यमपञ्चकको चौथो दिन आज गाई पूजा

गढवा, ८ कात्तिक
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।

गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने

कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उहाँले बताउनुभयो ।
खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । सम्म परेका भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताउनुभयो ।ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।यसैबीच,यही महिनाको २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ ।
कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।

पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।

अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।

बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए ।

सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

दाङको घोराहिमा तिनवटा फर्निचर उधोगमा भिषण आगलागी

गढवा,७ कार्तिक

दाङको घोराहिमा तिनवटा फर्निचर उधोगमा आगलागी हुदा करोडौको क्षति भएको छ । आगलागीबाट घोराहि सहिद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ ।
न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट करोडौको क्षति भएको अनुमान गरिएको छ ।
राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराहि उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको हो । लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।
यता घटना प्रति दाङ उधोग बाणिज्य सङघ र तुलसीपुर उधोग बाणिज्य सङघ द्वारा दुख: ब्यक्त गरेका छन ।

अध्यक्ष टंकसिह बुढाथोकि र रामप्रसाद चालिसेले बार बार पसलहरुमा आगलागी हुदा नियन्त्रण गर्ने संम्यन्त्र प्रभाबकारि नहुनु दुखद कुरा भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
सङघले आगलागी ब्यबसायिहरुलाई सहयोग गर्न सबैमा आब्हान गरेको छ ।