राजपुरमा गहुँ बोकेको ट्रयाक्टरमा आगलागी, करिब ४५ हजार बराबरको क्षति

गढवा, २४ चैत्र। राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा आइतबार आगलागी भएको छ।

बिर बहादुर यादबको खेतबाट ट्याक्टरमा गहुँ लोडगरी घरतर्फ लैजादै गर्ने क्रममा भैसहवा गाउँको भित्री गल्लीको विद्युतको मेन तारमा छुन गई आगोलागी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

रा १ त ४४०१ ट्याक्टरमा यादवले गहुँ बोकेर लग्ने क्रममा तारमा सर्ट भई आगलागी भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।

आगोलाइ ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाको प्रहरी टोली, दमकल र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको छ।

आगलागीबाट करिब ४५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। हाईड्रोलिक ट्रली निकालेकोले ट्रयाक्टरमा भने खासै क्षति नभएको बताईएको छ।

गढवाको कृषि विकासका लागि योजना तथा रणनीति तर्जुमा कार्यशाला

गढवा,२१ चैत्र। आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गाउँपालिकाको सभाहल सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गढवा  गाउँपालिका अध्यक्ष पोखरेलले यो दुई दिने महत्त्वपूर्ण कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गोष्ठीले पशुपालन तथा कृषि क्षेत्रमा ठूलो सहयोग पुग्ने बताउनुभयो। कृषि तथा पशु क्षेत्रको समग्र विकासका लागि यो कार्यशाला अन्तिम नभएको बताउँदै पालिका अध्यक्ष पोखरेलले दुई दिने छलफलको आधारमा एउटा ड्राफ्ट तयार हुने बताउनुभयो। ड्राफ्ट तयार पश्चात् सरोकारवाला निकायसँग बसेर पुन: छलफल सहकार्य गरी अन्तिम रूप दिने बताउनुभयो। भावी कृषि विकास योजनाका लागि अनुमान बजेट विनियोजन गर्न सहज हुने बताउँदै पालिका अध्यक्ष पोखरेलले त्यसको लागि प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्ने बताउनुभयो। कृषि तथा पशु क्षेत्रमा काम गर्नेले पनि सही ढंगले दक्ष जनशक्ति पनि उचित योजना बिना कृषि तथा पशु क्षेत्रमा काम गर्न अप्ठ्यारो मानिरहेको बताउँदै दक्ष जनशक्तिको प्रयोग गरी कृषि तथा पशुपालनको क्षेत्रमा अघि बढ्ने पालिकाको योजना रहेको बताउनुभयो।

गढवा गाउँपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्दमशीलता साझेदारी परियोजना भिटा परियोजना अन्तर्गत गढवा गाउँपालिकामा कृषि विकास योजना र रणनीति तर्जुमाका लागि कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । हेफर प्रोजेक्ट नेपालका प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको रही दाङको साझेदारीमा गढवा गाउँपालिकामा कृषि तथा पशु विकासका क्षेत्रमा काम गर्नका लागि भिटा परियोजना कार्यक्रम सञ्चालनमा रहेको छ।

दुई दिने कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गोष्ठीमा कृषि तथा पशु विकासमा आधारित रहेर विभिन्न आरोह अवरोहको बारेमा व्यापक रुपमा छलफल गरिएको हो। यस भन्दा पहिले पनी गढवा गाउँपालिकाले विभिन्न वडामा कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गोष्ठी सम्पन गरी राय संकलन गरिसकेको छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै ६ नम्बर वडाध्यक्ष विर बहादुर आले मगरले गढवा कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो सम्भावना रहेकाले त्यै अनुरूप कार्यक्रम अघि बढाएको बताउनुभयो।बजेट ब्यवस्थापनको लागि आन्तरिक स्रोतबाट पुर्ति गर्ने बताउदै वडाध्यक्ष आले मगरले अनुदानको लागि मात्र व्यवसाय गर्ने प्रबृत्ति बढेकोले सरकारको लगानी खेर गएकोले किसानको पहिचन गरी अनुदान बितरण गर्नु पर्ने बताउनु भयो। किसानको ईच्छा चाहना आवश्यकता अनुसार कृषि र पशुपालनको क्षेत्रमा फड्को मार्ने बताउनुभयो ।सफल बनाउन सबै जना ईमानदारी पुर्वक लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा परामर्शदाता तथा नेपाल सरकारका पूर्व कृषि सचिव राजेन्द्रकुमार भारी त्यसैगरी परामर्शदाता सुभाष चन्द्र ढकाल त्यसैगरी हेफर प्रोजेक्ट नेपाल भिटा निर्देशक दुर्गा बहादुर केसी लगायतकाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, विभिन्न वडाका वडाध्यक्षहरू, विभिन्न वडाका कृषि तथा पशु शाखाका प्रमुख तथा कर्मचारी,कृषि विकास शाखा पशुपंक्षी तथा मत्स्य विकास शाखा विभिन्न शाखा प्रमुख कृषि तथा पशु क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरू,उद्योग वाणिज्य सङ्घ, सरोकारवाला निकायहरु लगायतको सहभागिता रहेको थियो।

कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गोष्ठीमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल,भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र घोराही दाङका मत्स्य अधिकृत प्रेम बहादुर चौधरी, गढवा गाउँपालिका दिक्पाल धौराली लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण भिटा परियोजनाका सामुदायिक सहजकर्ता कैलाश चौधरीले गर्नुभएको थियो।

कृषकहरूको भोटिङ प्रक्रियाबाट गढवामा मसुरोको नयाँ जात संकलन

गढवा, ९ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटामा कृषकहरूको भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कोसे‌बाली अनुसन्धान कार्यक्रम खजुरा बांकेको आयोजनामा भएको कार्यक्रममा गढवाका कृषकहरूले भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट गरेको कोशी बाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख डाक्टर अनिल पोखरेलले जानकारी दिनुभयो।

नेपाल सरकार नेपाल कृषि अनुसन्धान परिषद् नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८ अन्तर्गत स्थापित भएको कोशीबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेले दिवस कार्यक्रमको अवसरमा सो कार्यक्रमको आयोजना गरेको प्रमुख पोखरेलले जानकारी दिनुभयो।

कोसेबाली दिवस कार्यक्रमको अवसरमा गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटाका किसानहरूले विभिन्न प्रजातिका मसुरोहरूबाट भोटिङ प्रक्रियाबाट नयाँ जात छनोट गरेका हुन् ।

कार्यक्रममा मसुरो र चना परीक्षणका क्रममा रहेका ६/६ वटा जात बाट कृषकले छनोटबाट/ भोटिङ पद्धति बाट उत्कृष्ट छनोट गर्ने कार्य सम्पन्न भएको हो।

कृषक स्तरमा गरिएको परीक्षणमा छ वटा अनुजातमध्ये RL12, ILL7979 र RL79 उत्कृष्ट भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ र राजपुर गाउँपालिका वडा नम्बर ३ गरी ३८ जना कृषकको सहभागिता रहेको थियो। त्यसैगरी कार्यक्रममा हेफर इन्टरनेसनलका जेनी घर्ती मगर गढवा गाउँपालिकाका फुलन्देवी चौधरी लगायतको सहभागिता रहेको थियो।