बझाङ जिप दुर्घटनामा मृत्यु हुने सात जनाकै सनाखत, १८ घाइते, १ को अवस्था चिन्ताजनक

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।

यस्तै कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ५० वर्षीया सिन्कीदेवी भण्डारी, ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गढवा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

गढवा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ। बुधवार गढवा गाउँपालिका र कुमारी बिकाश बैंक गढवाका अध्यक्ष बैंक कर्मचारी पैसा बोकेर गढवा गाउँपालिका वडा नम्बर – २ मा पुग्दा सेवाग्राहीहरु खुसीले गदगद भए।
यस अघि जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, बृद्ध बृद्धा, सबैलाई घण्टौ समय लगाएर गढवा बजारमा आएर पैसा निकाल्नु पर्ने हुन्थ्यो। वर्षौदेखि वृद्ध भत्ता बुझ्न बैंकमा नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुने गरेको गढवा गाउँपालिका वडा नम्बर – २ महादेवाका ८७ बर्षिय पल्टु चौधरी बताउछन् । आंखा राम्रो संग देख्दिन, बैकमा जान पनि सक्दैन थें अब त वडा मै पैसा आयो ज्यादै खुशी छु ८७ बर्षिय पल्टु चौधरीले भने। अहिले यी समस्याबाट हजारौं लक्षित व्यक्तिले छुटकारा पाएका छन्। गाउँपालिकाले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सहज भएको चौधरीले बताए।
गढवा गाउँपालिका वडा नम्बर – २ महदेवाका लबारी चौधरी उमेरले ८३ लागे। उनलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै महाभारत हुन्थ्यो । घरबाट गढवा बजार पुग्न साइकलमा घण्टौ लाग्ने गरेको बताए। ‘बुढेसकालमा धेरै सहज भयो, दुई खुड्किलो टेक्दा वडा कार्यालय पुगिन्छ, त्यहींबाट भत्ता पाउन थालेको छु’ चौधरी भन्छन्, ‘टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो, सबै सास्ती कम भयो।’ चौधरीले भने। वडाबाटै सहज सेवा पाउनाले समय, खर्च, कष्टकर यात्राबाट छुटकारा मिलेको गढवा गाउँपालिका-२ की जुगानी चौधरीले बताइन्।भन्छिन्, ‘गाउँपालिकाले वडाबाट दिएको सेवाले अहिले धेरै सजिलो छ, घण्टौं लगाएर जानुपर्ने बाध्यता कम भएको छ, खर्च पनि जोगिएको छ।’
जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, बृद्ध बृद्धाहरुको समस्या लाई ध्यानमा राखी आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउछन् । पालिकाको उद्देश्य नागरिकको सेवालाई सहज बनाउने तर्फ अग्रसर रहेको भन्दै वडाबाटै भत्ता वितरण प्रकृया सुरु गरेको अध्यक्ष शर्माले बताए। विशेषगरि शारीरिक दुर्बलताका ज्येष्ठ नागरिक र अपागंलाई सहजता दिन गाउँपालिकाले वडाबाटै वितरणको काम थालेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताइन्। जनतालाई भत्ता लिन कष्टकर यात्रा गर्नुपर्ने समस्यालाई कम गर्ने उद्देश्यले वडाबाटै भत्ता वितरणको काम थालिएको गाउँपालिकाकी उपाध्यक्ष चौधरीले बताइन्।
आठ वडा रहेको गढवा गाउँपालिकाको सात बाहेकका सबै वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो गढवा गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख ऋषिराम यादवले जानकारी दिए। सात वडामा वितरण प्रकृया सुरु भएको जानकारी दिए। ‘शारीरीक रूपमा अशक्त वर्गको सुलभताका लागि वडाबाटै बाँड्न थालिएको हो, जसमा ज्येष्ठ नागरिक र अपांग व्यक्तिहरूलाई विशेष ग्राहयता दिएका छौं,’ २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिए। ‘घर पायक वा दूरीको हिसाबले नजिकका वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ।’ आगामी दिनमा परिस्थितीलाई हेरेर गाउँपालिकाका केही सरकारी सेवा पनि स्थानीय पायक ठाउँमै दिने योजना रहेको वडाध्यक्ष चौधरीले भने ।

उच्च अदालत तुलसीपुरले भन्यो, ‘डाँगीलाई हाजिर गर्न दिनु’

देउखुरी, २ कार्तिक

उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले २८ गते अन्तरिम आदेश जारि गरेको थियो भने आज पुनः उक्त आदेशलाई निरन्तरता दिएको छ । यहि असोज २४ गते लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने भनेर निर्णय गरेको थियो । नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले अन्यायमा परेको भन्दै डाँगी २७ गते उच्च अदालत तुलसीपुर पुगेका थिए ।

२७ गते उच्च अदालत पुगेर हाजिर गर्न पाउँ भनेर डाँगीले दिएको रिट नेवेदनमाथि टुंगो नलागे सम्म निवेदकलाई तोकिएको पदमा हाजिर गराई कामकाज गर्न नरोक्नु, रोक्न नलगाउनु भनि विपक्षीहरुका नाममा २७ गते उच्च अदालत तुलसीपुरले अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम अन्तरिम आदेश जारि गरेको छ । कार्यपालिकाले गरेका निर्णयलाई प्रमाणीकरण गर्ने अधिकार प्राप्त व्यक्ति प्रमुख प्रशासकीय अधिकृत हो, प्रमुख प्रशासकीय अधिकृत बिना गरेका निर्णयहरु र बैठकलाई कानुनतः बैधानिक मान्न सकिंदैन, लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले भने ।

डाँगीले सहज तरिकाले नगरपालिकामा हाजिरी गर्न नपाएपछि हाजिर गर्न पाउँ भन्दै उच्च अदालत तुलसीपुरमा रिट निवेदन दिएका थिए ।

नगरपालिकाका सबै सेवा प्रभावित

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट प्रबाह हुने सबै कामकाज ठप्प भएका छन। सेवाग्राही मर्कामा परेका छन। नगरपालिकामा प्रशासन कार्य संचालन गर्ने मुख्य व्यक्ति नहुँदा नियमित सिफारिस देखि लिएर योजनाका, भुक्तानी समेत रोकिएका छन ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार हुन सकेको छैन भने बाढी पिडितहरुले अहिले सम्म राहत पाउन सकेका छैनन् । तेलको कुपनमा हस्ताक्षर गर्दिने मान्छे नभएर फोहोर उठाउने गाडी समेत बन्द हुने अवस्थामा पुगेको छ ।।