इतिहासका कुनै कालखण्डबिशेषका पार्टिकुलर घटना र पात्रहरुलाई लिएर फिल्म बनाउने र इतिहासकाे आफ्नै तरिकाले चित्रण गर्ने प्रचलन विश्व सिनेमामा पहिलेदेखि चलिआइरहेकाे छ। नेपाली सिनेमामा भने याे चलनले प्राथमिकता पाएन। इतिहासका घटनाहरुलाई लिएर नेपालमा विरलै फिल्महरु बनेका छन्। ‘तान्द्राे’ यस्तै एउटा विरलकाेटीकाे फिल्म हाे।
‘तान्द्राे’ एक माओवादी कार्यकर्ता गंगाबहादुर लामा ‘कमरेड काेशिश’ काे जनयुद्धकालकाे एक घटनाबिशेषकाे अनुभवमाथि आधारित छ। उनकाे संस्मरण ‘स्मृतिका डाेबहरु’ माथि आधारित छ याे फिल्म। गंगा बहादुर लामा तत्कालीन नेकपा (माओवादी) काे जनसाँस्कृतिक माेर्चाका कार्यकर्ता थिए।
साँस्कृतिक फाँटकाे कार्यकर्ता वा कलाकार भएकाेले उनीहरुसँग बम वा बन्दुक हुँदैनथे बरु बाध्ययन्त्रहरु हुन्थे। उनीहरु गीतसँगीत, नाटक र भाषणका माध्यमबाट जनयुद्धकाे विचार, चेतना र सन्देशलाई जनतामाझ फैलाउने र जनयुद्धकाे पक्षमा जनसमर्थन जुटाउँदै जनयुद्धलाई सामाजिक वैधता दिलाउनका लागि सामाजिक धरातल निर्माण गर्ने अभियानहरु चलाउँदै गाउँगाउँ हिँड्ने गर्दथे। यही उनीहरुकाे काम थियाे।
फिल्मकाे कथा यसप्रकार छ,
२०५० काे दशककाे कुनै कालखण्डमा, पश्चिम (गण्डकी क्षेत्र) तिरकाे कुनै ग्रामीण इलाकामा माओवादीका जनसाँस्कृतिक मञ्चका कलाकारहरु जनचेतनामूलक नाटक देखाइरहेका हुन्छन्। जनतालाई जनयुद्धकाे पक्षबाट प्रशिक्षित गरिरहेका हुन्छन् कि अचानक शाही नेपाली सेनाकाे एउटा टुकडी उनीहरुमाथि हमला गर्न आइपुग्छ। उनीहरु सबैजना भागेर आफ्नो ज्यान बचाउँछन्।
गाउँकै एकजना स्थानीयले सुराकी बनेर सेनालाई माओवादीहरु गाउँमा भएकाे खबर पुर्याएकाे कारण सेना त्यहाँ आक्रमण गर्न आएकाे कुरा उनीहरुले थाहा पाउँछन्। माओवादीकाे जनसरकार प्रमुख बुद्धि एकजना साथीलाई लिएर साे व्यक्तिलाई सम्झाउन पनि जान्छन् तर निज घरमा भेटिन्दैनन्। अनि फर्केर आउँछन्। सेना फर्कियाे भन्ने ठानेर उनीहरु त्याे रात त्यही गाउँमा बाँडिएर बास बस्ने निधाे गर्छन्।
यस बीच रेडियाेमा उनीहरुले बेनी आक्रमणमा माओवादीहरुले जीत हासिल गरेकाे समाचार सुन्छन् र हर्षित हुन्छन्। हर्षाेल्लासका साथ उनीहरु सबै नाँचगान गरेर जीतकाे खुशियाली मनाइरहेका हुन्छन् कि अचानक सेनाले उनीहरुमाथि धावा बाेल्छ। सेना फेरि फर्केर आएकाे हुन्छ।
उनीहरु सबै तितरबितर हुन्छन् र सेनाबाट ज्यान बचाउन भाग्छन्। यसरी ज्यान बचाउन भाग्ने क्रममा काेही सेनाकाे गाेली लागेर मारिन्छन्, काेही कान्लामुनि हामफालेर भागेर ज्यान जाेगाउँछन् त काेही गाेठमा लुकेर आफ्नाे ज्यान बचाउँछन्।
सेनाकाे याे कारवाहीमा दुईजना माओवादी कार्यकर्ता/कलाकार अनि एकजना सर्वसाधारण (युवती) मारिन्छन्। भाग्ने क्रममा गंगाबहादुरलाई पनि खुट्टामा गाेली लाग्छ। उनी कान्लामुनि लड्न पुग्छन् र कान्लामुनि नै लुक्न पुग्छन्। यसरी उनी सेनाकाे नजरमा पर्नबाट बच्छन्। त्यसैले, मारिनबाट बच्छन्।
भाेलिपल्ट बाँचेका सबै माओवादी कार्यकर्ताहरु त्यहाँबाट अन्तै लाग्छन् तर खुट्टामा गाेली लागेर खेतमै लडिरहेका गंगाबहादुर भने त्यही नै रहिरहन्छन्। उनकाे साथीहरुलाई उनकाे बारेमा थाहै हुदैन।
उनलाई भाेक लाग्छ, तिर्खा लाग्छ, घाऊ दुख्छ। गाउँलेहरु सबै उनलाई हेर्न आउँछन् तर काेही पनि ठूलाे मान्छेले उनलाई मदत गर्दैन। उनले पानी माग्दा पानी दिदैन। सहयाेग माग्दा सहयाेग गर्दैन। उनलाई अस्पताल लैजान त के, उनकाे प्राथमिक उपचार गर्न पनि काेही अघि सर्दैन। एकजना बुढाे मान्छे त झन् उनीप्रति निकै निर्दयी भएर प्रस्तुत हुन्छ किनभने उनकाे कारण गाउँकाे एकजना निर्दाेष युवतीकाे ज्यान गएकाे उसकाे बुझाई हुन्छ। आफ्नै आँखाअगाडि उनी लडेकाे देखेर पनि उसलाई दया जाग्दैन। उसले उनलाई कुनै सार्थक मदत गर्दैन। न उसले मदत गर्छ, न अरु कसैले। यसले तत्कालीन समयमा आमजनताकाे एउटा हिस्सा पनि माओवादीसँग कति रुष्ट थिएछ भन्ने कुरालाई देखाउँछ।
यसरी गंगाबहादुर थाहा छैन कति दिनसम्म भाेकै र तिर्खै त्यहाँ लडिरहन्छन्। गाेली लागेकाे उनकाे घाऊ पाकेर सड्न थाल्छ। (यस बीच एकजना बच्चीले उनीप्रति सहानुभूति देखाउँछिन् र उनलाई मदत गर्छिन्। उनलाई चाउचाउ र बिस्कुट ल्याइदिन्छिन्। पानी पिलाउने काेशिश गर्छिन्।) बल्लतल्ल उनकाे एकजना साथी (जनसरकार प्रमुख बुद्धिराम) ले उनी त्यहाँ भएकाे कुरा थाहा पाउँछ। तर उनले एक्लै उद्दार गर्न नसक्ने भएकाेले ऊ फेरि साथीहरु खाेज्न हिँड्छ। फेरि गँगाबहादुरले उद्दारका लागि लामाे प्रतीक्षा गर्नुपर्छ।
बाहिर ढुँगा अनि मनभित्र कुरा खेलाउँदै उनी आफ्नाे साथीहरुकाे प्रतीक्षा गर्छन्। उनकाे मनाेबल खस्किन्दै जान्छ, उनी भित्रभित्रै टुट्दै जान्छन्, अनि निराशाकाे चरमबिन्दुमा पुगेपछि आत्महत्या गर्ने काेशिश पनि गर्छन् तर धन्न समयमा उनका साथीहरु आइपुग्छन् र उनलाई उद्वार गरेर त्यहाँबाट (सम्भवतः अस्पताल) लैजान्छन्।
‘तान्द्राे’ ले ०५० काे दशककाे माओवादी र शाही नेपाली सेनाकाे द्वन्द्वकालीन समयलाई ‘क्याप्चर’ गरेकाे छ। र त्याे ‘टाइमफ्रेम’ भित्र तत्कालीन समयचेतना, माओवादी कार्यकर्ताहरुकाे विचार, मानसिकता र सँघर्ष, समाज वा सर्वसाधारणकाे मनाेदशा, शाही नेपाली सेनाकाे मानसिकता र आतंक, मानिसहरुबाट मानवता नै खाेसेर उनीहरुलाई अमानवीय बन्न बाध्य बनाउने तत्कालीन समयकाे सकसपूर्ण अवस्था…यी सबै कुराकाे यथार्थपरक चित्रण गरेकाे छ।
‘तान्द्राे’ ले एकातिर माओवादी र शाही सेनाकाे बाह्य द्वन्द्वलाई दर्शाएकाे छ भने अर्काेतिर यसकाे प्रमुख पात्र ( गँगाबहादुर लामा) काे अन्तरिक वा मानसिक द्वन्द्वलाई पनि दर्शाएकाे छ। व्यक्तिको सबैभन्दा ठूलाे लडाइँ त आफैसँग हुन्छ। ऊ आफैभित्र आफ्नाे सबैभन्दा ठूलाे लडाइँ लडिरहेको हुन्छ।
यस फिल्मकाे प्रमुख पात्र लामा सुरुदेखि नै मानसिक द्वन्द्वमा देखिन्छन्। उनी भाैतिक रुपमा त आन्दोलनमा छन्, तर उनमा आन्दोलनका नेताहरु आफुहरुकाे आन्दोलनप्रति इमानदार पाे नहुने हाे कि, उनीहरु पछि गएर बेइमान पाे हुने हुन् भन्ने चिन्ता वा आशंका देखिन्छ। जुन आशंका आजकाे बिन्दुमा माओवादी नेताहरुलाई हेर्दा खेरि निराधार थियाे भन्न सकिन्न।
गाेली लागेर बारीमा लडेपछि र मृत्यु कुर्दै बस्नुपरेपछि त झन् उनीभित्रकाे मानसिक द्वन्द्व सघन र तीब्र हुन्छ। उनकाे मनभित्र अनेक कुराहरु खेल्न थल्छन्। त्यसबेलाकाे उनकाे आन्तरिक द्वन्द्वकाे चित्रण गजब लाग्छ।
‘तान्द्राे’ ले माओवादी कार्यकर्ताहरुकाे सँघर्षकाे सानाे चित्रण मात्र गरेकाे छ। तर त्याे सानाे चित्रण माओवादी कार्यकर्ताहरु सँघर्ष र मनाेदशालाई बुझाउन काफी छ। याे सानाे चित्रणबाटै फिल्मले याे गणतान्त्रिक व्यवस्थालाई ल्याउन कति सँघर्ष गर्नुपरेकाे थियाे भन्ने कुरालाई बुझाउँछ। याे गणतान्त्रिक व्यवस्था त्यसै आएकाे हाेइन। कति मानिसहरुकाे रगत-पसिना लगानी भएकाे छ याे व्यवस्थालाई ल्याउन। कति मानिसले ज्यान दिएका छन् याे व्यवस्था ल्याउनका लागि। कतिलाई मृत्युले नजिकबाट छाेएर निस्केकाे छ।
‘ल अब चाँहि मरियाे, अब बचिन्न’ भन्ने मृत्युकाे बाेध, ‘अहिले मरिने हाे कि भरै मरिने हाे’ भन्ने त्रासमा बाँच्नुपर्दा, मृत्युलाई नजिकैबाट महसुस गर्दाकाे अनुभूति याे फिल्मका पात्रहरुले हामीलाई गराउँछन्। कमरेड दाेर्जे मारिएकाे र निशा कहालिएर राेएकाे दृष्य हृदयविदारक लाग्छ।
अनि, फिल्म हेरिसकेपछि के अहिलेकाे याे बेथिति, याे बिसँगति, याे ईमान, आदर्श र नैतिकतालाई गुमाएर सत्ताकाे काखमा नेताहरुले गरिरहेकाे लुटुपुटु अनि व्यवस्था बदलेर पनि जनताकाे अवस्था बदल्न बाँकी रहेकाे यथार्थ (स्वयं नेताहरुले उद्घाेष गरेकाे) लाई देख्दा के त्यत्राे सँघर्ष र बलिदानी यतिकै लागि गरिएकाे थियाे त? के त्यत्रा मानिसहरु यतिकै लागि मरेका थिए त? त्यत्राे मानिसहरुले यतिकै लागि आफ्नाे सुन्दर सपना, याैवनकाल, भविष्यनिर्माण गर्ने जीवनकाे अमूल्य समय, आफ्नाे मेहनत, ऊर्जा, रगत र पसिना आन्दोलनमा समर्पण गरेका थिए त? भन्ने प्रश्न जबर्जस्त रुपमा उठ्छ।
‘तान्द्राे’ ले हाम्रा नेताहरुलाई, माओवादी आन्दोलनका नेताहरुलाई मात्र हाेइन, सत्तामा बसेर देश चलाइरहेका नेताहरुलाई पनि हामी कहाँ चुक्याैं? आमजनताका अपेक्षा के थिए र हामी कुन बाटाेमा हिँडिरहेका छाैं? भन्ने बारेमा आत्मसमीक्षा गर्न प्रेरित गर्छ। हिजाेकाे सँघर्ष कस्ताे थियाे र आजकाे वर्तमान कस्ताे छ? यसबारे एकपटक घाेत्लिन बाध्य गर्छ।
त्यसाे त ‘तान्द्राे’ ले धेरै कडा यथार्थलाई देखाएकाे छैन। जनयुद्धको ‘महागाथा’ मा ‘तान्द्राे’ ले देखाएकाे घटना एकदमै सानाे ‘भाेल्युम’ भएकाे घटनामात्र हाे तर पनि याे घटनाले इतिहास र वर्तमानलाई एकपटक एउटै तर्कप्रणालीमा राखेर साेच्न लगाउँछ। जनयुद्धकाे हार्डकाेर घटना, सँघर्ष वा लडाइँहरुलाई लिएर फिल्महरु बन्न त बाँकी नै छ। (पछि गएर बन्लान्। आशा गराैं।) ‘तान्द्राे’ ले यसकाे सुरुवात गरेकाे छ। याे राम्राे कुरा हाे।
‘तान्द्राे’ मा अधिकाँश रँगमञ्चका कलाकारहरु छन्। कसैले राम्राे, कसैले ठीकै र कसैले ओभरएक्टिङ गरेका छन्। ‘तान्द्राे’ का कलाकारहरुमा दर्शकहरुमाझ परिचित अनुहार भनेकाे सायद बुद्धि तामाङ र दयाहाङ राई मात्र हाेलान्। दयाहाङ राई यस फिल्ममा गंगा बहादुर लामाकाे केन्द्रीय भूमिकामा देखा परेका छन्। उनले याे आइसाेलेटेट क्यारेक्टरलाई निकै राम्राेसँग निभाएका छन्।
नेपाली सिनेमामा प्राय: यथार्थपरक फिल्महरु बन्दैनन्। तर पछिल्लो समयमा भने प्रशस्त रुपमा यस्ता फिल्महरु बन्न थालेका छन्। याे राम्राे कुरा हाे। ‘तान्द्राे’ पनि यस्तै एउटा फिल्म हाे। ‘तान्द्राे’ जस्ता फिल्महरु अझ ‘डेप्थ’ मा बन्नुपर्छ/बनाइनुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले, यसपटक निर्माता सतिश कुमार गाैतम र निर्दैशक साम्तेन भुटियाकाे याे प्रयास सराहनीय छ।