गढवा गाउँपालिका द्वारा मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सुरु

गढवा, १६ कार्तिक

गढवा गाउँपालिका द्वारा मतदाता शिक्षा समुदायस्तर घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ।

स्थानीय तहमा महिला स्वास्थ्य स्वयंसेविका परिचल गरि नमूना मतपत्र र अन्य मतदाता शिक्षा सामाग्रीहरुको माध्यमबाट मतदान गर्ने सहि तरिका र मतदान सम्बन्धी थप जानकारी दिने गरी पन्ध्र दिन सम्म मतदाता शिक्षा समुदायस्तर /घर दैलो कार्यक्रम सञ्चालन गर्ने तयारी पुरा भएको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिनुभयो ।

बुधबार गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको संयोजकत्वमा बसेको बैठकले गढवा गाउँपालिकाको आठ वटै वडामा मतदाता शिक्षा सञ्चालन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

साथै महिला स्वास्थ्य स्वयंसेविका हरु लाई नमूना मतपत्र र अन्य मतदाता शिक्षा सामाग्रीहरुको हस्तान्तरण गरेको जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले पन्ध्र दिन सम्म निर्वाचन कार्यालय बाट प्राप्त भएको नमूना मतपत्र र अन्य मतदाता शिक्षा सामाग्रीहरुको माध्यमबाट वडाका बिभिन्न ठाउँमा प्रचार प्रसार र सचेतनाको कार्यक्रम गर्ने छन्।साथै निर्वाचन कार्यालय बाट प्राप्त भएको पर्चा, पोष्टर लगायतका मतदाता शिक्षा सामाग्री वितरण तथा टांस गर्ने छन्।

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ ।

मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन् । अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यस्ता सामानको आयातमा मोटो रकम बाहिरिएको छ ।

चालू आवको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै रु तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ । कूल  १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले रु दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

यस अवधिमा भारतबाट मात्रै रु तीन करोड २५ लाख ५९ हजार मूल्यमा कूल १६ लाख ५६ हजार ३० थान तास आयात भएको छ  । त्यस्तै रु ३३ लाख ५१ हजार मूल्य बराबरको कूल ४० हजार एक सय ८२ थान तास चीनबाट आयात भएको छ ।

त्यस्तै विभागले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन महिनामा रु तीन लाख ५२ हजार मूल्य बराबरको भिडियो गेमका लागि आवश्यक पर्ने सामान आयात भएको छ । यस अवधिमा रु ३४ करोड १७ लाख बराबरको कलम तथा मार्कर आयात भएका छन् ।

डाइपर र प्याड आयातमा करोडौं बाहिरिँदै

उद्यमशीलताको विकास गरेर थोरै लगानीमा स्वदेशमै उत्पादन गर्न सकिने वस्तुसमेत करोडौँ रकम खर्चेर आयात गर्नुपर्ने अवस्थामा मुलुक पुगेको छ । डाइपर तथा सामान्य कागजबाट बन्नसक्ने न्यापकिन लगायतको आयातका लागि ठूलो रकम मुलुकबाट बाहिरिरहेको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो तीन महिनामा रु एकाउन्न करोड एक्काइस लाख २१ हजार मूल्य बराबरका डाइपर आयात भएको छ ।

त्यस्तै रु तीस करोड साठी लाख ३४ हजारका सेनिटरी प्याड पनि सोही अवधिमा आयात भएको छ । त्यस्ता वस्तुको उत्पादनमा प्रोत्साहन गर्दै गुणस्तरीय वस्तु उत्पादन गरी आयात निरुत्साहन गर्न सकेमात्रै मुलुकको आर्थिक अवस्था सवल हुनसक्ने अवस्था छ ।

सरकारले बजारमा महिलाका लागि अति आवश्यक मानिएको प्याडको मूल्य सर्वसुलभ होस् भन्ने अभिप्रायले चालू आवको बजेटमार्फत करको दर हेरफेर गरी भन्सार दरमा ९० प्रतिशतसम्मको छुट दिएको थियो ।
 

केपी ओलीको कारण एमाले त्यागेँ :  घनश्याम भुसाल

घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेको बताउनु भएकाे छ। त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताउनु भएकाे छ ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गरेको उहांको दाबी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा  र विकासको लागि बनेको हो,’ उहांले भन्नु भयाे ।

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताउनु भयाे । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उहांले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दाबीगर्नु भयाे ।

जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उहांको भनाइ छ । त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिएका कांग्रेस नेता विश्वनाथ यादवले आफूले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउँदै आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताउनु भयाे  ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ (२) का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताउनु भयाे । संविधान र लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाइ थियो ।

वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सातवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । रुपन्देही १ मा झण्डै चार दर्जन उम्मेदवार चुनावी मैदानमा रहेका छन् भने प्रतिनिधिसभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनका छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहनु भएकाे छ ।