‘नो नट अगेन’मा अदृश्य शक्तिको खेल रहेको निर्वाचन आयोगको आशंका

गत भदौं ८ गते ‘नो नट अगेन’को पेजमा अबको निर्वाचनबाट स–सम्मान विदा गरौँ भनेर झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर बनाइएका पोष्टर पहिलोपटक पोष्ट भएको थियो ।

जसमा ‘यी बाहरुसँग व्यक्तिगत दुस्मनी होइन । अहिलेसम्मका लागि धन्यवाद । तर अब पुग्यो । अबपनि तपाईहरुको स्वार्थको शिकार बन्दैनौँ’ भन्ने सन्देशसहितको पोष्टर पोष्ट गरिएको थियो ।

‘नो नट अगेन’ फेसबुक पेजमा त्यसअघिस्थानीय तह निर्वाचनका बेला काठमाठौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका उम्मेदवार हर्क सामपाङको पक्षमा पोष्टरहरु बनाएर पोष्ट गरिएको देखिन्छ ।

गत भदौं ३ मा श्रीकृष्ण जन्माष्टमीका दिन ‘नो नट अगेन’को पेजमा सो पर्वका अवसरमा शुभकामना दिँदै प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउने चुनाव चिन्ह लौरो भनेर सन्देश राखिएको थियो ।

हाल यो चुनाव चिन्ह हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । पार्टी दर्ताअघि आफूलाई वैकल्पिक तथा स्वतन्त्र राजनीतिक एकता अभियानको नाममा चिनाउने समूहले पछि पार्टी दर्ता गरेका थिए ।

गत भदौ यता ‘नो नट अगेन’को पेजमार्फत ठूला राजनीतिक दलका मुख्य नेताहरुलाई भोट नदिऔं भन्ने खालका विभिन्न पोष्टरहरु लगातार रुपमा पोष्ट हुँदै आएको छ ।

हालै निर्वाचन आयोगले सो पेजका गतिविधि निर्वाचन कानुन विपरीत रहेको भन्दै सो गतिविधि रोक्न चेतावनी दिएपछि यसले अझै चर्चा पाएको छ । साथै आफ्ना पोष्टहरुको मात्रा पनि बढाउँदै लगेको छ ।

नो नट अगेनप्रति आयोग रक्षात्मक : अदृश्य शक्तिको खेल रहेको आशंका 

गत कार्तिक ८ गते निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै ठूला पार्टीका नेताहरूविरुद्ध लाञ्छनापूर्ण र भ्रमपूर्ण सामग्री प्रकाशित र प्रसारण नगर्न सचेत गराउँदै ‘नो नट अगेन अभियान’ तत्काल रोक्न निर्देशन दिएको थियो ।

सो अभियानले त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्न नरोके विद्युतीय कारोबार ऐन र निर्वाचन ऐनअनुसार कारबाही हुने चेतावनी दिएको थियो । आयोगले १ लाख जरिवानादेखि ५ वर्ष कैदको सजाय गर्ने चेतावनी समेत दिएको थियो ।

तर आयोगले दिएको यो चेतावनी नागरिक स्तरबाट आलोच्य बन्यो भने यो अभियानको समर्थनका पोष्टहरु सामाजिक सञ्जाल ट्वीटरमा ट्रेन्डिङमै पुग्यो । चिकित्सा शिक्षा सुधारका नाममा अनसन बस्दै आएका डा.गोविन्द केसीले पनि यो अभियानको समर्थन गर्नु भयाे ।

उहांले एक विज्ञप्ति जारी गरेर निर्वाचन आयोगको धम्कीपूर्ण अभिव्यक्तिको वेवास्ता गर्न आग्रह गर्नु भएकाे थियाे । उहांले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट भन्दै निर्वाचन आयोगले जारी गरेको विज्ञप्‍तिप्रति हामी गम्भीर खेद प्रकट गर्नु भएकाे थियाे ।

नागरिक समाज तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आयोगले गरेको सो निर्णय संविधानले दिएको बिचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपरीत रहेको टिप्पणी गरेका छन् ।

जनस्तरबाट व्यापक विरोध भएपछि यो अभियानप्रति निर्वाचन आयोग रक्षात्मक बनेको छ । यो अभियानका बारेमा तत्काल कुनै ‘एक्सन’ नलिने र यो बारेमा आयोगको तर्फबाट कुनै धारणा सार्वजनिक गर्ने पक्षमा नरहेको आयोगका एक पदाधिकारीले जानकारी दिनु भयाे ।

अनौपचारिक कुराकानीका क्रममा उहांले यस्ता अभियानहरू कुनै अदृश्य शक्तिले सञ्चालन गरेको हुन सक्ने बताउँदै यसप्रति आयोग सचेत र संवेदनशील रहेको बताउनु भयाे।

उहांले भने–‘संसदमा नयाँ मान्छे नजाउन भन्ने आयोगको आशय हैन तर पुराना नेताको टाउको काट्ने, नयाँ मान्छेहरूलाई संसदमा पु-याउने भन्ने अराजकतामा उनीहरू दौडिरहेका छन् । भोलि संसदमा अराजकहरुको भीड भयो भने हामी यो देशमा बस्न सक्ने स्थिति रहन्छ कि रहँदैन ? त्यो अवस्था नजिकै छ टाढा छैन ।’

नेपाल विभिन्न राजनीतिक प्रणालीको परिक्षण स्थल बनेको विगतदेखिको इतिहासको उदाहरण दिँदै ‘नो नट अगेन’ अभियानलाई आयोगले निकै संवेदनशील रुपमा हेरेको उहांले बताउनु भयाे । सो अभियानको बारेमा आयोगले सुष्म रुपमा अध्ययन गरिरहेको र अहिले तत्काल त्यसबारे केही नबताउने ति पदाधिकारीले उल्लेख गर्नुभयाे ।

उहांले भन्रु भयाे–‘यसको पछाडि कोही न कोही लगानीकर्ता हुनुपर्छ । कुन उद्देश्यले लगानी भएको हो त्यसको छुट्टै पाटो होला तर आयोग अहिले यो विषयमा बोल्ने पक्षमा छैन ।’

आयोगले नेपाल प्रहरीको साइबर ब्यूरोलाई यसबारे अनुसन्धान गरी प्रतिवेदन बुझाउन आग्रह समेत गरेको छ । उनले भने, ‘हामीले साइबर ब्यूरोलाई तपाईंहरु यसबारे अनुसन्धान गर्नुस्, अनुसन्धानको पाटो फितलो भयो । अनुसन्धानपछि त्यसको प्रतिवेदन आयोगलाई बुझाउन पनि भनेका छौँ ।’

सुरुमा कडा रुपमा प्रस्तुत भएको आयोगले निर्वाचनको मध्यअवधीभएकोले यसबारे अब प्रतिक्रिया नदिई मौन बस्ने नीति लिएको छ ।  यस्ता विषयमा बोल्दा भोलि निर्वाचन भाँड्नेसम्मको खेल हुने हो कि भन्नेमा आयोग सचेत रहेको उहांकाे भनाइ थियाे ।

हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरे भन्रनुहुन्छनो नट अगेन अभियानमा हाम्रो साथ छ

‘नो नट अगेन’ अभियान ठ्याक्कै कसले चलाइरहेको हो भनेर कुनै व्यक्ति वा समूहले खुलेर भनेका छैनन् । तर यो अभियानको फेसबुक  पेजमा पोष्ट भएका सामग्री हेर्दा नै थाहा हुन्छ कि यो अभियानमा लौरो चुनाव चिन्ह रहेको हाम्रो नेपाली नेपाली पार्टी कुनै न कुनै रुपमा जोडिएको छ ।

यो अभियानमा तपाईहरुको संलग्नता छ कि छैन भन्ने प्रश्नमा सो दलका अध्यक्ष अनन्तराज घिमिरेले सो अभियानलाई साथ दिएको  स्वीकार गर्नुभयाे । उहांले सो अभियान आयोगले भने जस्तो गैरकानुनी नभएर संविधानले दिएको अभिब्यक्ति स्वतन्त्रताको विषय भएको उल्लेख गर्नुभयाे ।

उहांले भन्रुभयाे–‘अभियान हामीले चलाएको त हैन तर त्यसमा हाम्रो साथ सर्पोट छ । केही इन्जिनियर भाईहरुले चलाउनुभएको हो । नो नट अगेन अभियान भनेको देश विगार्ने नेताहरुलाई सचेत गराउँ भन्ने मात्रै हो । अहिले हामीलाई सबैतिरबाट चासो ब्यक्त भएको छ । यो अभियानलाई हामीले साथ दिएको मात्रै हो । हाम्रो बिचारमा यो अभियान राम्रो भइरहेको छ ।’

उहांले यो अभियान नागरिकको बोल्न पाउने हक अन्तर्गत रहेको बताउँदै सो अभियानका लागि हाम्रो नेपाली पार्टीको बलियो साथ रहेको उल्लेख गर्नुभयाे । निर्वाचन आयोगको कदमपछि धेरै ठाँउबाट साथ सहयोग मिलेकोले बढी उर्जाका साथ अघि बढेको उहांले बताउनु भयाे ।

उहांले भन्नु भयाे–‘हाम्रो तर्फबाट कसैलाई अपशब्द प्रयोग गरेका छैनौँ । हामीले कसैलाई गाली गलौज गरेका छैनौँ । तर कुरा के हो भने पुरानै नेताहरूलाई अझै कति पटक जिताउने ? भन्ने हाम्रो भनाई हो । देश बनाउने भिजन भएका युवाहरूलाई नेतृत्वमा ल्याउनुप-यो भन्ने नै यसको मुख्य आधार हो ।’

उहांले आफ्नो दलमा इन्जिनियर, वकील, पत्रकार लगायत बौद्धिक बर्ग रहेको र देशलाई कस्तो बनाउँने भन्ने स्पष्ट भिजन रहेको दावी गर्दै लौरो अभियान अघि बढाएको बताए । नो नट अगेन सबै नेपालीले चलाएको दावी गर्दै सो अभियानमा सहयोग रहेको बताए । भोलि निर्वाचन आयोगले बन्द गर्न आग्रह गरे कानुनीराजको पालना गर्नुपर्ने उहांकाेभनाइ छ ।

निर्वाचन आयोग नो नट अगेन सर्वोच्चमा मुद्दा

गत साता आयोगले यो अभियान गैर कानुनी रहेको भन्दै थप क्रियाकलाप अघि नबढाउन निर्देशन दिएपछि त्यसको आलोचना मात्रै भएन आयोग विरुद्धको सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले आयोगको सो कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक विपरीत रहेको भन्दै रिट दायर गरेका छन् ।

उहांले आयोगले यस सम्बन्धमा जारी गरेको सूचना स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्दै आयोगको उक्त सूचना खारेजीको माग गर्नुभएकाे छ । मंगलबारका लागि यो मुद्दाको पेसी तोकिए पनि मुद्दाको चापका कारण बुधबारका लागि सारिएको छ ।

‘भोलिको शहर’ सम्मेलनमा राप्ती, गढवा र शितगंगाका जनप्रतिनिधि सहभागी

पाँच देशका विज्ञहरु सहभागी ‘भोलिको शहर’ सम्बन्धी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने पालिकाका प्रमुखहरु पनि सहभागी हुने भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुखहरु सम्मेलनमा सहभागी हुन काठमाडौं पुगिसक्नु भएको छ ।

राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, गढवा गाउँपालिका प्रमुख यमनारायण पोख्रेल (विश्वास), शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल र लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छवि पोखरेलसहितको टोली काठमाडौंमा पुगेको छ । ललितपुरको हिमालय होटलमा आयोजित सम्मेलनमा राप्ती, गढवा र अर्घाखाँचीका जनप्रतिनिधिको टोली बुधबार सहभागी हुने कार्यक्रम रहेको छ।

विकासको नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ देशका विषय विज्ञहरुको सम्मेलनलाई ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको छ ।

दाङको राप्ती उपत्यकामा लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला यो सम्मेलन उपलब्धिपूर्ण हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्मेलनबाट प्राप्त राय, सुझावका आधारमा राजधानी शहरका पूर्वाधार निर्माणमा ध्यान दिन सहायकसिद्ध हुने बताउनु भएको छ।

राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका ८ र ९ नम्बर वडाले चर्चेको क्षेत्रमा लुम्बिनीको राजधानी रहने निर्णय प्रदेश सरकारले गरेको थियो । राजधानी शहरको गुरूयोजना तयार भइसकेको छ ।

सम्मेलनमा नेपालसहित टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी रहनु भएको छ। ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे छलफल गर्नु हुनेछ।

युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्सन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्नेछन् ।

सम्मेलनमा सहभागी एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको जानकारी दिनुभयो । यो परियोजनाले हाल ललितपुरको खोकना र बुंगमतीमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

‘नो नट अगेन’विरुद्ध आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

‘नो नट अगेन’विरुद्ध आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । सामाजिक सञ्जालको पेज नो नट अगेन लगायतका पेजलाई प्रतिबन्ध लगाउने आयोगको निर्णयविरुद्ध अधिवक्ता अनिल आचार्यले आयोगको निर्णय खारेजीको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै नो भोटको व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा नो नट अगेनका पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै अधिवक्ता आचार्यले त्यस्तो निर्णय बदर गराउन माग गरेका हुन् ।

जनताले मन नपरेका उम्मेदवारमाथि नो भोटको व्यवस्था गर्न नपाएको अवस्थामा जनताले स्वतस्फूर्तरुपमा नो नट अगेनको अभियान गर्दा निर्वाचन आयोगले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको रिट निवेदनमा जिकिर गरिएको छ ।

वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने गरी आयोगले विज्ञप्ति जारी गरेको भन्दै उक्त निर्णय र चेतावनी उत्प्रेषणको आदेशबाट बदर गर्दै नो नट अगेनलगायतका पेजहरु पूर्ववतरुपमा सञ्चालनमा ल्याउन परमादेश दिन समेत माग गरिएको छ ।

आयोगको सूचना अनुसार नो नट अगेन अभियानमा संलग्न हुनेमाथि एक लाख रुपैयाँ जरिवाना, विद्युतीय कारोवार ऐन अनुसार कारबाही वा अन्य कारबाहीको चेतावनी थियो । रिट निवेदनमा त्यो सूचना निस्तेज बनाउनुपर्ने माग गरिएको छ । मंगलबार रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।