गढवा गाउँपालिकाको १५ शैय्या अस्पतालको ७० प्रतिशत काम सम्पन्न 

गढवा, १५ भदौ । देउखुरीको गढवा गाउँपालिका–५ गढवामा निर्माणाधीन १५ श्ययाको अस्पतालको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । चालु आर्थिक वर्षभित्र भवनको निर्माण सकेर अस्पता सञ्चालनमा ल्याउने गरी निर्माणको काम भइरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।

भ्याटसहित १३ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माण भइरहेको गढवा गाउँपालिकाका इन्जिनियर शेषमणि पौडेलले जानकारी दिनुभयो ।उहांका अनुसार साढे दुईतले भवनको ढलान सकेर अहिले वाल निर्माण भइरहेको छ । अस्पालको भवन निर्माण अन्तर्गत तल्लो तलाको काम सकेर दोस्रो तलाको काम भइरहेको इन्जिनियर पौडेलले बताउनुभयो।

उहांका अनुसार भवनको वाल निर्माणको काम सकिएपछि प्लास्टर, रङरोगन, वायरिङ हुनेछ । भवनको काममा केही पूर्वाधार र अन्तिम सजावटको काम बाँकी भएको बताउनुभयो ।

नेपाल सरकारको हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार २०७९ सालमा श्याम सुन्दर–एनबी जेभी बुटवलसँग ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माण सुरु भएको थियो ।

२०८१ मसान्तभित्र निर्माण सक्नुपर्ने भए पनि नसकिएपछि एक वर्ष म्याद थप गरिएको छ । अस्पताल निर्माणको काम गत वर्ष सकिनु पर्ने भए पनि समयमा भुक्तानी लगायतका अन्य समस्याले ढिलाइ भएको बताईएको छ।

अस्पताल निर्माण भएर सञ्चालन भएपछि देउखुरीको राप्ती नदी दक्षिण क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने गढवा गाउँपालिका वडा नम्बर ६  निवासी राम सुन्दर अहिले बताउनुभयो । दक्षिण देउखुरी क्षेत्रमा अस्पताल नहुँदा गढवाबासीलाई उपचार सेवा लिन लमही,घोराही , नेपालगंज बुटवल जानुपर्ने बाध्यता रहिआएको छ। अस्पताल सञ्चालनमा आए टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने छ ।

अस्पाल नहुँदा गढवा गाउँपालिकाले स्वास्थ्य केन्द्रमा दुई जना एमबिबिएस डाक्टरसहितको जनशक्ति व्यवस्थापन गरेर बिरामीलाई २४सै  घण्टा आपतकालीन (ईमरजेन्सी) सेवा दिँदै आएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

दाङ-लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो ।

घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कुनै पनि बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी अभियान केन्द्रीत गरिनुपर्ने बताउनु भयाे ।

`प्रदेश सरकारले लिएको लक्ष्य प्राप्तिका लागि जुन प्रतिबद्धताका साथ तपाईंहरू लाग्नुभयो, सबै बधाईका पात्र हुनुहुन्छ । हामीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छौं´उहाँले भन्नुभयाे-`आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ यहाँहरु निरन्तर लागिपर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।´

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले २०७९ भाद्र ३१ गते नेपालकै दोश्रो पुर्णखोप प्रदेश पहिलो पटक घोषणा भएको र त्यसपश्चात निरन्तर प्रत्येक वर्ष सुनिश्चितता तथा दिगोपना गर्दै आएको बताउनुभयो । `मातृमृत्यूदर, शिशुमृत्यूदर र पोषणलाई स्वास्थ्य मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेका छौं´ उहाँले भन्नुभयो-`स्वास्थ्यका नकारात्मक सुचकहरुलाई न्यूनिकरण गर्ने विषयमा लुम्बिनी प्रदेशले प्रगति गरिरहेको छ ।´

कार्यक्रममा परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लाल, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

राष्ट्रिय खोप समन्वय समिति सचिवालयका अध्यक्ष विकास देवकोटाले लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्राप्त प्रदेश भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्य, स्वास्थ्य मन्त्री सारुलगायत सभागिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा अभियानलाई सघाउने पाँच जना स्वास्थ्यकर्मी अ‍ोमप्रकाश पन्थी, दिपाकर कुमार महर्जन, जनकराज गिरी, चिन्तामणी ज्ञवाली र हरिप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।

लुम्बिनीमा ७० हजार बढि बालबालिकालाई खाेप

आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य डोज भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई खोजी गरी खोप लगाइएको थियो ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै ड्रप आउट बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ रहेको छ भने रुकुमपूर्वमा शून्य ड्रप आउट देखिएको छ ।

पूर्ण खोप अभियानअन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । त्यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्त्यमा २०८२ असार २७ मा अर्घाखाँचीमा घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।

स्तनपान सप्ताह विशेष कार्यक्रम गढवा–६ मा सम्पन्न

गढवा, १९ श्रावण। विश्व स्तनपान सप्ताहको अवसरमा गढवा गाउँपालिका वडा नं. ६ मा आज विशेष कार्यक्रम सम्पन्न भएको छ। बेस संस्था (BASE) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्तनपायी आमा तथा अन्य महिला दिदीबहिनीहरुलाई स्तनपानको महत्व, आवश्यकता र सही तरिका सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी तथा परामर्शदाताहरूले शिशुलाई स्तनपान गराउँदा अपनाउनु पर्ने सही आसन र शिशुसँगको सम्पर्कको विधि बारे व्यवहारिक अभ्याससहित परामर्श दिएका थिए।

स्तनपान शिशुको शारीरिक तथा मानसिक विकासका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले हरेक आमाले नवजात शिशुलाई ६ महिना सम्म केवल स्तनपान गराउनुपर्ने सन्देश दिइएको थियो।

उक्त कार्यक्रमले आमाबाबु तथा समुदायमा स्तनपानप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।