अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने

काठमाडौंं । सरकारी निकायमा कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उनले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन्।

गढवा गाउँपालिकाले युवाहरुलाई युवा उद्यमशिलता विकाश तालिम दिंदै

गढवा,२९ चैत्र। गढुवा गाउँपालिकाले युवाहरूलाई व्यवसायिक उत्पादनमा जोड्नका लागि युवा उद्यमशीलता विकास तालिम दिन सुरु गरेको छ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा गाउँपालिकामा सञ्चालन भइरहेको साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी कार्यक्रम भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको भिटा परियोजना मार्फत गढवाका पशुपालन तथा कृषि क्षेत्रमा लागेका  किसानहरूको जीवन स्तर उकास्नका लागि व्यवसायिक रुपमा उत्पादनमख जोड दिन गढवा गाउँपालिकाले महिला उद्यमीहरुसँगै युवा उद्यमशीलता विकास तालिम गढवाका युवाहरूलाई दिन सुरु गरेको हो।

नमूना उद्यमि महिला समूह गढवा-६ लाई ३ दिने युवा उद्द्यमशिलता तालिम सुरु भएको छ । तालिममा युवा समूहका सदस्यहरूलाई व्यवसायिक रुपमा उत्पादन गर्न, पशुपालन गर्न र कृषि उत्पादनमा जोड दिन लगायतको बारेमा विशेष जोड दिइनेछ। सहज बजारीकरणको व्यवस्थापन नहुँदा युवाहरू विदेश पलायन हुने कृषि उत्पादनमा ह्रास हुने र व्यवसायिक उत्पादनमा कमी देखिएको कृषकहरु बताउँछन्। स्थानीय सरकारले बजारीकरणको व्यवस्थापन दिए आफूहरू कृषि र पशुपालनमा व्यावसायिक रूपमा काम गर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि गोविन्द रोका मगरले किसानहरूलाई उत्पादन गरेको कृषिजन्य तथा तथा पशुजन्य उत्पादनको बजारीकरणको ग्यारेन्टी स्थानीय सरकारले लिने बताउनुभयो। तपाईँहरू उत्पादन गर्नुस् हामी बजारीकरणको लागि सहजीकरण गर्नेछौँ। बजारीकरणको समस्या पर्न दिने छैनौँ। कार्यवाहक  वडा अध्यक्ष गोविन्दा रोका मगरले भन्नुभयो।
पालिकाले हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा कृषिजन्य उत्पादनको बजारीकरण त्यसैगरी पशुपालन क्षेत्रमा खसीबोकाको सामूहिक बजारीकरण निरन्तर गरिराखेको छ भने दुग्ध उत्पादक किसानहरूको सहजताका लागि दुग्ध सङ्कलन तथा बिक्री केन्द्र स्थापना भइसकेको र केहीदिनमै सञ्चालन हुने गढवा गाउँपालिका भिटा परियोजना संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।
नमूना उद्यमि महिला समूहका अध्यक्ष तिला पन्थिको अध्यक्षता तथा ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष गोबिन्द रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

तिनदिने तालिमको प्रशिक्षण हेफर इन्टरनेशनलका हिमाल खड्का, बिस्णु घिमिरे र भिटा परियोजनाका कार्यक्रम संयोजक वसन्त कुमार शर्माले दिनुहुने छ । कार्यक्रमको सहजिकरण भिटा परियोजना ६ नम्बरका सामाजिक परिचालक आशा श्रेष्ठले गर्नु भएको थियो ।

सामाजिक सुरक्षा सहजीकरण गर्न गढवामा सरोकारवाला बीच अन्तरक्रिया 

गढवा,२५ चैत्र।गढवा गाउँपालिका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाद्वारा सामाजिक सुरक्षाका सेवाग्राहीहरूको EFT VERSP MIS सम्बन्धी बैंक वडा सचिव तथा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरण को सवालमा देखापरेका समस्या समाधान सेवाग्राहीहरूलाई सहज सेवा लगायत वडा सचिवहरुलाई कार्य गर्न क्रममा आइपर्ने कठिनाइहरूको बारेमा छलफल गरी निष्कर्ष निकालिएको हो।

स्थानीय सरकारबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले बैंकहरुलाई आग्रह गर्नुभयो। सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयका जनप्रतिनिधि बैंक र सेवाग्राही बीचको त्रिकोणीय समन्वय आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभयो। सम्बन्धित वडाले वडाको सामाजिक सुरक्षा वितरण गर्ने बैंकले कुन प्रकारको सेवा प्रवाह गरेको छ सेवाग्राहीलाई त्यसतर्फ सम्बन्धित वडा चासोका साथ लाग्नुपर्ने धारणा राख्नुभयो। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको गुनासो बैंकले अन्य सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने र सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीलाई केही समय होल्ड गर्ने गरेको जनगुनासो बढेकाले त्यसो नगर्न बैंकहरूलाई आग्रह गर्नुभयो। सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता विशेष गरेर वृद्धवृद्धा,एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले लिने भएकाले पहिलो प्राथमिकतामा यी सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंक गढवाका शाखा प्रमुख तेजबहादुर नेपालीले सेवाग्राही, स्थानीय सरकार र बैंक बीचको समन्वय बैठकपछि सेवाग्राहीलाई सेवा प्रवाहको बारेमा व्यापक रुपमा जानकारी दिए बैंकमा बिहानैदेखि लाग्ने भिडमा कमी हुने बताउनुभयो। सामाजिक सुरक्षा भत्ता बैंकमा आउने बित्तिकै निकाल्ने ननिकाले पैसा फिर्ता जाने जस्ता भ्रममा सेवाग्राही रहेकाले त्यो भ्रम चिर्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो।

बैंकले एकदमै अशक्त, बैंक आउनै नसक्ने सेवाग्राहीहरू लाई स्थानीय सरकारले डाटा उपलब्ध गराए आफूहरू घरघरमा पुगेर सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको प्रमुख नेपालीले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज हुनका लागि वास्तविक अशक्त सेवाग्राहीको पहिचानमा कडाई गर्नुपर्ने र सत्य डाटा बैंकलाई बुझाउन अनुरोध समेत गर्नुभयो।

मृत्यु भइसकेका सेवाग्राहीहरूको हकमा भुक्तानी हुन केही समय प्रक्रियागत रूपमा लाग्ने गरेकाले सेवाग्राहीलाई केही दिन धैर्य गर्ने कुरा सूचना प्रवाह गर्न स्थानीय सरकारलाई अनुरोध समेत गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर आलेमगर र सचिवहरूको तर्फबाट वडा नम्बर १ का वडा सचिव मधुसुदन पौडेलले विचार राख्नुभएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरू, बैंकका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडा सचिवहरु लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले गर्नुभएको थियो।