लुम्बिनीमा एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात

काठमाडाैं । लुम्बिनी प्रदेशको आन्तरिक राजनीति नाटकीय मोडमा पुगेकाे छ । याेसँगै एमालेकाे एकल सरकार बनाउने सपनामा तुषारापात भएकाे छ ।

आइतबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल आफ्नै सांसदले दलबाट राजीनामा दिएपछि  तुषारापात हुँदै नाटकीय मोडमा पुगेको हो ।

पोखरेललाई नै पुन: मुख्यमन्त्री बनाउने एमाले संसदीय दलले गरेको निर्णयको मसी नसुक्दै एमालेकी सांसद बिमला ओलीले पार्टी फेरेर माओवादी केन्द्र प्रवेश गरेपछि सत्ता समिकरणको खेल नाटकीय मोडमा प्रवेश गरेकाे छ ।

दाङ ३ (ख) बाट प्रदेश सभाको निर्वाचन जितेर सांसद बनेका एमाले नेता उत्तर कुमार ओलीको सवारी दुर्घटनामा निधनपछि उनैकी पत्नी विमला ओली उपचुनावबाट साँसद बनेकी हुन्।

सरकार बनाउन आवश्यक ४१ मत सुरक्षित गर्न सक्दा एमालेले एकल बहुमतको सरकार बनाउने अवस्था थियो ।सुरक्षित भैसकेको सरकार बिमलाले साथ छोडेपछि अल्पमतमा परेको छ।

४१ जना सांसदसहित बहुमत रहेको लुम्बिनी प्रदेशमा एमालेका सांसद अब ४० मा झरेपछि अल्पमतमा पुगेको छ । जुन बहुमतको लागि एक सिट अपुग हो । यसले गर्दा एमालेको एकल सरकार बन्ने सम्भावना तत्काललाई टरेको छ ।

प्रधानमन्त्रीले अब लुम्बिनी प्रदेशसभा भंग गराउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सम्भावना रहेको स्रोतको दाबी छ । यसो गर्दा सरकार बच्ने तर प्रदेश सभा मर्ने हुन्छ ।

‘माधव नेपाल पक्षका सांसद बिष्णु पन्थी र रमा घर्तीले फ्लोरक्रस गर्ने मुख्यमन्त्रीको आशंका थियो । तर, उहाँलाई आफ्नै निकट भनिएकाले साथ छाडे । अब यहाँ नयाँ परिस्थिति बन्यो । ४०-४० मा बाँडिएर एकल बहुमत हामीले गुमायौँ”,एक जना एमाले सांसदले भने।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय प्रदेश सभामा एमालेको एकल बहुमत गुमेको छ । सर्वोच्चले नेकपा खारेज गरेको अवस्थामा उपनिर्वाचनमा दाङ ३ (ख)बाट निर्वाचित वलीले माओवादी केन्द्र रोजेकी हुन् ।

माओवादी केन्द्रले वलीले पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई गराइसकेको छ ।

८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ४० सांसद भएका छन् । माओवादीका भने सभामुखसहित १९ सांसद भएका छन् । प्रदेश सभामा कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद छन् ।

विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नयाँ परिस्थितिमा नयाँ निर्णय लिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

लुम्बिनीमा एकल बहुमतको सरकार बनाउने दाउमा एमाले,पोखरेल नै मुख्यमन्त्री

काठमाडाैं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले एकल बहुमतकाे सरकार बनाउने भएकाे छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतवार बिहान राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने बुझिएकाे छ ।

यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको बहुमतको सरकार थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना ४ सांसदलाई निष्कासन गरेपछि प्रदेश सभामा एमालेको एकल बहुमत पुगेको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अब एकल बहुमतको सरकार बनाउने तयारी रहेको बताइएकाे छ ।

‘संविधान अनुसार अहिलेको सरकार १८६ (२) अनुुसारको हो । अब संविधानको धारा १६१ (१) अनुसार एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बन्ने र शंकर पोखरेललाइ नै मुख्यमन्त्री बनाउने तयारी एमालेकाे छ । कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद थिए । यस्तो अवस्थामा एमालेको एकल बहुमत पुगेको थिएन । तर पछि माओवादीका २ सांसद र जसपाका ४ सांसद पदमुक्त भएका छन् । यससँगै प्रदेशसभामा सभामुखसहित ८१ सदस्य रहन्छन् । ८१ सांसद रहँदा एमालेका ४१ सांसदको संख्या एकल बहुमत हो ।

कसका कति छन् ?

प्रदेश सभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका ६ (कारवाही गरिएका सांसदसहित) र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । ४ सांसदलाई कारवाही गरेपछि अब जसपाका २ सांसद मात्रै बाँकी रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले आइतवार बिहान प्रदेश प्रमुखसमक्ष पदबाट राजीनामा पेश गरेको जानकारी दिँदै मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएकोमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्नुपर्ने परिस्थिति आइपरेकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पदबाट राजीनामा दिएकाे लेखेका छन् ।

‘संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने । संविधानको धारा १६८ को उपधारा २ मा अनुसार प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने,’ सल्लाहकार केसीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।

 

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् । प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिए।

मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज संसदमा यसको कारवाही सुरु हुँदै थियो । आज अविश्वासको प्रस्ताव उपर छलफल हुने र भोली मतदान हुने कार्यसुची प्रदेशभसभाले तय गरेको थियो।

संसदमा अविश्वास प्रस्तावको सामना गर्न नसकेर उनले राजीनामा दिएको प्रदेशसभा सदस्य थारुले बताएका छन् ।