बेस संस्थाद्वारा गठित गढवा गाउँपालिका स्तरीय परियोजना समितिको बैठक तथा अनुगमन सम्पन्न

गढवा, १५ असार ।पोषणमार्फत जीवन रुपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक तथा संयुक्त अनुगमन आइतबार गढवामा सम्पन्न भएको छ।

कार्यक्रममा परियोजनाका फिल्ड सुपरभाइजर रामप्रसाद चौधरीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र र हालसम्म भएका गतिविधिहरूको विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाले पोषण विशेषतर्फ सिघ्र कुपोषणको पहिचान तथा उपचार, स्तनपान प्रवर्द्धन, भिटामिन ए तथा जुकाको औषधी वितरण, साथै पोषण संवेदनशील पक्षतर्फ खानेपानी, सरसफाइ, आपूर्ति श्रृंखला, खाद्य बजार उद्यम र कृषि उत्पादनलाई समेटेको छ।

गढवा गाउँपालिकामा ५ वर्षमुनिका बालबालिका भएका १,१०० घरधुरी लक्षित छन् भने कुल ६,१५९ घरधुरी परियोजनाको दायरामा छन्। हालसम्म २ सय ४६ समूह गठन भएका मध्ये ३० समूह गढवा गाउँपालिकामा छन्। गढवामा वडा नं. ३, ४, ५ र ६ मा परियोजना सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

कृषि तथा खाद्य सुरक्षातर्फ, परियोजनाले एक पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गरी बैठक सम्पन्न गरिसकेको छ। साथै दुईवटा वडा स्तरीय पोषिलो खाना प्रदर्शनी कार्यक्रम, २१० घरधुरीलाई घरबारी बगैचा तालिम, ६ जना किसानलाई बेर्ना तथा नर्सरी सहयोग, र एकीकृत कीट व्यवस्थापनसम्बन्धी फ्लट निर्माण गरिएको प्रस्तुतिमा उल्लेख गरिएको थियो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेख बहादुर थापाले गर्नुभएको थियो।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, वडा नं. ६ का वडाध्यक्ष विरबहादुर आलेमगर, कार्यपालिका सदस्य मानबहादुर नेपाली, विभिन्न शाखाका प्रमुख, कर्मचारी, र परियोजना सल्लाहकार समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

वडाध्यक्ष विरबहादुर आलेमगरले मन्तव्य राख्दै संस्थाले समाजका गरिब, विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी शिक्षा, स्वास्थ्य तथा पोषण क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँले २०४७ सालदेखि प्रौढ शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमार्फत कुपोषण न्यूनीकरणमा काम गर्दै आएको संस्थाको कार्यको प्रशंसा गर्नुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष थापा‌ले पोषणमार्फत जीवन रुपान्तरण परियोजनाले ग्रामीण क्षेत्रमा स्थानीय सरकार पुग्न नसकेका क्षेत्रमा समेत सशक्त पहल गर्दै आएको बताउँदै आगामी दिनमा थप सहकार्य गर्दै जान पालिका प्रतिबद्ध रहेको बताउनुभयो।

प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ को समापन समारोह सम्पन्न

गढवा, १५ असार। गढवा गाउँपालिका वडा नं. ७ स्थित जनता माविको खेल मैदानमा आयोजित प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ को समापन कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।

गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आलेमगरको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि नित्यानन्द शर्माले गढवा गाउँपालिकाले स्थानीय स्रोत, साधनको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न यो मेला अत्यन्त सफल भएको बताउनुभयो। उहाँले गढवामा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मेला महोत्सवको आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। राम जानकी मन्दिर, तपोभूमि, स्वर्गद्वारी, कोइलाबास नाका लगायतका क्षेत्रहरूलाई भारतीय पर्यटकसँग जोडेर गढवालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मिडियाको भूमिकासमेत महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो। शर्माका अनुसार, मेलाले स्थानीय बजारको कारोबार, कृषि उत्पादन, कला–संस्कृति र भाषा–संस्कृतिको जगेर्नामा पनि उल्लेखनीय योगदान दिएको छ।

समापन कार्यक्रममा देउखुरीका कुसल, सफल र पछिल्लो समयमा चर्चाको शिखर चुम्न सफल उद्घोषक तथा गायक अनुप बुढा मगर र प्रथम गढवा कृषि पर्यटन सांस्कृतिक तथा व्यापार मेला २०८२ मा सबैभन्दा ठुलो प्रायोजकको रुपमा रहेको जि एग्रोटेड नेपालगञ्ज धर्तिमाता रसायनिक मलको उत्पादकलाई सम्मान गरेको छ।

गढवा उद्योग बाणिज्य संघको आयोजना सञ्चालन भएको प्रथम गढवा कृषि पर्यटन सांस्कृतिक तथा व्यापार मेला २०८२को उद्घाटन कार्यक्रममा झाँकी तथा शोभायात्राको मुल्यांकनटिमले दिएको नतिजा अनुसार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र प्रथम, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र द्धारा सञ्चालीत सोरठी नृत्य र बाल संसार एकाडेमीको द्वितीय र गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा र नेपाल अवधी संस्कृति संरक्षण केन्द्र तृतीय स्थान र गढवा गाउँपालिका वडा नम्बर ४ रामनगरको ढोलताजा सान्त्वना स्थान हाँसिल गरेका छन् । सबैलाई नगद र सम्मान पत्र सहित सम्मानित गरिएको छ।राजनितिक दलका प्रतिनिधिहरुलाई स्थानीय उत्पादन माटाको भाँडो मग मायाको चिनोको रुपमा दिईएको थियो।

गढवा उद्योग वाणिज्य संघको आयोजनामा गढवा स्थिति जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा गत असार ३ गतेदेखि प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला – २०८२ को सुरु भएको थियो। असार ३ गतेदेखी असार १२ गतेसम्म सन्ध्याकालीन समयमा ४ बजेदेखि ८ बजेसम्म मेला संञ्चालन भनिएता पनि थप तिन दिन म्याद थप गरी १५ गते सम्म अनुमति लिएर सञ्चालन गरिएको थियो । मेलाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले गर्नुभएको थियो ।

कार्यक्रमको संचालन गढवा उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार तथा गढवाका वरिष्ठ पत्रकार शिवराज पन्थीले गर्नु भएको थियो।

शिक्षक, विद्यार्थी, युवाद्वारा बटुवालाई खाना खुवाउनेदेखि सडक सरसफाईसम्म

घोराही, असार १४ । घोराही–१७ गुलरियास्थित मदन भण्डारी मेमोरियलका विद्यार्थी एवं शिक्षकहरुले जननेता मदन

भण्डारीको ७४ औं जन्मोत्सवका अबसरमा शनिबार सडकका बटुवाहरुलाई खाना खुवाउनेदेखि विभिन्न स्थानमा सरसफाई गरेका छन् ।

जय महाकाल युवा समूह

घोराहीले घोराहीको गुम्राहचोकमा आयोजना गरेको बटुवाहरुका लागि निशुःल्क खाना खुवाउने कार्यक्रममा समेत विद्यालयका विद्यार्थी

एवं शिक्षकले सहयोगीकारुपमा काम गरेका थिए ।

यसैगरी मदन भण्डारी

मेमोरियल स्कूलका शिक्षक विद्यार्थीको टोली र जय महकाल युवा समूहले लुम्बिनी खेलकूद परिषद्ले घोराहीमा आयोजना गरेको खुल्ला दश किलोमिटर दौडको सुरुवाती क्षेत्र विद्युतदेखि नेपाल पत्रकार महासंघ दाङको अगाडी सयौ सहभागिले प्रयोग गरेको पानीको बोतल, प्लास्टिक, केराको बोक्रा, फ्रुटीको खोल सरसफाई गरेका थिए । पत्रकार सविन प्रियासनको संयोजनमा सरसफाई क्षेत्रमा आएको शिक्षक, विद्यार्थी, एवं महाकाल युवा समूहको टोलीले गुम्राहचोकमा पनि सरसफाई गरेको थियो । यसैबीच सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा जय महाकाल युवा समूहको टोलीले गुम्राहचोकमा सरसफाई गरेको छ ।