इस्मत चुग़ताई र उनकाे ‘लिहाफ़’ कथाकाे चर्चा

इस्मत चुग़ताई उर्दु साहित्यका एक महान् साहित्यकार हुन्। उनलाई उर्दु साहित्यका चार प्रमुख आधारस्तम्भमध्ये एक मानिन्छ। इस्मत चुग़ताईलाई ‘उर्दू कथाहरूका फर्स्ट लेडी’ पनि भनिन्छ। इस्मत आफ्नाे समयका एक विद्राेही पनि थिइन्, जसले पितृसत्ता, पुरुषवादी वर्चस्व तथा महिलाहरूमाथि गरिने सबै प्रकारका शाेषण-उत्पीडनहरुका विरुद्ध सदैव विद्राेह गरिन् र महिलाहरुका स्वतन्त्रता, स्वाधीनता, आत्मसम्मान, आत्मनिर्भरता र आफ्नाे जीवन आफुखुशी, आफ्नाे इच्छाअनुसार जिउन पाउने हक अर्थात् आफ्नाे जीवनकाे निर्णय आफै गर्ने आत्मनिर्णयको हक वा अधिकारकाे अविरल वकालत गरिन्।

इस्मत चुग़ताई

इस्मतले आफ्ना साहित्यमार्फत् मध्यमवर्गीय समाजकाे कथित रुढिवादी, पाखण्डी र स्त्रीद्धेषी नैतिकता र अपसँस्कृतिकाे धज्जी उडाइन्, महिलाकाे स्वतन्त्रतालाई संकुचित गर्ने हरेक प्रयत्नकाे प्रतिवाद गरिन्। इस्मतले आफ्ना रचनाहरुमार्फत् महिलाहरुका दबेका-दबाइएका, लुकेका-लुकाइएका र कुल्चेका-कुल्चिइएका इच्छाहरुलाई मुखर रुपमा अभिव्यक्त गरिन्। विशेष गरेर, महिलाहरुका अतृप्त याैनचाहनालाई बिना कुनै लाज, सँकाेच, ग्लानी र पश्चताप्, निर्धक्क रुपमा मुखरित गरिन्। उनले बर्षाैं पहिले महिला स्वधीनता र आत्मनिर्णयकाे एक यस्ताे फराकिलो रेखा काेरिन्, जुन रेखा आजसम्म पनि दक्षिण एसियाली परिप्रेक्ष्यमा मानक बनेकाे छ।

उनले समाज/मान्छेहरुका याैनका ढाकछाेप गरिएका विद्रुप सत्यलाई आफ्ना साहित्यहरुमार्फत् समाजका/सबैका सामु उजागर गरिन्। उनकाे याे दुस्साहस समाज/मान्छेहरुलाई पाच्य भएन। मान्छेहरुले उनलाई अश्लील गालीहरु गरे। उनलाई निर्लज्ज, वेश्या, कुल्टा, पतिता, चरित्रहीन आदि भद्दा सँज्ञाहरूले ‘सुभाेषित’ गरे। उनलाई बलात्कार गर्नेदेखि लिएर हत्या गर्नेसम्मका धम्कीहरू दिए।

उनलाई के चाहिँ भन्न बाँकी राखेनन् र मान्छेहरुले ? तर पनि इस्मत उनीहरूकाे धम्कीबाट कहिल्यै डराइनन्, कहिल्यै विचलित भइनन्। उनी आफ्नाे विचारमा ढृढनिश्चयी भएर लेखिरहिन्। उनीमाथि अश्लील साहित्य लेखेकाे आराेप लाग्याे। अश्लील साहित्य लेखेर समाजमा विकृति फैलाएकाे र सामाजिक मानमर्यादालाई खल्बलाएकाे आराेप लगाउँदै लाहाैर अदालतमा उनीमाथि मुद्दा पनि चलाइयाे। उनले मुद्दा खेपिन् र अदालतमा कानुनी लडाइँ लडिन्, अनि मुद्दा जितेर अदालतबाट ससम्मान रिहा भइन्। यसरी उनकाे आवाज दबाउने काेशिश धेरैले गरे, तर उनी कहिल्यै दबिइनन्। बरु हरेक दबाब र आक्रमणकाे सामना गरिन् र बदलामा आफ्नाे तर्फबाट पनि दह्राे जवाफ फर्काइन्।

इस्मत आफ्नाे युगकाे एक सशक्त महिला प्रतिमूर्ति हुन्। इस्मतकाे व्यक्तित्व आज पनि प्रेरणादायी लाग्छ। इस्मतका विचार र साहित्यहरू आज पनि सान्दर्भिक लाग्छन्। आजमात्र हाेइन, भाेलि पनि सान्दर्भिक लाग्नेछिन् इस्मत। यस्ताे लाग्छ इस्मतकाे सान्दर्भिकता कहिल्यै सकिने छैन। इस्मत एक आँधी हुन्, एक ज्वालामुखी हुन्। एक आन्दोलन, एक विद्राेह, एक प्रतिराेध अनि एक प्रेरणा हुन् इस्मत। इस्मत आफैमा एक ‘मुक़म्मल इंक़लाब’ (पूर्ण क्रान्ति) हुन्। इस्मतजस्ता विद्राेही तेवर भएका क्रान्तिकारी महिला साहित्यकार उर्दु साहित्यमा न त पहिले थियाे, न त पछि नै भयाे। इस्मत त इस्मत नै हुन्। इस्मतजस्ती निडर, निर्भया र साहसी महिला एसियाली साहित्यमा मात्र हाेइन, विश्व साहित्यमै दुर्लभ छन्।

‘लिहाफ़’ काे पाेस्टर

इस्मत चुग़ताईका कथाहरूले समाजकाे यस्ता-यस्ता सत्यहरूकाे उद्घाटन गरेका छन्, जसकाे तिक्तताले आज पनि हाम्राे मनलाई तिताे बनाइदिन्छ। उनकाे तिनै कथाहरूमध्ये एउटा अत्यन्त चर्चित कथा छ, ‘लिहाफ़’। ‘लिहाफ़’ भारत-पाकिस्तान स्वतन्त्रताभन्दा ६ वर्ष पहिले सन् १९४१ मा लाहाैरबाट प्रकाशित हुने उर्दु साहित्यिक पत्रिका ‘अदब-इ-लतीफ़’ मा प्रकाशित भएकाे थियाे। ‘लिहाफ़’ इस्मत चुग़ताईकाे पहिलाे कथा थियाे जसले तत्कालीन रुढिवादी समाजमा एकप्रकारकाे भुइँचालो ल्याइदियाे। ‘लिहाफ़’ बाट नै त हाे, इस्मत रातारात चर्चित भएकी। इस्मत कुख्यात-प्रख्यात जे भइन्, ‘लिहाफ़’ का कारण भइन्। ‘लिहाफ़’ ले उनीमाथि जे छाप लगायाे, त्याे सायद उनले लेखिकाकाे रुपमा बिताएका जीवनकाे सार हाे। ‘लिहाफ़’ लाई लिएर इस्मतमाथि अश्लील साहित्य लेखेकाे आराेप लगाएर लाहाैर अदालतमा मुद्दा पनि हालियाे। इस्मतले मुद्दा खेपिन्, तर अदालतमा उनीमाथि लगाइएका आराेपहरु प्रमाणित हुन सकेनन्। अन्तत: उनी ससम्मान रिहा भइन्। स्वयं इस्मतले ‘लिहाफ़’ कथालाई आफ्नाे करिअरकाे सबैभन्दा ठूलाे ‘ब्लन्डर’ काे संज्ञा दिएकी थिइन्।

‘लिहाफ़’ मा बाल इस्मतकाे भूमिका निभाउने कलाकार अनुष्का सेन

‘लिहाफ़’ फिल्म इस्मत चुग़ताईकाे साेही कथामाथि आधारित छ। कथामा बालिका इस्मत छिन्, जसलाई उनकी आमाले आफ्नाे अनुपस्थितिमा हवेलीमा बेगम जान कहाँ छाेडेर गएकी छिन्। महलमा बस्न पाएर सुरुमा औधी खुशी देखिएकी बालिका इस्मतका खुशीका रङहरु त्यसबेला बिस्तारै उड्दै जान्छन्, जब रातमा उनलाई बेगम जानकाे खाटमा देखा पर्ने लिहाफ़ (सिरक) भित्रकाे कहिले फैलिने त कहिले खुम्चिने हात्तीले मानसिक कष्ट दिन्छ भने दिनमा बेगम जानकाे अस्वभाविक हर्कतहरुले उनकाे हाेश उडाइदिन्छ।

वास्तवमा बेगम जान याैनकाे प्यासी छिन्। उनी याैनबाट बन्चित छिन्। उनकाे शरीरले याैन माँगिरहेकाे छ, जुन कुरा बालिका इस्मतकाे समझभन्दा बाहिर छ। नवाब साहबले बेगम जानलाई निकाह गरेर आफ्नाे हवेलीमा त भित्र्यायाे तर उनलाई याैनसुख दिएन। उनलाई आफ्नाे हवेलीमा अन्य चीजबीजहरु सरह एक कुनामा छाेडिदियाे।

नवाब साहब सधैजसाे युवाहरुलाई प्रशिक्षित गर्नमा व्यस्त हुन्छ। बेगम जानलाई निकाह गरेर ल्याए पनि नवाब साहबकाे उनीप्रति कुनै रुचि हुँदैन। उनलाई बेगम जान, उनकाे इच्छा र भावनाहरुसँग कुनै मतलब हुदैन। नवाब साहबकाे रुचि त आफुले आवासीय सुविधा र छात्रवृत्ति दिएर पढाइरहेका युवाहरुप्रति हुन्छ। उनीहरुसँगै नवाबकाे अधिकाँश समय बित्ने गर्छ।

यता, भर्भराउँदाे उमेरकी नवयाैवना बेगम जान याैनकाे आगाेमा जलिरहेकी हुन्छिन्। फलत: उनी आफ्नी सुसारे, आफुलाई तेल मालिश गरिदिने रब्बाेसँग समलैंगिक सम्बन्ध स्थापित गर्न पुग्छिन्। र यही अनाैपचारिक समलैंगिक प्रेम सम्बन्धमा बेगम जान आफुले आफ्नाे औपचारिक विषमलैंगिक वैवाहिक सम्बन्धमा नपाएकाे प्रेम, आत्मीयता र याैनआनन्द प्राप्त गर्न चाहन्छिन्। बेगम जानकाे लिहाफ़भित्र मच्चिरहेकाे हात्तीकाे याे रहस्य इस्मतले कथाकाे अन्त्यमा गएर थाहा पाउँछिन्। वास्तवमा, याे लिहाफ़भित्र लुकेकाे हात्ती बेगम जानकाे समलैंगिक यौन सम्बन्धलाई अभिव्यक्त गर्न प्रयोग गरिएकाे एउटा रूपक हाे। हाम्राे समाजमा पनि त याैनसम्बन्ध वा समलैंगिक सम्बन्धका बारेमा सीधा कुरा गरिन्दैन। गर्नुपरे यस्तै रूपकहरुका माध्यमबाट साँकेतिक रुपमा गरिन्छ।

‘लिहाफ़’ मा नारीकाे समलैंगिक सम्बन्धलाई चित्रण गरिएकाे छ। यसमा महिलाकाे अतृप्त याैनचाहनालाई देखाइएकाे छ। महिला पनि एक सजीव प्राणी हाे। हरेक सजीव प्राणीलाई जस्तै उनलाई पनि याैनइच्छा हुन्छ र त्याे याैनइच्छा यदि उनले आफ्नाे पति वा पुरुषबाट स्वभाविक ढँगबाट पूर्ति गर्न पाइनन् भने अरु काेहीबाट पूर्ति गर्ने प्रयास गर्न सक्छिन्। त्याे अरु काेही महिला पनि हुन सक्छिन्। महिलाले मानमर्यादा वा नैतिकताकाे सीमाभित्र बसेर पनि पतिबाट प्रेम र याैनसुख नपाएमा मानमर्यादा वा नैतिकताकाे लक्ष्मणरेखा नाघ्न उनलाई कति पनि बेर लाग्दैन। याे सत्यलाई ‘लिहाफ़’ ले उजागर गरेकाे छ। जति नवाब साहब बेगम जानमाथि बाहिरबाट पितृसत्ताका मूल्यमान्यताहरु लाद्छन्, उति नै बेगम जान भित्रभित्रै पितृसत्ताका मूल्यमान्यताहरुलाई ताेड्छिन्।

इस्मत बनेकी तनिष्ठा चटर्जी (माथि) र अनुष्का सेन (मुनि)

‘लिहाफ़’ त्याे समयकाे कथा हाे जुन समयमा बिहेकाे नाममा महिलाहरुकाे शरीरकाे व्यापार हुन्थ्याे। महिलाहरुलाई घरकाे अन्य चीजबीजहरु सरह ठानिन्थ्याे। याे त्याे समय थियाे, जुन समयमा पुरुषहरु आफ्ना लुकेका आदतहरुलाई ढाकछाेप गर्नका लागि विवाह वा निकाहकाे सहारा लिन्थे। उदाहरणका लागि, नवाबकाे रुचि महिलाहरुमा हाेइन, पुरुषहरुमा थियाे। कथामै भनिएकाे छ, ऊ पातलाे कम्मर भएका, कम उमेरका पुरुषहरुका साथमा समय बिताउन मनपराउँथ्याे। यसकाे अर्थ ऊ समलिंगी थियाे। तर समलैंगिक सम्बन्ध तत्कालीन भारतबर्षकाे समाजमा वर्जित भएकाेले उसले आफु समलिंगी भएकाे सत्यलाई ढाकछाेप गर्न र समाजकाे आँखामा छाराे हाल्नका लागि मात्र बेगम जानसँग निकाह गरेकाे थियाे। उसले बेगम जानसँग याैनसम्बन्ध नराख्नुले पनि याे कुरा अझ प्रष्ट हुन्छ।_

बेगम जान लिहाफभित्र लुकेर आफ्नाे याैनइच्छा पूरा गर्छिन्। उनकाे याैनजीवनकाे सत्य लिहाफ़भित्र छाेपिएकाे छ, जसलाई बाहिरबाट हेर्दा देखिन्दैन। बेगम जानकाे याैनजीवनकाे सत्य लिहाफभित्र छाेपिए झै हामी सबैकाे याैन जीवनकाे सत्य पनि लिहाफभित्र छाेपिएकाे छ। समाजले आफ्नाे याैन जीवनकाे सत्यलाई लिहाफले छाेपेर राखेकाे छ र यसलाई हटाउन मनाही गरेकाे छ। लिहाफभित्र गुम्सिएर सत्य निस्सासिइरहेकाे छ। अब सत्यलाई लिहाफदेखि बाहिर निकाल्न जरुरी भइसकेकाे छ। लिहाफ़लाई हटाएर सत्यलाई देखाउन जरुरी भइसकेकाे छ। इस्मतले त्यही गरेकी हुन्। ‘लिहाफ’लाई लिएर इस्मतमाथि मुद्दा चलिरहेकाे बेला फुर्सदमा जजले इस्मतलाई आफ्नाे कार्यकक्षमा बाेलाएर साेधेका थिए, ‘याे कुरा सत्य नै भए पनि के यसलाई यसरी सबैकाे सामु बाहिर ल्याउन जरुरी छ?’ जवाफमा इस्मतले भनेकी थिइन्, ‘बाहिर ल्याएमा नै सबैले देख्छन्, थाहा पाउँछन् र यसलाई सुधार्ने बारेमा विमर्श सुरु हुन्छ।’ इस्मतले ‘लिहाफ’ लेख्नुकाे उद्देश्य सायद यही थियाे।
‘लिहाफ’ सन् १९४१ मा लेखिएकाे थियाे। ‘लिहाफ’मा समलैंगिक सम्बन्धलाई वैधता प्रदान गर्ने काेसिस गरिएकाे थियाे। लिहाफ एक यस्ताे समय र समाजमा लेखिएकाे थियाे, जहाँ पितृसत्ताले बलियाेसँग जरा गाडेकाे थियाे। परिवार र समाजमा पुरुषकाे आधिपत्य थियाे। महिलाहरुमाथि अत्याधिक बन्देज थियाे, उनीहरुलाई केही कुराकाे पनि स्वतन्त्रता थिएन। याैनकाे मामिलामा त परिवार र समाज झनै कठाेर थियाे। महिलाहरूलाई एक पित्काे पनि याैन स्वतन्त्रता थिएन। आफ्नाे गुम्सिएकाे याैनइच्छाकाे बारेमा महिलाहरू कसैलाई बताउन सक्दैनथे। आज पनि हाम्राे परिवार र समाजमा महिलाहरु खुलेर आफ्ना याैनइच्छा प्रकट गर्न सक्दैनन्। याैनकाे बारेमा कुरा गर्न आज पनि मनाही छ हाम्राे परिवार र समाजमा। आज पनि याैनलाई लुकाउनुपर्ने बिषय मानिन्छ। आज पनि हाम्राे परिवारमा याैनका बारेमा खुलेर चर्चा हुदैन/गर्न सकिन्दैन, याैन समस्याहरुका बारेमा खुलेर छलफल गर्न सकिन्दैन। आज पनि याैनकाे कुरा गर्नुलाई घृणित, अश्लील र पाप मानिन्छ भने सम्झिनुहाेस् त्यसबेलाकाे समाजमा झन् कस्ताे अवस्था थियाे हाेला?

त्यस्ताे समाजमा बसेर इस्मत चुगताईले महिलाहरुकाे याैन इच्छा र आवश्यकताबारे लेख्ने साहस गरिन्। महिलाहरुकाे याैन स्वतन्त्रता वा याैन अधिकारका बारेमा लेख्ने साहस गरिन्। उनले बिना हिच्किचाहट नारीहरुकाे गुम्सिएर रहेकाे याैनइच्छालाई मुखरित गरिन्। याे ठूलाे कुरा थियाे। याैन, अझ त्यसमाथि पनि समलैंगिक सम्बन्ध झन् कति घृणित र प्रतिबन्धित बिषय थियाे हाेला त्यसबेला? हाम्राे समाजका बहुसंख्यक मान्छेहरु आज पनि समलैंगिक सम्बन्धलाई स्वीकार्न तयार छैनन्। आज पनि समाजकाे मूलधार समलैंगिक सम्बन्धलाई अप्राकृतिक, अन‌ैतिक र विकृत याैनकुण्ठाले जन्माएकाे अश्लील हर्कत मान्छ भने साेच्नुहाेस्, त्यसबेलाकाे समाजका मान्छेहरु यस्ताे सम्बन्धलाई झन् कति घृणाले हेर्थे हाेला?

त्यस्ताे अफ्ठ्याराे समयमा इस्मतले समलैंगिक सम्बन्धकाे बारेमा लेख्ने साहस गरिन्। ‘हाम्राे समाजमा यस्ताे सम्बन्ध पनि अस्तित्वमा छ है’ भनेर दुनियाँलाई सुनाइन्। जुन सत्यलाई समाज लिहाफभित्र लुकाइराख्न चाहन्थ्याे, त्याे सत्यलाई उनले लिहाफ हटाएर सबैकाे सामुन्ने प्रकट गरिदिइन्। जुन सत्यतर्फ हेर्न समाज र मान्छेहरु चाहन्दैनथे, त्यही सत्यलाई उनले आफ्नो साहित्यकाे ऐनामा समाज र मान्छेहरुलाई देखाइन्। इस्मतभन्दा पहिलेका महिला साहित्यकारहरुले यस्ता विषयहरुमाथि लेखेका थिएनन्। उनीहरु यस्ता लुकाइएका-दबाइएका याैनका विषयहरुमाथि लेख्ने बारेमा साेच्न पनि सक्दैनथे। तर इस्मतमा यति ऊर्जा, साहस, शक्ति र सामर्थ्य थियाे कि पितृसत्ताद्वारा खडा गरिएका बन्देजहरुलाई भेदेर महिलाकाे यौनिकता जस्ताे अछूत विषयमाथि लेख्न सकुन् र समाज र मान्छेहरुकाे वैचारिक-साँस्कृतिक जगलाई हल्लाइदिन सकुन् र उनले त्यही गरिन्। याे महत्त्वपूर्ण कुरा हाे। त्यसैले, इस्मत चुग़ताई हिन्दी तथा उर्दू साहित्यमा समलैंगिक सम्बन्धलाई उजागर गर्ने पहिलाे महिला साहित्यकार हुन्।

‘लिहाफ’ले महिलाकाे गुम्सिएर रहेकाे अतृप्त या‌ैनइच्छाकाे मात्र कुरा गर्दैन, पितृसत्ताले कसरी महिलाहरुकाे याैन इच्छालाई दबाएर राख्छ, यस कुरालाई पनि देखाउँछ। बेगम जानले पतिबाट याैनसुख पाउँदिनन्, तर उनलाई अरु कुनै पुरुषबाट याैनसुख लिन पनि दिइन्दैन। उनलाई नियन्त्रण गरेर राखिन्छ। उनी आफुखुशी बाहिर जान सक्दिनन्, उनी कसैसँग भेट गर्न र बाेल्न सक्दिनन्। यहाँसम्म कि आफ्नाे परिवारका सदस्यहरुसँग भेट गर्न र बाेल्न पनि उनले नवाब साहबकाे अनुमति लिनुपर्छ। याैन इच्छा वा अपूर्णताकाे बारेमा कुरा गर्नु त परै छाेडिदिऊ। यसले तत्कालीन समाजमा पितृसत्ताले महिलाहरुमाथि गर्ने कठाेर नियन्त्रणलाई देखाउँछ।

समाजमा कहीं कतै महिलाकाे याैन विचलनकाे घटना घटे हामी मान्छेहरुले अक्सर भनेकाे सुन्छाैं, ‘खानदानी घरकी बुहारी थिइन्, धनीकी पत्नी थिइन्। धनसम्पत्ति, ऐश-ओ-आराम, नाेकरचाकर सबै थिए। सारा सुखिसविधाहरु, सम्पत्ति उनकाे लाेग्नेले उनलाई दिएका थिए। फेरि पनि किन उनले त्यस्ताे कुकर्म गरिन्? किन गतिछाडिन्? के नपुग्दाे थियाे र उनलाई?’

यसाे भन्ने मान्छेहरुले महिलालाई हाडमासुकाे पुतलामात्र ठानिरहेका हुन्छन्। तिनीहरु याे सत्यलाई बिर्सिरहेका हुन्छन् कि, ‘महिला भनेकाे हाडमासुकाे पुतला हाेइन, उनी एक सजीव प्राणी हुन्। एक स्वतन्त्र अस्तित्व हुन् महिला। उनका पनि आवश्यकता र इच्छाआकाँक्षा हुन्छन् जसमा शारीरिक आवश्यकता वा याैनइच्छा पनि पर्छ। हरेक सजीव प्राणीलाई झै उनमा पनि याैनकाे तृष्णा हुन्छ। तर परिवार र समाजले उनकाे त्याे आवश्यकता र इच्छालाई बुझ्दैनन्, उनकाे याैनकाे तृष्णालाई बुझ्दैनन्। उनकाे समस्यालाई अनदेखा गर्छन् वा त्यसप्रति एकलकाँटे दृष्टिकोण राख्छन्। अनि, समस्या त्यहीँबाट शुरु हुन्छ।

त्यसबेलाकाे संकीर्ण पितृसत्तात्मक समाजमा ‘लिहाफ़’ जस्ताे कथा लेख्नु आफैमा एउटा क्रान्तिकारी कदम थियाे जसले त्यसबेलाका इज्जतदार र पढालेखा बाैद्धिक तप्काकाे मूल्यमान्यतालाई नराम्ररी हल्लाइदियाे, उनीहरुकाे मनमस्तिष्कलाई मज्जाले झक्झकाइदियाे। उनीहरुकाे मानसिकताकाे धरातलमा भुईचालाे ल्याइदियाे।

‘लिहाफ’ वास्तवमा तत्कालीन स्त्रीद्धेषी, संकीर्ण र परम्परावादी पितृसत्तात्मक समाज र पितृसत्तावादीहरुकाे गालामा प्रहार गरिएकाे एक यस्ताे जाेडदार झापड थियाे जसकाे मारले समाजकाे इज्जतदार बाैद्धिक तप्का यतिसाह्राे तिलमिलायाे कि उनीहरुले इस्मतलाई लाहाैरकाे उच्च अदालतमा घसिटे। इस्मतलाई बलात्कार गर्ने देखि लिएर ज्यान मार्नेसम्मका धम्कीहरु दिइयाे।

तर इस्मत लरतराे आँटले बनेकी नारी थिइनन्। इस्पात जत्तिकै बलियाे आत्मबल बाेकेकी इस्मतले ती ट्राेलहरुकाे खुलेर सामना गरिन्, निडरतापूर्वक आफ्नाे पक्ष अदालतकाे सामुन्ने राखिन् र मुद्दा पनि जितिन्। इस्मतकाे याे निडर व्यक्तित्वकाे चित्रण पनि यस फिल्ममा गरिएकाे छ।

यस फिल्ममा इस्मतकाे एउटा दृष्य छ, जसमा आफुलाई अश्लील साहित्य लेखेकाेमा झपार्ने असलम नामक उनकाे दाईकाे साथीलाई इस्मत भन्छिन्,

‘यदि मेराे कथा फाेहाेर हाे भने तपाईं आफ्नाे कथाकाे बारेमा के भन्नुहुन्छ, ‘गुनाह का रात’ जसमा तपाईले सेक्सलाई बखूबी सम्झाउनुभएकाे छ? त्यसाे भए त्याे पनि अश्लील हाे।’

असलम भन्छ, ‘मेराे कुरा अलग हाे। म पुरुष (मर्द) हुँ।’

इस्मत भन्छिन्, ‘त यसमा मेराे के दाेष?’

असलम:- ‘के आशय हाे तिम्राे?’

इस्मत:- ‘आशय याे हाे कि अल्लाहले हामीलाई स्त्री र तपाईँलाई पुरुष बनायाे त यसमा मेराे त केही गलती छैन। र तपाईंलाई पनि समस्या हुनुहुदैन। तपाईं जे मन लाग्छ लेख्नुहाेस्। तर तपाईंलाई कुनै अधिकार छैन कि मलाई केही लेख्नबाट राेकटाेक गर्नुहाेस्।’

असलम:- ‘याे नभुल इस्मत ! तिमी एक मुस्लिम घरानाकी पढेलेखेकी स्त्री हाै।’

इस्मत:- ‘तपाईं पनि याे नभुल्नुहाेस् कि तपाईं पनि एक मुस्लिम घरानाकाे पढेलेखेकाे पुरुष हुनुहुन्छ।’

असलम भन्छ, ‘त्यसाे भए तिमी पुरुषहरुसँग बराबरी गर्न चाहन्छ्याै?’

जवाफमा इस्मत भन्छिन्, ‘पटक्कै हाेइन। म त सधै उनीहरुभन्दा अगाडि थिए। बाल्यकालमा कक्षामा उनीहरुभन्दा बढी अंक ल्याउँथे।’

इस्मतकाे याे लडाइँमा उनकाे एकजना यस्ताे अनन्य मित्र पनि उनकाे साथमा थिए जसले इस्मतलाई संघर्षकाे माेर्चामा, अग्रपंक्तिमा उभिएर सदैव साथ दिए। हाेइन, हाेइन, साथ हाेइन, उनी स्वयं याे लडाइँमा सहभागी थिए। याे इस्मतसँगै उनकाे पनि लडाइँ थियाे। याे वास्तवमा उनकाे र इस्मतकाे साझा लडाइँ थियाे, उनी थिए, ‘सआदत हसन मंटाे’।

सआदत हसन मंटाे र इस्मत चुग़ताई आत्मीय मित्र थिए। दुवै ‘प्रगतिशील लेखक संघ’ का सदस्य थिए। उनीहरु एकअर्कासँग राम्राेसँग परिचित थिए। उनीहरु एकअर्काकाे मनका कुरा बुझ्थे। उनीहरु दुवैले एकै खाले साहित्य लेखे किनभने उनीहरुकाे विचार र स्वभाव आपसमा मिल्थ्याे। यस तथ्यतर्फ इंगित गर्दै मंटाेले एकपटक भनेका थिए, ‘यदि उनी स्त्री हुन्थे भने इस्मत हुन्थे र इस्मत पुरुष हुन्थिन् भने मंटाे हुन्थिन्।’

सआदत हसन मंटाे र इस्मत चुग्ताईले एकै किसिमका साहित्यहरु लेखे। एकै किसिमका असहजता, अफ्ठ्यारा, आक्रमण, अपमान र आक्राेशहरु झेले। जुनबेला इस्मतमाथि लाहाैर उच्च अदालतमा उनकाे कथा ‘लिहाफ’लाई लिएर अश्लील साहित्य लेखेकाे आराेपमा मुद्दा चलाइन्दैथ्याे, ठीक त्यसबेला मंटाेमाथि पनि उनीद्वारा लिखित ‘बू’ कथालाई लिएर साेही आराेपमा, साेही अदालतमा मुद्दा चलाइन्दै थियाे।

इस्मत चुग़्ताई र मंटाे (वास्तविक तस्वीर)

उनीहरु दुवैले अदालतमा सँगै तारिख खेपे, सँगै कठघरामा उभिए। सँगै मुद्दा लडे र सन् १९४५ मा सँगै ससम्मान रिहा भए। उनीहरुका विचार र व्यवहारहरु आपसमा दुरुस्तै मिल्थे। उनीहरु एकअर्कालाई भित्रैदेखि राम्ररी चिन्थे। एकअर्काका अन्तर्मनका कुरा बुझ्थे। इस्मत र मंटाेबीचकाे याे सुन्दर मित्रताकाे सुन्दर चित्रण पनि यस फिल्ममा गरिएकाे छ।

याे फिल्म दुई समानान्तर ट्रयाकमा हिँड्छ। एउटा ट्रयाकमा फिल्म इस्मत चुग़ताईकाे जीवन कथालाई देखाउँदै जान्छ भने त्यसकाे समानान्तर अर्काे ट्रयाकमा इस्मतद्वारा लिखित ‘लिहाफ़’ कथालाई पनि देखाउँदै जान्छ।

इस्मत चुग़्ताई बनेकी तनिष्ठा चटर्जी (बीचमा)

‘लिहाफ’मा इस्मत चुग़ताईले सुत्रधार र पात्र दुवैकाे भूमिका निर्वाह गरेकी छिन्। यस फिल्ममा तनिश्था चटर्जीले इस्मत चुगताईकाे चरित्रमा प्राण भरेकी छिन्। उनलाई हेरिरहन्दा यस्ताे लाग्छ कि हामी पर्दामा साक्षात् इस्मत चुगताईलाई नै हेरिरहेका छाैं। २ घण्टाभन्दा पनि कम अवधिमा याे फिल्मले ‘लिहाफ’ कथा र इस्मत चुगताईकाे व्यक्तित्व एवं तत्कालीन समयमा उनले गर्नुपरेकाे जद्दाेजहदलाई मज्जाले बुझाउँछ। फिल्ममा मंटाेकाे चरित्रमा शोएब निकश शाहले उनलाई राम्राे साथ दिएका छन्। राहत काजमी (जाे यस फिल्मका निर्दैशक पनि हुन्) ले फिल्ममा इस्मत चुगताईका पति शाहिद लतीफ़काे भूमिका निभाएका छन्। साथै उनले ‘लिहाफ’ कथालाई पर्दामा कुशलतापूर्वक उतारेका छन्। उनले ‘लिहाफ’काे मूल मर्मलाई मर्न दिएका छैनन्।

याे फिल्मले ‘लिहाफ’ कथाकाे महत्वलाई एकपटक फेरि उजागर गरेकाे छ। ‘लिहाफ’ यसकारण पनि महत्वपूर्ण छ कि यस कथामा इस्मत चुगताईले उठाएका समलैंगिक सम्बन्धकाे मुद्दाले सत्तरी वर्षपछि गएर भारतमा कानुनी मान्यता प्राप्त गर्‍याे।

‘लिहाफ’ फिल्म लिहाफ कथा वा ईस्मत चुगताईकाे जीवनीकाे चित्रणमात्र हाेइन, तत्कालीन परिस्थितिकाे एक जीवन्त दृष्यरुपी दस्तावेज पनि हाे। याे अथेन्टिक छ, रियलिस्टिक छ, इन्टेन्स छ र उत्कृष्ट छ।

आज इस्मत चुगताईकाे जन्मदिनकाे अवसरमा याे जीवन्त र जबर्दस्त फिल्मलाई हेर्नुहाेस्।

धम्की र मृत्युको आतंकमा बाँचेका लेखक सलमान रुस्दीको कथा

भारतमा जन्मिएका बेलायती उपन्यासकार सलमान रुस्दीमाथि न्यूयोर्कमा एक कार्यक्रमका क्रममा छुरा प्रहार भएको छ । रुस्दी गम्भीर घाइते भएका छन् र उनको शल्यक्रिया गरिएको छ । भेन्टिलेटरमा उपचाररत उनको स्वास्थ्य अवस्था नाजुक छ भने एउटा आँखा गुम्ने खतरा रहेको छ । पटकपटकको चक्कु प्रहारबाट उनको फोक्सोमा क्षति पुगेको छ ।

पाँच दशकदेखि साहित्यको क्षेत्रमा सक्रिय रुस्दीले आफ्नो कामको लागि धम्की र मृत्युको चेतावनीको सामना गर्नुपरेको थियो । ७५ वर्षीय सलमान रुस्दीका धेरै पुस्तकहरु निकै लोकप्रिय छन् । जसमा सन् १९८९ मा बुकर अवार्ड प्राप्त गरेको उनको दोस्रो पुस्तक ‘मिडनाइट चिल्ड्रेन’ समावेश छ ।

तर सन् १९८८ मा आएको उनको चौथो उपन्यास सबैभन्दा विवादास्पद कृति हो । उक्त उपन्यासलाई लिएर विश्वभर असाधारण हंगामा भएको थियो । सलमान रुस्दीलाई ज्यान मार्ने धम्की दिइएको थियो । आफ्नो ज्यान जोगाउन उनलाई लुकेर बस्नुपरेको थियो । बेलायती सरकारले सलमान रुस्दीलाई प्रहरी सुरक्षाको व्यवस्था पनि गरेको थियो ।

सलमान रुस्दीको यो उपन्यासले मुस्लिमहरूलाई चोट पुर्‍यायो। अवस्था यस्तो बन्यो कि इरान र बेलायतले कूटनीतिक सम्बन्ध समेत तोडेका थिए । यद्यपि सलमान रुस्दीलाई पश्चिमा मुलुकबाट समर्थन मिलिरहेको थियो । मुस्लिम कट्टरपन्थीहरूले लेखक रुस्दीलाई दिइएको धम्कीको पश्चिमा बुद्धिजीवी र साहित्यकारहरूले आलोचना गरे।

हत्याको फतवा

(सन् १९८८ मा द सैटानिक भर्सेस प्रकाशित भएपछि सलमान रुस्दीलाई ज्यान मार्ने धम्की आउन थाल्यो ।)

पुस्तक प्रकाशनको एक वर्षपछि सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरे।

भारत स्वतन्त्र हुनुभन्दा दुई महिनाअघि मुम्बईमा जन्मिएका सलमान रुस्दीलाई १४ वर्षको उमेरमा अध्ययन गर्न बेलायत पठाइयो । पछि उनले किंग्स कलेज, क्याम्ब्रिजबाट इतिहासमा औपचारिक अध्ययन पूरा गरे ।

उनी बेलायती नागरिक बने र बिस्तारै इस्लामबाट टाढा हुन थाले । उनले केही समय अभिनेताको रूपमा पनि काम गरे । पछि उनी विज्ञापनको क्षेत्रमा आए र कपिराइटरको भूमिकामा काम गरे। यससँगै उनले उपन्यास पनि लेखिरहे ।

उनको पहिलो पुस्तक ‘ग्राइमस’ ले खासै सफलता पाउन सकेन। यद्यपि केही आलोचकहरूले उनको लेखन क्षमतालाई पहिचान गरेका थिए ।

रुस्दीले आफ्नो अर्को पुस्तक ‘मिडनाइट चिल्ड्रेन’ लेख्न पाँच वर्ष लगाए। यसले बुकर पुरस्कार प्राप्त गर्‍यो र पुस्तक विश्वभर लोकप्रिय भयो। उक्त पुस्तक पाँच लाख भन्दा बढी प्रति बिक्री भयो ।

रुस्दीको ‘मिडनाइट चिल्ड्रेन’मा भारतको बारेमा कथा थियो, तर दुई वर्षपछि आएको उनको तेस्रो उपन्यास ‘शेम’ पाकिस्तानको बारेमा थियो। चार वर्षपछि उनले निकारागुआमा आफ्नो यात्राको बारेमा ‘जगुआर स्माइल’ लेखे।

भारतको पहिलो प्रतिबन्ध

‘द सटानिक भर्सेस’ सेप्टेम्बर १९८८ मा प्रकाशित भएको थियो। उक्त किताबले उनको जीवनलाई खतरामा धकेलिदियो । मुस्लिमहरूको एक समूहले यस अतियथार्थवादी, उत्तरआधुनिक उपन्यासलाई ईश्वरनिन्दक ठाने र यसको विरुद्ध व्यापक विरोध प्रदर्शन गरे।

यस उपन्यासलाई प्रतिबन्ध लगाउने पहिलो देश भारत थियो। पुस्तक प्रकाशन भएको एक महिनामै भारतमा प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला भारतमा राजीव गान्धीको सरकार थियो ।

पुस्तक आयातमा प्रतिबन्ध लगाए पनि सँगै राख्न अपराध थिएन । त्यसपछि पाकिस्तान र अन्य धेरै इस्लामिक देशहरूले यसलाई प्रतिबन्ध लगाए। उक्त पुस्तकलाई दक्षिण अफ्रिकामा पनि प्रतिबन्ध लगाइएको थियो ।

यद्यपि, यो उपन्यासलाई धेरै विधामा प्रशंसा पनि गरिएको थियो र यसलाई ह्वाइटब्रेड पुरस्कार पनि दिइएको थियो । तर पुस्तकको विरोध बढ्दै गयो र दुई महिनापछि यसको विरोधमा सडकमा प्रदर्शन हुन थाल्यो ।

मुस्लिमहरूले यो उपन्यासलाई इस्लामको अपमानको रूपमा हेरिरहेका थिए। मुस्लिमहरूको विरोध धेरै कुरामा थियो, तर दुई वेश्या पात्रको बारेमा विशेष विरोध थियो। तिनीहरूको नाम पैगम्बर मुहम्मदका दुई पत्नीहरूको नामसँग हुबहु थियो ।

जनवरी १९८९ मा, ब्राडफोर्डका मुस्लिमहरूले पुस्तकको प्रतिहरू जलाए। पुस्तक बेच्ने समाचार एजेन्सी डब्ल्यूएच स्मिथले पुस्तक प्रकाशन गर्न बन्द गरे। यसैबीच, रुस्दीले ईश्वरनिन्दाको सबै आरोप अस्वीकार गरे।

मुम्बईमा भएको दंगामा १२ जनाको मृत्यु  

फेब्रुअरी १९८९ मा मुस्लिमहरूले रुस्दीविरुद्ध मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे। यस प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १२ जनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी घाइते भएका थिए ।

सन् १९८९ को फेब्रुअरीमा तत्कालीन भारत प्रशासित कश्मीरमा द सटानिक भर्सेसको विरोधमा प्रदर्शन गरिरहेका मानिसहरू र प्रहरीबीचको झडपमा तीन जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका छन् ।

यसै क्रममा पाकिस्तानको इस्लामावादस्थित अमेरिकी सूचना केन्द्र बाहिर प्रदर्शनकारी भीड र प्रहरीबीच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भयो भने ८३ जना घाइते भएका छन् । उक्त भीडले अमेरिकामा पुस्तकमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो ।

सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गर्दै रुस्दीको हत्याको लागि आह्वान गरे।

इरान र पश्चिमी देशबीच तनाव

यसै क्रममा इरानमा भएको प्रदर्शनमा बेलायती दूतावासमा आक्रमण भएको थियो । रुस्दीको हत्या गर्नेलाई पुरस्कार पनि घोषणा गरिएको थियो । त्यति नै बेला तनावपूर्ण समयमा बेलायतका केही मुस्लिम नेताहरूले संयमको लागि अपील गरिरहेका थिए, अरूले अयातोल्लाह खामेनीलाई समर्थन गरिरहेका थिए। अमेरिका, फ्रान्स र अन्य पश्चिमी देशहरूले रुस्दीको हत्याको धम्कीको आलोचना गरेका छन्।

विश्वभर विरोध र इरानले हत्याको फतवा जारी गरेपछि रुस्दी आफ्नी श्रीमतीसँग लुकेर बसेका थिए। मुस्लिम धर्मावलम्बीहरूलाई चोट पुर्‍याएकोमा गहिरो दुःख प्रकट गर्दै उनले माफी मागेका थिए। यसको बावजुद अयातुल्लाहले फेरि उनको हत्याको फतवा जारी गरे।

रुस्दीको पुस्तक प्रकाशक पेन्गुइन वाइकिंगद्वारा प्रकाशन गरिएको थियो। प्रकाशकको ​​लन्डन कार्यालय बाहिर प्रहरी तैनाथ गरिएको थियो भने न्यूयोर्कको कार्यालयमा पनि धम्की आएको थियो।

तर, किताब एट्लान्टिक महासागरको दुवैतर्फ अर्थात् अमेरिका र युरोपमा निकै लोकप्रिय भयो । मुस्लिमहरूको चरम प्रतिक्रिया विरुद्धको प्रदर्शनलाई युरोपेली देशहरूले समर्थन गरे र लगभग सबै युरोपेली देशहरूले इरानबाट आफ्ना राजदूत फिर्ता गरे।

अनुवादकको हत्या

रुस्दी सन् २००४ मा मुम्बई आउँदा मुस्लिमहरूले चर्को विरोध गरे ।

उक्त पुस्तकको विषयवस्तुका कारण लेखक सलमान रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेको थिएन ।

जापानी भाषामा पुस्तक अनुवाद गर्ने अनुवादकको शव जुलाई १९९१ मा टोकियोको उत्तरपूर्वी विश्वविद्यालयमा फेला परेको थियो।

प्रहरीका अनुसार अनुवादक हितोसी इगाराशीलाई सुकुबा विश्वविद्यालयको कार्यालय बाहिर धेरै पटक छुरा प्रहार गरी मृत्युका लागि छोडिएको थियो । उनी त्यहाँका सहायक प्राध्यापक पनि थिए ।

जुलाई १९९१ मा पुस्तकको इटालियन अनुवादक एटोरो क्याप्रियोलोलाई मिलानमा उनको अपार्टमेन्टमा हमला गरियो । यद्यपि उनी आक्रमणबाट बच्न सफल भए ।

१९९८ मा इरानले रुस्दीको हत्याको लागि आह्वान गरेको फतवा फिर्ता लियो।

बीबीसी हिन्दीबाट ।

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको  एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो ।आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ । हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ । सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वस्फुर्त कफ्र्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ । ईन्धन अभावमा विद्यालय बन्द छन् । केही दिन अघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका  थिए ।