असार लागेसँगै वर्षा, कृषक खुसी

रामेछाप, असार १ गते । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ ।

जेठ महिनामा खासै पानी नपर्दा खेतबारी सुक्खा बनेको थियो । मकैबाली सुक्न थालेपछि किसानहरू चिन्तित बनेका थिए । असारको पहिलो दिन पानी पर्न थालेपछि किसानमा आशा पलाएको छ ।

मन्थली नगरपालिका –९ पुरानागाउँकी कृषक सरिता श्रेष्ठ भन्नुहुन्छ, “जेठभरिको खडेरीले मकै सुक्न थालेको थियो । आज बिहानदेखि परेको सिमसिमे पानीले बालीमा केही राहत पुगेको छ ।”

आइतबार बिहान मन्थली क्षेत्रमा चट्याङसहित हल्का वर्षा भएपछि अत्यधिक गर्मीका कारण प्रभावित स्थानीय जनजीवनमा शीतलता छाएको छ । स्थानीय व्यवसायी मिलन श्रेष्ठका अनुसार बिहान अबेरबाट पानी परेपछि मौसम शीतल भएको छ । गर्मीबाट सताइएका मन्थलीवासीले राहत पाएका छन् ।

स्थानीय किसानहरू अब निरन्तर वर्षाको आशामा रहेको बताएका छन् । जिल्लाको हिमाली पालिका उमाकुण्ड गाउँपालिकामा असार लागेसँगै धान रोपाइँ सुरु भएको छ ।

गढवा गाउँपालिकाद्वारा भिटा परियोजनाले गरेको गतिविधिको अनुगमन

गढवा, २५ जेठ । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर १,२,३ र ५ मा गरिएका गतिविधि, योजनाकोप्रगतिको आईतबार अनुगमन गरिएको छ ।

परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर १ मा गरिएको सामुहिक बेसार खेती,वडा नम्बर २ मा परियोजनाद्वारा निर्माण भएका खोर निर्माण, वडा नम्बर ३ मा बेसार खेती र वडा नम्बर ५ मा खज्रौटामा भैसीको भकारो निर्माणको अनुगमन गरिएको गरिएको हो।
परियोजना अनुगमन तथा समन्वय समिति संयोजकत्वमा अनुगमन समितिले वडा नम्बर १,२,३ र ५ वडाको बिभिन्न ठाउँमा पुगेर त्यहाँ भए गरेका कायहरुको स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा परियोजनाका बिभिन्न समूहहरुलाई गरेको एकल तथा सामूहिक बेसार खेती, निर्माण गरेका खोर, भकारोको बारेमा जानकारी लिनुका साथै बाख्रा तथा भैसी पालक कृषकहरुसंग व्यवसायीक रुपमा बाख्रा तथा भैसी पालनका लागि आवश्यक पर्ने सहयोगको बारेमा राय संकलन समेत गरिएको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।

भैसी पालनमा राम्रो सम्भावना भएको गढवा गाउँपालिका वडा नम्बर ५ को खज्रौटा, बेसारखेती भैरहेको वडा नम्बर १ को मलमला र वडा नम्बर ३को सुपैला सुपैलाका कृषकहरुको माग अनुसार थप कार्यक्रम लागु गरिने उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।

अनुगमन समितिलाई कृषकहरुले भैसी पालन थप ब्यवस्थित बनाउन पशु प्राविधिक, घाँसको ब्यवस्थापन र भैंसीमा लाग्ने रोगको बारेमा बिशेष जानकारी तथा उपचारका लागि सहयोग गर्न अनुराेध गरेका छन् । कृषकलाई आत्मनिर्भर बन्न पालिकाले पशु पालक कृषकहरुको लागि बिशेष कार्यक्रम सञ्चालन गरेको र आवश्यक पर्ने सम्पूर्ण सहयोग परियोजना मार्फत गर्ने उपाध्यक्ष चौधरीले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

वडा नम्बर १ र ३ मा भैरहेको बेसारखेतीका लागि सिचाईको व्यवस्थापन गर्न कृषकहरुले अनुगमन समितिलाई अनुरोध समेत गरेका छन्।

अनुगमन समितिमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, कार्यपालिका सदस्य चन्द्रा केसी, ५ नम्बर वडा सदस्य खिमा डाँगी, हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रवन्ध प्रकाश केसी, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ/भिटा परियोजनाका फोकल पर्सन भिमकान्त चौधरी, गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, कृषि विकास शाखाका प्रमुख कर्ताराम यादव, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अधिकृत खेम बहादुर चौधरी, अनन्त राज रेग्मी, भिटा परियोजनाका सामुदायिक सहजकर्ता कैलाश चौधरी, कल्पना चौधरी, माया चौधरी, यमुना सुबेदी, लगाएतको सहभागिता रहेको थियो।

गढवामा असार ३ देखि १२ सम्म व्यापारिक मेला सञ्चालन हुने

गढवा, २४ जेठ । गढवा उद्योग वाणिज्य संघले असार ३ गतेदेखि १२ गतेसम्म गढवाको खेल मैदानमा प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ आयोजना गर्ने भएको छ। संघले शनिबार पत्रकार सम्मेलन गरी मेलासम्बन्धी जानकारी दिएको हो।

“स्थानीय उत्पादन, समृद्ध पालिका उद्योग, पर्यटन र व्यवसायी: समृद्धिको मेरुदण्ड” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा झन्डै १०० भन्दा बढी स्टलहरू रहने संघका अध्यक्ष ओमप्रकाश बसेलले जानकारी दिए। मेलामा गढवा र राजपुर क्षेत्रका कृषि उत्पादन, पशुपालन, सिपमूलक सामग्री, माटोको भाँडा, गड्यौला मल लगायतका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ।

मेलामा रोजगारी सिर्जना, पर्यटकीय प्रवर्द्धन र भारतसम्म बजार विस्तार गर्ने उद्देश्य राखिएको छ। कोइलाबास नाकाबाट भारत भित्रिने पर्यटकलाई लक्षित गरी प्रचार सामग्री वितरण गरिने र भारतीय व्यापार मण्डलसँग सहकार्य गरिने संघले जनाएको छ।

मेलाको सुरक्षाका लागि इलाका प्रहरी, नगर प्रहरी, युवा स्वयंसेवक तथा निजी सुरक्षा गार्ड परिचालन गरिनेछ। साथै, सीसी क्यामेरा, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र एम्बुलेन्सको व्यवस्था पनि गरिने भएको छ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, झाँकी प्रतियोगिता, नवप्रतिभाका लागि गढवा आइडलजस्ता कार्यक्रमहरू समावेश गरिने छन्। पत्रकार, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने स्थानीय उत्पादन प्रवर्द्धनका लागि निःशुल्क स्टल समेत उपलब्ध गराइने आयोजक गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो।

मेलाबाट प्राप्त मुनाफाबाट व्यवसायिक सुरक्षा कोष स्थापना, बजार क्षेत्रमा सीसी क्यामेरा, सडक बत्ती, डस्टबिन वितरण र पर्यटकीय स्थल प्रवर्द्धनका लागि होर्डिङ बोर्ड राखिने संघले जनाएको छ।

संघले मेलालाई व्यवस्थित र भव्य बनाउने लक्ष्यसहित विभिन्न उपसमिति गठन गरिसकेको छ भने प्रायोजक संकलन, व्यवस्थापन र समन्वय कार्य तीव्र पारिएको शनिबार गढवा उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।