कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी, कसरी हर्ने नतिजा ?

काठमाडौं,१९ श्रावण । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन गर्ने तयारी गरेको छ । आज साँझ परीक्षाफल प्रकाशनको तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले घरसञ्चारलाई जानकारी दिए ।

त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौँ,’ अर्यालले घरसञ्चार सँग भने । यस्तै बोर्डको क्यालेन्डर अनुसार साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने भएतापनि शिक्षकहरुको लामो आन्दोलनका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको हो ।

वैशाखमा भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । २०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएकोमा शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।

गढवा गाउँपालिकाका वृद्ध पुरण चौधरीको शव देउखुरीको राप्ती नदीमा फेला

गढवा ,१८ श्रावण । गढवा गाउँपालिका–३ गोबरडिहाका ७३/७४ वर्षीय पुरण चौधरीको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार, चौधरी साउन १४ गते श्रीमतीसँग वृद्ध भत्ता लिन गढवा गएका थिए र त्यसपछि गढवा गाउँपालिका–५ स्थित छोरीको घरमा पुगेका थिए।

छोरीको घरबाट ‘म घर गैहाल्छु’ भन्दै निस्किएका चौधरी त्यसयता सम्पर्कविहीन थिए। आज बिहान करिब ११ बजे लमही नगरपालिका–९ हात्तिखाल नजिक राप्ती नदीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गढवामा भूमिहीनलाई जग्गा दर्ता तथा पुर्जा तयार गर्ने कार्य सम्पन्न

गढवा,१२ श्रावण। भूमि समस्या समाधान आयोग दाङले आज गढवा गाउँपालिका वडा नं. २ स्थित डांडागाउँमा रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा दर्ता तथा जग्गा धनी पुर्जाको अन्तिम तयारी कार्य सम्पन्न गरेको छ।

उक्त कार्य भूमि समस्या समाधान आयोगका अध्यक्ष हुकुम बहादुर बस्नेतको अगुवाइ तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा र सीएफएसआरसी दाङका कार्यक्रम संयोजक रेमन्त चौधरीको उपस्थितिमा सम्पन्न भएको हो।

यस प्रक्रियाले गढवाका भूमिहीन तथा दलित समुदायलाई कानुनी जग्गा स्वामित्व प्राप्त गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।