गढवामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघद्वारा विद्यार्थी तथा विद्यालयलाई सम्मान

गढवा, २७ असार । गढवा गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ।

बिहीबार गढवाको जनता माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा महासंघ गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष दयाराम यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको भूमिकालाई महत्वपूर्ण बताउँदै उत्कृष्ट कार्य गर्ने सबैलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको बताउनुभयो।

सम्मानित विद्यार्थीहरूमा जनता माध्यमिक विद्यालय गढवाकी निर्जला पुन (GPA 3.74), माध्यमिक विद्यालय पचहियाका आयुष चौधरी (GPA 3.60), मावि पचहियाका समिर बिक (GPA 3.54) र जनता मावि गढवाका सुदिप पुन (GPA 3.54) रहेका छन्। विद्यार्थीहरूलाई प्रशंसा-पत्र प्रदान गर्दै प्रेरणादायी विद्यार्थीका रूपमा सम्मान गरिएको हो।

त्यस्तै, शैक्षिक सत्र २०८१ मा एसइइ परीक्षामा राम्रो नतिजा दिन सफल भएका सामुदायिक विद्यालयहरूमध्ये गढवा–४ स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालय, गढवा–५ स्थित माध्यमिक विद्यालय चैनपुर र गढवा–२ स्थित माध्यमिक विद्यालय पचहियालाई सम्मान गरिएको छ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि यम नारायण शर्मा पोख्रेलले सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास र विश्वसनीयताको संकेतस्वरूप आएको उत्कृष्ट नतिजाले सम्पूर्ण गाउँपालिकाको शैक्षिक प्रतिष्ठा बढाएको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षा सुधारमा देखाएको प्रतिबद्धता सराहनीय रहेको उल्लेख गर्नु भयो । साथै अध्यक्ष पोख्रेलले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धा, अभिभावकमा गर्व, र विद्यालयमा उत्तरदायित्वको भावना थप बलियो बनाउने बताउनुभयो।

कार्यक्रम समापनमा सहभागीहरूबाट आगामी वर्षहरूमा अझ प्रभावकारी कार्ययोजना बनाइ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

बयालडाडामा खुल्ला व्याम शाला स्थापना

दाङ असार २६ । पछिल्लो समय सबै जसो क्षेत्रमा सक्रिय देखिएको बयालडाडा चौतारी क्लबको सक्रियतामा घोराही–१८ अम्बापुरमा रहेको बयालडाँडामा खुल्ला व्याम शाला सञ्चालनमा ल्याइएको छ । बयालडाडामा सञ्चालनमा आएको खुल्ला व्याम शालाको बिहीबार विहान घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

विभिन्न १० वटा व्याम गर्ने सामानहरु बयालडाडामा सञ्चालनमा ल्याइएको छ । विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुको सहभागितामा भएको उद्घाटन कार्यक्रममा बोल्दनै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख चौधरीले बयालडाडाले समाजलाई सकारात्मक दिशातर्प अगाडी बढाउन भूमिका खेलेको बताउँदै घोराहीकै मुख्य गन्तव्यस्थल बन्ने तर्फ बयालडाडा अगाडी बढेको बताउनुभयो । क्लबका अध्यक्ष नारायण भुसालको अध्यक्षत्तामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, घोराही उपमहानगरपालिका वडा नम्वर १८ का अध्यक्ष भरत अर्याल, घोराही नगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुन, डा. किशोर खत्री, मानव अधिकारकर्मी बिनोद केसी, पत्रकार निमुसंगम घर्तीलगायतका दर्जनौ विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो । बयालडाडामा स्वास्थ्य मन्त्रालयले खुल्ला व्याम शालाको लागि सामानहरु उपलव्ध गराएको हो । कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष हुर्मत बहादुर वलीले गर्नुभएको थियो ।

व्याम गुरुहरुलाई सम्मान

यसैबीच बयालडाडा चौतारी क्लबले व्यामस्थलमा नियमित व्याम गराउने सिमा भट्टराई र पुरन महरालाई विशेषरुपमा सम्मान गरेको छ । गुरु पुर्णिमाको अबसरमा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा सहभागि सबैले गुरुहरुलाई सम्मान गर्नु भएको हो । बयालडाडामा विहान सधै व्याम, ध्यान, कसरत, नृत्य अनि ट्रयाकिङ गरिन्छ । बयालडाडामा पछिल्ला दिनहरुमा दिउँसो समेत घुम्न जाने र फोटो खिचाउनेहरुको संख्या बढेको छ । उक्त ठाउँमा पिउने पानीको व्यवस्था गरिएको भएपनि ट्यांकी छैन । यसैगरी सौचालयको पनि आवश्यकता छ । घोराही बजारको दृश्य सहजै देख्न सकिने बयालडाडालाई पर्यापर्यटनको हब बनाउन सकिने गरी बयालडाडा चौतारी क्लबले कार्यहरु गरिरहेको छ ।

सिद्धरत्ननाथ मठ चौघेरमा गुरु पुर्णिमा महोत्सव

दाङ, असार २६ । घोराही–१७ चौघेरास्थित श्री गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठको आयोजनामा बिहीबार गुरु पुर्णिमा महोत्सवको आयोजना गरिएको छ । भव्यरुपमा आयोजना गरिएको कार्यक्रममा गुरु पुर्णिमा सम्बन्धी प्रवचन दिइएको थियो । बुद्धिजीवी भोलानाथ योगीले गुरु पुर्णिमाको महत्वका बारेमा प्रवचन दिनु भएको थियो ।

सो अबसरमा आयोजित चित्रकला प्रदर्शनीमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो । रत्नकलाकार योगी प्रभातनाथको सम्झनामा आयोजित चित्रकला प्रतियोगितामा मनकामना इंग्लिस बोर्डिङ स्कूलका छात्र कृष्णबहादुर थापा प्रथम, नेपाल पुलिस स्कुलकी छात्रा अनुश्का डाँगी दोस्रो, गोरक्ष रत्ननाथ माविका छात्र दिव्य थापा तेस्रो र मदन भण्डारी मेमोरियल स्कुलका छात्र प्रिन्स बुढा सान्त्वना हुनु भएको थियो । चारैजनालाई पीर मठाधिस योगी ब्रम्हनाथ, महन्त महानुभाव योगी सुरतनाथले हस्ताक्षर गर्नु भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अबसरमा बोल्ने वक्ताहरुले गोरक्ष रत्ननाथ मठ नेपालकै सबै भन्दा पुरानो मठ भएकाले यसको विकास र प्रचारप्रसार गर्न सकेमा नेपालकै यो संस्था आकर्षणको केन्द्र बन्ने वताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पतञ्जली योग समिति दाङका उपाध्यक्ष केत नारायण आचार्य, प्रभात कला प्रतिष्ठानका अध्यक्ष नरायण शर्मालगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण मठका सदस्य तोयनाथ योगीले गर्नुभएको थियो ।