बालश्रम निवारणका लागि गढवामा बाल सञ्जाल पदाधिकारीहरूलाई अभिमुखीकरण

गढवा,१४ असार। गढवा गाउँपालिकाको आयोजनामा बालश्रम निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। गाउँपालिका अन्तर्गत क्रियाशील बाल सञ्जालका पदाधिकारीहरूलाई लक्षित गरी एकदिवसीय गढवा गाउँपालिकाको कार्यालयमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बाल श्रम निवारण सम्बन्धी व्यवस्था, बालश्रम न्यूनीकरण तथा बाल अधिकारको संरक्षण सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। बालश्रम रोकथामका लागि समुदायस्तरमा बालबालिकाको सशक्तिकरण, शिक्षा पहुँच वृद्धि र चेतनामूलक गतिविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर ५ का वडाअध्यक्ष लेखबहादुर थापाले बताउनुभयो । कार्यक्रमले बालश्रम निवारणका लागि बालबालिकाहरू स्वयं सचेत, सशक्त र नेतृत्वदायी बन्ने अवसर दिएको वडाध्यक्ष थापाले बताउनुभयो।

कार्यक्रममा प्रशिक्षक तथा बालमैत्री स्थानीय शासन बिज्ञ बिकिरण गौतम बालश्रमको कानुनी प्रावधान, समुदायमा देखिने बालश्रमका प्रकार, विद्यालयको भूमिकासहित बालश्रमको न्यूनीकरणमा बालबालिकाहरूको सक्रियता कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । साथै, शिक्षा र आत्म-सुरक्षाको महत्वबारे समेत जानकारी दिइएको थियो।

सहभागी बालबालिकाहरूले आफूले सिकेका विषयहरू विद्यालय र समुदायमा फैलाउने र बालश्रम अन्त्य गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सहभागीहरूले बालश्रमविरुद्धको अभियानमा बाल सञ्जालको सक्रियता अझ बढाउने बताएका थिए।
कार्यक्रमको आयोजना गढवा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले गरेको हो। सहभागी बाल सञ्जालका प्रतिनिधिहरूले आफूले सिकेका विषयहरू विद्यालय र समुदायमा लागू गर्दै बालश्रम विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।

अभिमुखीकरण कार्यक्रमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आउनु भएका बालमैत्री स्थानीय शासन बिज्ञ बिकिरण गौतम रहनुभएको थियो भने  कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

जनता माध्यमिक विद्यालय कालाकाटेमा आवासीय भवन शिलान्यास

गढवा, १३ असार । गढवा गाउँपालिका–१, कालाकाटे स्थित जनता माध्यमिक विद्यालयमा आवासीय भवनको शिलान्यास गरिएको छ। गढवा गाउँपालिकाबाट विनियोजित ६२ लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको सो भवनको शिलान्यास गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास) ले गर्नुभएको हो।

शिलान्यास समारोहमा वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, स्थानीय उद्योगी, समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले विद्यालयमा आवासीय भवन निर्माणले विद्यार्थीहरूको सिकाइ र बसोबासको सहजता सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नु भएको थियो।

गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार सुदृढीकरणका कार्यक्रमलाई अघि बढाइरहेको जनाइएको छ। सो भवन निर्माण सम्पन्न भएपछि टाढाबाट आउने विद्यार्थीहरूलाई आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको विद्यालयले जनाएको छ।

गढवामा कुपोषण प्रभावित बालबालिकालाई पोषण परामर्श तथा वास किट वितरण

गढवा,११ असार । गढवा गाउँपालिका वडा नं. ६ मा रहेको गढवा स्वास्थ्य चौकीको आयोजनामा कुपोषण प्रभावित बालबालिकाहरूलाई लक्षित गर्दै विशेष पोषण परामर्श तथा WASH किट वितरण कार्यक्रम सम्पन्न भएको छ।

हेलेन किलर इन्टरनेशनल र एडीआईको आर्थिक तथा प्राविधिक सहयोगमा मङ्गलबार सम्पन्न उक्त कार्यक्रममा कडा सिघ्र कुपोषण (Severe Acute Malnutrition) तथा मध्यम सिघ्र कुपोषण (Moderate Acute Malnutrition) भएका बालबालिकाहरू र तिनका अभिभावकहरूलाई लक्षित गर्दै पोषण सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरिएको हो।

कार्यक्रमका क्रममा सहभागी २६ जना लाभग्राहीहरूलाई WASH किट (स्वच्छता सामग्री) वितरण गरिएको गढवा स्वास्थ्य चौकीले जानकारी दिएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूलाई पोषण, बालस्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी जानकारी प्रदान गरिएको थियो।