घाँस अभावका कारण सामुदायिक वनमा स्याउला काट्दै मनिकापुरकी सरिता

गढवा, २४ असार । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी सरिता केसी जीविकोपार्जनका लागि घरेलु बाख्रापालन गर्दै आउनु भएको छ। उहाँले हाल छवटा बाख्रा पालन गर्नुभएको छ।

तर, घरमै बाख्राका लागि आवश्यक पर्ने घाँसको व्यवस्था नहुँदा सरिता सामुदायिक वनमा गएर स्याउला काट्न बाध्य हुनु भएको छ। सामुदायिक वनमा घाँस काट्न गएका बेला महिलाहरूले जोखिम मोलेर रुख चढ्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ।

“घरमै पर्याप्त घाँस हुन्थ्यो भने हामीलाई यत्रो जोखिम मोल्नुपर्दैनथ्यो,” सरिताले भन्नुभयो, “तर विकास नहुँदा, सामुदायिक वनमै गएर स्याउला काट्नुपर्ने बाध्यता छ।”

स्थानीय स्तरमा पशुपालनको प्रवर्द्धन भए तापनि घाँस उत्पादनको पूर्वाधार अभावका कारण महिला कृषकहरू जोखिम मोलेर दैनिक जीवन यापन गर्न बाध्य छन्।

गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र सँग सहकार्यमा भिटा परियोजना सञ्चालन गरी कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ। परियोजनाले हालसम्म खोर सुधार, भकारो निर्माण, गोठ सुधार, बाख्रा वितरण,नस्ल सुधारका लागि राँगो तथा बोका वितरण लगायतका थुप्रै नविनतम कार्यहरु गरिसकेको परियोजना संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

परियोजनाको उद्देश्य परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै ग्रामीण महिलाहरूलाई आयआर्जन, सशक्तिकरण र आत्मनिर्भरता तर्फ उन्मुख गराउने रहेको गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बताउनुभयो। उहाँका अनुसार, “महिला सशक्तिकरण, युवा उद्यमशीलता र व्यवसायिक उत्पादन क्षमतामा आधारित तालिमहरू प्रदान गरी महिलालाई आत्मनिर्भर बनाउनेतर्फ विशेष ध्यान दिइएको छ।”

यद्यपि, परियोजनाको सेवा अझै घर–घरमा पुग्न नसकेको स्थानीयहरू बताउँछन्। भिटा परियोजनाबाट केही समूह लाभान्वित भए पनि ग्रामिण स्तरका धेरै किसानहरू अझै पनि पहुँचबाहिर रहेका छन्। घाँस उत्पादन, चारे व्यवस्था, र सीप तालिमको पहुँच नहुँदा उनीहरू परम्परागत र कठिन बाटोबाटै पशुपालन गर्न बाध्य छन्।

यसरी सामुदायिक वनमा जोखिमपूर्ण रूपमा स्याउला काट्नुले महिलाहरूको सुरक्षा, स्वास्थ्य र सम्मानप्रति समेत प्रश्न उठाएको छ।
विशाल लगानी, राम्रो उद्देश्य र प्रारम्भिक उपलब्धिपछि पनि गढवा गाउँपालिकामा परियोजनाको समावेशीता र सेवा वितरणको पहुँच विस्तार गर्नु अझै आवश्यक देखिएको छ।

गढवामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सशक्तिकरणका लागि सैलुन व्यवसाय प्रवर्द्धनका लागि सामाग्री हस्तान्तरण 

गढवा, २५ असार ।गढवा गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तिकरण, आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनका लागि सैलुन व्यवसाय सञ्चालनमा सहयोग स्वरूप ४१ प्रकारका आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। सामग्री स्यानी कुमाल (बिजय) लाई हस्तान्तरण गरिएको हो, जसले सैलुन व्यवसायमार्फत स्वरोजगारको बाटो समाउने योजना बनाएका छन्।

कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले भन्नुभयो, “गढवा गाउँपालिका समावेशी तथा समानुपातिक विकासको पक्षधर छ। समाजमा पछाडि पारिएका, बहिष्कृत तथा अल्पसंख्यक समुदायलाई मुख्य प्रवाहमा ल्याउन हामी निरन्तर प्रयासरत छौं। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति हाम्रो नीति सहयोगी र संवेदनशील रहेको छ। आजको यो सहयोग केवल सामाग्री हस्तान्तरण होइन, आत्मबल, सम्भावना र सम्मान हस्तान्तरण पनि हो।”यस प्रकारको कार्यक्रम गाउँपालिकाको सामाजिक उत्तरदायित्व अन्तर्गत हुने समानुपातिक बजेट विनियोजनको उत्कृष्ट उदाहरण भएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले भन्नुभयो, “यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले लामो समयदेखि अवसरको अभाव भोग्दै आएका छन्। राज्यका सबै तहले उनीहरूको आत्मसम्मान, समान अधिकार र जीविकोपार्जनको अधिकारलाई सुनिश्चित गर्नुपर्छ। गढवा गाउँपालिकाले यो विषयमा अग्रसरता लिएकोमा मलाई गर्व छ।”

उहाँले पालिकाले आगामी दिनमा पनि अल्पसंख्यक तथा वञ्चित समुदायलाई उद्यमशीलता र स्वरोजगारमा जोड्ने कार्यक्रमलाई प्राथमिकता दिँदै जाने प्रतिबद्धता जनाउनुभयो।

हस्तान्तरण गरिएका सामग्रीमा समाजथ्रेडिङ चेयर, ट्रली सेट, स्माण्ड फ्यान, ड्रायर, हियर आइरन, फेसियल प्याक, ऐना, हियर कटिङ मेसिन सेट, हियर स्टेट क्रिम लगायत ४१ प्रकारका सामग्री समावेश गरिएको छ।

स्थानीय सरकारको यस्तो प्रयासले समुदायमा स्वरोजगारको बाटो खुलेको र सामाजिक आत्मविश्वास पनि मानव स्वास्थ्य समाज घोराही दाङकी कार्यक्रम संयोजक जुनु चौधरीले बताउनुभयो।

कार्यक्रममा मानव स्वास्थ्य समाज घोराही दाङकी कार्यक्रम संयोजक जुनु चौधरी, भीम नेपाली, स्यानी कुमाल (बिजय) लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो।

गढवा गाउँपालिकामा साना किसान तथा युवा उद्यमशीलता परियोजनाको अनुगमन सम्पन्न

गढवा, असार २३। गढवा गाउँपालिका वडा नं. ७ मा सञ्चालित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजनाको पालिका स्तरीय अनुगमन आज सम्पन्न भएको छ। कृषि तथा पशुपालनमा आधारित विभिन्न कार्यक्रमहरूको मूल्यांकन तथा प्रभावकारिता अवलोकन गर्न पालिकास्तरीय टोली खटिएको हो।

गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहकार्य र ग्रामीण महिला उत्थान केन्द्र, घोराही दाङको समन्वयमा सञ्चालित उक्त परियोजनाले स्थानिय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ। परियोजनाअन्तर्गत गठित किसान समूहहरूले पशुपालन, तरकारी खेती, क्षमता अभिवृद्धि तालिम, तथा आयआर्जनमुखी कार्यक्रमहरू सञ्चालन गरेका छन्।

अनुगमनका क्रममा किसानहरूले परियोजनाबाट आफ्नो जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनको अनुभव सुनाएका थिए। उनीहरूले विभिन्न कार्यक्रमबाट सीप अभिवृद्धि भएको, उत्पादनमा वृद्धि आएको र आम्दानीमा समेत सुधार भएको जनाएका थिए। समितिले किसानहरूको सक्रियता र सफलताप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ।

यसै क्रममा आज पालिकास्तरीय परियोजना अनुगमन तथा समन्वय समितिको बैठक समेत सम्पन्न भएको छ। बैठकमा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल, वडा नं. १, ४ र ८ का अध्यक्षहरू बाबुराम अधिकारी, हरीभगत चौधरी र अब्दुल खालिक सिद्दीकी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, हेफर प्रोजेक्ट नेपालका भीटा परियोजना प्रमुख दुर्गा बहादुर के.सी., क्षेत्रीय प्रबन्धक प्रकाश के.सी., हेफर इन्टरनेशनल नेपालका किशोर काफ्ले, ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी, कृषि शाखा प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख अनन्तराज रेग्मी, भिटा परियोजना संयोजक बसन्त कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले सामाजिक परीक्षणसम्बन्धी प्रस्तुति राखेका थिए।