जबर्जस्ती सपथ गराउनु लोकतन्त्रकै उपहास – नेपाली काँग्रेस

बुटवल । अल्पमत रहँदा रहँदै लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेसले आक्रोश पोखेकाे छ । नेपाली काँग्रेस पार्टी सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाउँदै पोखरेलको शपथ संविधान विपरीत रहेको बताएका छन् ।

नेपाली काँग्रेसको लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुदीन खानले प्रदेश प्रमुखबाट संविधानको गम्भीर उल्लंघन भएको आरोप लगाए। उनले बल मिच्याइँ गरेर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिनु र विपक्षीहरुको विरोधका बाबजुद जबर्जस्ती सपथ गराउनु लोकतन्त्रकै उपहास भएको टिप्पणी गरेका छन् ।

‘लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको प्रस्ट हुँदाहुँदै पनि संविधानको धारा १६८ को उपधारा १ लाई गलत व्याख्या गरी एमालेको सरकार बनाएर शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ’ उनले भने, ‘ याे संविधानकै उपहास हो।’

यस्तो अलाेकतान्त्रिक कार्यले प्रदेशमा भोलिका दिनमा मुठभेड निम्त्याउने उनले बताए । उनका अनुसार विपक्षी गठबन्धनले बहुमत सांसद संख्या पुर्याएर ४२ जनाको हस्ताक्षर र उपस्थितिमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष गरेको सिफारिस लत्याएर अल्पमतमा रहेका पोखरेललाई जबरजस्ती मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको घोर उल्लंघन हो ।

प्रदेश प्रमुख यादवलाई रोक्न खोज्दा डिआइजी आएर मलाई टिपेर फाले- घाइते सांसद क्षेत्री

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र प्रदेश सभा सदस्यहरुबीच झडप भएपछि घाइते नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रतिकृया दिएकी छिन् । मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेक्दा क्षेत्रीलगायत अन्य सांसद घाइते भएका थिए ।

महिला प्रहरी पठाउनुस् भन्दा प्रहरीले नमानेको क्षेत्रीले बताएकी छन् । उनले न्यायको लागि कहाँ जानुपर्छ आफू जान तयार रहेको बताएकी छन् । ‘प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस् भन्दाभन्दै डिआइजी आएर पहिले ममाथि आक्रमण गर्न थाल्नुभयो, त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो ।’ कांग्रेस सचेतक क्षेत्रीले भनिन्, ‘यस्तो आक्रमण म माथि गरियो ।’

मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । विवादकै बीच पोखरेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले धर्ना बसेका विपक्षी सांसदहरुको घेर तोडेर मुख्यमन्त्रीको कार्यालय पुगेर सपथ गराएका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन: मुख्यमन्त्री बनेका हुन् ।

म एउटा सामान्य गृहिणी, माओवादीकै सहयाेगले यहाँसम्म आएँ: बिमला वली

काठमाडौं । नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले कसैकाे करकापले नभइ आफ्नो इच्छाले  माओवादी पार्टी रोजेको बताएकी छन् ।

बुटवलमा आज आयाेजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन् – म एउटा सामान्य गृहिणी । श्रीमानकाे दुर्घटना भएपछि एकाएक आएँ । अरु कसैलाइ चिन्दैनथेँ । उहाँहरुले नै सहयाेग गर्नुभयाे ।

उनले आफूले नेकपाबाट निर्वाचन जितेको उल्लेख गर्दै आफूलाई निर्वाचनमा नजिकबाट सहयोग गर्नेहरु माओवादी रहेकाले पार्टी पनि माओवादी नै रोजेको बताएकी हुन् ।

मलाइ त्यतिबेला एमाले माओवादी भन्ने पनि थाहा थिएन । मलाइ चुनावमा नजिकबाट सहयाेग गर्ने दामा शर्मा र जगप्रसाद शर्माहरु हुनुहुन्छ । उनले भनेकी छन् – मैले त्यतिखेर अरु कसैलाइ पनि चिनेकी थिइन । कसैले आउनु पर्छ भनेर हाेइन मेराे आफ्नाे इच्छाले नै मैले याे दल राेजेकी हुँ ।

स्मरण रहाेस् नेकपा एमालेले  यसअघि उनलाइ माओवादीले अपहरण गरेकाे आराेप लगाएकाे थियाे । मुख्यमन्त्री शंकर पाेख्रेलले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश ५ काे राजनीति चर्चामा आएकाे छ ।

यो पनि पढ्नुहोस्–
लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने दाउमा एमाले,पोखरेल नै मुख्यमन्त्री