गढवालाई बालमैत्री गाउँपालिका घोषणा गर्न सरोकारवाला निकायका प्रतिनिधिहरू बीच अभिमुखीकरण

गढवा, ११ असार । बाल श्रम निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गढवा गाउँपालिकामा सुरु भएको छ। सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रम गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रम बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरीले गढवा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायहरूले नेपालको संविधानको धारा ३९ मा उल्लिखित बालबालिकाको हक, स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था, बालश्रम निवारण ऐन तथा नियमावली, २०७२ र बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७६ का प्रावधानहरूलाई आत्मसात गर्नेछौँ,१८ वर्ष मुनिका कुनै पनि बालबालिकालाई शारीरिक, मानसिक वा भौतिक हानि हुने कुनै पनि प्रकारका जोखिमयुक्त काममा संलग्न गरिनु हुँदैन भन्ने कुरामा हामी पूर्ण रूपले सहमत छौँ,त्यसैले हामी हाम्रा पालिकाभित्र हुने सम्पूर्ण बालश्रमलाई निषेध गर्ने प्रतिबद्धता जनाउँछौँ, यस अभियानमा हामी आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछौँ र सक्रिय सहभागिता जनाउनेछौँ, यसै सन्दर्भमा हामी गढवा गाउँपालिकालाई सन् २०८३ सालभित्र बालश्रममुक्त स्थानीय तह घोषणा गर्नको लागि आवश्यक वातावरण तयार पार्न सहकार्य गर्नेछौँ भनि सफत खुवाउदै प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराउनु भएको थियो।

प्रशिक्षक विकिरण गौतमले बालश्रम निवारणका लागि गर्नुपर्ने पहल, मध्यकालीन खर्च आर्थिक वर्ष २०७७/०७८ र २०७९/० ८० बालश्रम निवारणको अवस्था,बालश्रम ऐन २०५६ संशोधन लगायतका अन्य थुप्रै बालबालिका संग सम्बन्धित विषयवस्तुको बारेमा सहजीकरण गर्नुभएको थियो।।

गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, प्रशासन शाखा प्रमुख पुना राम शर्मा, कार्यक्रमका फोकल पर्सन अशोक कुमार यादव, इलाका प्रहरी कार्यालय गढवा प्रतिनिधि, गढवा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, ट्रयाक्टर व्यवसायी संघ, अटो व्यवसायी, बस व्यवसायी तथा पत्रकारहरू लगाएतको सहभागी रहेको थियो।

कार्यक्रममा बालमैत्री विज्ञ बिकिरण गौतमले प्रशिक्षकको रूपमा बाल श्रम निवारणको अवधारणा, कानुनी व्यवस्था र सरोकारवालाको भूमिकाबारे अभिमुखीकरण दिनुभएको थियो।

कार्यक्रम गढवा गाउँपालिका गाउँकार्यापालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको छ ।

बटुवालाई निःशुल्क खाना खुवाउनु जय महाकाल युवा समूहको प्रेरणादायी कार्य

दाङ,११ असार । समाजमा सकारात्मक परिवर्तन ल्याउन सरकारी संयन्त्र मात्र होइन, नागरिक समाजको सक्रियता पनि अत्यन्त जरुरी हुन्छ । कुनै समुदायमा जब नागरिकहरू स्वयं समस्याको पहिचान गर्छन् र समाधानको प्रयासमा जुट्छन्, त्यही बेला त्यो समाज वास्तवमै समृद्धिको दिशामा अघि बढ्छ । यसै सन्दर्भमा, घोराही नगरको गुमराहा चोकमा जय महाकाल युवा समूहद्वारा सञ्चालनमा रहेको निःशुल्क खाना वितरण कार्यक्रम एक अत्यन्तै प्रेरणादायी प्रयास बनेको छ । विगत ९ दिनदेखि जय महाकाल युवा समूहले दैनिकरूपमा बिहान र साँझ गरी दुई छाक निःशुल्क खाना तथा पानी वितरण गर्दै आइरहेको छ । खासगरी विपन्न, असाहाय, बेरोजगार, वृद्धवृद्धा तथा सडकमा अलपत्र परेकाहरुलाई लक्षित गरी गरिएको यो कार्यले समाजमा मानवीयता, करुणा र सहयोगभावनाको उज्वल उदाहरण प्रस्तुत गरेको छ । दिनहुँ ७० जनाभन्दा बढी व्यक्तिहरु यस सेवाबाट लाभान्वित भइरहेका छन्, जुन आफैँमा उल्लेखनीय र स्तुत्य कार्य हो ।

यस समूहको प्रयास केवल खाना खुवाउनेमा सीमित छैन, यसले समग्र समाजलाई सेवा र समर्पणको महत्त्व सिकाउने काम पनि गरिरहेको छ। देशमा बढ्दो गरिबी, बेरोजगारी र असमानताको सन्दर्भमा यस्ता सेवा कार्यक्रमहरुले सामाजिक न्यायको पक्षमा जनचेतना जगाउने काम पनि गर्छन् । यो कार्यले ‘जहाँ राज्यको पहुँच पुग्दैन, त्यहाँ समाज आफैं उठ्न सक्छ’ भन्ने भावना बलियो बनाएको छ । समूहको यस सेवाभावनाले स्थानीय समुदायमा समेत सकारात्मक तरंग पैदा गरेको छ। दैनिक रूपमा व्यक्तिहरु महाकाल समूहलाई खाद्यान्न, नगद तथा स्वेच्छिक सेवा प्रदान गर्दै सहभागी भइरहेका छन् । यसले देखाउँछ कि नेपाली समाजमा अझै पनि एकआपसमा साथ दिने र दुःखमा सहारा बन्ने संस्कार जीवित छ । जुनसुकै धर्म, जात, वर्ग वा पार्टीको भए पनि मानिसहरु यस्तो मानवसेवामूलक कार्यमा स्वतः प्रेरित भएर हातेमालो गरिरहेका छन् । महाकाल समूहको नेतृत्व, व्यवस्थापन र संयोजन क्षमता पनि प्रशंसायोग्य छ। नियमित रूपमा खाना पकाउने, वितरण गर्ने, सफाइ कायम गर्ने र अनुशासनमा रहन सिकाउने जस्ता कार्यहरुले यो समूहको कार्यकुशलता र दिगो सामाजिक सोच झल्काउँछ । यसले भविष्यमा अन्य सामाजिक कामहरुका लागि पनि महाकाल समूहलाई एक सक्षम संगठनको रूपमा प्रस्तुत गर्न सक्छ ।

सामाजिक सेवा केवल ठूला शब्द र घोषणाबाट होइन, साना तर प्रभावकारी क्रियाकलापबाट पनि सुरू गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ – जय महाकाल युवा समूह । यो अभियानले अन्य युवा समूह, विद्यार्थी, क्लब तथा संघसंस्थालाई पनि समाजसेवामुखी काममा लाग्ने प्रेरणा दिएको छ । सेवा गर्नेलाई सहयोग गर्नेलाई पनि धन्यवाद दिनु पर्दछ, जसले यो अभियानलाई जीवन्त बनाइरहेका छन् । यस्ता कार्यको दीर्घकालीन प्रभावका लागि स्थानीय सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्य आवश्यक हुन्छ । यदि यस्ता जनसेवामूलक कार्यक्रमलाई नगरपालिकाले नीति तथा कार्यक्रममार्फत सहयोग गर्ने हो भने, अझ प्रभावकारी ढंगले विस्तार गर्न सकिन्छ । खाना खुवाउने मात्र नभई, निःशुल्क स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, तथा पुनःस्थापना कार्यक्रमहरुसमेत थप्न सकिने सम्भावना छ । जय महाकाल युवा समूहको निःशुल्क खाना वितरण कार्यक्रम केवल पेट भर्ने कार्य होइन, यो जीवनप्रति आशा जगाउने, समाजमा प्रेम र सहानुभूति फैलाउने र मानवता बचाइराख्ने अभियान हो । यस्ता प्रयासलाई प्रोत्साहन गर्न, संरक्षण गर्न र फैलाउन हामी सबैको भूमिका रहन्छ। घोराहीको गुमराहा चोकमा शुरु भएको यस सामाजिक दीपले अन्य धेरै ठाउँलाई उज्यालो दिने अपेक्षा गरौँ ।

महाकाल समूहद्वारा बटुवाहरुलाई निःशुल्क खाना खुवाउनु मानवीय सेवा : प्रियासन

घोराही असार १० । बटुवा, दिनदुःखी एवं भोकाएकाहरुलाई निःशुल्करुपमा खाना र पानी खुवाउनु मानवीय सेवामा सबै भन्दा उत्कृष्ट कार्य भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले ठहर गर्नु भएको छ । जय महाकाल युवा समुह घोराही दाङले घोराहीको गुम्राहाचोकमा आयोजना गरेको ‘भोकालाई भोजन, प्यासालाई पानी’ कार्यक्रमको शुभारम्भ गर्दै प्रियासनले महाकाल समूहले पछिल्ला दिनहरुमा देशभर यस प्रकारको कार्य गरेर समाजलाई सभ्य, समृद्ध अनि सुखमय बनाउन खोजेकोमा प्रसंशा गर्नुभयो । दिनदुःखीको सेवा सबै भन्दा धेरै पूण्यको काम भएको चर्चा गर्दै प्रियासनले महाकाल समूहलाई यस प्रकारका कार्यहरु गरिरहन सुझाब दिनुभयो । सो अबसरमा थुप्रै बटुवाहरुले भोजन सेवन गरेका थिए । महाकल समूह घोराहीले विहान र साँझ दुईपटक यस्तो कार्य गरिरहेको छ । विहान १० बजेदेखि साढे एघार बजेसम्म र साँझ ६ बजेदेखि साढे सातबजेसम्म खाना खुवाउने कार्य भैरहेको समूहका सचिव केशव गिरीले जानकारी दिनुभयो । समाजसेवी श्रीधर गिरीको अध्यक्षत्तामा महाकाल समूह घोराही बनेपछि निरन्तर यस प्रकारका कार्यहरु हुँदै आएको छ । महाकाल समूहले आयोजना गरिरहेको खाना खुवाउने कार्यलाई सफल बनाउन विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरिरहनु भएको छ । जोकोहीले खाना खुवाउने कार्यमा सहयोग गर्न सक्ने महाकाल समूहले जनाएको छ । आफै पकाएर सुद्ध साकाहारी खाना महाकाल समूहले खुवाई रहेको छ ।

अटो चलाएको पैसाद्वारा चामल सहयोग

सहयोगी मन भएपछि अभावमा बाँचिरहेकाहरुले पनि सहयोग गर्न सक्छन् भन्ने उदाहरण घोराही–१४ गोरखा टोल निवासी अटो चालक भरत डाँगी बन्न सफल हुनु भएको छ । विहान भर अटो चलाएर संकलन गरेको रकमबाट उहाँले जय महाकाल युवा समुह घोराही दाङले घोराहीमा सञ्चालन गरिरहेको निःशुल्क खाना खुवाउने कार्यमा एक बोरा चामल सहयोग गरेर पुण्यको काम गर्नु भएको छ । बिरामी आमा निमाकुमारी डाँगीको स्वास्थ्यलाभको कामना गर्दै उहाँले पत्रकार सविन प्रियासनको रोहबरमा चामल सहयोग गर्नु भएको हो ।