गढवामा १५ दिने महिला सिप विकास तालिम सम्पन्न

गढवा, १८ असार। गढवा गाउँपालिका वडा नं. ६ मा आयोजित १५ दिने कुसन, डल/गुडिया बनाउने सिपमूलक तालिम आज सम्पन्न भएको छ। महिलाहरूलाई स्वरोजगारमुखी बनाउन र उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो।

उक्त तालिम सामाजिक विकास डिभिजन कार्यालय, तुलसीपुर दाङको आर्थिक सहयोग तथा दलित सशक्तीकरण अभियान, गढवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी महिलाहरूले कुसन, डल तथा गुडिया बनाउने सीपहरू व्यावहारिक रूपमा सिकेका थिए। तालिमले महिलाहरूमा आत्मनिर्भरता, घरमै बसेर आम्दानी गर्न सकिने क्षमताको विकास र घरेलु उद्योगतर्फको आकर्षण वृद्धि हुने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।

तालिम समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सहभागी महिला प्रशिक्षार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

गढवा गाउँपालिकाले आगामी दिनहरूमा समेत यस्ता सिप विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

पानीको निकास बन्द हुँदा गढवा पुस्तकालय भवन संकटमा

गढवा, १७ असार । देउखुरी उपत्यकास्थित गढवा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भवन अहिले गम्भीर संकटमा परेको छ। पछिल्ला केही दिनयता असार महिनामा परेको अविरल वर्षाका कारण पुस्तकालयको पछाडिको भागमा पानी जमेर पोखरीको रुप लिएको छ।

स्थानीयले जानकारी दिएअनुसार पुस्तकालय भवन पछाडिको प्राकृतिक पानी निकास मार्ग अवरुद्ध भएपछि वर्षाको पानी निक्लन नसकी भवन वरिपरि जमिनमा फैलिएको छ। यसले पुस्तकालयको भौतिक संरचना जोखिममा पार्नुका साथै भित्रका पुस्तक र उपकरणहरूमा समेत क्षति पुर्याउने डर बढेको सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकले बताउनुभयो।

पुस्तकालय सञ्चालक समिति, स्थानीय सरकार र सरोकारवाला निकायबीच चाँडो समन्वय गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ। साथै, दीर्घकालीन समाधानका लागि पानी निकास व्यवस्थापन, नाला निर्माण वा रेन वाटर ड्रेनेज प्रणाली बनाउनु पर्ने स्थानीयको माग छ।

गढवा पुस्तकालय तथा स्रोत केन्द्र बालबालिका, किशोर/किशोरी, विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्ताहरूको लागि एक मात्र शैक्षिक स्रोत केन्द्र हो। यसलाई संकटबाट बचाउन सार्वजनिक, संस्थागत र सरकारी तहबाट तत्काल पहल आवश्यक देखिएको छ।

सुनमा लगाउन लागिएको बिलासिता कर र पत्थरमा भ्याट हट्नुपर्छ : प्रियासन

घोराही असार १६ । सरकारले आउँदो आर्थिक वर्षबाट सुनमा बिलासिता कर अनि पथ्थरहरुमा भ्याट लगाउन लागेकोमा दङालीहरुले यसको कडा शव्दमा बिरोध गरेका छन् । यस सम्बन्धि घोराहीमा आयोजना गरिएको सर्वपक्षिय कार्यक्रममा सहभागिहरुले सुन बिलासिताको बस्तु नभएर सबै नेपालीको आस्था, धर्म, संस्कृतिसँग जोडिएको धातु भएकाले यसलाई बिलासिताको करको दायरामा राख्न नहुने निष्कर्ष निकालेका छन् ।

सबै पक्ष सहभागि ‘उपभोक्ता सचेतना’ कार्यक्रममा सहभागिहरुले सुनमा लगाइएको बिलासिता कर र पथ्थरमा लगाउन लागिएको भ्याट तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् । यस्तो भएमा प्रत्यक्षरुपमा नागरिकहरु महंगीको मारमा पर्ने, व्यवसायहरु पलायन हुने र मुलुककै अर्थतन्त्रमा गम्भीर असर पुग्ने निष्कर्ष निकाल्दै सुन महंगीका कारण बजार भाउ समेत आकाशिने भएकाले सरकारलाई यसमा गम्भीरताका साथ ध्यान दिन दङालीहरुले माग गरेका छन् ।

सुन चाँदी व्यवसायी संघ घोराही र तुलसीपुरले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताकारुपमा धारणा राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सुनलाई बिलासिताको सामान भन्नुनै गलत भएको भन्दै तत्काल सुनमा लगाउन लागिएको बिलासिता कर अनि पथ्थरमा लगाउन लागिएको भ्याट हटाउन सरकारसँग माग गर्नुभयो । बजारमा आएको निराशा र मन्दिलाई यस्तो निर्णयल थप प्रोत्साहन गर्ने भएकाले तत्काल निर्णय सञ्चालन प्रियासनले सरकारसँग जोडदार माग गर्नुभयो । उहाँले व्यवसायीले गरेको आन्दोलन नागरिकमैत्री हुनुका साथै मुलुकको पक्षमा समेत भएको तर्क राख्नुभयो ।

सुनचाँदी व्यवसायी महासंघ दाङका अध्यक्ष बिनोदकुमार विश्वकर्माको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि नेकपा एमालेका अध्यक्ष शिबकुमार आचार्यले सुनचाँदी व्यवसायीहरुले सुरु गरेको आन्दोलन जायज भएकाले आफुहरुको पूर्णरुपमा समर्थन रहेको बताउनुभयो । यसैगरी विशिष्ठ अतिथि नेपाली कांग्रेस दाङका सचिव योगीले अर्जुन योगीले सुन कुनैपनि कोणबाट बिलासिताको सामान नभएकाले यससम्बन्धि गरिएका पछिल्ला कर सम्बन्धी निर्णयलाई सच्चाउन सरकारसँग माग गर्नुभयो । यसैगरी विशिष्ठ अतिथि नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले सरकारले तत्काल सुनलाई बिलासिताको सामान भनेर लगाउन लागेको कर फिर्ता गर्नुपर्ने बताउनुभयो । सो अबरमा उद्योग वाणिज्य संघ लुम्बिनीका कोषाध्यक्ष नारायाण भुसालले सुनचाँदी व्यवसायीहरुले थालेको आन्दोलन जायज भएकाले आफुहरुको पूर्ण समर्थन रहने बताउनुभयो । यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोसीले उद्योगी व्यवसायीहरुले तिरेको करबाट मुलुक चलाउन खोज्नेहरुले व्यवसायीहरुलाई पलायनको बाटोतर्फ धकेलेकोमा बिरोध गर्दै सुनमा लगाएका सबै करहरु हटाउनुपर्ने माग गर्नुभयो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सुनलाई बिलासि सामान मानेर कर लगाउँदा यसबाट नागरिकहरु प्रत्यक्ष मारमा पर्ने भएका कारण पत्रकार महासंघ पनि व्यवसायीहरुको आन्दोलनमा साथै भएको बताउनुभयो । सो अबसरमा सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ध्रुबकुमार गहतराजले विषय बस्तु माथि प्रकाश पार्दै सुनमा लगाउन लागिएको बिलासिता कर र पथ्थरमा लगाउन लागिएको भ्याट नहटाउँदासम्म आफुहरुको आन्दोलन जारी रहने बताउनुभयो ।

सो अबसरमा विभिन्न व्यवसायी एवं सर्वसाधारणहरुले सुनमा लगाउन लागिएको बिलासिता कर र पथ्थरमा लगाउन लागिएको भ्याटले पार्ने असरको बिरुद्धमा बोल्दै सरकारलाई तत्काल यस्तो निर्णय सच्चाउन माग गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण संघका घोराही सचिव अभिषेक सेर्पाइलीले गर्नुभएको थियो । यसैबीच सुनचाँदी व्यवसायीले सुनमा लगाइएको बिलासिता सम्बन्धी कर खारेजीलगायतका मागहरु राखि जारी राखेको आन्दोलन आन्तर्गत मंगलबार तुलसीपुरमा कार्यक्रम गर्ने जनाएका छन् । हाल सुनचाँदी व्यवसायीले देशभर पसल बन्द गरेर आन्दोलन गरिरहेका छन् ।