‘विद्यार्थीले जिते समाजले जित्छ,हारे देशले हार्छ : प्रियासन’

दाङ असार २७ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अबको विद्यार्थीले समाज बुझ्नुपर्नेमा जोड दिँदै विद्यार्थीले जिते समाले जित्ने र हारे देशले हार्ने बताउनु भएको छ । घोराही–५ बसन्तपुर

(सौडियार) हाइलाइटस इंगलिस बोर्डिङ स्कूलले आयोजना गरेको अबको विद्यार्थी कस्तो हुनुपर्छ भन्ने उत्प्रेरणा कार्यक्रममा

बोल्दै प्रियासनले यस्तो बतानु भएको हो ।

‘अबको विद्यार्थी केवल प्रमाणपत्र बोकेको व्यक्ति होइन, ऊ समाजको प्रकाश स्तम्भ हो । उसको सोच, आचरण, क्षमता र योगदानले समाजको दिशा

निर्धारण गर्छ । प्रतिस्पर्धात्मक युगमा केवल किताबी ज्ञान होइन, सिर्जनशीलता, बहुआयामिक सीप, नैतिक मूल्य, सामाजिक

जिम्मेवारी, प्रविधि दक्षता र आत्मनिर्भर सोच आवश्यक छ । शिक्षा संस्थाहरूले पनि यस्तै विद्यार्थी उत्पादन गर्ने दिशामा पाठ्यक्रम, शिक्षण पद्धति, मूल्यांकन प्रणाली र वातावरण परिमार्जन गर्नुपर्छ । अभिभावक, शिक्षक, समाज र राज्य सबैले अबको विद्यार्थीलाई समृद्ध नागरिक बनाउने साझा जिम्मेवारी स्वीकार गर्नुपर्छ । किनभने अबको विद्यार्थी भनेको केवल पाठशालाको विद्यार्थी होइन, ऊ नै भविष्यको समाज होरु। उसले जिते समाज जित्छ, उसले हा¥यो भने देश हार्छ । त्यसैले अबको विद्यार्थी जिम्मेवार, सशक्त, सर्जनशील र समर्पित हुनैपर्छ’,–प्रियासनले कार्यक्रममा विषयगत कार्यपत्र प्रस्तुत गर्दै थप्नुभयो,–‘अबको विद्यार्थी भनेको केवल परीक्षा पास गर्ने होइन, समस्या समाधान गर्ने, विचार सिर्जना गर्ने, उद्यम गर्ने, नेतृत्व गर्ने र समाज परिवर्तन गर्ने व्यक्तित्व हो । उसमा ज्ञान, सीप, चरित्र, दृष्टि, मूल्य र साहसको संयोजन हुनुपर्छ । खेल, आविष्कार, नवीन योजना, नेतृत्व, प्रविधि र संस्कारको सन्तुलनयुक्त विद्यार्थी नै भविष्यको देश निर्माणको आधार हो । अब शिक्षा भन्नाले पाठ्यपुस्तकको ज्ञानमात्र होइन, सम्पूर्ण जीवन बाँच्ने, सोच्ने र निर्माण गर्ने यात्रा हो । त्यसैले अबको विद्यार्थी बहुआयामिक, सशक्त र जिम्मेवार नागरिकको रूपमा विकसित हुनु आवश्यक छ ।’

कार्यक्रममा बोल्दै प्रियासनले भन्नुभयो–‘समाज निरन्तर परिवर्तनशील छ । विज्ञान, प्रविधि र सञ्चारका क्षेत्रमा आएको क्रान्तिकारी परिवर्तनले शिक्षा प्रणालीमा समेत आमूल परिवर्तन ल्याएको छ । अबको विद्यार्थीले मात्र पाठ्यपुस्तक पढेर, परीक्षा दिएर र प्रमाणपत्र प्राप्त गरेर मात्रै जीवनको लक्ष्य प्राप्त गर्न सक्दैन । ज्ञानको परिधि फराकिलो भएको छ । विद्यार्थीले समाज, राष्ट्र

र विश्व परिवेशलाई बुझ्ने क्षमताको विकास गर्दै समृद्धि, सदाचार र सिर्जनशीलताको बाटो समात्नुपर्ने आवश्यकताले अबको विद्यार्थी कस्तो हुनुपर्छ भन्ने प्रश्न उठेको हो ।’

समृद्ध घोराही निर्माणका लागि शिक्षा क्षेत्रको सहभागिता अनिवार्य भएको भन्दै प्रियासनले थप्नुभयो,–‘आजको विद्यार्थी भोलिको मुलुकु बनाउने नागरिक हो । भोलिको नेतृत्वकर्ताको रूपमा उसमा ज्ञान, सोच, व्यवहार, सीप र मूल्यको समुचित मिश्रण हुनुपर्छ । यहाँ मैले अबको विद्यार्थीमा आवश्यक गुण, सीप, दृष्टिकोण र आचरणसहितको हुनुपर्छ । विद्यार्थीलाई क्षमतासहितको बनाउन विद्यालय, शिक्षक, अभिभावक, समाज अनि राज्यको पनि महत्वपूर्ण भूमिका हुन्छ, हुनुपर्छ ।’

६ कक्षा देखि १० कक्षासम्मका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रिन्सीपल कुमार नेपालीले पछिल्लो समयमा समाज सुधार अभियानमा प्रियासन कटिबद्ध भएर लागेको बताउँदै ग्रामिण भेगका विद्यालयहरुको सुधार र विकासका लागि पहल सुरु गरेकोमा प्रियासनको उच्च प्रशंसा गर्नुभयो ।

‘हामी विद्यालय सुधारको अभियानमा छौं, विद्यार्थीलाई क्षमतावान बनाउन लागि परेका छौं’,–प्रिन्सीपल नेपालीले थप्नुभयो–‘सविन प्रियासन जस्ता अभियनताहरु गाउँमै आएर विद्यार्थीको चौतर्फी विकासका लागि अगाडी बढाउनु भएको कदम हाम्रो लागि अनुकरणीय छ ।’

प्रियासनले प्रस्तुत गरेको अबको विद्यार्थी कस्तो हुनुपर्छ भन्ने अवधारणा समय सापेक्ष र सबैले अनुसार गर्ने खालको भएको बताउँदै आफुहरुले पनि विद्यालय सुधार र विद्यार्थीको क्षमता विकासका लागि प्रियासनले अगाडी सारेका

अवधारणाहरु विद्यालयमा लागु गर्ने प्रिन्सीपल नेपाललीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विद्यालयले प्रियासनलाई सम्मान पनि गरेको थियो । कार्यक्रमको सञ्चालक शिक्षक रोशन महराले गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति अध्यक्ष रिसमान चौधरी, भाइसप्रिन्सीपल ऋषिराज गिरी, नेपाली शिक्षक भक्तबहादुर डाँगी, डान्स शिक्षक वर्षा खत्रीलगायतको उस्थिति रहेको थियो । सो अबसरमा प्रियासनले साना कक्षाका बालबालिकाहरुलाई पनि अनौपचारिकरुपमा

सकारात्मक कुराहरु सिकाउनु भएको थियो । दाङ–घोराहीका अन्य विद्यालयमा पुगेर यस प्रकारको कार्यक्रम गर्ने लक्ष्य रहेको पत्रकार प्रियासनले जानकारी दिनुभयो ।

समृद्धिका लागि महिलाहरु सीप अनि उद्यमशिलतामा जोडिनुपर्नेमा जोड

दाङ, असार २६ । मुलुकको समृद्धिका लागि महिलाहरु सिप अनि उद्यमशिलतामा जोडिनुपर्ने एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । अर्किड व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको १४ औं वार्षिकोत्सव तथा सर्टिफिकेट वितरण कार्यक्रममा सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् । शुक्रबार घोराहीमा सम्पन्न कार्यक्रममा सहभागिहरुले पछिल्लो समय पार्लर व्यवसाय पनि सम्भावना बोकेको व्यवसाय बनेको बताउदै महिलाहरुलाई आत्मनिर्भर बनाउन पार्लर व्यवासयको भूमिका अहं रहेको बताएका थिए । अर्किड व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक मुना पाण्डेको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आश्मानी चौधरीले महिलाहरु कुनै न कुनै सिप, पेशा, व्यवसायसँग जोडिनुपर्ने बताउँदै पार्लर व्यवासयलाई अझ राम्रो र व्यवस्थित बनाउन सकेमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सहज हुने बताउनुभयो । सो अबसरमा विशिष्ठ अतिथि जिल्ला बारका अध्यक्ष गोमा महराले पार्लर व्यवसाय गर्नेहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल व्युटिसियन संघ दाङका अध्यक्ष सुलोचना प्रधानले विगतको भन्दा अहिले पार्लर व्यवासय गर्न सहज भएपनि पछिल्लो समय यसलाई थप व्यवस्थित बनाउने चुनौती आफुहरु माझ आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले महिला दिदीबहिनीहरु कुनै न कुनै इलममा जोडिनुपर्ने बताउँदै समृद्धिका लागि महिलाहरु आत्मनिर्भर बन्नैपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, व्यवसायीहरु नारायण पाण्डेय, विपिन केसीलगायतकाले बोल्नु भएको थियो । पुजा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पावर्ती बस्नेतले गर्नु भएको थियो । सो अबसरमा केक काटेर संस्थाको जन्मदिन मनाइएको थियो भने व्युटिसियनहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

पत्रकारितामा लैङ्गिक संवेदनशीलता अपरिहार्य 

घोराही, २७ असार । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउनुभएको छ । पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा आयोजना गरेको सञ्चार क्षेत्रमा पत्रकार महिलाको सुरक्षित वातावरण निर्माण सम्बन्धी प्रारम्भिक परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै सचिव प्रियासनले सञ्चारकर्मी महिला र पुरुषबीचको समानतामूलक व्यवहार मात्र सशक्त पत्रकारिताको माध्यम बन्ने बताउनुभयो । उहाँले महिलाहरूको पेशागत, भौतिक, मानसिक, सामाजिक र समग्र सुरक्षाको सवाललाई सञ्चारमाध्यमहरूले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । “पत्रकार महिलाहरूको आवाज बुलन्द हुन नसक्नु, भयरहित वातावरण नहुनु र उनीहरूलाई सशक्त रिपोर्टिङ गर्नबाट रोक्नु– यी सबै समस्या लैङ्गिक असमानताको उपज हुन्,” उहाँले भन्नुभयो, “अब यस्ता संरचनात्मक असमानता तोडेर अघि बढ्नुपर्छ ।”

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्माले पत्रकार महिलाहरूका सवालहरू कुनै महिलामात्रको एजेन्डा नभई पत्रकार महासंघको साझा विषय भएको स्पष्ट पार्नुभयो । उहाँले विगतका दिनहरूमा कार्यालयमा लैङ्गिक आधारमा विभेद, दुव्र्यवहार, असुरक्षा र हेपाहा प्रवृत्ति रहेको प्रसङ्ग उल्लेख गर्दै अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूबाट पत्रकार महिलाहरूलाई होच्याउने, बदनाम गर्ने र आक्रमण गर्ने प्रवृत्ति झन बढेको बताउनुभयो । शर्माले भन्नुभयो, “डिजिटल माध्यमबाट महिला पत्रकारमाथि हुने साइबर हिंसा झन गम्भीर बन्दै गएको छ । यस्तो अवस्थामा लैङ्गिकसम्वेदनशीलता र समावेशी पत्रकारिता नितान्त आवश्यक भएको छ ।” उहाँले महासंघ लुम्बिनी प्रदेश समितिले समावेशी पत्रकारिता, लैङ्गिक सन्तुलन र समान अवसरका विषयमा रणनीतिक योजना तयार पारेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकार महिलाहरूको पेशागत यात्रा निरन्तरता दिन चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कार्यस्थलमै हुने लैङ्गिक विभेद, पारिवारिक जिम्मेवारीको दोब्बर बोझ, सामाजिक धारणाको प्रभाव, संस्थागत असहयोगजस्ता कारणले महिलाहरू पत्रकारितामा लामो समय टिक्न नसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै पत्रकार महिला मञ्च दाङकी अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महिलाहरूका विविध चुनौतीहरूबारे चर्चा गर्दै समाधानका उपायहरू खोज्न सामूहिक प्रतिबद्धता आवश्यक भएको बताउनुभयो । “महिलाहरूका लागि सुरक्षित कार्यस्थल, अनुकूल वातावरण, अवसर र न्यायोचित पहुँच सुनिश्चित नगरी लैङ्गिक समानताको सपना पुरा हुँदैन,” उहाँको भनाइ थियो ।

मञ्चकी उपाध्यक्ष सुशीला आचार्यले पत्रकार महिलाहरू कार्यस्थलमा मात्र नभइ घरपरिवार र समाजबाट पनि निरुत्साहित हुने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले पारिवारिक समर्थन नपाउनु, समाजको पुरातन सोच, ‘महिलाले धेरै अगाडि बढ्नु हुँदैन’ भन्ने मानसिकता जस्ता कुराहरू महिलाको आत्मविश्वासलाई कमजोर बनाउने खतरा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष वसुन्धरा गौतमले महिला पत्रकारहरूलाई निर्णय तहमा पुर्‍याउन संस्थागत नीतिगत प्रबन्ध आवश्यक भएको बताउनुभयो । “केवल सहभागिता होइन, प्रभावकारी सहभागिता हुनुपर्छ । सम्पादन तह, नेतृत्व तह, निर्णय तहमा महिला पुग्दा मात्र संरचनागत परिवर्तन सम्भव हुन्छ,” उहाँको भनाइ थियो ।

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोखरेलले पत्रकार महिलाहरूमाथि हुने मानसिक हिंसा, शब्दीय आक्रमण, बहिष्करण र उपेक्षा अन्त्य गर्न मानव अधिकारको दृष्टिकोणबाट पनि खबरदारी आवश्यक भएको बताउनुभयो ।

मञ्चकी सल्लाहकार शारदा शर्माले पत्रकार महिलाहरूका क्षमता र आत्मबलको सम्मान गर्दै उनीहरूलाई सशक्तीकरणतर्फ उन्मुख गराउनु जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अन्य पत्रकार तथा अधिकारकर्मीहरूले पनि पत्रकार महिलाहरूको सुरक्षाका विषयमा गम्भीर छलफल गर्दै साझा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको विषयवस्तुमाथि प्रदीप मज्गैँयाले प्रकाश पार्दै पत्रकार महासङ्घ प्रेस काउन्सिल लगायतका निकायहरूमा लैङ्गिक संवेदनशीलताकाे विषयमा उल्लेख नगरिएको बताउनुभयो ।