गढवा-६ बनकट्टीमा गठित महिला उद्यमी समूह सञ्जालको बैठक सम्पन्न

गढवा (दाङ), १६ जेठ । गढवा गाउँपालिका वडा नं. ६ स्थित बनकट्टीमा क्रियाशील राधाकृष्ण उद्घमी महिला समूहको अध्यक्ष अनिता कुमारी यादवको अध्यक्षतामा महिला उद्यमी समूह सञ्जालको नियमित बैठक सम्पन्न भएको छ।

बैठकमा गढवा–६ मा गठित १४ वटा महिला उद्यमी समूहका अध्यक्ष तथा सचिवहरू सहभागी भएका थिए। बैठकमा समूहहरूले अहिलेसम्म गरेका कार्य, कर्तव्य, उद्यमशीलता गतिविधिको प्रचार–प्रसार, अनुभव आदान–प्रदान तथा अन्य समूहले पनि सिक्न सक्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विर बहादुर आले मगर, दिनामणी आचार्य र बसन्त कुमार शर्मा विशेष अतिथिका रूपमा सहभागी थिए। समूह सञ्जालले उत्पादनमा आधारित महिलाको सशक्तीकरणलाई प्रोत्साहित गर्न यो बैठक आयोजना गरेको हो।

बैठकमा सहभागी महिला उद्यमीहरूले आफ्ना समूहमार्फत उत्पादन गरिएका स्थानीय कृषि उपज तथा तरकारीहरू प्रमुख अतिथि तथा अतिथिहरुलाई उपहारस्वरूप प्रदान गरेका थिए, जसले उत्पादनप्रति गर्व र आत्मनिर्भरता झल्काउँथ्यो।

साथै, सामुदायिक सहजीकरण र सामाजिक उत्तरदायित्वअन्तर्गत, समूह सञ्जालले गढवा–६, आटिपाकर शिविर निवासी मायादेवी चौधरीको छोराको उपचारका लागि नगद रु १ हजार १५ रुपैयाँ सहयोग प्रदान गरेको छ।
सहयोग सम्बन्धमा समूह सञ्जालकी अध्यक्ष रुपा गिरीले जानकारी दिँदै भनिन्, “समाजमा परेका विपद् र समस्यामा महिला समूहहरू सधैं सहयोग गर्न तत्पर छन्। यो सहयोगले सामाजिक एकता र सहानुभूतिका मूल्यलाई मजबुत बनाएको छ।”

समूह सञ्जालको यो बैठकले उद्यमशीलता, सामाजिक उत्तरदायित्व र महिला सशक्तीकरणका लागि स्थानीयस्तरमै नमुना उदाहरण प्रस्तुत गरेको छ।

सामुदायिक वनको आफ्नै काठ उद्योग: स्थानीय स्रोत, स्थानीय उत्पादन

तस्बिर जे.एन‌.सागर

गढवा,१५ जेठ। गढवा गाउँपालिका वडा नं.१ बडहरामा सञ्चालित ‘गोबरडिहा काष्ठ तथा फर्निचर उद्योग’ अब सामुदायिक वनको साझा स्वामित्वमा सशक्त उदाहरण बनेको छ।

१२ वटा सामुदायिक वन कुलपानी, जनशक्ति, वनशक्ति, जनप्रिय, बाग्दुला दमार, महदेवा, लखपति, दुर्गा, सूर्य, जनसेवा, लक्ष्मी, हरियाली र गोगरडिहाले संयुक्तरूपमा यो उद्योग सञ्चालन गरेका छन्।

उद्योगमा आफ्नै सामुदायिक वनबाट निकालिएको काठ प्रयोग गरिन्छ। चिरान तथा प्रशोधनपछि सोही क्षेत्रका उपभोक्तालाई आवश्यक काठ तथा फर्निचर उत्पादन गरी आपूर्ति गरिन्छ।

स्थानीय काठकै उपयोगबाट मूल्य अभिवृद्धि गर्दै यस उद्योगले आर्थिक रुपमा सामुदायिक वन उपभोक्ता समूहलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमा रोजगारीको अवसर पनि सिर्जना भएको छ। गोबरडिहा काष्ठ तथा फर्निचर उद्योगले न केवल वन संरक्षण र स्रोतको दिगो व्यवस्थापनमा सहयोग पुर्याइरहेको छ, तर समुदायको आर्थिक समृद्धिमा समेत योगदान पुर्याइरहेको छ।

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन

काठमाडौँ । सरकारले स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।

‘स्टार्टअप उद्यमीलाई सीप विकास बजारीकरण मूल्य शूङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरेको छु,’ मन्त्री पौडेलले भने,‘यसका लागि ३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छु ।’

साथै काम खोज्ने होइन काम दिने युवाको सङ्ख्या वृद्धि गर्न नवप्रवर्द्धनमा आधारित स्टार्टअप कार्यक्रम प्रवर्द्धन गरिने जानकारी दिए । जेनजी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकारले विश्वविद्यालय र निजी क्षेत्रको सहयोगमा इन्कुलेशन सेन्टर सञ्चालन गरिने घोषणा गरे ।

लघु घरेलु र साना र मझौला उद्योगको उत्पादनलाई ब्राण्डिङ गरिने घोषणा गरे । साथै नवीनतम प्रविधिको विकास गर्न इन्डस्ट्र फोर कार्यक्रमको अवधारण कायम गरिने बताए ।