एक हजार बढी आरोहीले सगरमाथा चढ्ने, ७ हजार मिटरसम्म बाटो बन्यो

काठमाडौँ, वैशाख १५ गते । संसारकै अग्लो शिखर सगरमाथा  (८,८४८।८६ मिटर)  हिमालको आरोहण गर्न विश्वका ५३ देशका आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन मानिने यस वैशाख र जेठ महिनामा मात्र चार सय भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ ।

पर्यटन विभागले दिएको अनुमतिको तथ्याङ्क हेर्दा आरोहण दलबाट अनुमति लिएर आरोहणमा जानेको सङ्ख्या मात्र चार सय भन्दा बढी छ भने उहाँको सहयोगी र गाइड समेत गरी करिब एक हजार जना चुचुरोमा पुग्ने भएको छ । एक आरोहीले कम्तिमा एक जना अथवा दुई जना सम्म गाइड प्रयोग गर्ने गर्छन् भने व्यवस्थापन र सहयोगीको रूपमा सरदार र शेर्पा गाइडहरू समेत चुचुरो पुग्ने भएकाले एक हजार बढी आरोहीको पाइला चुचुरोमा पुग्ने भएको आरोहण आयोजक कम्पनीहरूको भनाई छ ।

आरोहणदलबाट मात्र सगरमाथा आरोहण अनुमती लिने आरोही ४०२ जना पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीले अनुमति लिएका छन् । यी मध्ये ४१ आरोही समूहले छन । ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए । यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहेका छन् ।
सात हजार मिटरसम्म बाटो बन्यो ।

सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर सात हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन् । तेस्रो शिविरसम्म बाटो बनेको र अब १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले जनाएको छ ।

सगरमाथा आधारशिविरमा दुई हजार भन्दा धेरैको भीड

आरोही, गाइड, सरदार, शेर्पागाइड, सहयोगी, किचनका स्टाफ र बेसक्याम्प मेनेजर सहितको टोली आधारशिविरमा रहेको छ । यहाँ करिव दुई हजार भन्दा धेरै मानिसको भीड रहेको गाइड कुङगा शेर्पाले जानकारी दिनुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पालहरु र सुविधासम्पन्न सेवा समेत आधारशिविरमा उपलब्ध गराउदै कम्पनीहरुले प्रतिस्पर्धा गरेको पाइन्छ । अहिले आधारशिविर ठमेलको झल्को दिने गरी झकिझकाउ छ । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ ।

समुद्री सतहबाट पाँच हजार ३६४ मिटर उचाइमा रहेको आधारशिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ । पाँच सय भन्दा बढी पाल टाँगिएका छन् । एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधारशिविर रमाइलो देखिएको बताउनुभयो ।

लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरुको लामो लस्कर देखिन्छ । सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ डोरी टाँग्ने जिम्मेवारी एटके कम्पनीले पाएको छ । करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

 

गढवामा रोजगार कार्यक्रम अन्तर्गत श्रमिकहरूका लागि अभिमुखीकरण कार्यक्रम

गढवा,१३ वैशाख। दाङ देउखुरीको गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरुका लागि श्रममा खटिनु पूर्व श्रमिकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गढवा गाउँपालिका वडा नं ४, ५ र ६ मा खटिएका ३९ जना श्रमिकहरूको सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०८१ र ८२ मा गढवा गाउँपालिकामा कुल ३९ जना श्रमिकहरू १०० दिन बराबरको कार्य थालिने गरेका हुन्, हालसम्म ९० प्रतिशत कार्य सम्पन्न भएको गढवा गाउँपालिका रोजगार शाखा सहायक सत्यपाल यादवले जानकारी दिनुभयो।

पालिका हाम्रो प्राण- पालिका हाम्रो सान,पालिकामै छ जिन्दगी- विकासमा छ ध्यान भन्ने मूल नाराका साथ प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकामा ३९ जना श्रमिकहरु श्रममा लागेका छन्।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय, उद्देश्य र प्रकृति कामको जिम्मेवारी र कार्यसम्पादन गर्ने प्रक्रिया योजना सम्झौता संचालन तथा भुक्तानी प्रक्रिया हाजिरी पारिश्रमिक तथा अन्य सेवा सुविधा ,बीमा लगायतका बारेमा जानकारी गराइएको थियो।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि रोजगार सेवा र सहायता प्रदान गर्ने, दक्ष र सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवर्धन र विस्तार गर्ने, सरकारी निजी सहकारी तथा गैरसरकारी क्षेत्रहरु बीचको सम्बन्ध र सहकार्य गरी थप रोजगारीको अवसर सिर्जना गर्ने ,आन्तरिक रोजगारी सिर्जना सम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्र पहिचान गर्ने,सार्वजनिक पूर्वाधारको निर्माण, स्तर उन्नति र विस्तारमा योगदान गर्ने, रोजगारी सिर्जनाका लागि नीतिगत र संरचनात्मक व्यवस्था गर्ने लगायतका उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी निवारण गर्दै स्थानीय विकासलाई प्रवर्धन गर्ने गरेको उपाध्यक्ष चौधरीले बताउनुभयो। सबै बेरोजगारहरूलाई राज्यले सकेसम्म धेरै रोजगारको व्यवस्था गर्नुपर्ने बताउँदै उपाध्यक्ष चौधरीले रोजगारदाताले दिएको काममा सबैले ध्यान दिएर काम गर्न पनि सहभागीहरुलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रमको सञ्चालक गढवा गाउँपालिका रोजगार शाखाका रोजगार सहायक सत्यपाल यादवले गर्नुभएको थियो।

सामाजिक सुरक्षा कोष सम्बन्धी गढवामा सरोकारवालाहरुबिच अभिमुखीकरण

गढवा,१२ वैशाख । दाङ गढवा गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी सरकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

गढवा गाउँपालिकाको आयोजना तथा सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगञ्जको सहजीकरणमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी सरकारवालाहरूबीच अभिमुखीकरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन सम्पूर्णलाई आह्वान गर्नुभयो। जीवनमा आइपर्ने आर्थिक जोखिमबाट सुरक्षित रहनका लागि सामाजिक सुरक्षा कोष अति महत्वपूर्ण रहेको पालिका अध्यक्ष पोखरेलले बताउनुभयो । आगामी आर्थिक वर्षदेखि गढवा गाउँपालिकाका सम्पूर्ण कर्मचारी र विद्यालयसँग आबद्ध कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषसँग जोड्ने बताउनुभयो।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरू विभिन्न संस्थाहरु,वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरु, लगाएतका अन्य क्षेत्रलाई सामाजिक सुरक्षा कोषसँग जोड्न अनुरोध समेत गर्नुभयो। सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कुनै पनि संस्थाको नवीकरण नगर्ने पालिका अध्यक्षले पोख्रेलले उद्घोष गर्नुभयो । सक्नेले आफै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने नसक्नेहरूको तथ्याङ्क सङ्कलन गरेर पालिकाले सहजीकरण गर्ने अध्यक्ष पोख्रेलले बताउनुभयो।

साना व्यवसायी, कृषक,मजदुर, विभिन्न उद्यमी महिला समूह, विभिन्न बचत संकलन गर्ने संस्थाहरुले सामाजिक सुरक्षा कोषमा लाग्न अनुरोध समेत गर्नुभयो।

करार र ज्यालादारी श्रमिकले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाता (सरकार) र ११ प्रतिशत श्रमिकको तर्फबाट कोषमा जम्मा गरिने सामाजिक सुरक्षा कोष नेपालगञ्जका प्रमुख चिरञ्जीवी न्यौपानेले बताउनुभयो।

राजपत्रमा प्रकाशित सूचना अनुसार संघीय, प्रदेश र स्थानीय तहको सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सूचीकृत गर्ने भएको सहजकर्ता न्योपानेले बताउनुभयो। योगदानकर्ताले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाता (सरकार) र ११ प्रतिशत श्रमिकको तर्फबाट कोषमा जम्मा गरिने व्यवस्था रहेको बताईएको छ।

कोषबाट श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य, मातृत्व, दुर्घटना, अशक्तता, वृद्धावस्था, आश्रति परिवार सुरक्षा योजना उपलब्ध गराउने उद्देश्यले ल्याइएको कार्यक्रम हो । वृद्धावस्था सुरक्षा योजना अन्तर्गत २८.३३ प्रतिशत र बाँकी रकम अन्य सुविधाको लागि छुट्याइएको छ ।

कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल लगायतकाले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो।