तिहारको तेस्रो दिन आजै लक्ष्मी पूजा, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

गढवा, ७ कार्तिक

यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।

घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुका भैलो समेत खेल्ने गरिन्छ ।

तिहारको तेस्रो दिन आज कुकुर तिहार, कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै

गढवा, ७ कार्तिक

तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताए ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

यस्तै आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गइ स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ ।

विद्युत सट हुँदा पराल बोकेको टेक्टरकाे ट्रलीमा आगो

गढवा, ७ कार्तिक

दाङको देउखुरी गढवामा विद्युत सट हुँदा पराल बोकेको टेक्टरकाे ट्रलीमा आगो लागेको छ ।

गढवा गाउँपालिकाको आँटिपाकरबाट पराल बोकेर गढवातर्फ आउदै गरेको लु ४ त ७८९७ नम्बर को ट्रयाक्टरमा लोड गरिएको परालमा बिजुलीको तार सर्ट हुँदा आगो लागेको ट्रयाक्टर चालक बिजय यादवले जानकारी दिनुभयो।

आगो लाग्दा ट्रलीको एउटा टायर जलेर क्षति भएको छ। ट्रलीभन्दा धेरै माथीसम्म पराल लोड गरेकोले सडकमाथी रहेको तार सर्ट भई आगो लागेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

आगो लागेको खबर पाए लगत्तै गढवा गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी टिम र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको हो।

आगो बाट पनि ट्याक्टरको ट्ट्रलीको एक टायर जलेर क्षति भएको छ भने लोड गरिएको पराल पुरै जलेर नष्ट भएको छ।

ट्रलि बन्दा धेरै माथी सम्म पराल लोड गरिएकोले परालको भागले बिध्धुतको तारमा सर्ट भई आगलागी भएको स्थानीयहरुले बताएको छन्।