खेलकुद क्षेत्रको उज्यालो भविष्य र प्रभावकारी सञ्चालनका उपायहरू

दङ,२३ असार ।नेपालमा फुटबलको उभार विगत केही दशकदेखि देखिंदै आएको भए पनि त्यसको संरचना, प्रवद्र्धन र व्यवसायिक विकास खासै प्रभावकारी देखिएको छैन । यस्तै अवस्थामा, दाङको घोराहीमा स्थापित लुम्बिनी फुटबल एकेडेमीले पछिल्ला तीन वर्षमा फुटबललाई व्यवस्थित, व्यवसायिक र अन्तर्राष्ट्रिय स्तरमा लैजाने सपना बोकेको छ । यो एकेडेमीले विशेषगरी पुरुष फुटबलर उत्पादन गर्दै आएकोमा अब महिला खेलाडी उत्पादनमा समेत अग्रसरता देखाएको छ ।

शनिबार साँझ एकेडेमीका सञ्चालक समिर वलीले एकेडेमीले घोराही–१७ उखुबारीमा स्थापना गरेको फुटबल मैदानमा पुगेर त्यहाँ भैरहेको गतिविधिहरुबारेमा प्रत्यक्ष हेरेपछि मलाई एकेडेमी अनि फुटबलको बारेमा केही कुरा लेख्न मन लाग्यो । म आफु पनि फुटबलमा रुची राख्ने र अहिले सम्म पनि मैत्रीपूर्ण फेटवल खेल्ने गर्दछु । खासगरी २०६९ सालमा मेरो नेतृत्वमा दाङ युवा मञ्च गठन गरेर दाङमा रोकिएको फुटबल खेललाई औपचारिकरुपमा अगाडी बढाउने जमर्को म आफैले गरेको थिए । दाङ युवा मञ्चको संस्थापक अध्यक्ष म, महासचिव नरेन्द्र पुन र अन्य साथीहरु पनि विभिन्न पदमा हुनुहन्थ्यो । पछि दाङ युवा मञ्चको नेतृत्व समीर वलीलेनै लिन पुगे । हाल दाङ युवा मञ्च अलि निष्क्रिय जस्तो छ । तर समिर वली फुटवल क्षेत्रमा नयाँ आयाम सहित अघि बढि रहेका छन् । यस लेखमा लुम्बिनी फुटबल एकेडेमीको हालको अवस्थाको विश्लेषण गर्दै, यसलाई अझ प्रभावकारी, समावेशी र दिगो बनाउन आवश्यक रणनीति, भूमिकाहरु र सम्भावनाहरूको चर्चा गरिनेछ ।

लुम्बिनी फुटबल एकेडेमीको स्थापना र उद्देश्य :

–विसं २०७८ मा स्थापना गरिएको लुम्बिनी फुटबल एकेडेमीले स्थानीयस्तरका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्य राखेको छ । मोफसलमा यति व्यवस्थित फुटबल एकेडेमी स्थापना हुनु आफैमा उदाहरणीय छ । एकेडेमीको मूल उद्देश्य भनेको युवाहरुलाई खेलकुदमा करियर निर्माण गर्न उत्प्रेरित गर्नु, उनीहरुमा अनुशासन, समर्पण र प्रतिस्पर्धात्मक भावना विकास गर्नु हो ।

अबको यात्रा : महिला फुटबलतर्फको अग्रसरता :

–सुरुवाती तीन वर्षमा केवल पुरुष खेलाडीहरुमा केन्द्रित एकेडेमीले २०८२ सालदेखि महिला फुटबल प्रशिक्षार्थीहरुलाई पनि प्रशिक्षण दिन थालेको छ । महिला खेलाडीहरुलाई समावेश गर्नुले समावेशी खेलकुद विकासतर्फ एकेडेमीको अग्रसरता देखिन्छ । नेपालमा महिला फुटबलको सम्भावना उच्च छ, तर अवसर र संरचना सीमित भएकाले एकेडेमीको यो कदम दीर्घकालीन दृष्टिले महत्वपूर्ण हुनेछ ।

व्यवसायिकता र प्रशिक्षणको गुणस्तर :

–एकेडेमीले खेलाडीहरुलाई मासिक शुल्कको आधारमा प्रशिक्षण दिँदै आएको छ । प्रशिक्षकहरु अनुभवी, पूर्व राष्ट्रिय खेलाडीहरु रहेका छन् जसले खेलाडीहरुलाई अन्तर्राष्ट्रिय ढाँचामा तयार पार्न महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । साथसाथै, स्कलरसिपमार्फत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेत अवसर प्रदान गरिँदै आएको छ ।

दैनिक प्रशिक्षण तालिका :

–डाइट प्लान र फिजिकल फिटनेस

–मानसिक स्वास्थ्य र अनुशासन सम्बन्धी तालिम

–भविष्य योजना निर्माण

यी सबै प्रशिक्षणको हिस्सा हुनु एकेडेमीको व्यवसायिकताप्रति झुकाव देखाउँछ ।

सफलता र अन्तर्राष्ट्रिय प्रतिनिधित्व :

एकेडेमीले स्थापना भएको छोटो अवधिमा नै स्थानीय तथा प्रदेशस्तरीय प्रतियोगिताहरु जितेर आफ्नो क्षमताको प्रमाण दिइसकेको छ । हालै एकेडेमीले १६ वर्ष मुनिका खेलाडीहरुको टोलीलाई डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय दाना कप फुटबल प्रतियोगितामा सहभागी गराउन लागेको छ । यो आफैमा ऐतिहासिक कदम हो जसले दाङलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनेछ।

लुम्बिनी फुटबल एकेडेमीको महत्व :

–स्थानीय युवामा खेलप्रतिको रुचि बढाउनु

–रोजगारीको अवसर सिर्जना गर्नु

–स्वास्थ्य र अनुशासनको संस्कार विकास गर्नु

–महिला सशक्तिकरणमा योगदान

–घोराहीलाई खेलकुद नगरीको रुपमा परिचित गराउनु

चुनौतीहरु :

–आर्थिक स्रोतको कमीः प्रायः निजी खर्चमा सञ्चालन भएको एकेडेमीले दीर्घकालीन लागि स्थायीत्व प्राप्त गर्न संघ, प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।

–पूर्वाधार अभावः नियमित अभ्यासका लागि एकेडेमीले आफै मैदान तयार गरेको भएपनि ड्रेसिङ रुम, व्यवस्थित ट्वाइलेट बाथरुम, मेडिकल सुविधा र अन्य आवश्यक प्रणाली अझै पनि अपूरो छ ।

–प्रशिक्षक अभावः उच्चस्तरीय लाइसेन्स प्राप्त प्रशिक्षकहरुलाई आर्कषित गर्न सजिलो छैन ।

–अनुदान तथा प्रोत्साहनको न्यूनताः सरकारी नीति तथा बजेटमा एकेडेमीहरूलाई सहयोग गर्ने व्यवस्था न्यून छ ।

प्रभावकारी सञ्चालनका लागि गर्नुपर्ने कार्यहरू :

क) स्थानीय सरकारको भूमिका :

–एकेडेमीलाई वार्षिक बजेटमार्फत सहुलियत दिनु

–मैदान र पूर्वाधार निर्माणमा लगानी गर्नु

–महिला खेलकुद प्रोत्साहन कार्यक्रममार्फत छात्रवृत्ति दिनु

ख) प्रदेश सरकार र खेलकुद परिषद्को भूमिका :

–प्रशिक्षक तालिम र लाइसेन्सको व्यवस्था

–अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न भिषा, टिकट, आवास सहयोग

–खेलाडी विकास कोषको स्थापना

ग) समुदाय र अभिभावकको भूमिका :

–आफ्ना बालबालिकालाई खेलप्रति सकारात्मक दृष्टिकोण दिनु

–आर्थिकरुपमा वा समय दिएर सहयोग गर्नु

–एकेडेमीको कार्यक्रमहरुमा सहभागी भएर उत्साह बढाउनु

घ) मिडिया र निजी क्षेत्रको भूमिका :

–प्रायोजन प्रणालीलाई सशक्त बनाउनु

–सफल खेलाडीका कथा प्रस्तुत गरेर थप युवालाई प्रेरणा दिनु

–एकेडेमी ब्रान्डिङमा सहकार्य गर्नु

सम्भावना र भविष्य योजना :

–दाङलाई फुटबल हब बनाउने योजना ः भौगोलिक हिसाबले उपयुक्त, जनशक्ति भएको, शान्त वातावरण रहेको दाङलाई लुम्बिनी फुटबल एकेडेमीको माध्यमबाट ‘फुटबल सिटी’को रुपमा विकास गर्न सकिन्छ ।

एकेडेमीको शाखा विस्तार :

–तुलसीपुर, लमही, कोहलपुर जस्ता क्षेत्रमा उपशाखा स्थापना गर्न सकिन्छ ।

फुटबल लिगको आयोजना :

–आफ्नै ‘लुम्बिनी युथ लिग’ आयोजना गरेर प्रतिभाशाली खेलाडी छनोट गर्न सकिन्छ ।

शिक्षा र खेलको समायोजन :

–खेल शिक्षा आजको आवश्यकता हो ।

गढवा गाउँपालिकाद्वारा लघु उद्यमीहरूलाई प्रविधि हस्तान्तरण

गढवा,२१ असार । “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ गढवा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भएको कार्यक्रममा लघु उद्यमीहरूलाई उनीहरूको व्यवसाय अनुकूल उपकरणहरू वितरण गरिएको हो। गढवा गाउँपालिका वडा नं. ८ का ४ जना उद्यमीहरूलाई होटल व्यवसायका लागि डी–फ्रिजर, माईक्रोभन, ग्यास चुलो र मिक्सर प्रदान गरिएको छ। त्यस्तै वडा नं. ४ र ५ का एक–एक जना महिला उद्यमीहरूलाई सिलाई कटाई व्यवसाय सञ्चालनका लागि विद्युतीय सिलाई मेसिन हस्तान्तरण गरिएको हो।

यसैगरी, वडा नं. १ मा रहेको सयपत्री दुना–टपरी समूहका सदस्यहरूलाई पात टिप्न सहज होस् भनेर भर्याङ समेत प्रदान गरिएको छ।

कार्यक्रमको अध्यक्षता गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले गर्नुभएको थियो। कार्यक्रममा प्रशासन शाखा प्रमुख पुनराम शर्माले प्रविधिको प्रयोगबाट व्यावसायिक उत्पादन वृद्धि भई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शारदाकुमारी चौधरीले गढवा गाउँपालिकाले उद्यमशील महिलाहरूलाई सीप, प्रविधि र प्रेरणा दिन निरन्तरता दिइरहेको बताउँदै, उपलब्ध प्रविधिको सही सदुपयोग गर्दै व्यवसायिक उत्पादनमा लाग्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले केही महिनापछि कार्यक्रमको प्रभावको अनुगमन गरिने समेत जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका उद्यम विकास शाखाकी सहजकर्ता बिनो भुजेलले गर्नुभएको थियो।

घोराही बनाऔं अभियानद्वारा निःशुल्क बिरामी बोक्ने अटो चालक घिमिरेलाई अभिनन्दन

घोराही, २० असार  । घोराही उपमहानगरपालिका वडा नम्वर ३ र ४ का स्थानीयबासीहरुलाई लक्षित गरेर एक अटो चालकले परोपकारी अभियान सुरु गरेका छन् ।

अटो चालक रेशु घिमिरेले विहान ७ बजेदेखि ९ बजेसम्म त्यस क्षेत्रका बिरामीहरुलाई राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठान लगायतका स्वास्थ्य क्षेत्रमा निःशुल्क सवारी सेवा दिइ रहनु भएको छ । अटोल चालक घिमिरेले वडा नम्वर ३ र ४ मा बसोबास गर्ने अति विपन्न, जेष्ठ नागरिक, अपांगता, दृष्टिबिहीन, क्यान्सर र मृगौलाका बिरामीलाई विहान ७ बजेदेखि ९ बजेसम्म निःशुल्क बोक्ने भनेर आफ्नो फोन नम्बरसहित अटोमा व्यानर राख्नु भएको छ । उहाँ प्राय विहान उक्त समयमा बिरामी बोकनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेटिनु हुन्छ । उहाँको कामको उच्च मूल्यांकन गर्दै घोराही बनाऔं अभियानले अटो चालक रेशु घिमिरेलाई बिहीबार प्रतिष्ठानकै हाताभित्र अभिनन्दन गरेको छ ।

घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, प्रष्ठिानका निर्देशक डा. जनादन पन्थीसहित प्रतिष्ठानमा सहभागि टोलीले अटो चालक घिमिरेलाई प्रमाणपत्र, खादा र टोपी लगाएर अभिनन्द गरेको हो । सो अबसरमा बोल्दै अभिनन्दित अटो चालक घिमिरेले घोराही बनाऔं अभियानको अभिनन्दनले सामाजिक कार्य गर्नका लागि आफुलाई थप हौसला दिएको बताउनुभयो । घरको अवस्था नाजुक भएपनि सामाजिक कार्य गर्नुपर्छ भन्ने पारिवारिक चेत अनि अनुभवले गर्दा यस्तो काम गरिरहेको अटो चालक घिमिरेको भनाइँ छ । उहाँले मान्छे भएपछि थोरैधेरै सामाजिक काम गर्नुपर्ने बताउनुभयो ।

सो अबसरमा बोल्दै प्रतिष्ठानका निर्देशक डा. जानदन पन्थीले अटोचालक घिमिरेले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गर्नुभयो । यसैगरी घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले घोराहीलाई सभ्य, राम्रो, समृद्ध अनि सुशासनयुक्त बनाउने आफुहरुको अभियानलाई सार्थक बनाउनका लागि अटो चालक घिमिरे जस्ता मान्छेहरु आवश्यक रहेको बताउनुभयो । सो अबसरमा अभियानका उपसंयोजकहरु बिनोद केसी, केशव गिरी, डा. लोकराज पराजुली, युवा नेता जंग पुन, घोराही बनाऔं अभियानका महासचिव पाण्डव शर्मालगायतको उपस्थिति रहेको थियो ।