शरद- रोशनी हत्या प्रकरणका ४ जना सार्वजनिक, हत्या स्वीकार गरेका टिप्पर चालक निर्दोष देखिए

गढवा,२० कात्तिक ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्यान सामुदायिक बनमा मृत फेला परेका दुई किशोर किशोरीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । आईतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरि हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.वडा नं.१३ डाँडागाउँ स्थित १५ बर्षीया रोशनी महतारा र दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ बर्षीय शरद आचार्यको हत्यामा संलग्न भएको भन्दै तुलसीपुर १३ निवासी ३९ बर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ बर्षीय नुमानन्द कार्की, ३१ बर्षीय खिमबहादुर बुढा र ४७ बर्षीय प्रकाश भन्ने अम्मर राज कार्कीलाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर वलीका अनुसार बदेल मार्नकालागि थापेको विद्युतको पासोमा परेर उनीहरु दुबै जनाको मृत्यु भएको हो । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युत लिएर नजिकैको जंगलमा बदेल मार्नकालागि पासो थापेको र त्यही पासोमा परेर उनीहरुको राति नै मृत्यु भएको प्रहरीले बताएको छ । पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिश चन्द्र पौडल असोज २८ गते विहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अबस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु दुबैले सल्लाह गरेर शवलाई जंगलको झाडीमा फाले । उनीहरुसंग भएका मोवाईल र चप्पललाई समेत जंगलको झाडीमा लुकाई छिपाई राखे । सोही दिन राति १० बजेतिर अमरराज कार्की,पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्कीले ति शबलाई गाड्ने सहमति गरे । त्यो सहमति पछि अमरराज कार्कीको घरबाट फोरुवा ल्याएर उनीहरुले करेन्ट लागेदेखि नजिकैको खोल्सोमा गाडेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक वलीले बताउनु भयो ।
उहांका अनुसार अभियुक्त चारजनाले लुकाई छिपाई राखेको अबस्थामा करेन्ट लगाउन प्रयोग भएको विजुलीको वाईरिङ तार ७६ मिटर १ इन्च, साना ७ वटा बाँस,फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा १ थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अबस्थामा भेटिएको थियो । उनीहरु चारैजनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको छ । रोशनी र शरदको शव असोज ३० गते दिउसो भेटिएको थियो । उनीहरु घरबाट असोज २७ गते हराएका थिए । मृतक दुबै जना त्यो बनमा किन गएका थिए, भन्ने कुरा अनुसन्धानकै विषय रहेको प्रहरी उपरीक्षक वलीले बताउनु भयो ।

टिप्पर चालकहरु निर्दोश देखिए
घटना घट्न साथ प्रहरीले एक टिप्पर चालकलाई पक्राउ गर्यो । ति टिप्पर चालककै बयानका आधारमा थप अर्का व्यक्ती पनि पक्राउ परे । तर, ति दुबै जना निर्दोष देखिए । प्रहरीका अनुसार एक टिप्पर चालकले आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर, अनुसन्धान गर्दै जाँदा उनीहरु दुबैजनाले हत्या गरेको पुष्टि भएन । प्रहरीले पोष्टमार्टम रिपोर्टलगायतका अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट निर्दोश देखिए । उनीहरु निर्दोश देखिएपनि प्रहरीको हिरासतमै छन् । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनु भयो ।
यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो, भने काठमाडौंबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुर समेत ल्याईएको थियो । उनीहरु दुबैजनाको पोष्टमार्टम पछि एकै स्थानमा बबईमा अन्त्येष्टी गरिएको थियो ।

 

ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ, पाँच वर्ष नै कायम रहन्छः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताउनु भएको छ । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताउनु भयो ।

२०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको उहांको भनाइ थियो । उहांले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गर्नु भयो ।

‘पाँच वर्ष एक ढंगले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ । अघि हिँड्नेले घमण्ड गर्दा अरुले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’

पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताउनु भयो । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप लगाउनु भयो ।

ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको पुनले आरोप लगाउनु भयो । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ ।
निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गर्नु भयो । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गर्नु भयो । राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताउनु भयो  ।  पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताउनु भयो । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ ।
 

बाढी प्रभावित क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले बुधवार राप्ती गाउँपालिकाकाे बाढी प्रभावित क्षेत्रकाे स्थलगत अवलाेकन गरेका छन् ।

त्यस क्रममा मुख्यमन्त्री केसीले केही दिन अघि परेको अविरल वर्षतका कारण आएकाे बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामाे समय देखि अलपत्र रहेको वडा नं.-८ काे बिजाैरी देखि वडा नं.४ काे नयाँ गाउँ जाेड्ने दाेलई खाेला पक्की पुल निर्माण याेजनाकाे कामकाे बुधबार स्थलगत अवलोकन गरेका छन् ।

अवलोकन पश्चात मुख्यमन्त्री केसीले बाढी नियन्त्रणका लागि तत्काल दिर्घकालिन याेजन बनाएर काम अगाडि बढाउने बताएका छन् । त्यस्तै मुख्यमन्त्री केसीले साे पुल निर्माण याेजनाकाे काम बिचमै अलपत्र पार्ने जय बुद्ध कनट्रक्सन प्रालि सँगकाे ठेक्का सम्झौता तत्काल रद्ध गरी कार्वाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएका छन् ।

सो अबसरमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस क्षेत्रमा बाढी पहिराले पु¥याएको क्षति र त्यसको रोकथामको उपाएको बारेमा मन्त्री केसीलाई जानकारी गराएका थिए । साथै उनले विपतमा परेका जनताहरुको समस्याको समाधान गर्नको लागि पालिका एक्लैलाई अफ्ठ्यारो पर्ने भएकाले प्रदेश सरकारलाई यस कार्यमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

सो अवसरमा लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख, अर्थविज्ञ, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।