गरिब मजदुरहरुलाई बाँझाे सपना बेच्ने ‘पुष्पा’ र ‘केजिएफ’

पछिल्ला केही बर्षमा यस्ता फिल्महरुका बाढी आएकाे छ जसका नायक कुनै मजदुरवर्गीय पृष्ठभूमिका हुन्छन् अनि सारा प्रतिकूल परिस्थितिसँग जुधेर, त्यसमाथि विजय हासिल गरेर ठूला शक्तिशाली ‘डन’ बन्छन्। यस्ता अधिकांश फिल्महरु दक्षिण भारतीय भाषाहरुमा बनेका छन्। तर यस्ता फिल्महरुलाई भारतकाे हिन्दीभाषी क्षेत्रहरुमा मात्र हाेइन, बरु सम्पूर्ण भारतभरि नै शानदार सफलता मिलेकाे छ। यस्ता फिल्महरुलाई ठूला संख्यामा मानिसहरुले सिनेमाहलहरुमा गएर हेरेका छन्।

र, यी फिल्महरु हेर्ने मानिसहरुमा उल्लेखनीय सँख्या श्रमजीवी वर्गका मानिसहरु, विशेष गरेर मजदुरहरुका रहेकाे छ। हामी उनीहरुका इलाकामा युवा मजदुरहरु अथवा सामान्यतया नौजवानहरुलाई ‘पुष्पा’ फिल्मकाे नायक पुष्पाराज (अल्लु अर्जुन) काे नृत्यशैलीकाे नक्कल गरिरहेका, उसकाे स्टाईलकाे नक्कल गरिरहेका, उसकाे स्टाइलमा उसकाे डायलग बाेल्ने काेशिश गरिरहेका देख्न सक्छौं।

यसैगरि ‘केजिएफ’ फिल्मकाे नायक रकी भाइ (यश) काे स्टाईल र डायलगकाे नक्कल गरिरहेका युवा मजदुर वा नौजवानहरु पनि पर्याप्त भेटिन्छन्। यस्ता फिल्महरु र यिनका गीतहरु (जुन गीतहरु अक्सर भद्दा र अश्लील हुन्छन्) ले लोकप्रियताका सारा रेकर्ड ध्वस्त पारिरहेका छन्। यसको कारण के हाे त? यस्ता फिल्महरुमा यस्ताे के छ जाे हामी बीच रहेका तमाम मजदुरहरु यस्ता फिल्महरुका क्रेजी बन्दै गइरहेका छन्?

यसकाे पहिलाे कारण हाे, यस्ता फिल्महरुका नायक कुनै मजदुरवर्गीय पृष्ठभूमिकाे हुन्छ। ऊ गरिबीसँग संघर्ष गर्छ, अनेक किसिमका प्रतिकूल परिस्थितिसँग एक्लै आफ्नाे व्यक्तिगत बहादुरी र निडरता/बिन्दासपनाकाे बलबुतामा लड्छ/भिड्छ र जीत हासिल गर्छ अनि कालान्तरमा स्वयं आफ्नाे निडरता र दुस्साहसिक कारनामाहरुका बलमा अपराधी बन्छ। अनि, यही अपराधकाे जगमा ऊ अन्तत: एउटा ठूलाे कारोबारी बन्न पुग्छ, जसले स्वयँ थुप्रै थुप्रै मजदुरलाई काममा लगाइरहेकाे हुन्छ। अर्थात् उनीहरुकाे श्रमशाेषण गरिरहेको हुन्छ।

याे नायक मजदुरवर्गीय पृष्ठभूमिबाट उदाएकाे हुन्छ। उसले बाल्यकालदेखि नै धेरै अन्याय र अत्याचार झेल्छ, पुलिसकाे कुटाई खान्छ, उसका आमा वा परिवारका सदस्यहरुलाई दबंग गुण्डाहरु, अपराधीहरु र पुँजीपतिहरुले सताउँछन्। हरेक पाइलामा उसले अपमान, गाली र बेइज्जतीकाे सामना गर्नुपर्छ, त्यसैले आजकाे समाजका आममजदुर युवाहरु कतै न कतै आफ्नाे छाँया उसमा देख्छन्। कतै न कतै ऊ सँग ‘कनेक्ट’ हुन्छन्।

किनभने, वास्तविक जीवनमा पनि एक गरिब मजदुरवर्गीय युवाले हाम्राे समाजमा अक्सर यस प्रकारकाे परिस्थितिहरुकाे सामना गर्नुपर्छ। यदि ऊ मजदुरी गरिरहेकाे छ भने उसले दैनन्दिन आफ्नाे मालिक वा साहुबाट गाली-गलौच, अपमान, मारपिट, उत्पीडन र दमनकाे सामना गर्नुपर्छ। यदि ऊ दलित पृष्ठभूमिकाे हाे भने याे ऊ माथिकाे शोषण, दमन, उत्पीडन र हिंसाले अझ भयंकर रूप धारण गर्छ।

‘पुष्पा’ फिल्मकाे नायक पनि कुनै तथाकथित ‘तल्लाे/नीच’ जातकाे (दलित) हुन्छ, जसकाे आमासँग कुनै उच्च जातकाे धनी मान्छेले सम्बन्ध बनाउँछ तर पछि उनलाई पत्नीकाे रूपमा अपनाउदैन। पुष्पाले बाल्यकालदेखि नै जातिय अपमान सहनुपर्छ, ‘नाजायज’ भएकाेमा मान्छेहरुकाे छेडखानी, हेपाई र वर्गीय शोषण-उत्पीडनकाे सामना गर्नुपर्छ। तर यसकाे बावजूद पुष्पा त्याे उच्च जातकाे मान्छेप्रति छाेरासमान भावना वा आकांक्षा राख्छ र उसकी आमा पनि उसलाई आफ्नाे पतिदेव मान्छिन्। याे आफैमा एक अत्यन्त घृणित र अपमानजनक प्रतिक्रियावादी पिछडिएकाे सोच हाे।

‘पुष्पा’ का अल्लु अर्जुन

यसैगरि, ‘केजिएफ’ का नायकले पनि गरिबी र दमन-उत्पीडनकाे बर्बरतम् रूपहरुकाे सामना गर्नुपर्छ। यी फिल्महरुमा यसप्रकारकाे अन्याय र अपमानकाे जुन चित्रण गरिएकाे छ त्यसले निश्चितै रुपमा मजदुरहरुभित्र घृणा र आक्राेशलाई उभार्छ। किनभने, त्यसमा उनीहरु पुँजीवादी वर्गीय समाजमा पुँजीपति वर्ग र उसकाे पुलिस वा नाेकरशाहीद्वारा आफुहरुमाथि गरिने व्यवहारकाे छवि देख्छन्।

दाेस्राे कुरा, याे घृणा र आक्राेशकाे फलस्वरूप यी फिल्महरुका नायक याे प्रश्न उठाउँदैन कि विधमान समाज/राज्यव्यवस्थामा जो मजदुर समस्त धन-सम्पदा पैदा गर्छ, हरेक चीजबीज बनाउँछ, हरेक सेवा प्रदान गर्छ र जाे देशकाे अर्थव्यवस्थाकाे मेरुदण्ड हाे, ऊ माथि यस्ताे व्यवहार किन गरिन्छ?

ऊ याे प्रश्न उठाउँदैन कि साराका सारा कल-कारखानाहरु, खानी-बनजँगलहरु, जलस्राेतहरु, खेत-खलिहान, जग्गा-जमिनहरु, एक शब्दमा भन्नुपर्दा उत्पादनका सारा संसाधनहरुमाथि मुट्ठीभर परजीवी पुँजीपति (उधाेगपति-व्यापारी) हरुकाे कब्जा किन छ जाे आफू केही पनि गर्दैन, जुकासरह मजदूर वर्गकाे शरीरमा टाँसिएर केवल उसकाे रगत चुसिरहन्छ?

ऊ ती मालिकहरु, पुँजीपति (उधाेगपति-व्यापारी) हरु, अपराधीहरु, पुलिस र सरकारी तन्त्रका अधिकारीहरुले आफुहरुमाथि गर्ने शोषण, उत्पीडन, दमन र अपमानकाे प्रतिराेध गर्नका लागि आफुजस्तै हजाराै-लाखाैं मजदुरहरुलाई एकजुट गर्ने बारेमा साेच्दैन, जसले उसले जसरी नै यसप्रकारकाे अन्याय र अपमान खेपिरहेकाे हुन्छ।

उसले कहिल्यै समस्त व्यवस्थामाथि कुनै पनि प्रश्न उठाएकाे देखिन्दैन। न त ऊ कहिल्यै याे प्रश्न नै साेध्छ कि के याे व्यवस्थाकाे विकल्पमा कुनै अर्काे उन्नत व्यवस्था सम्भव छ जाे मजदुरहरुकाे हितमा हाेस्? के याे समाजव्यवस्थाकाे साटाे अर्काे कुनै वैकल्पिक समाजव्यवस्था सम्भव छ? के यस्ताे कुनै समाज/राज्यव्यवस्था बनाउन सकिन्दैन जसमा जो मजदुर उत्पादन गर्छ, उही उत्पादनका संसाधनहरुका मालिक हाेऊन्? के यस्ताे कुनै समाजव्यवस्था बनाउन सकिन्दैन जसमा मेहनतकश वर्ग आफ्नाे राजसत्ता कायम गरुन् र समस्त उत्पादन, राजकाज र समाजकाे ढाँचालाई आफ्नाे सामूहिक मेधा र शक्तिकाे बलबुतामा सँचालन गरून्?

अहँ। तपाईंको पुष्पा वा रकी भाई याे प्रश्न कहिल्यै पनि साेध्दैनन्। तब फेरि पुष्पा वा रकी भाई के गर्छन् त? यस्ताे प्रश्न साेध्नु त टाढाकाे कुरा, उनीहरु त पुँजीवादी समाजकाे शोषण र अन्यायका विरुद्ध सामान्यतया कुनै पनि प्रश्न उठाउँदैनन्, बरु उनीहरु स्वयं एक पुँजीपति बन्न चाहन्छन्, आफ्नाे ‘डेयरिङ’ (बहादुरी) काे बलमा।

उनीहरु आफ्ना साथी मजदुरहरुसँग कुनै न कुनै प्रकारकाे एकजुटता कायम गरेर याे अन्याय र शोषणकाे तन्त्रलाई चुनौती दिने बारेमा कहिल्यै साेच्दैनन्, बरु आफैलाई यस्ताे शक्तिशाली स्थितिमा पुर्‍याउन चाहन्छन्, जहाँ स्वयं त्याे शक्तिशाली शासक वा शोषक बन्न सकियाेस्। यस्ताे खासमा ‘पुँजीवादी व्यक्तिवाद’ लाई मजदुरहरुकाे मनमस्तिष्कमा राेप्नका लागि देखाइन्छ। वर्गीय सामुहिक प्रतिरोध र संघर्षलाई हाेइन, पुँजीपति बन्नकाे लागि नायकवादी र व्यक्तिवादी प्रतिरोधलाई देखाइन्छ।

अर्थात्, नायक आफै एक पुँजीपति बन्न चाहन्छ। उसलाई थाहा हुन्छ कि हरेक पुँजीपतिकाे धनकाे साम्राज्यकाे जगमा अपराध, कालाबजारी, धोका, भ्रष्टाचार, दुराचार र हत्याहिँसा हुन्छ। यसकारण, ऊ अपराधकाे दुनियाँबाट आफ्नाे यात्राकाे सुरुवात गर्छ। जब ऊ दर्जनाैं अपराध र हत्याहिंसा गरेर, हरेक प्रकारकाे दुराचार र षड्यन्त्र गरेर, अपराधकाे दुनियाँमा आफ्नाे शासन कायम गर्छ, आफ्नाे हैकम जमाउँछ, तब ऊ आफ्नो अपराधकाे दुनियालाई कारोबार वा व्यवसायमा परिणत गर्छ। प्रारम्भमा उसकाे याे कारोबार वा व्यवसाय गैरकानुनी हुन्छ। पछि ऊ कारोबारका नियम तथा दाउपेचहरु सिकेर आफ्नाे कारोबारलाई कानुनी स्वरूप प्रदान गर्ने तयारी गर्छ। यसकाे लागि पनि उसले कैयौ नयाँ अपराध र हत्याहिंसा गर्नुपर्छ।

अन्त्यमा, ऊ स्वयं एक ठूलाे पुँजीपति बन्न पुग्छ जो स्वयं सैंकडाैं मजदुर र मेहनतकशहरुकाे शोषण गरिरहेकाे हुन्छ। यति हाे, ऊ सीधै कुनै पनि मजदुरकाे अपमान गर्दैन, कसैलाई जातिय अपमान वा विभेद गर्दैन, रबिनहुडले जसरी कैयौं मजदुर र गरिबहरुकाे भलाई पनि गरिरहन्छ र उसका मजदुरहरु आफ्नाे मालिकलाई अर्थात् उसलाई घृणा गर्दैनन्, बरु प्रेम गर्छन्। किनभने ऊ उनीहरुकै बीचबाट उदाएको हाे।

उनीहरू बिर्सिन्छन् कि निसन्देह ऊ उनीहरुकै बीचबाट उदाएकाे हाे, तर अब ऊ उनीहरूकाे मालिक हाे र ऊ अब उनीहरूकाे मेहनतलाई लुटने काम गरिरहेकाे छ। उसकाे कारोबार र अपराधकाे साम्राज्यकाे जगमा उनीहरूकाे मेहनत छ, उनीहरूकाे श्रमशाेषण छ। यस सबका बावजूद पनि उनीहरु उसलाई माया गर्छन्, ऊ सँग डराउँछन्, उसकाे आदर गर्छन् र ऊ माथि गर्वसमेत गर्छन्।

किनभने ऊ उनीहरूकाे आहत भएकाे अस्तित्वगत अहंलाई केही हदसम्म मालिश गर्छ। उनीहरूलाई यस कुरामा राहत र शान्ति मिल्छ कि मजदुर पृष्ठभूमि र तथाकथित तल्लाे जातिकाे पृष्ठभूमिबाट उठ्नुकाे बावजूद ऊ स्वयं दुनियाँकाे ‘राजा’ बन्याे र उसले अन्य पुँजीपतिहरुलाई मजा चखायाे। यही कुरा प्रमुख बन्छ। तर अब ऊ स्वयं एक पूँजीपति बनेर उनीहरुकाे शोषण गरिरहेकाे छ। याे तिताे सत्य भने गाैण बन्छ।

सारमा, मजदुरहरुकाे वर्गीय चेतनाकाे स्थान ‘मजदुर अस्मिता’ ले लिन्छ जसमाथि कुनै मजदुरवर्गीय पृष्ठभूमिबाट उठेकाे दबंगकाे माध्यमबाट गर्व गर्न सिकाइन्छ।

यस्ता फिल्महरुमा नायिकाकाे जस्ताे चित्रण हुन्छ, त्यसमा पनि हामी शासक वर्गकाे महिलाहरुका प्रति तुच्छ सोचलाई देख्न सक्छाैं, जसबाट हामी मजदुरहरु पनि अक्सर प्रभावित हुन्छाैं। नायक-नायिकाकाे सम्बन्धमा नायककाे भूमिका सदैव स्वामी, मालिककाे जस्ताे हुन्छ। नायिका यदि घमण्डी हुन्छिन् भने फिल्मकाे एउटा उल्लेखनीय हिस्सा नायकद्वारा नायिकाकाे घमण्डलाई ताेड्न र उनलाई आफ्नाे पाैरुषका समक्ष समर्पण गराउनमा खर्च गरिन्छ। नायिका पनि अन्त्यमा खुशी-खुशी नायककाे स्वामित्वलाई स्वीकार गर्छिन्। (‘केजिएफ’ काे नायक-नायिका रकी भाइ र रीना देसाईलाई सम्झनुहाेस्)

अक्सर उनकाे आत्मसम्मानकाे भावना खलनायकद्वारा उनीमाथि बलात्कारकाे प्रयास अनि फेरि नायकद्वारा उनलाई बचाइने प्रकरणद्वारा समाप्त हुन्छ, जसपश्चात् उनी आफ्ना सारा आत्मसम्मानलाई तेल लिन पठाउँछिन् र नायककाे चरणमा समर्पित हुन्छिन्। नाँच्नु, नायकलाई माेहित गर्नु र खुशी बनाउनुका अतिरिक्त नायिकाकाे जीवनमा केही पनि बच्दैन। मजदुर वर्गभित्र स्त्रीहरुलाई पुँजीवादी शोषणकाे मेशिनेरीमा घिसारिने कारण जति स्वतन्त्रता र अधिकार मिल्छ, यस्ता फिल्महरुमा त्यसलाई पनि खाेसिन्छ।

विचारणीय कुरा त याे छ कि हाम्राे मजदुरवर्गीय पृष्ठभूमिबाट उदाएकाे नायक अक्सर यस्ती नायिकालाई आफ्नाे ‘पौरुष’काे बलमा जित्छ, जो स्वयं मजदुर वर्गका हुदिनन्, बरु मध्यमवर्गीय वा उच्चवर्गीय पृष्ठभूमिका हुन्छिन्। परिणाम: वर्ग अन्तरविरोधकाे मूर्खतापूर्ण समाधान प्रस्तुत गर्न (अर्थात् एक मजदुरवर्गीय पृष्ठभूमिका नायकद्वारा पौरुषकाे बलमा एक मध्यमवर्गीय वा उच्चवर्गीय स्त्रीलाई ‘जित्न’) का लागि पनि स्त्रीकाे शरीरलाई युद्धकाे मैदान बनाइन्छ जबकि सर्वहारा वर्गकाे सोच याे हुन्छ कि ऊ हरेक सामाजिक रुपमा दमित र उत्पीडित समुदायकाे मुक्तिकाे समर्थन गरुन् र उनकाे मुक्तिकाे लड़ाईलाई एक सही वर्गीय दिशा दिने प्रयास गरुन्।

स्त्रीहरुका प्रति यस्ताे सोच र लैंगिक एवं जेण्डरगत सम्बन्धहरुका बारेमा यस्ताे घटिया र घृणित चित्रणमाथि क्रान्तिकारी सर्वहारा वर्ग केवल थुक्न सक्छन्। यस प्रकारकाे सोच ती प्रतिक्रियावादी र शोषणकारी शासक वर्गकाे नै हुन सक्छ, जसकाे हित शोषणसमेत सामाजिक उत्पीडनका तमाम रूपहरुलाई कायम राख्नमा छ, जस्तै महिलाहरुका उत्पीडन, दलितहरुका उत्पीडन आदि।

क्रान्तिकारी सर्वहारा वर्ग स्त्री र पुरुषहरुकाे साँचाे समानतामा विश्वास गर्छन्। उनीहरु जान्दछन् कि दुनियाँमा कुनै पनि ठूलाे सामाजिक-आर्थिक परिवर्तन महिलाहरुकाे सहभागिता, विवेक र जुझारूपना बिना भएकाे छैन। उनीहरु वर्गसंघर्षमा काँधमा काँध मिलाएर लड्नमा र महिला र पुरुषका बीचमा समानता कायम गर्नमा विश्वास गर्छन्।

तर ‘पुष्पा’ र ‘केजिएफ’ जस्ता फिल्महरु मजदुर वर्गकाे दिमागभित्र आफ्नाे सडेगलेकाे विचारधारालाई भरिदिन्छन्। निश्चित रुपमा, उनीहरुमाथि यसकाे असर पर्छ र यसकाे फाइदा अन्तत: मालिक वर्गलाई नै हुन्छ। किनभने यस्तो सडेगलेकाे विचारधाराकाे असरले मेहनतकश मजदुरवर्गकाे संघर्षलाई भित्रैदेखि कमजाेर बनाउँछ।

‘केजिएफ’ का यश

यी फिल्महरु सुरूदेखि अन्त्यसम्म यस्ता सडेगलेका विचारधारा र प्रतिक्रियावादी मूल्यमान्यताहरुद्वारा भरिपूर्ण हुन्छन् र यिनीहरुका सबै पाटाेकाे आलाेचना प्रस्तुत गर्नु याे ‘मज़दूर बिगुल’ काे पृष्ठहरुमा सम्भव छैन। तर यसकाे हामीले विस्तृत चर्चा गर्नुपर्छ र बुझ्नुपर्छ कि पूँजीपति वर्गका फिल्महरु र उनीहरुका कलाहरुले सामान्यतया हामीलाई के सिकाइरहेकाे छ?

कलाकाे काम हाम्रा चाहनाहरु, आकाँक्षाहरु र अपेक्षाहरुकाे चित्रण गर्नु हाेइन। कलाकाे काम याे सिकाउनु हाे कि हामीले के चाहने? के-कस्ता कुराहरूकाे आकाँक्षा राख्ने? के कस्ता कुराहरूकाे अपेक्षा गर्ने?

हामीलाई बताइन्छ कि तिमी पुष्पा वा रकी भाइ जस्तै बन्ने चाहना, आकाँक्षा र अपेक्षा पाल। हामीलाई पुष्पा र रकी भाइकाे काल्पनिक कथाहरु यसरी देखाइन्छ कि हामी उनीहरुमा आफ्नो छविलाई खाेज्छाैं। अढाई-तीन घण्टा हामी आफ्नाे जीवनकाे तिताे सत्यहरुदेखि टाढा कतै पलायन हुन्छाैं र पुष्पा र रकी भाइकाे रूपमा पर्दामा त्याे जीवनलाई जिउँछाैं, जसलाई वास्तविक जीवनमा हामी कहिल्यै पनि जिउन सक्दैनाैं। हामीलाई ती सपनाहरु देखाइन्छ, जो बाँझाे छन्।

फिल्ममा पुष्पा निर्धक्कसँग ‘अपुन झुकेगा नहीं’ भन्न सक्छ तर हामी मजदुर जान्दछाैं कि एक्लै हाम्राे कुनै शक्ति छैन र आफ्नाे दैनन्दिनकाे जीवनमा राेटीकाे लागि हामीले कदम-कदममा आफ्नाे मालिक वा ठेकेदारकाे सामु झुक्नुपर्छ, उनीहरुकाे गाली-गलौच र अपमानलाई सहनुपर्छ। जब कुनै बिन्दुमा हाम्राे आक्राेश बिस्फाेट हुन लागेकाे हुन्छ, तब आफ्नो अबाेध बच्चाकाे अनुहार, आफ्ना वृद्ध आमाबाबुकाे अनुहार हाम्राे मनसपटलमा झलझली प्रकट हुन्छ, अनि हामी आफुलाई राेक्छाैं र रगतकाे घुट् पिएर हरेक प्रकारकाे अपमान र उत्पीडनलाई सहन्छाैं। किनभने हामी जान्दछाैं कि मालिक वर्गसँग पैसा, पुलिस र सरकारकाे पावर छ।

अर्काेतर्फ, एक्लाे मजदुरकाे रुपमा कुनै पनि मजदुरकाे केही औकात छैन, केही तागत छैन। याे कुरा सुन्दा तिताे लाग्छ तर सत्य यही हाे। याे कुरा सबैलाई थाहा छ।

तर ‘पुष्पा’ र ‘केजिएफ’ जस्ता फिल्महरु हामीलाई याे तिताे सत्यबाट केही समयका लागि पलायनकाे बाटाे देखाउँछन्। जसमा हामी वास्तविक जीवनकाे अन्धकारबाट टाढा भाग्छाैं र एक काल्पनिक जीवनलाई जिउने कोशिश गर्छाैं जुन हामी यथार्थमा कहिल्यै जिउन सक्दैनौं किनभने एक एक्लाे मजदुरकाे पुँजीपतिका सामु कुनै तागत वा औकात हुदैन।

हाम्राे वास्तविक शक्ति हाम्रो एकजुटतामा छ। पुँजीपतिकाे पैसाकाे शक्ति हाम्राे एकजुटताकाे सामु केही पनि हाेइन। किनभने, अन्तत: पूँजीपतिकाे पुँजी हाम्राे श्रमशक्तिकाे दोहनद्वारा निचोरिएकाे मुनाफाबाट आउँछ। हाम्राे सामूहिकताका समक्ष त्यसले केही गर्न सक्दैन। एउटा कारखानाकाे प्यारामिटरमा, एउटा पेशाकाे प्यारामिटरमा र सिङ्गाे देशकाे समस्त अर्थव्यवस्था र समस्त मजदुर वर्गकाे प्यारामिटरमा यस्ताे सामूहिकता र एकजुटता कायम गरेर नै हामी आफुविरुद्ध भइरहेको अन्याय, उत्पीडन र अपमानका विरुद्ध लड्न सक्छाैं।

तर यस प्रकारका फिल्महरुमा याे बाटाेकाे बारेमा साेच्न नै निषेध गरिएकाे हुन्छ। हामीलाई यस्ताे फिल्म हेर्दाखेरि प्रतिरोधकाे याे साँचाे र व्यावहारिक बाटाेकाे बारेमा सोच्ने अनुमति हुदैन। त्यस समय हामीलाई पुँजीवादी व्यक्तिवाद र नायकवादकाे अफिम सुँघाइदिइन्छ जसले हामीलाई तिताे यथार्थदेखि पलायन गर्नमा मदत गर्छ र केही समय हामी आफ्नाे सत्य र त्यसकाे दु:खदेखि टाढा भाग्छाैं।

यसकारण यस प्रकारका फिल्महरु वास्तवमा पलायनवादी फिल्महरु हुन्, जो कि हामीलाई वास्तविकतालाई बुझ्ने र त्याे वास्तविकताकाे अनुरुप सही कदम उठाउने दिशातर्फ जान प्रेरित गर्दैन, बरु हामीलाई वास्तविकतालाई हेर्नबाट रोक्ने काम गर्छ र यसप्रकार पुँजीवादी विचारधाराकाे कामलाई सम्पन्न गर्छ, हामीलाई सत्य देख्नबाट रोक्ने काम। यसैलाई अंग्रेजी भाषामा ‘फेटिश’ भनिन्छ।

मजदुर वर्गलाई यस्ता फिल्महरुका आवश्यकता छ जाे विधमान पुँजीवादी समाजमा अन्तर्निहित शोषण, उत्पीडन र दमनका पाटाेहरुलाई सत्यतथ्यका साथ उजागर गरुन्। समस्याहरुलाई सही तरिकाले प्रस्तुत गर्ने कार्यभित्र नै त्यसको समाधानहरुका सम्भावना पनि लुकेकाे हुन्छ। यदि कुनै अन्तरविरोधलाई सही तरिकाले चित्रित गर्ने हाे भने, सही तरिकाले बुझ्ने हाे भने त्यसको समाधानकाे कुरालाई उपदेशका समान प्रस्तुत गर्नुपर्ने कुनै आवश्यकता नै पर्दैन, न त याे कलाकाे काम हो कि हरेक फिल्मकाे अन्त्यमा क्रान्तिकाे बाटाेकाे रुपरेखा प्रस्तुत गरियाेस्।

वास्तवमा, कलाकाे पहिलाे काम हाे यथार्थकाे ईमानदार चित्रण गर्नु। सही प्रातिनिधिक तथ्यहरुकाे पहिचान गर्नु जो कि यथार्थकाे सारतत्वलाई प्रस्तुत गर्दाे हाेस्। उदाहरणका लागि, कुनै एक मजदुर पुँजीपति बन्नु सम्भव छ र याे समस्त सामाजिक यथार्थकाे हिस्सा हुन सक्छ तर याे सामाजिक यथार्थकाे कोई प्रातिनिधिक हिस्सा हाेईन। जस्तै, कुनै बच्चा एक हातमा छ वटा औलाहरुका साथ जन्मिएको छ भने तब याे सामान्यीकरण गर्न सकिन्दैन कि मनुष्यहरुका एक हातमा छ वटा औलाहरु हुन्छन्।

पुँजीवादी कला अप्रातिनिधिक यथार्थकाे कुनै एक पाटाेलाई उठाएर त्यसकाे सामान्यीकरण गर्छ अनि फेरि हामीलाई विशेष प्रकारकाे चाहनाहरु, आकांक्षाहरु र सपनाहरु पाल्नका लागि प्रशिक्षित गर्छ, जो कि पूँजीपति वर्गका लागि लाभदायक हाेस्।

सर्वहारा वर्गकाे कला समस्त सामाजिक यथार्थकाे सारतत्वलाई समात्छ किनभने याे तिनकाे प्रातिनिधिक पक्षहरुलाई समात्छ, तिनकाे कलात्मक अमूर्तन र सामान्यीकरण गर्छ। यसर्थ, याे सत्यका साथमा उभिएको हुन्छ। यसर्थ, याे अन्तरविरोधहरुलाई सही रूपमा प्रस्तुत गर्न सक्छ र यसर्थ यसलाई अन्त्यमा क्रान्तिका बारेमा उपदेश दिनुपर्ने कुनै आवश्यकता हुदैन, बरु अन्तरविरोधहरुकाे यसकाे सही र सटीक चित्रण स्वत: हामीलाई अन्तत: सही दिशातर्फ सोच्नका लागि प्रेरित गर्छ।

वास्तवमा काे सही दिशातर्फ सोच्छ अथवा सोच्न सक्छ, याे त्याे व्यक्तिकाे वस्तुगत सामाजिक एवं राजनीतिक वर्गीय अवस्थितिमाथि निर्भर हुन्छ। तर निश्चय नै सर्वहारा कला यथार्थकाे एक सटीक, ईमानदार र वैज्ञानिक चित्रणका माध्यमबाट समाजका प्रातिनिधिक सत्यहरु र त्यसकाे अन्तरविरोधहरुलाई बुझ्नमा हाम्राे मदत गर्छ।

‘पुष्पा’, ‘केजिएफ’ आदि जस्ता फिल्महरुले यसकाे ठीक उल्टाे काम गर्छ। यी फिल्महरु विशेष गरेर खतरनाक यसकारण हुन्छन् किनभने यी फिल्महरुका विषयवस्तु कुनै एनआरआई धनी भारतीयकाे प्रेम प्रसङ्ग हुदैन, बरु एक यस्ताे नायककाे हुन्छ जो स्वयं मजदुर वर्गबाट उदाएका हुन्छन् अनि फेरि कथाले उसलाई पुँजीपति बनाइदिन्छ। यसकारण यस्ता फिल्महरुका माथि उल्लेखित कारणहरुले मजदुरहरु, बिशेष गरेर नाैजवान मजदुरहरुमाथि निकै गहिराे असर पर्छ।

स्पष्ट छ, याे लेखमा हामी यी फिल्महरुकाे विस्तृत सैद्धान्तिक र कलात्मक आलोचना प्रस्तुत गर्न सक्दैनौं। त्यसैले, केही विशिष्ट पाटाेहरुतर्फ संकेत गरेर त्यतिमै हामीले सन्तोष गर्नु परेकाे छ। याे लेखमा हाम्राे उद्देश्य अत्यन्त स्पष्ट छ, यी फिल्महरुका सामाजिक प्रकार्यलाई चित्रित गर्नु र त्यसकाे माध्यमबाट पूँजीपति वर्गद्वारा बेचिइरहेकाे कलाकाे सामाजिक प्रकार्यलाई सामान्यतया रेखांकित गर्नु। पछि-पछि हामी अलग-अलग फिल्महरुका माध्यमबाट यस विषयमाथि अझ विस्तारपूर्वक लेख्ने प्रयास गर्नेछाैं।

भारतका कम्युनिष्ट विचारक सुहासकाे ‘मजदुर बिगुल, जुलाई २०२२ अंक’ मा प्रकाशित लेखकाे नेपाली अनुवाद।

अनुवादक:- प्रभाष राज

सिनेमा चर्चा:- ‘उड़ता पँजाब’:- ड्रग्सकाे नशामा उडिरहेको पँजाबकाे कथा

अभिषेक चाैबे एक उत्कृष्ट स्टाेरीटेलर हुन्। भारतीय समाज र पात्रहरुका माैलिक र रैथाने (raw/original & local) कथा आफ्नै विशिष्ट शैलीमा बताउँछन् उनी। त्यस्ता कथाहरु, जसलाई बताउने आँट अन्य फिल्ममेकरहरुले हत्तपत्ति गर्दैनन्। समाज र राज्यकाे क्रूर र कड़वा (तिताे) सत्यकाे कथा बताउँछन् उनी। समाज र राज्यलाई असहज बनाउने, uncomfortable feel गराउने कथाहरु, समाज र राज्यकाे गर्भबाट उधिनेर बताउँछन् उनी।

उनकाे न्यारेशन वा स्टाेरीटेलिङ प्रभावशाली हुने गर्छ जसलाई हेरिरहन्दा तपाईंलाई अनुभूत हुन्छ कि कथा बताउने यस्ताे शैली, यस्ताे स्टाेरीटेलिङ यसअघि देखिएकाे थिएन। ‘उनकाे स्टाेरीटेलिङ विशिष्ट छ’ भन्ने कुराकाे बाेध हुन्छ उनका फिल्महरु हेरिरहन्दा चाहे तपाईं ‘फँस गए रे ओबामा’ हेर्नुहाेस्, ‘साेनचिड़िया’ हेर्नुहाेस् अथवा ‘उड़ता पँजाब’ हेर्नुहाेस्।

अभिषेक चाैबे

‘उड़ता पँजाब’ ले उडिरहेको पँजाबकाे कथा भन्छ। ड्रग्सकाे नशामा उडिरहेका नाैजवानहरु, पँजाबमा अराजक भएर उडिरहेकाे ड्रग्सकाे काराेबार, तलदेखि लिएर माथिसम्मै स्टेट मेकानिजमकाे यसमा सँलग्नता र याे ड्रग्सले जिन्दगी बर्बाद पारेका पात्रहरुकाे जिन्दगी र जीजिबिषा, कहर र सँघर्षकाे कथा भन्छ।

अर्काे शब्दमा, ‘उड़ता पँजाब’ एक कमालकाे कथा हाे। यसले ड्रगिस्ट पँजाबकाे कुरुप अनुहारलाई दर्शाउँछ। ड्रग्स पँजाबकाे एक प्रमुख समस्या हाे। पँजाब ड्रग्सकाे लागि बदनाम छ। पँजाब भारतकाे सर्वाधिक ड्रग्सकाे काराेबार हुने राज्यमा पर्छ। पँजाबमा एकदमै सिस्टमेटिक तरिकाले ड्रग्सकाे काराेबार भइरहेकाे छ। जसलाई राज्यले नै सँरक्षण दिइरहेकाे छ। पुलिसदेखि लिएर नेता (विधायक, साँसद, मन्त्री आदि) अर्थात् राजनीतिक तहकै सँलग्नता छ यसमा। ड्रग्सकाे एक विशाल साम्राज्य खडा गरिएकाे छ पँजाबमा जसका जराहरु गाउँहरुसम्मै फैलिएका छन्। र याे साम्राज्यका पछाडि राजनीतिज्ञहरु छन् जाे पावरमा छन्, पावरफुल छन्। उनीहरु नै याे साम्राज्यका मालिक हुन् र यसलाई शक्तिकाे आडमा सँचालन गरिरहेका छन्।

ड्रग्स सेवनका कारण आफ्नाे भाइकाे बदतर हालत भएपछि एकजना असई राजनीतिज्ञहरु र ड्रग्स काराेबारबीचकाे ‘कनेक्सन’ काे पर्दाफास गर्न, तिनीहरुलाई एक्सपाेज गर्न र याे ड्रग्सकाे साम्राज्यलाई भत्काउन लागि पर्छन्, जसलाई एकजना लेडी डाक्टरले पनि साथ दिन्छन्।

‘उड़ता पँजाब’ काे पाेस्टर

उनीहरुका अतिरिक्त फिल्मले जानेर वा नजानेर याे ड्रग्सकाे दुनियाँकाे हिस्सा बन्न पुगेका अथवा याे ड्रग्सकाे जंजालमा फस्न पुगेका र आफ्नाे जिन्दगीलाई नर्कमा झाेक्न पुगेका पात्रहरुका पनि कथाहरु भन्छ। टमी उर्फ गबरु, भाैरिया, बल्ली यस्तै पात्रहरु हुन्।

फिल्ममा देखाइएका घटनाक्रम काल्पनिक हुन् तर फिल्मकाे बिषयवस्तु वास्तविक हाे। पँजाब भारतकाे ड्रग्सद्वारा नराम्ररी प्रभावित राज्यहरुमा अग्रपंक्तिमा आउँछ। पँजाबका नाैजवानहरु ड्रग्सकाे कुलतमा फसिरहेकाे अथवा पँजाबका नैजवानहरुलाई ड्रग्सले नराम्ररी आफ्नाे चपेटामा पारिरहेकाे र ड्रग्सले पँजाबकाे नाैजवान पुस्तालाई भित्रभित्रै खाेक्राे पार्दै गइरहेकाे कुरा सत्य हाे। यसलाई कसैले नकार्न सक्दैन। सेलिब्रेटीहरुकाे ड्रग्स काण्ड वा ड्रग्ससँगकाे कनेक्सन ( सेलिब्रेटीहरुले ड्रग्स सेवन गर्ने कुरा) पटकपटक मिडियामा आइरहेकै कुरा हाे। अनि, ‘ड्रग्सकाे यस्ताे सिस्टमेटिक काराेबार राजनीतिक तह र राज्यसँयन्त्रकाे सँरक्षण र सँलग्नताबिना हुनै सक्दैन’ भन्ने कुरा त लाटाले पनि बुझेकाे कुरा हाे।

मलाई लाग्छ, ‘उड़ता पँजाब’ ले पँजाबकाे राज्यसरकार, समाज, स्थानीय बासिन्दाहरु, नाैजवानहरु र तिनीहरुका अभिभावकहरुलाई ऐना देखाउँछ। याे एउटा गम्भीर बिषय हाे। याे पँजाब राज्य र समाजले सम्बाेधन गर्नुपर्ने मुद्दा हाे। ‘उड़ता पँजाब’ एक डार्क फिल्म हाे। यसमा इंटेन्स ड्रामा छ र याे यथार्थकाे नजिक लाग्छ। ‘उड़ता पँजाब’ एक अप्रिसिएट गर्नुपर्ने सिनेमा हाे।

हुन त ‘उड़ता पँजाब’ सिङ्गाे फिल्म नै कमालकाे बनेकाे छ। यसकाे सबै पक्ष शानदार बनेका छन्। तर फेरि पनि म व्यक्तिगत रुपमा यसकाे एउटा पक्षकाे विशेष रुपमा उल्लेख गर्न चाहन्छु, जसकाे म कायल भएकाे छु, त्याे हाे यसमा गरिएकाे ‘बटम अफ दि पिरामिड’ काे चरित्रचरिण। आलिया भट्टकाे चरित्र भा‌ैरिया त्याे चरित्र हाे जाे ‘बटम अफ दी पिरामिड’ सँग सम्बन्धित छन्। यस चरित्रकाे माध्यमबाट अभिषेक चाैबेले निम्न वर्गीय चरित्रहरुकाे जीवनप्रतिकाे उत्कट र बलियाे जीजिबिषालाई देखाएका छन्।

निम्नवर्गका मानिसहरु सामाजिक-आर्थिक रुपमा कमजाेर हुन्छन्, असुरक्षित हुन्छन्। आफ्नाे सामाजिक-आर्थिक हैसियतका कारण पनि उनीहरु शाेषण र दमनमा पर्ने गर्छन्। उनीहरुमाथि भयंकर अत्याचार गरिन्छ। उनीहरुलाई क्रूर यातना दिइन्छ, उनीहरुकाे जीवन नरकीय बनाइन्छ, उनीहरुकाे ‘जीना दुश्वर’ बनाइन्छ। तर फेरि पनि उनीहरु जीवनदेखि हार मान्दैनन्। उनीहरु जिउन चाहन्छन्। मर्न चाहन्दैनन्। जीवनप्रति उनीहरुमा उच्च प्रेम र विश्वास छ। उनीहरुमा जीवनप्रति उच्च जीजिबिषा छ।

आलिया भट्ट उर्फ भाैरिया

फिल्मकाे एउटा दृष्यमा टमी उर्फ गबरु भा‌ैरियालाई भन्छ, ‘आऊँ, हामी सँगै मराैं’।

तब उनकाे प्रतिवाद गर्दै भा‌ैरिया भन्छ, ‘खबरदार, यस्ताे बकवास आइडिया मेराे दिमागमा घुसाइस् भने। यस्ताे मनहुस कुरा नगर।’

अनि, उनै भा‌ैरिया गुण्डाहरुसँग मुकाबला गरेर, तिनीहरुसँग लडेर टमी उर्फ गबरुकाे ज्यान बचाउँछिन्। ड्रग्स माफियाहरुले फेरि उनलाई काेठामा बन्दी बनाएर राखे पनि उनी आफ्नाे मनाेबललाई गिर्न दिदिनन्, हार मान्दिनन्, बरु फाइट गर्छिन्। भित्र र बाहिर, दुवैतिर फाइट गर्छिन्। उनी अरुसँग (माफियाहरुसँग) पनि लड्छिन् र आफैसँग पनि। उच्च मनाेबलका साथ आफ्नाे ड्रग्सकाे कुलतसँग लड्छिन्। पेट कस्सेर, मुखमा कपडा काेचेर ड्रग्सकाे तलतल र त्यसले गराउने बान्तालाई राेक्छिन्। यी दृष्यहरु असाध्यै जीवन्त लाग्छन्। वर्तमान जतिसुकै अँध्यारो भए पनि त्यसलाई चिरेर उज्यालोतर्फ जाने प्रयत्न गर्छिन्। ‘बटम अफ दि पिरामिड’ काे, निम्न वर्गकाे पात्रकाे यति उत्कट र सशक्त जीजिबिषाकाे चित्रण विरलै फिल्महरुमा गरिएकाे पाइन्छ।

अब कलाकारहरुकाे चर्चा गर्छु। सर्वप्रथम आलिया भट्टकाे चर्चा गर्छु। मैले आलिया भट्टकाे ‘हाइवे’ हेरे, ‘उड़ता पँजाब’ हेरे अनि डार्लिँग्स’ पनि हेरे। त्यस आधारमा म याे निर्धक्क भन्न सक्छु कि आलिया भट्ट एक अद्भूत अभिनेत्री हुन्। यसमा दुईमत हुन सक्दैन। हाल बलिउडमा उनकाे स्तरकाे अभिनेत्री अरु काेही छैन र अझै लामाे कालखण्डसम्म हुने छैन। उनी आफ्ना समकालीन अभिनेत्रीहरुभन्दा त का‌ेशाैं अगाडि छन् नै, उनीभन्दा पहिले पनि उनीजतिकाे अभिनय क्षमता भएकाे अभिनेत्री बलिउडमा देखिन्द‌ैनन्। (म 1980’s पछिकाे बलिउडकाे कुरा गर्दैछु) र याे कुनै अतिशयाेक्ति हाेइन। फ्याक्ट हाे।

‘उड़ता पंजाब’ मा आलिया भट्ट

आलियापछि शाहिद कपूरकाे चर्चा गर्छु। शाहिद कपूर पनि एक उत्कृष्ट अभिनेता हुन् र उनी भर्सटाइल पनि छन्। शाहिद कपूर जब सुरुसुरुमा फिल्म इंडष्ट्रीमा आएका थिए, कसले साेचेकाे थियाे याे बंदा पछि गएर यस्ताे भर्सटाइल एक्टर भएर निस्कन्छ भनेर। ‘इश्क़ विश्क’, ‘फिदा’, ‘दिल माँगे माेर’, ‘वाह लाइफ हाे ताे ऐसी’, ‘जब वि मेट’ र ‘किस्मत कनेक्सन’ खेल्दाखेरिकाे शाहिद कपूरलाई हेरेर कसले साेचेकाे थियाे हाेला र याे बंदाले कुनै दिन ‘कमिने’, ‘हैदर’, ‘उड़ता पँजाब’ र ‘कबिर सिहँ’ जस्ता फिल्महरुमा अलग किसिमका राेलहरु निभाउँछन् भनेर। कसले साेचेकाे थियाे? मलाई लाग्छ, कसैले साेचेकाे थिएन। सन् 2000 यता बलिउडले जन्माएकाे मूलधारकाे हिराे/एक्टरहरुमध्ये सबैभन्दा उत्कृष्ट र भर्सटाइल हिराे/एक्टर शाहिद कपूर नै हुन् भन्न अब कुनै सँकाेच मान्नुपर्दैन।

‘उड़ता पँजाब’ मा शाहिद कपूर

म त शाहिद कपूरभन्दा अझ आलिया भट्टलाई उच्च मूल्यांकन (rating) गर्छु। किनभने शाहिद कपूरकाे पँजाबसँग साइनाे छ। उनी स्वयं पँजाबी हुन्। त्यसैले उनी पँजाबी बंदाजस्ताे सुनिनु वा पँजाबी बंदाकाे क्यारेक्टरमा फिट हुनु स्वभाविकै हाे।

तर आलिया भट्टकाे बिहारसँग टाढा-टाढासम्म पनि कुनै साइनाे थिएन/छैन। उनले न कहिल्यै बिहार देखेकी थिईन् न बिहारी। तिनीहरु कस्ता हुन्छन् भन्ने कुराकाे उनलाई जानकारी थिएन तर यसकाे बावजूद पनि उनले बिहारी केटीकाे क्यारेक्टरकाे norms लाई समातिन् र आफुलाई त्यसमा ढालिन्। उनले भाैरियाकाे चरित्रमा प्राण भरिदिइन्, त्यसलाई जीवन्तता प्रदान गरिन्।

बिहारकाे समाज-सँस्कृति, लवज-भाषाशैली, त्यहाँकाे वस्तुस्थिति र महिलाहरुका बारेमा जानकार नभएर पनि उनी आफ्नाे अभिनय क्षमताद्वारा आफुले निर्वाह गरेकाे चरित्र भाैरिया बिहारकी केटी हुन् भनेर दर्शकहरुलाई कन्भिन्स गर्न सफल भइन्। याे अद्भुत छ। यस्ताे कमाल कुनै अद्वितीय कलाकारले मात्र गर्न सक्छन् जुन कमाल आलियाले यहाँ गरिन्। यसले उनकाे उत्कृष्टतालाई प्रमाणित गर्दछ।

‘उड़ता पंजाब’ मा आलिया भट्ट

एक जाटबुद्धि असईकाे चरित्रमा दलजित दाेसाँझ सही लाग्छन्। उनी एक पँजाबी हुन् र एक पँजाबी पुलिसकाे क्यारेक्टरमा उनकाे कास्टिङ पर्फेक्ट लाग्छ। साथै, लेडी डाक्टरकाे चरित्रमा करीना कपूर पनि ठीक लाग्छन्। उनकाे चरित्र एक पँजाबी युवतीकाे हाे र उनी पनि पँजाबी नै हुन्। त्यसैले, उनकाे कास्टिङ पनि पर्फेक्ट छ। दुवैले राम्राे पर्फमेन्स दिएका छन्। दुवै बीच एक भावनात्मक-प्रेमपूर्ण सम्बन्ध पनि विकसित हुँदै गरेकाे हुन्छ जब सरताज (दलजित) डा. प्रित (करीना) समक्ष ड्रग्सकाे नशामा उनीप्रतिकाे आफ्नाे भावनालाई ओकल्छ। तर प्रीतकाे क्यारेक्टरकाे जसरी ट्रयाजिक एंड हुन्छ, त्यसले दर्शकहरुकाे दिल ताेड्छ।

‘उड़ता पँजाब’ मा करीना कपूर र दलजित दाेसाँझ

सारमा, ‘उड़ता पँजाब’ एक दर्शनीय फिल्म हाे। यदि तपाईं सामाजिक फिल्महरुकाे फ्यान हुनुहुन्छ भने अभिषेक चाैबेकाे याे फिल्म हेर्न नछुटाउनुहाेस्।

सामाजिक यथार्थदेखि अलग छन् बलिउडका फिल्महरु

दक्षिण भारतीय फिल्महरुले मनोरंजन प्रदान गर्छन्। यसका साथै, ती फिल्महरुले स्थानीय र सामाजिक मुद्दाहरुलाई पनि उठाइरहेका हुन्छन्। तर बलिउड फिल्महरु निश्चित फर्मुलाहरुमथि आधारित आफ्नाे पुरानै ढर्रामा चलिरहेका हुन्छन्। पा रंजीत-मारी सेल्वाराजकाे ‘परिएरूम पेरूमल’ र करण जौहर-पुनीत मल्होत्राकाे ‘स्टुडेन्ट अफ दि येएर’ मा यस अन्तरलाई स्पष्टसँग देख्न सकिन्छ।

पछिल्ला केही समयदेखि बलिउड फिल्महरुले बक्स-अफिसमा खासै कमाल देखाउन सकिरहेका छैनन्। याे कुरा आजकल बुद्धिजिवी एवं फिल्म समीक्षकहरुका वृत्तमा चर्चाकाे विषय बनेको छ। सामान्य मानिसहरु (जो फिल्महरुका बारेमा धेरै कुरा जान्दैनन्) पनि सोशल मीडियामा यस विषयमाथि टिकाटिप्पणीहरु गरिरहेका छन्। जस्तै, के बलिउड फिल्महरु इतिहासकाे आफ्नाे सबैभन्दा खराब दाैरबाट गुज्रिरहेका छन्? आखिर बलिउडकाे कुनै पनि फर्मुला दर्शकहरुलाई आकर्षित गर्न किन सफल भइरहेका छैनन्?

बलिउड फिल्महरु असफल हुनुका कैयौं कारण छन्। केवल यति भनेर काम चल्दैन कि फिल्महरु बक्स-अफिसमा यसकारण सफल भइरहेका छैनन् किनभने ती कला (Art) फिल्महरु हुन्, जो एक विशिष्ट वर्गका दर्शकहरुका लागि बनाइएका हुन्। सबैका लागि हाेइनन् र यही कारण हाे कि तिनको केवल निन्दा मात्र भइरहेको छैन, बरु असँख्याैं मानिस तिनकाे प्रशंसा पनि गरिरहेका छन्।

गत २२ जुलाई २०२२ मा रिलिज भएकाे बलिउड फिल्म ‘शमशेरा’ बक्स-अफिसमा उत्तानाेचित पर्‍याे। यही बिषयलाई लिएर अभिनेता संजय दत्तले सोशल मिडियामा लेखे, ‘फिल्महरु यसकारण बनाइन्छ कि दर्शकहरु तिनकाे आनन्द लिन सकुन्। र हरेक फिल्मले आज नभए भाेलि, आफ्नाे दर्शक वर्गलाई पाई नै हाल्नेछ। ‘शमशेरा’ ले पनि कुनै न कुनै दिन आफ्नाे दर्शक पाएरै छाेड्नेछ। (तबसम्मकाे लागि) म याे फिल्मकाे साथमा बलियोसँग उभिएकाे छु।…कला र यसप्रति हाम्राे प्रतिबद्धता त्याे घृणाभन्दा कैयौं गुणा ठूलाे छ, जसकाे हामी सामना गरिरहेका छाैं।’

यहाँनेर प्रश्न याे छ कि सँजय दत्तले आफ्नाे बचाउ गर्नुपर्ने आवश्यकता किन पर्‍याे? किन उसले #ShamsheraIsOurs ह्यासट्यागकाे प्रयोग गर्नुपर्‍याे? यसभन्दा पहिले त यस्ताे हुँदैनथ्यो। फिल्महरु दर्शकहरुका लागि बनाइन्छ, निर्माताहरु र कलाकारहरुका लागि हाेइन। फिल्म निर्माताहरु र कलाकारहरुले आफ्नाे फिल्महरुकाे यसरी बचाऊ गर्नु र परोक्ष रूपले दर्शकहरुलाई नै सिनेमाकाे कलाकाे सम्मान नगरेकाेमा दोषी ठहराउनु के आमजनता/आमदर्शकहरुलाई तुच्छ देखाउनु हाेइन?

वरिष्ठ पत्रकार तथा विचारक दिलिप मण्डल यस फिल्मकाे बारेमा लेख्छन्, ‘आदिवासी र अछूतहरुमाथि फिल्म बनाए। कथा नीलेश मिश्राद्वारा लेखाए। डायलग पीयूष मिश्राद्वारा लेखाए। रोल कपूरहरुद्वारा गराए। महिला रोल पनि कपूरलाई दिए। डायरेक्टर मल्होत्रालाई बनाए। संगीत शर्माद्वारा कम्पाेज गराए। सिनेमेटोग्राफी गोस्वामीद्वारा गराए। जसलाई हेर्‍याे, उहीँ भ्वाइस अफ भ्वाइसलेस बन्न उद्धत छन्। थाेरै त मर्यादा राख्नुहाेस्। याे पनि त साेच्नुहाेस् कि सिनेमाघर कुन (वर्ग/समुदायका) मानिसहरुद्वारा भरिन्छन्?’

यहाँनेर, मण्डल बलिउड फिल्म उद्योगमा प्रतिनिधित्व र समावेशीकरणसँग जाेडिएका महत्वपूर्ण सरोकारका कुरा गरिरहेका छन्।

हुन सक्छ तपाईंलाई अछूत प्रथा र जातिय अत्याचारका बारेमा धेरै कुरा थाहा हाेला, तर जुन मानिसहरुले याे सब भाेगे, उनीहरुलाई साथ नलिई तपाईं याे आशा कसरी गर्न सक्नुहुन्छ कि जातिसँग जाेडिएका मुद्दाहरुमाथि केन्द्रित फिल्मले बाटाे बिराउँदैन भनेर? यस्ताे फिल्मलाई बनाउँदा ‘निम्न जाति’ का मानिसहरुकाे भागिदारी जरूरी छ – यस्ता मानिसहरुकाे जसले जातिगत वंचना र भेदभावलाई झेलेकाे हाेस्। तपाईंसँग जतिसुकै संसाधन हाेस्, तर यस्ता मानिसहरुकाे सहयोग बिना तपाईं जातिमा जकडिएकाे समाजकाे सटीक चित्रण गर्न सक्नुहुन्न। यसैले याे जरूरी छ कि तपाईं आफ्नाे ढाेका विविध पृष्ठभूमिका मानिसहरुका लागि पनि खोल्नुहाेस्।

इंग्ल्याण्डमा निवासरत शोधकर्ता तथा अध्येता पूर्णचन्द्र बलिउड फिल्महरुकाे घट्दाे लोकप्रियताकाे विश्लेषण गर्दै भन्छन्, ‘अहिले मानिसहरुसँग अधिक विकल्प छ। उनीहरुले सिनेमाहल जानुपर्ने आवश्यकता नै छैन। सिनेमाहल अब उनीहरुकाे घरकाे बैठककाेठामै आइपुगेको छ। ओटिटी प्लेटफर्महरुले बलिउडकाे प्रभुत्वलाई समाप्त पारिदिएका छन्। फिल्महरु हेर्ने पारम्पारिक तरिका बदलिएकाे छ। साथै बलिउड फिल्महरुकाे विषयवस्तुकाे गुणवत्ता घटेकाे छ। यी कारणहरुले दर्शकहरुले बलिउडलाई छोडेर अन्य क्षेत्रीय फिल्महरुमा रूचि देखाइरहेका छन्।’

डबिङ र सब-टाइटलिङका कारण, क्षेत्रीय र अन्तर्राष्ट्रिय सिनेमाकाे पहुँचमा वृद्धि भएकाे छ। दक्षिण भारतीय फिल्महरुकाे विषयवस्तु सदैव राम्राे रहिआएकाे छ, तर एक समयसम्म दक्षिण भारतीय फिल्महरुले भाषाकाे पर्खाल र आर्थिक समस्याहरुका कारण कहिल्यै पनि अखिल भारतीय स्तरमा प्रतिष्ठा प्राप्त गर्न सकेन र यसकाे लाभ बलिउडले उठायाे।

तर अब परिदृश्य बदलिसकेकाे छ। बलिउडकाे सबैभन्दा ठूलाे स्टार सलमान खानले समेत आफ्नाे करिअरलाई पुन: लिकमा ल्याउनका लागि ‘वांटेड’ जस्ताे दक्षिण भारतीय फिल्मकाे रिमेककाे सहारा लिनुपर्‍याे। बलिउडकाे शीर्ष कलाकारहरुकाे चमक अहिले फिक्का भएकाे छ। यहाँसम्म कि कैयौं हिन्दी रियलिटी शाेहरु समेत हिन्दी फिल्महरुकाे याे भनेर मजाक उडाइरहेका छन् कि दक्षिण भारतीय फिल्महरुकाे लोकप्रियताकाे सामु हिन्दी फिल्महरु टिक्न सकिरहेका छैनन्।

बलिउड फिल्ममेकरहरु अब दक्षिण भारतीय कलाकारहरु र फिल्ममेकर-निर्दैशकहरुसँग मिलेर काम गरिरहेका छन्। कलाकार आलिया भट्टले तेलुगु फिल्म ‘आरआरआर’ मा अभिनय गरिन् भने अनन्या पाण्डेले तेलुगु फिल्म ‘लाइगर’ मा, जसकाे निर्माण करण जौहरले गरेका हुन्। सलमान खान तेलुगु फिल्म ‘गडफादर’ मा काम गरिरहेका छन् जसकाे पुष्टि उनले गरेका छन्। याे फिल्म निर्माणाधीन चरणमा छ। भारतमा फिल्म निर्माणकाे केन्द्र अब दक्षिणतर्फ सर्दै गइरहेको छ र यसाे हुनुकाे मुख्य कारण हाे, बलिउड आमदर्शकहरुकाे अपेक्षाहरुलाई पूरा गर्न असफल हुनु। बलिउड फिल्म/फिल्ममेकरहरु आमदर्शकहरुकाे अपेक्षाहरुलाई पूरा गर्न असफल भइरहेका छन् जसकाे कारण दक्षिणका फिल्महरुतर्फ दर्शकहरुकाे आकर्षण बढेकाे छ।

जब फिल्ममेकर अनुराग कश्यपसँग साेधियाे कि ‘बलिउड फिल्महरु किन त्यति राम्राे प्रदर्शन गर्न सकिरहेका छैनन्, जति दक्षिण भारतीय फिल्महरुले गरिरहेका छन्?’ तब उनकाे जवाफ थियाे, ‘याे प्रश्नकाे अत्यन्त सीधा उत्तर छ। कारण याे हाे कि हिन्दी फिल्महरुकाे जरा नै छैन। तपाईं तमिल, तेलुगु वा मलायलम फिल्महरु हेर्नुहाेस्। तिनीहरुकाे जरामा तिनीहरुकाे संस्कृति छ – चाहे त्याे मूलधारकाे संस्कृति होस् वा कुनै विशिष्ट क्षेत्र वा समुदायकाे। तर हाम्राे फिल्महरुकाे जरा नै छैन। यस्ता मानिसहरु जाे हिन्दी बोल्न जान्दैनन्/सक्दैनन्, जो अंग्रेजी बोल्छन्, उनीहरू हिन्दी फिल्महरु बनाइरहेका छन्।’

मलाई लाग्दैन कि कुनै भाषा बोल्न सक्ने वा बोल्न नसक्नेकाे यससँग कुनै सम्बन्ध छ। मलाई लाग्छ कि यसकाे सम्बन्ध संस्कृतिसँग छ। दक्षिण भारतीय फिल्महरु मनोरंजन प्रदान गर्छन्। यसका साथै, तिनीहरु स्थानीय र सामाजिक सँस्कृतिलाई देखाइरहेका हुन्छन्, स्थानीय मुद्दाहरुलाई उठाइरहेका हुन्छन् तर बलिउड फिल्महरु एक निश्चित फार्मुलामाथि आधारित आफ्नाे पुरानै ढर्रामा चलिरहेका हुन्छन्। पा रंजीत-मारी सेल्वाराजकाे ‘परिएरूम पेरूमल’ र करण जौहर-पुनीत मल्होत्राकाे ‘स्टुडेन्ट अफ दि येएर’ मा यस अन्तरलाई स्पष्टसँग देख्न सकिन्छ। करण जौहरकाे फिल्मकाे कलेज आमजनतालाई आफ्नाे कलेज जस्ताे लाग्दैन। जबकि सेल्वाराजकाे फिल्मकाे कलेज त्यहाँका आमजनतालाई आफ्नै कलेज जस्ताे लाग्छ। उनकाे कलेज त्यहाँकाे समाज र मानिसहरुसँग जाेडिएकाे हुन्छ। यही फरक छ।

बलिउडले फेरि जम्ने हाे भने आफ्नाे जरातर्फ फर्किनुपर्छ। आफ्नाे समाज, आफ्नाे सँस्कृति, आफ्नाे मान्छेहरुतिर फर्किनुपर्छ। उनीहरुका कथाहरु टिप्न, उन्न र बुन्न थाल्नुपर्छ। त्याे जरा नै हाे जसले बलिउडलाई उसका मान्छेहरुसँग जाेडेर राखिरहन्छ। बलिउडले अब माैलिक सिनेमाहरु बनाउनु जरुरी छ। आफ्नै समाजका कथाहरु देखाउनु जरुरी छ।