गढवा गाउँपालिकालाई सिपी नेपालद्वारा बाढीपिडितका लागि राहत सामग्री हस्तान्तरण

गढवा, ३ असोज

गढवा गाउँपालिकाका एक सय घरपरिवार बाढीपिडितहरुको लागि सिपी नेपालले बिहीबार गढवा गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरिएको छ।

क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकामा बिगत १२ वर्ष देखी विपन्न वर्गको आर्थिक र शैक्षिक क्षेत्रमा कार्य गर्दै आईरहेको जनाएको छ । यही असोज २० र २१ गते आएको प्राकृतिक बिपद बाट प्रभावित भएकाअ अति बिपन्न एक सय घरपरिवारका लागि राहत सामग्री गढवा गाउँपालिका लाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रशासन प्रमुख पुनाराम शर्मा, न्यायिक समिति सदस्य रेखा थापा, बिपद् व्यवस्थापन समितिका संयोजक श्याम बहादुर बिक लगाएतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।

राहत सामग्रीमा एक सय थान ब्लाङ्केट, तिन सय थान थाली, एक सय थान डेक्चि, एक सयथान कराही, सय/सय थान डाडु/ पन्यो,एक सय थान परात र ४८ थान स्टिलको जग रहेको क्रियटिङ पोसिबिलिटिज नेपाल आमा समूहका संयोजक सरिता चौधरीले जानकारी दिनु भयो।

बिभिन्न संघ संस्था बाट आएको राहत सामग्री एकद्वार प्रणाली मार्फत वितरण गरिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । ‘हामिले विभिन्न संघ संस्थाहरुको दिएको सहयोग लाई पालिकामा जम्मा गरेर अति बिपन्न, कमजोर बाढीपिडित लाई वितरण गर्ने गरेको’ अध्यक्ष शर्माले बताउनुभयो ।

अहिले सम्म गढवा गाउँपालिका लाई नेत्र ज्योति संघ, लमही आँखा अस्पताल, नेपाल रेड्क्रस सोसाइटी, आम्दा नेपाल लगायत अन्य केही संघ संस्थाहरुले खाद्यान्न, लत्ताकपडा, भाँडा बर्तन सहयोग गरिसकेको उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो ।

असोज २० र २१ गते आएको बाढीले गढवा गाउँपालिकाको बिभिन्न वडामा गरि करोडौको धनमालको क्षति गरेको छ। कैयौ बिगाह खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको छ भने अधिकांश ठाउँमा धानबाली लाई क्षती पुर्‍याएको छ।

‘चुनावमा सपना बाँड्दिनँ, काम गरेर देखाउँछु’ : रेखा शर्मा

आकाश र चन्द्रमाको सपना देखाउने तर जमिनको काम पनि नगर्ने जुन प्रवृत्ति छ, त्यसलाई अब अन्त्य गर्नुपर्छ । जनतामाझ ठूला सपना देखाएर निराशा बाँड्ने होइन, पूरा गर्न सकिने कामहरूको मात्र सपना बाँड्नुपर्छ ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्, रेखा शर्मा । पूर्व सांसद एवं मन्त्री समेत रहेकी माओवादीकी नेतृ शर्मा गठबन्धनबाट उम्मेदवार बनेर चुनावी मैदानमा छिन् ।

२०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी शर्मा २०७० र २०७४ सालमा समानुपातिक सांसद बनिन् र सामान्य प्रशासन मन्त्री समेत भइन् । शर्मा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार भएकी छिन् । सोही निर्वाचन क्षेत्रबाट एमालेका महासचिव शंकर पोखेरल पनि उम्मेदवार छन् । दुईबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

पाँचदलीय गठबन्धनको साथ भएकाले जित आफ्नो पक्षमा हुने शर्माको तर्क छ । उनी भन्छिन्, ‘जनतामाझ ठूला सपना बाँड्दिनँ, अधुरा काम गरेर देखाउँछु ।’ पूर्व सांसद शर्मासँग गरेको कुराकानीको सम्पादित अंश:

चुनाव नजिकिइसक्यो, तयारी कस्तो छ ?

मनोनयन दर्ता गरेसँगै हामी चुनावी तयारीमा छौं । अहिलेको तयारी भनेको गठबन्धन दलका कार्यकर्ताहरू वडा तहसम्म परिचालन गर्ने, राजनीतिक भेटघाट, छलफल गर्ने जस्ता आन्तरिक कामहरू भइरहेका छन् ।

अहिलेसम्म घोषणापत्र तयार भएकै देखिंदैन, के एजेण्डा लिएर मतदाता कहाँ पुग्दै हुनुहुन्छ ?

घोषणापत्र आउन बाँकी नै छ, त्यसपछि मात्रै हामी हाम्रा एजेण्डाहरू के हुन् भनेर मतदातालाई बताउँछौं । तर अहिलेको मुख्य राजनीतिक विषय भनेको हामी गठबन्धनमा छौं । गठबन्धन के कारणले बन्यो, किन बन्यो ? भन्ने कुरा जनतालाई बुझाउँदै हिंडेका छौं ।

पछिल्लो समयमा यहाँका नेता मुख्यमन्त्री हुँदा जस्तो विकास हुनुपर्थ्यो, त्यो भएन । बरु ठूला–ठूला सपनाहरू देखाइए तर सडकका खाल्डा पुर्ने काम भएनन् । हामीले आकाश देखाएर होइन धर्तीमा टेकेर सपना बाँड्ने हो । नयाँ सपना बाँड्ने भन्दा पनि सम्भावना हुने कामहरू गर्ने हो, तिनलाई व्यवस्थित गर्ने हो ।

यो निर्वाचन सामान्य विषय नभएर अग्रगमन र पश्चगमन विरुद्धको लडाईं हो । लोकतन्त्र पक्षधर र विरोधीबीचको लडाईं हो । हिजोको लामो संघर्षपछि समानुपातिक, समावेशीलगायत जे–जस्ता उपलब्धि हासिल भएका छन्, त्यसलाई रक्षा गर्ने र नगर्ने बीचहरूको लडाईं पनि हो ।

अर्को कुरा संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने र देशलाई निरंकुशतातिर लैजाने जुन प्रयत्न भयो, त्यसका विरुद्ध यो गठबन्धन बनेको हो भन्ने जनतालाई बुझाउँदै हिंडेका छौं । तर हामी अझै पनि मतदाताको घरदैलोमा पुगेका छैनौं । आम कार्यकर्ता र शुभचिन्तकमाझ गठबन्धन किन आवश्यक छ भन्ने बुझाउँदै हिंडिरहेका छौं । हामी यो निर्वाचनमा अरूका कमजोरी भन्दा पनि आफ्ना समृद्धिका कुरा र हामी दाङको विकास कसरी गर्छाैं भनेर जनतामाझ बुझाउने तयारीमा छौं ।

पूर्व सभामुख कृष्णबहादुर महराले चुनाव नलड्ने घोषणा गरेपछि अकस्मात् टिकट तपाईंको भागमा पर्‍यो । एमालेको बलियो उम्मेदवार महासचिव शंकर पोखरेलसँग तपाईंलाई प्रतिस्पर्धा गर्न भारी पर्ने देखियो नि ?

मुख्य कुरा के हो भने म यही ठाउँ (दाङ–२) को प्रतिनिधि भएकाले पार्टीभित्र प्रत्यक्षमा टिकट पाए चुनाव लड्छु भनेर आफ्ना कुरा राख्दै आएकी थिएँ । त्यसमाथि महरा सरले चुनाव नलड्न पनि सक्छु भन्दै आउनुभएको थियो । त्यसकारण पनि महरा सर, मसहित तीन जना (निर्मल आचार्य) को नाम पार्टीले जिल्लाबाट सिफारिस गर्‍यो । त्यसैले पनि मेरो लागि यो अकस्मात् थिएन, पहिलेदेखि नै म मानसिक रूपमा चुनाव लड्न तयार नै थिएँ ।

जहाँसम्म बलियो उम्मेदवारको कुरा गर्नुभयो, मूल कुरा व्यक्ति भन्दा पनि एजेण्डा हो भन्ने म ठान्छु । एजेण्डा बलिया र कमजोर हुनसक्छन् तर व्यक्ति बलिया र कामजोर भन्ने हुँदैन । त्यसैले को बलियो को कामजोर उम्मेदवार भन्ने कुरै छैन । मलाई लाग्छ गणतन्त्र प्राप्ति, संविधान निर्माण, महिला र दलितको अधिकार स्थापना गर्ने कुरामा मैले खेलेको भूमिका कोही कसैको भन्दा कम छ जस्तो लाग्दैन ।

संविधानमा अधिकार स्थापित गर्ने सन्दर्भमा र मुलुकलाई नै परिवर्तन गर्ने सन्दर्भमा मेरो महत्वपूर्ण भूमिका छ भन्ने म ठान्छु । आजसम्म आउँदा पनि हामी संविधानको रक्षाका निम्ति उभिएका छौं । प्रतिगमन विरुद्धको आन्दोलनको सवालमा पनि हामी सक्रिय छौं । त्यसकारण कोही उम्मेदवार बलियो र कोही कमजोर भन्ने हुँदैन । पदीय हिसाबमा कोही कहाँ कोही कहाँ होला यसमा मेरो केही भन्नु छैन, तर हाम्रा एजेण्डा र गठबन्धनको मतका हिसाबले म आफूलाई बलियो उम्मेदवार ठान्छु ।

दाङले केन्द्रको राजनीतिमा प्रभाव राख्न सक्ने नेता पायो । तर यहाँका जनताले अपेक्षा गरे अनुसारको विकास पाएन भन्ने जनगुनासो छ । यो चुनावमा रेखा शर्मालाई विश्वास गर्नुपर्ने कारण के ?

पहिलो २०६४ सालपछि मात्र हामी चुनावी प्रक्रियामा आयौं । त्यसअघि हामी चुनावमा थिएनौं, त्यो फरक कुरा भइहाल्यो । २०६४ सालमा हाम्रो मूल ध्येय नै संविधान निर्माण गर्ने भन्ने थियो र विकास निर्माणको काम सहायक थियो । त्यो बेला राजनीतिक परिस्थिति जे थियो, त्यसलाई ट्रयाकमा ल्याउने कुरा नै मूल थियो । त्यसपछि हामीले संविधान निर्माण गरेर राजनीतिलाई ट्रयाकमा ल्यायौं । तर ट्रयाकमा आएको त्यही राजनीतिलाई अहिले यताउता गर्ने प्रयत्न भइरहेको छ । त्यसका लागि आज पनि हामी लडिरहेका छौं ।

जहाँसम्म विकास निर्माणको कुरा छ, संविधानसभाको पहिलो निर्वाचनपछि यही क्षेत्रबाट चुनाव जित्नुभएका नेता कृष्णबहादुर महरा पटक–पटक मन्त्री हुनुभयो । उहाँ मन्त्री हुँदा यो क्षेत्रमा थुप्रै विकासका काम भएका छन् । २०७० सालपछि म सांसद भएपछि पनि विकासका काम भएका छन् । तपाईंले हेर्नुहुन्छ भने शहीद मार्गको ट्रयाक खोल्ने काम हामै्र अग्रसरतामा सुरु भएको हो । दाङबाट प्युठान, रोल्पा र सुर्खेत जोड्न बाटोको ट्रयाक खोल्ने काम भएका छन् । खानेपानी र सिंचाइका काम व्यवस्थित ढंगले भएका छन् ।

तर पछिल्लो समयमा यहाँका नेता (शंकर पोखरेल) प्रदेशको मुख्यमन्त्री हुँदा जस्तो विकास हुनुपर्थ्यो, त्यो भएन । बरु ठूला–ठूला सपनाहरू देखाइए तर सडकका खाल्डा पुर्ने काम भएनन् । म के भन्छु भने हामीले आकाश देखाएर होइन धर्तीमा टेकेर सपना बाँड्ने हो । नयाँ सपना बाँड्ने भन्दा पनि सम्भावना हुने कामहरू गर्ने हो, तिनलाई व्यवस्थित गर्ने हो ।

अहिलेको अवस्थामा पाँच वर्षमा गर्न सकिने काम के–के हुन् ?

ती कामहरूलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । आकाश र चन्द्रमाको सपना देखाउने तर जमिनको काम पनि नगर्ने जुन प्रवृत्ति छ, त्यसलाई अब अन्त्य गर्नुपर्छ । जनतामाझ ठूला सपना देखाएर निराशा बाँड्ने होइन, पूरा गर्न सकिने कामहरूको मात्र सपना बाँड्नुपर्छ ।

स्वास्थ्य र शिक्षामा मैले विशेष ध्यान दिनुपर्छ भन्ने सोचेकी छु । त्यस्तै महिलालाई आर्थिक रूपमा सक्षम र अधिकारसम्पन्न बनाउन विशेष योजनाहरू बनाउनेछु ।

म अहिले दंगाली जनताको प्रतिनिधित्व गर्ने हिसाबले चुनावमा आइरहँदा के भन्न चाहन्छु भने, म उहाँहरूको सहज पहुँचमा हुनेछु । जनताको पहुँचमा पुग्न मेरो लागि कुनै बार–बन्देज हुनेछैन । म सहजै उपलब्ध हुनेछु । यस क्षेत्रमा भएका जनताको आवश्यकतालाई ख्याल गर्दै, त्यस किसिमको विकासको मोडल तयार गर्छु । चुनावमा निर्वाचित भएर गइसकेपछि पाँच वर्षभित्र गर्न सकिने काम गर्छु । म काम गरेर देखाउँछु, सपना बाँड्दिनँ ।

गएको स्थानीय तहको चुनावमा गठबन्धन दलहरू इमानदार नहुँदा पराजय हुनुपर्‍यो । अहिले पुनः त्यही दलसँगै चुनावी तालमेल गरेर चुनावमा होमिंदा फेरि पनि अन्तर्घात हुने सम्भावना देखिंदैन ?

विगतको निर्वाचनमा दलहरू इमानदार नभएका होइनन्, केही प्राविधिक कारणले पराजय भोग्नु परेको थियो । उम्मेदवार नै नभएको चुनाव चिह्न हुँदा गठबन्धनको करिब १० हजार मत बदर भयो । अर्काे विगतमा हाम्रो मनोविज्ञानमा, बुझाइमा केही समस्या थिए । अहिले ती सबै समस्यालाई हामी चिर्न खोज्दैछौं ।

स्थानीय तहको चुनावमा समय पनि थोरै हुँदा कतिपय कुरा कार्यकर्ता र जनतालाई बुझाउन सकेनौं । अहिलेको निर्वाचनमा हामीले यी सबै कुरा बुझाइरहेका छौं । यो निर्वाचन निर्वाचन मात्र नभएर प्रतिगमन विरुद्धको लडाईं हो भनेर जनतालाई सम्झाएका छौं । विगतमा भएका कमजोरीको पनि समीक्षा गरेका छौं । यसअर्थमा यो पटक गठबन्धनकै मर्म अनुसार भोट खस्नेछ र प्रतिगमन विरुद्धको लडाईंमा हामी विजयी हुनेछौं भन्नेमा ढुक्क छौं ।

दाङको समृद्धिका लागि तपाईंको ‘विकासको मोडल’ कस्तो छ ?

हामी छिट्टै घोषणापत्र लिएर मतादाताकहाँ पुग्नेछौं । त्यो बेला हाम्रा चुनावी एजेण्डाहरू आउने नै छन् । तर मूलतः हामीले गर्ने काम भनेको यहाँ भएका पूर्वाधारलाई व्यवस्थित र स्तरोन्नति गर्ने नै हो । हामी जनतालाई नयाँ सपना बाँड्ने भन्दा पनि अधुरा कामहरू पूरा गरेर देखाउँछौं ।

उदाहरणका लागि हामीले निकै दुःखका साथ दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायौं । तर, त्यहाँबाट दिनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवा दिन र राम्ररी मेडिकल कलेज सञ्चालन गर्न सकेनौं । त्यसलाई छिटोभन्दा छिटो व्यवस्थित गर्दै मेडिकल शिक्षा सुरु गर्नुपर्नेछ । त्यस्तै दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालय, जुन पूर्वीय दर्शनको आफैंमा ठूलो विश्वविद्यालय हो ।

अन्तर्राष्ट्रियस्तरमै पूर्वीय दर्शनप्रति आकर्षण बढिरहेको बेला हामीले भने यसलाई स्थानीयस्तरमा पनि व्यवस्थित गर्न सकेका छैनौं । हाम्रो चाहना संस्कृत विश्वविद्यालयलाई व्यवस्थित गरेर अन्तर्राष्ट्रियस्तरमै लैजाने गरी यसको विकास गर्नेछ ।

यहाँको अर्काे ठूलो समस्या एयरपोर्टको हो । अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट बनाउने कुरा पटक–पटक उठ्दै आएको छ । तर भएको एयरपोर्टमा कम्तीमा ७२ सिटको जहाज सञ्चालन गर्न सक्ने गरी स्तरोन्नति गर्न सकेका छैनौं । अन्तर्राष्ट्रियस्तरको पनि चाहिएला तर अहिलेलाई ७२ सिटका विमानहरू तत्काल नियमित सञ्चालन गर्नुपर्ने अवस्था छ । त्यसैले दाङ जस्तो जिल्लामा सहज हवाई आवागमनका लागि एयरपोर्ट सञ्चालन एकदमै जरूरी देखेकी छु ।

त्यस्तै तुलसीपुर–लमही सडकखण्डको स्तरोन्नति गर्नुपर्नेछ । अर्काे कुरा दाङ कृषिका लागि राम्रो ठाउँ मानिन्छ तर सिंचाइ व्यवस्था छैन । सिंचाइका लागि माडी डाइभर्सनको कुरा पटक–पटक उठ्दै आए पनि काम भएको छैन । त्यसलाई अगाडि बढाउने सोचेकी छु । दाङ आफैंमा सुन्दर शहर छ तर अव्यवस्थित छ । यसलाई व्यवस्थित शहर बनाउन खानेपानी, ढल, सडक सबै पूर्वाधारहरू तयार गर्नमा ध्यान केन्द्रित गर्नेछु ।

मुख्य कुरा नयाँ काम गर्छु भन्दा पनि भएका कामलाई हामी पहिला व्यवस्थित गर्छौं । नयाँ स्कुल, कलेज खोल्ने भन्दा पनि भएकालाई व्यवस्थित गर्दै शिक्षाको हब बनाउनुपर्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ । स्वास्थ्य र शिक्षामा मैले विशेष ध्यान दिनुपर्छ भन्ने सोचेकी छु । त्यस्तै महिलालाई आर्थिक रूपमा सक्षम र अधिकारसम्पन्न बनाउन विशेष योजनाहरू बनाउनेछु ।

थारू आदिवासीको बाहुल्य भएको यो ठाउँमा थारू संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने गरी योजनाहरू ल्याउने सोच छ । धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास गर्न व्यवस्थित योजना बनाउने सोचेका छौं । तर यी काम गर्दा नयाँ सपना बाँड्ने भन्दा पनि कामहरू गरेर देखाउने हाम्रो प्रयास हुनेछ ।

अनलाइन खबरबाट

 

 

बाढी प्रभावित क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले बुधवार राप्ती गाउँपालिकाकाे बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन गरेका छन् ।

त्यस क्रममा मुख्यमन्त्री केसीले केही दिन अघि परेको अविरल वर्षतका कारण आएकाे बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामाे समय देखि अलपत्र रहेको वडा नं.-८ काे बिजाैरी देखि वडा नं.४ काे नयाँ गाउँ जाेड्ने दाेलई खाेला पक्की पुल निर्माण याेजनाकाे कामकाे बुधबार स्थलगत अवलोकन गरेका छन् ।

अवलोकन पश्चात मुख्यमन्त्री केसीले बाढी नियन्त्रणका लागि तत्काल दिर्घकालिन याेजन बनाएर काम अगाडि बढाउने बताएका छन् । त्यस्तै मुख्यमन्त्री केसीले साे पुल निर्माण याेजनाकाे काम बिचमै अलपत्र पार्ने जय बुद्ध कनट्रक्सन प्रालि सँगकाे ठेक्का सम्झौता तत्काल रद्ध गरी कार्वाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका छन् ।

सो अबसरमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस क्षेत्रमा बाढी पहिराले पु¥याएको क्षति र त्यसको रोकथामको उपाएको बारेमा मन्त्री केसीलाई जानकारी गराएका थिए । साथै उनले विपतमा परेका जनताहरुको समस्याको समाधान गर्नको लागि पालिका एक्लैलाई अफ्ठ्यारो पर्ने भएकाले प्रदेश सरकारलाई यस कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

सो अवसरमा लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख, अर्थविज्ञ, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।