गढवामा उद्यमी महिलाहरूद्वारा व्यवसायिक बेसार खेती सुरु

गढवा,११ वैशाख। दाङको गढवा गाउँपालिका का उद्यमी महिलाहरूले सामूहिक रूपमा जग्गा भाडामा लिएर व्यवसायिक रूपमा बेसार खेती सुरु गरेका छन् ।

गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाद्वारा गठित महिला उद्यमी समूहका सदस्यहरूले व्यवसायिक रुपमा २१ कट्ठा जमिनमा बेसार खेती सुरु गरेका हुन्।

गढवा गाउँपालिका वडा नम्बर १ मलमलाका २२ जना उद्यमी महिलाहरूले २१ कट्ठा जग्गा भाडामा लिएर बेसार खेती सुरु गर्नुभएको गढवा गाउँपालिका भिटा परियोजना संयोजक वसन्तकुमार शर्माले जानकारी दिनुभयो।

उद्यमी महिलाहरूलाई बेसार खेती सुरुवात गर्नका लागि गढवा गाउँपालिकामा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना (भिटा परियोजना)ले बेसारको बिउ उपलब्ध गराएको हो।

गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा गठित चौतारी उद्यमी महिला समूहका सदस्यहरूले सामूहिक रूपमा जग्गा भाडामा लिएर बेसार खेती सुरु गरेको भिटा परियोजनाका कार्यक्रम संयोजक शर्माले जानकारी दिनुभयो। गढवा गाउँपालिकाको पहलमा बाजो जमिनलाई उपयोग गर्दै बेसार खेती सुरु गरेको हो।

सामुहिक बेसार खेतीको लागि बेसारको बिउ बितरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उद्यमी महिलाहरुलाई आत्मनिर्भर बन्नका लागि गाउँपालिकाले उत्पादन मुलक कार्यहरुको थालनी गरेको बताउनु भयो । समाजमा महिला आत्मनिर्भर नबने सम्म समृद्धिको बाटो तय नहुने भन्दै सर्व प्रथम महिलाहरुलाई व्यावसायिक उत्पादनमा जोड्न गाउँपालिकाले भिटा परियोजना मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। गाउँपालिकाले महिला सशक्तिकरण व्यवसायिक रुपमा उत्पादन गरे सहज बजारीकरणका लागि पालिकाले हरसम्भव प्रयास गरीरहेको बताउनुभयो।

व्यवसायिक रूपमा कृषि र पशु क्षेत्रमा काम गरे विदेश जान नपर्ने बताउँदै पालिका अध्यक्ष पोखरेलले उद्यमी महिलाहरूलाई व्यवसायिक रुपमा उत्पादन बढाउन जोड दिन आग्रह गर्नुभयो।

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ। आर्थिक विकास प्रवर्द्धन गर्न विश्वका धेरै विकासशील देशहरूमा सञ्चालनमा आएको एमसीसी योजना बन्द गरिने भएको हो।

मंगलबार एलन मस्क प्रमुख रहेका अमेरिकाको सरकारी दक्षता विभाग(DOGE)ले एमसीसी परियोजनामा कार्यरत कर्मचारीहरूलाई इमेल पठाएर परियोजना बन्द हुने जानकारी दिएको हो।

सरकारी दक्षता विभागका अनुसार चाँडै नै एमसीसीका कार्यक्रमहरूमा ठूलो कटौती हुने र यसको परिणामस्वरूप त्यहाँका  कर्मचारी संख्या पनि धेरै कटौती हुने छ।

सन् २००४ मा जर्ज डब्लु. बुश प्रशासनको समयमा एमसीसी स्थापना गरिएको थियो। यसलाई सहायता पारदर्शिता समूह ‘पब्लिस ह्वाट यु फाउन्ड’द्वारा संसारकै सबैभन्दा पारदर्शी द्विपक्षीय एजेन्सीको रूपमा मूल्याङ्कन गरिएको थियो।

एमसीसीले हाल नेपालसहित २० ओटा न्यून आय भएका देशहरूमा ५.४ अर्ब डलरभन्दा बढी अनुदानहरू सञ्चालनमा ल्याएको छ। DOGE को यो कदमलाई ट्रम्प प्रशासनद्वारा विदेशी सहायता समूहहरूप्रति लिइएको कठोर नीतिको निरन्तरताका रूपमा हेरिएको छ। आगामी ९० दिनभित्र एमसीसीका सबै परियोजना बन्द हुनसक्ने जनाइएको छ।

एमसीसी परियोजनामा झन्डै ३२० जना कर्मचारी कार्यरत छन्। त्यहाँका धेरै कर्मचारीहरु पनि कटौती गरिने जनाइएको छ। कर्मचारीलाई स्वैच्छिक अवकास लिन अप्रिल २९ सम्म इमेल गर्न निर्देशन दिइएको छ।

DOGE का प्रवक्ताले भने उक्त विषयमा कुनै टिप्पणी दिन नचाहेको जनाइएको छ।

एलन मस्कले मंगलबार टेस्लाको खराब त्रैमासिक आम्दानीको रिपोर्ट आएकोले उनी छिट्टै DOGE बाट बाहिरिने तयारीमा रहेको बताएका थिए। तर यो निर्णयले मस्क पछि हटे पनि DOGE ले सरकारी एजेन्सीहरूको विघटन नरोकिने संकेत देखिएको।

एमसीसीले सक्रिय अनुदान भएका नेपाल लगायत केही देशहरूका लागि छुट दिन अनुरोध गरेको एमसीसी परियोजनाको कर्मचारीले जनाएका छन्।

नेपालसँग भएको एमसीसी सम्झौतामा के छ?

एमसीसीअन्तर्गत अमेरिकी सरकारले ५० करोड डलर (५५ अर्ब रुपैयाँ) अनुदान स्वरूप उपलब्ध गराउनेछ। नेपालका तर्फबाट १३० मिलियन डलर (करिब १४ अर्ब रुपैयाँ)बराबर रकम विनियोजन गर्नुपर्नेछ। उक्त रकम ऊर्जा र यातायात विकासका क्षेत्रमा सम्झौता लागू भएको मितिदेखि पाँच वर्षभित्र परिचालन गरिसक्नुपर्ने प्रावधान छ।

सम्झौतामा विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतसम्भार समेटिएको छ। काठमाडौंको उत्तरपूर्व अवस्थित लप्सीफेदीबाट काठमाडौंको पश्चिममा रहेको नुवाकोटको रातमाटेसम्मको खण्ड, रातमाटेबाट हेटौंडासम्मको खण्ड, रातमाटेबाट दमौलीसम्मको खण्ड, दमौलीबाट बुटवलसम्मको खण्ड र बुटवलबाट भारतको सिमानासम्मको खण्डमा ४ सय केभी क्षमताका प्रसारण लाइन बनाइनेछ। रातमाटे, दमौली र बुटवलमा तीनवटा सबस्टेसन बन्नेछन्।

अनुदानमध्ये ३ सय किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माणमा करिब ४० करोड डलर खर्च गरिनेछ। सडकतर्फ पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु चन्द्रौटाबाट लमही हुँदै बाँके र दाङमा पर्ने शिवखोलासम्म ३ सय ५ किलोमिटर स्तरोन्नतिमा करिब ५.२ करोड डलर खर्च गरिनेछ।

एमसीसीमा परेका गौरवका आयोजनाहरू
मन्त्रिपरिषद्को २०७५ असोज ५ गते बसेको बैठकले एमसीसीको सहयोगका दुई आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्‍यो। जसमा काठमाडौं लप्सेफेदीबाट धादिङको गल्छी–रातमाटे प्रसारण लाइन र दमौली–भरतपुर–बुटवल प्रसारण लाइन निर्माण आयोजना छन्।

एमसीसीको अनुदान कुन क्षेत्रमा परिचालन गर्ने भन्नेमा विज्ञसँग छलफल गरियो। सोही सन्दर्भमा अर्थ मन्त्रालयको संयोजकत्वमा समिति बनाइयो। समितिले आर्थिक वृद्धिका अवरोधहरू पहिचान गर्न विज्ञ टोलीद्वारा अध्ययन गरायो। त्यसपछि सरकारले सहयोगलाई प्रसारण लाइन र सडक स्तरोन्नतिमा खर्च गर्ने निर्णय गरेको हो।

पर्यटकीय गन्तव्य बन्दै सल्यानको मालिका मन्दिर 

सल्यान, ३१ चैत । सल्यानमा रहेको मालिका मन्दिर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । सल्यान जिल्लाकाे कुमाख गाउँपालिका-६ र दार्मा गाउँपालिका -४ काे सिमानमा पर्ने मालिका मन्दिर आन्तरिक पर्यटकहरुकाे प्रमुख राेजाईमा पर्न थालेको हाे ।

समुन्द्री सतहदेखि करिब २२ सय मिटरको उचाइमा रहेको मालिका मन्दिरबाट मनाेरम हिम शृङ्खला, डाँडाकाडाँ र रुकुम पश्चिम जिल्लाका विभिन्न ठाउँहरु देख्न सकिन्छ । धार्मिक तथा पर्यटनको रुपमा विकास हुदैन गएको मन्दिरको आफ्नै महत्त्व रहेको छ ।

परम्परागत अनुसार मालिका मन्दिरमा विगतकाे समयमा सुख्खा डाडाेमा पनि पानीको ठुलो ताल रहेको थियाे । उक्त ताल पछिल्लो समयमा सुक्दै गएको हाे । साेही ठाउँमा दुर्गा देवीले बास गरेर मालिक मन्दिर उत्पत्ति भएको भन्ने जनविश्वास रहेको छ ।

हरेक बर्षकाे वडा दशैकाे अवसरमा पञ्चमिकाे दिन दुर्गा माताकाे मन्दिरमा बलि चढाउने मेला गरिदै आएको छ । मेला भर्ना वा बलि लिएर सल्यान र रुकुमबाट आउने गरेको स्थानीय मिना रावतले बताउनुभयो । पालिका र कर्णाली प्रदेश सरकारसंगकाे समन्वयले मन्दिरसम्म पुग्ने पकि सिडिहरु धमाधम निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै मन्दिरको विकासको लागि दार्मा गाउँपालिकाले कार्य याेजना बनाएर काम गरिरहेकाे छ । प्रदेश सरकारको आर्थिक सहयोगमा पालिकाले मालिका मन्दिरसम्म पुग्ने पदयात्रा निर्मान गरिरहेकाे छ । मन्दिरमा जाने भक्तालुहरुका लागि विभिन्न प्रकारका बिश्राल स्थल निर्माण गरिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।

दार्मा गाउँपालिका – ४ खाग्लसम्म बाटाेबाट सवारीसाधनमा र त्यसपछि करिब करिब १ घण्टा सिडि चढेर उकालो हुदै मन्दिरसम्म पुग्न सकिन्छ । त्यसतै कुमाख गाउँपालिकाकाे बडागाउँबाट करिब २ घण्टाकाे ठाडाे उकालो पैदल हिडेपछि पनि मालिका मन्दिर पुगिन्छ ।

मालिका मन्दिर क्षेत्रमा पुगेपछि देखिन प्राकृतिक सुन्दरता, बाटाेमा फुलेका लालिगुराँस तथा काेइरालाे र चिसाे माैसमले पर्यटकहरुलाई मन्त्रमुग्ध बनाउँछ । यहाँ दुईवटा स्थानीय तहले आआफ्नै मन्दिर निर्माण गरेका छन । दार्मा गाउँपालिकाका दुईवटा र कुमाख गाउँपालिका एकवटा गरेर तीन वटा मन्दिर रहेका छन । जस्मा कुमाखकाे दुर्गा माताकाे मन्दिर र दार्माकाे कालिका, मालिका गरि तिनवटा मन्दिर अवस्थित छन ।

दार्मा र कुमाख गाउँपालिकाकाे सिमानामा रहेको मालिका मन्दिर क्षेत्रबाट सिस्ने हिमालकाे मनाेरम हिम दृश्य देख्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण भएको याे मन्दिरमा पुग्दा सबैलाई अलाैकिक अनुभुती हुन्छ । जहाँ काफल, काेइरालाे, लालिगुराँस, बाज, कटुज लगायतका विभिन्न प्रकारका बाेटबिरुवा‌हरु पाइन्छ ।