समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी

काठमाडौँ, ३ असार । विभिन्न चार दल मिलेर निर्माण गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने समझदारी भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनाउन लागिएको मोर्चालाई चारै दलका शीर्ष नेताले आलोपालो प्रणाली अनुसार नेतृत्व गर्ने जनाइएको छ ।

मोर्चाका लागि प्रतिबद्धता पत्रको मस्यौदा निर्माण भइरहेको छ । मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ । मोर्चाका सदस्यहरूले साझा नीति, कार्यक्रम र उद्देश्यको आधारमा काम कारबाही गर्ने पनि मस्यौदामा जनाइएको छ ।

मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने पनि मस्यौदामा उल्लेख छ ।

मोर्चाले घटक सदस्यहरूबिच सहकार्यको संस्कृति विकास गर्दै केन्द्रदेखि स्थानीय स्तरसम्म प्रचार प्रसार, अन्तर्क्रिया, आमसभा तथा आवश्यकताअनुसार संयुक्त सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध ११४ रनको साझेदारी गरेको थियो ।

कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके ।  जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए ।

तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।

गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नट आउट रहे ।  जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।

 

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोड बढी बजेट

दाङ, २ असार। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य दिइएको छ ।

संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ । स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ ।

यस्तै चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान गरेको आर्थिक मामिलामन्त्री मास्कीले बताए ।