोनिक प्लेटहरु जोडिन्छन् र एक्कासी चिप्लिन्छन् तब निकै ठूलो दबाब बाहिर निस्किन्छ, जसका कारण विनाशकारी भूइँचालो जान्छ । पृथ्वीको सबैभन्दा माथिल्लो पत्र अर्थात् क्रस्ट र मध्य पत्र अर्थात् म्यान्टलको उपल्लो भागबाट टेक्टोनिक प्लेट बनेको हुन्छ । भुइँचालोपछि एउटा प्लेट अर्को प्लेटको तल वा माथि खप्टिन पुग्दछ ।

प्रायः ठूला भुइँचालोहरु यस्ता टेक्टोनिक प्लेट जोडिने सिमाक्षेत्र अर्थात् फल्टलाइनमा जाने गर्दछन् । टर्की पनि यस्तै तीनवटा टेक्टोनिक प्लेट जोडिने ठाउँमा अवस्थित भएकाले उच्च भूकम्पीय जोखिममा पर्दछ ।यसअघि टर्कीमा पटकपटक विनाशकारी भूकम्पन जाने गरेको छ । पछिल्लोपटक सन् १९९९ मा गएको ७.६ म्याग्निच्युडको भूकम्पमा १७ हजार ११८ जनाको मृत्यु भएको थियो । त्यहाँ हालसम्मकै सबैभन्दा विनाशकारी भुइँचालो १९३९ मा गएको थियो ।

७.८ म्याग्निच्युडको सो भुइँचालोमा परी ३२ हजार ७ सय जनाले ज्यान गुमाएका थिए ।सोमबार टर्कीमा गएको ७.८ म्याग्निच्युडको पहिलो भूकम्पको उद्गम जमिनभन्दा १८ मिटर गहिराइमा थियो भने त्यसको ९ घण्टापछि गएको ७.५ म्याग्निच्युडको झट्का १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो ।

भूकम्पबाट टर्की र सिरियामा गरी ५१ सय भन्दा धेरैको ज्यान गैसकेको छ भने हजारौँ घाइते भएका छन् । मूख्य झट्कापछि त्यहाँ परकम्पनहरु जाने क्रम चलिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सो भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या २० हजार पुग्न सक्दछ भने साढे २ करोड मानिस प्रभावित भएका छन् ।

– डेलीमेलको सहयोगमा

टर्कीमा फेरि शक्तिशाली परकम्प, मृतकको संख्या ४३ सय नाघ्यो

टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

 

भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म ४ हजार ३ सय जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको जानकारी आएको बताएका छन् ।

 

सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । उद्धारकर्ताहरुले भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार गरिरहेका छन् ।