राजपुर गाउँपालिकामा किर्ते नागरिक्ता, वडाध्यक्ष र सचिव फरार

राजपुर, २ असार। राजपुरमा किर्ते हस्ताक्षरगरि नागरिकता बनाउने विश्वकर्मा पक्राउ परेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाति विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको पाइएपछि विश्वकर्मा पक्राउ परेका हुन् ।

विश्वकर्माले गत बैशाख महिनाको २७ गते गाउँका पाँच जना सर्जमी साक्षीलाई वडामा लगि नातिलाई छोरा बनाई जन्म दर्ता बनाएका थिए । जन्म दर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस पनि दिएको देखिन्छ ।

त्यसपछि विश्वकर्मा बैशाख २८ गते ईलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त हुन् । तर विवेकले किर्ते गरेर नागरिकता प्राप्त गरेको खबर जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी परेपछि प्रहरीले उनलाइ तत्काल पक्राउ गरेको हो ।

त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टलाई यस विषयमा बुझ्दा नागरिकता बनाउने व्यक्तिले आफुलाई झुक्याएर सिफारिस गर्न लगाएको बताएका छन् । विगत ३ वर्ष पहिलेदेखि वडामा सचिव भएर काम गर्दै आएका वडा सचिव हालका सहायक सचिव साधाराम यादव बिदा लिएर छोराको उपचारमा रहेको समय अहिलेका थायी सचिव सन्तोष भण्डारी र आफुलाई गाउँका पाँच जना सर्जमी साक्षी ल्याएर जन्म दर्ता बनाउन लगाएको बताउनु भयो ।

टोल समितिका अध्यक्ष जस्ता जिम्मेवार व्यक्तिहरु सर्जमी साक्षी भएर आएपछि हामीले जन्म दर्ता दिएका हौं अध्यक्ष विष्टले भन्नु भयो । तर नातिलाई छोरा भनि किर्ते गरि नागरिकता दिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि तत्काल बुवा भनिने बाजेलाई गत जेठ २५ गते बिहीबार नै प्रहरीले पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको छ भने छोरा भनिने नातीलाई जेठ महिनाको २८ गते ईलाका प्रशासन कार्यालय लमहीमा नागरिकता सहित बुझाइएको वडा अध्यक्ष विष्टले जानकारी दिनु भयो ।

यस्तै वडा अध्यक्ष विष्टले १७ वर्ष ४ महिना आफु राष्ट्रसेवक नेपाली सेनामा रहेर काम गरेको र वडा भित्रका विभिन्न समस्या बुझेको भएपनि पारिवारिक अवस्था अलि नबुझेको हुँदा पाँच जना सर्जमीको आधारमा नागरिकता सिफारिस दिएको बताउनु भयो । तर विवेकको बारेमा बुझ्दा उनको बुवा संकटकालमै मृत्यु भएको र आमा अर्को श्रीमानसंग भारत रहेको बुझिएको छ । सर्जमी साक्षीहरु साबित्रा कुमारी विश्वकर्मा,गौसरी बोहरा,बुद्धिमाया घर्ती,रमेश घर्ती,मन कुमारी घर्तीसंग वडा अध्यक्षले बुझ्दा उनिहरु पहिलेदेखि नै विवेकको बारेमा जानकार रहेको बताएका छन् । विवेकको उमेर नेपाली नागरिकता पाउने समय पुग्दा समेत उनी बिना नागरिकताको भएपछि उनको समस्यालाई मध्यनजरगरि साक्षी बसेको सर्जमी साक्षीहरुले बताएका छन् ।

त्यस्तै यता राजपुर गाउँपालिका अध्यक्षसंग यस विषयमा बुझ्दा आफुलाई जानकारी नभएको बताउनु भएको छ । यस विषयमा मलाई जानकारी वडा अध्यक्षले गराउनु भएको थिएन मलाई त जिल्ला प्रशासन कार्यालयबाट जानकारी प्राप्त भयो अध्यक्ष बुढाथोकी भन्नू भयो ।

उता जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता राजन गौतमसंग यस विषयमा बुझ्दा नागरिकता दिने र लिने दुबैजनालाई पक्राउ गरिएको बताउनु भयो । त्यस्तै उहाँले ६ जना सर्जमी साक्षीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउनु भयो । तर वडा अध्यक्ष र वडा सचिवको नाममा पक्राउ पुर्जी जारी भएपछि अहिले अध्यक्ष र सचिव दुबैजना फरार रहेको प्रबक्ता गौतमले जानकारी दिनु भयो । अध्यक्ष विष्ट नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । सिधापत्र अनलाइन बाट

देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरुलाई फुटाएर राष्ट्रको हित नहुने बताउनुभएको छ । भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरु बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो ।’

प्रधानमन्त्रीले प्रकृतिको पुजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्नुहुँदै मानिस पनि प्रकृतिकै एक अंग भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्य सहित यस्ता पर्वहरु मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ । प्रकृतिको पूजा एउटा समुदायमा मात्रको सिमित छैन । प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ ।’

यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्नु पनि भएको उहाँको भनाई थियो । प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिंगो प्रकृति र मानिस बीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको उहाँको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकताका निम्ति आन्दोलन गर्दैगर्दा हिजोका राज्य संयन्त्रद्वारा सबै जातजाति, भाषाभाषी, वर्ग समुदाय अपमानित, उत्पीडन र विभेदमा पारिएका थिए । ती सबैलाई साथमा लिएर नै ठूलो आन्दोलनको सृष्टि भएको हो । ती सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रका जनसमुदायको संघर्ष र बलिदानको कारणले नै अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं । नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

लुम्बिनी प्रदेशको कुल बजे ४० अर्ब, आज पेस हुने

गढवा, १ असार । लुम्बिनी प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेसनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बर्ष २०८०/०८१ को बजेट पेश गर्ने छन्।

बजेट कटौती भएका कारण चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेटको आकार घट्ने छ। सरकारले झण्डै ४० अर्व बरावरको बजेट ल्याउने तयारी गरेको बताइएको छ। चालु आर्थिक बर्षमा ४२ अर्ब बरावरको बजेट थियो।

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै चार अर्ब बजेट कम छुट्याएको छ। चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो तर आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।

चालु आर्थिक वर्षमा समानिकरणतर्फ आठ अर्ब ५४ करोड बजेट थियो। अहिले आठ अर्ब १४ करोड ८३ लाख बजेट प्राप्त भएको छ। सशर्ततर्फ आठ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा पाँच अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ।

समपुरकतर्फ ७३ करोड ९० लाख बजेट थियो। आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ। विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो। आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ।

बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ। प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ। रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ।

जेठ २६ मा नीति तथा कार्यक्रम पेश गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो। प्रदेश सरकारले चालु आर्थिक बर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको थियो। तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि-बजेटमा छलफल भइरहेको थियो।

विगतको बजेटमा २० प्रतिशत कटौती गर्दा ३४ अर्ब हाराहारीमा बजेट आउने गरी तयारी गरिएपनि सांसदहरुको चित्त बुझाउन स्रोतबिनाको ठूलो आकारको महत्वाकांक्षी बजेट आउन लागेको कर्मचारीकै भनाइ छ।

यसअघि आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेले गतवर्षको बजेटमा २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको जानकारी दिएका ‍थिए ।