जनता मावि गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाईयो

गढवा, १५ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र जनता माध्यमिक विद्यालय गढवाको समन्वयमा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ ।

सो अवसरमा सीपी नेपालले किशोरीहरुका बीच महिनावारी स्वच्छता सम्बन्धी सचेतनात्मक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा सहभागिहरुले महिनावारी जीवनको शुरुवात गर्न नारीलाई सक्षम बनाउने पाटो रहेकाले यसको स्वस्छताका विषयमा घरपरिवार र विद्यालयमा छलफल हुनु पर्ने बताएका थिए ।

सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा संगीता पराजुलीले महिनावारीमा सबैभन्दा ठुलो कुरा सरसफाई नै रहेकाले यसलाई मर्यादित बनाउन अँझ सचेतना कार्यक्रमहरू संचालन गर्नु पर्ने बताउनुभयो ।

त्यस्तै अर्को सहभागी जेनिशा पुन मगरले महिनावारीका समयमा सरसफाईका साथसाथै पोसिलो खानेकुराहरू पनि आवश्यक रहने कुरा बताउनु भयो । त्यस्तै कक्षा १० मा अध्ययनरत छात्रा प्रसुना पाण्डेले महिनावारीका समयमा अँझै पनि घरपरिवारमा अन्धविश्वास रहेकाले यसलाई मर्यादित बनाउन घरपरिवार र विद्यालयमा यसको स्वस्च्छताका बारेमा छलफल भएमा अँझ फलदायि हुने बताउनु भयो । सो अवसरमा महिनावारी कपको बारेमा समेत जानकारी दिईएको थियो ।

सो सचेतना कार्यक्रममा ५५ जना किशोरीहरुले सहभागिता जनाएका थिए भने कार्यक्रमको सहजिकरण महिला स्वास्थ्य संयोजक प्रेसा चौधरी र किशोरी शिक्षाकी सहजकर्ता सिता कुमालले गर्नुभएको थियो ।

यसैगरी अन्र्तराष्ट्रिय स्तरमा सन् २०१४ देखि मनाउन सुरु गरिएको दिवस नेपालमा सन् २०१५ देखि मनाउन थालिएको हो । हरेक वर्ष मे २८ का दिन महिनावारीसँग सम्बन्धित समस्याहरुलाई निराकरण गर्दै विश्वभरका सबै महिलाहरुलाई आफ्नो महिनावारी सुरक्षित र स्वच्छ बनाउनका लागि सशक्त बनाउने उदेश्यले यो दिवस मनाउदै आइरहेको छ ।

गढवा गाउँपालिकाका क्रियाशील सहकारीहरु ५ दिने सहकारी अवलोकन भ्रमणमा

गढवा,१४ जेठ। गढवा गाउँपालिकामा सक्रिय सहकारीहरूकाे ५ दिने अवलाेकन भ्रमण शूरू भएकाे छ ।

सहकारीमा देखियकाे बिकृति, सहकारीमा देखियकाे समस्या र हाल सहकारी ब्यवस्थापन गर्न नेपालमा रहेका नमुना सहकारी बाट सिकाई लिई सुरक्षीत तथा सिकाईका लागि सहकारी अध्ययन, अवलाेकन कार्यक्रम आयाेजना गरिएको गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका सहकारी शाखाकाे आयाेजनामा गढवामा रहेका सहकारीहरू लाई भ्रमणकाे आयाेजना गरिएकाे सहकारी शाखा प्रमुख यादवले बताउनुभयो।

पछिल्लाे समयमा सहकारीमा आएका समस्याकाे समाधान कसरी गर्न सकिन्छ ? नमुना सहकारी कसरी बनाउने भन्ने बिषयमा गढवा गाउँपालिकाका सक्रिय संस्थालाई अवलाेकन भ्रमण गराईएकाे यादवको भनाई रहेको छ।

५ दिने अवलाेकन भ्रमणकाे पहिलाे दिन जन उत्थान बचत तथा ऋण सहकारी संस्था बुटवल, देवदह काेलिय बचत तथा ऋण सहकारी संस्था देवदहकाे अवलाेकन गरिएकाे छ । साथै दाेस्राे दिन स्याङ्जा वालिङ काे उपकार बचत तथा ऋण सहकारी, शुभलक्ष्मि बचत तथा ऋण सहकारी संस्था स्याङ्जा र राेयल पाेखरा साकाेस तथा विभिन्न कृषि फर्मकाे अवलाेकन गरिने गढवा गाउँपालिका स्तरिय सहकारी संजालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो।

अवलोकन भ्रमणका सहभागी तथा आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बसेलले ५ दिने अवलाेकन भ्रमण उपलब्धि मुलक हुने बताउनु भयो ।गढवा गाउँपालिकामा रहेका सहकारी संस्थाहरुको अवस्था सूधारमा यो अवलोकन भ्रमणलाई आफुले अर्थपूर्ण तरिकाले हेरेको बताउदै केहि महिनामा अवलोकन भ्रमणको उपलब्धि सहकारीहरुमा देखिने कुरामा आफु आशाबादी रहेको बताउनुभयो।

सहकारीअवलोकन भ्रमणमा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, २८ सहकारी संस्थाका अध्यक्ष तथा ब्यवस्थपक, दाङ जिल्ला सहकारी संघका सदस्य, गढवा गाउँपालिका सहकारी संञ्जालका अध्यक्ष लगाएत गरी २८ जनाको टोली सहकारी देशको नमुना सहकारी संस्थाहरुको अवलोकन गर्ने कार्यक्रम तय गरेको हो ।

सिकेका कुरालाई व्यवहारमा उतारि गढवा क्षेत्रमै नमुना सहकारी बनाउन सहकारीलाइ सजिलाे हाेस् भन्ने मान्यता राखि अध्ययन अवलाेकन भ्रमण राखिएकाे गढवा गाउँपालिका सहकारी शाखाले जनाएकाे छ ।

राप्तीकाे विकट गाउँमा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

देउखुरी, १३जेठ ।राप्ती गाउँपालिका वडा नं. ९ खुङ्कुट्टी निवासी ७५ वर्षीया लिला देवी बैमा मगर उच्च रक्तचाप ,मधुमेह लगायतका विभिन्न दिर्घराेगबाट पिडित भएको धेरै वर्ष भयो ।

उहाँ यस अघि सामान्य चेकजाँच गर्न साेही वडाकै देविकाेटमा रहेको स्वास्थ्य इकाईमा जाने गर्नुहुन्थ्यो भने उहाँलाई थप चेकजाँच र उपचारका लागि घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता रहेको थियो ।

तर शनिबार राप्ती गाउँपालिकाले गाउँमै सञ्चालन गरेको विशेषज्ञ डाक्टर सहितको नि:शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य चेकजाँच गराउन पाउदा भने निकै खुशी हुनु भएको छ।

“अरु बेला रगत लगायतका अन्य परिक्षण गर्न घण्टाै पैदल हिडेर देउखुरीका विभिन्न सरकारी तथा प्राइभेट अस्पतालहरुमा जानू पर्ने बाध्यता थियोे ।पैसा पनि धेरै खर्च हुन्थ्यो” -उहाँले भन्नुभयो – “आज आफ्नै गाउँमा विशेषज्ञ डाक्टर सहितको नि:शुल्क स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिन पाउँदा निकै खुशी लागेको छ।”

उहाँ मात्रै हाेइन पालिकाले विकट गाउँका स्थानीयहरुलाई लक्ष्यित गरि वडा नम्बर ९ काे देवीकाेटमा नि:शुल्क विशेषज्ञ सहित स्वास्थ शिविर सञ्चालन गरे पछि उहाँ जस्तै साे क्षेत्रका दर्जनौं बिरामीहरूले घर आगनमै स्वास्थ्य सेवा लिन पाउएका छन्।

विकट गाउँहरुमा स्वास्थ्य शिक्षाको कमी ,आर्थिक स्थिति नाजुक सँगै नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुदा कतिपय बिरामीहरुले राेग पालेर बसिरहनु भएको हुन्छ।त्यस्ता बिरामीहरुलाई गाउँमै नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले शिविरको आयोजना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले आगामी दिनहरुमा क्रमश सबै वडाहरुमा यस प्रकारको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने समेत जानकारी दिनु भयो ।

साे स्वास्थ्य शिविरमा राप्ती विज्ञान प्रतिष्ठान घाेराही दाङका विशेषज्ञ डाक्टर उमाकान्त तिवारी,सिसहनियाँ स्वास्थ्य चाैकीका ल्याब असिस्टेन्ट लब जैशी,हेल्थ असिस्टेन्ट चन्द्रमा ओली,रुपाकाेट स्वास्थ्य इकाईका प्रमुख यज्ञ बहादुर कार्की लगायतले बिरामीहरूलाई नि:शुल्क रुपपमा स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियोे।

शिविरमा साे क्षेत्रका करिब ३३ जना विरामीहरुले स्वास्थ्य सेवा लिएका थिए भने उनीहरूलाई स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो ।

साे अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगर,स्वास्थ्य शाखा प्रमुख नारायण रावत,माध्यमिक विद्यालय रुपाकाेटका सहायक प्रधानाध्यापक खिम बहादुर ओली लगायतको सहभागीता रहेको थियो ।