‘मुख़बिर- द स्टाेरी अफ अ स्पाई’ मुख़बिर अर्थात् सुराकीकाे कथा भन्ने सिरिज हाे। ‘मुख़बिर’ अर्थात् सुराकीकाे कथालाई यति डिटेलमा यसअघि कुनै पनि फिल्म अथवा सिरिजमा सम्भवतः देखाइएकाे थिएन। त्यसैले, ‘मुख़बिर’ हेर्दा नयाँपन त महसुस हुन्छ नै, ‘मुख़बिर’ अर्थात् सुराकीहरुकाे जीवन र कामबारे पनि आधारभूत जानकारी प्राप्त हुन्छ।
कुनै पनि देशकाे सीमा, सैन्य पाेजिशन, रणनीति, कुटनीति र सार्वभाैमसत्तालाई मजबूत बनाउन पर्दापछाडि रहेर भूमिका निभाउने वा याेगदान गर्ने सुराकीहरुकाे याेगदानलाई पनि जनताले ‘recognize’ गर्नुपर्छ जसरी नेता, मन्त्री, सैनिक वा ब्युराेक्रेट्सहरुका भूमिकालाई ‘recognize’ गरिन्छ। सुराकीहरुकाे महत्व पनि यिनीहरुकाे भन्दा कति पनि कम हुँदैन। सुराकीहरुकाे भूमिकालाई कसैगरि पनि यिनीहरुकाे भन्दा कम आँक्न मिल्दैन।
ती सुराकीहरु नै हुन्, जाे आफ्नाे ज्यान जाेखिममा राखेर दुश्मन देशमा गएर आफ्नाे देशकाे लागि जासुसी गर्छन्, अनेक प्रयत्न र मेहनत गरेर त्यस देशकाे सरकार र सुरक्षा तथा इंटेलिजेन्ससँग सम्बन्धित निकायहरुका महत्त्वपूर्ण सुचनाहरु सँकलन गर्छन् र आफ्नाे देशकाे इंटेलिजेन्सलाई पठाउँछन्। उनीहरुले पठाएका सुचनाहरुकाे गुणवत्ताले नै युद्ध वा कुटनीतिमा कुनै पनि देशकाे पल्लालाई भारी बनाउँछ।
सुराकीहरु कुनै पनि देशका ‘unsung heros’ हुन् जाे गुमनाम रहेर आफ्नाे देशकाे सुरक्षाकाे लागि याेगदान गर्छन्। तर उनीहरुकाे नाम कतै पनि आउँदैन। काम भइसकेपछि उनीहरुलाई मर्नकाे लागि छाडिदिइन्छ। उनीहरु कामकाे बीचमै पक्राऊ परे उनीहरुलाई चिन्न अस्वीकार गरिन्छ। अनि पक्राऊ परे वा दुश्मनकाे फेला परेमा त दर्दनाक माैत मर्छन् वा मारिन्छन्। यत्राे हुँदा पनि देशमा उनीहरुकाे याेगदानबारे कसैले थाहा पाउँदैनन्। उनीहरुलाई जल, थल र वायु सेनाका जवानहरुलाई जसरी पदक तथा पुरस्कारहरु दिइन्दैन।
बडाे दु:खलाग्दाे र जाेखिमपूर्ण हुन्छ सुराकीहरुकाे जिन्दगी। तर पनि उनीहरु आफ्नाे जिन्दगीलाई दाऊमा राखेर तलवारकाे धारमा हिँड्छन्, देशकाे लागि झुन्डिएको तलवारमुनि आफ्नाे ज्यान राखेर काम गर्छन् जुन तलवार कुनै पनि बेला माथिबाट खसेर उनीहरुलाई काट्न सक्छ। यसाे गर्नुकाे पछाडि उनीहरुका आफ्नै बाध्यताहरु हुन सक्लान्, तर सबैभन्दा ठूलाे बाध्यता हुन्छ, देशकाे नागरिक भएकाे नाताले, देशप्रतिकाे आफ्नाे कर्तव्यलाई पूरा गर्नु। देशकाे ऋणी भएकाेले देशकाे ऋण चुकाउनु।
‘मुख़बिर’ मा यही सबथाेक देखाइएकाे छ। ‘मुख़बिर’ मुख्यतः एक यस्ताे भारतीय युवक (जसलाई हर्फ़न बुख़ारी नाम दिइएकाे छ) काे कथा हाे जाे भारत सरकारकाे इंटेलिजेन्स एजेन्सीकाे लागि मुख़बिर (सुराकी) बनेर जासुसी गर्न पाकिस्तान जान्छन्। पाकिस्तानमा कुनै अन्जान परिवारकाे सदस्य बनेर उनीहरुकाे घरमा बस्छन् र जासुसी गर्न थाल्छन्। उनी आफ्नाे आवश्यकताअनुरुप त्यहाँका मानिसहरुसँग सम्बन्ध गाँस्दै जान्छन् (अनि ताेड्दै पनि जान्छन्)। यसक्रममा बेगम अनार (जाे एक गायिका र पाकिस्तानकाे सेनाप्रमुखकाे निकट हुन्छिन्) र ज़रीना (जाे एक रिपाेर्टर हुन्छिन्) सँग उनी ‘इंटिमेट’ पनि हुन्छन्। अनि, सेनाका एक प्रभावशाली अफिसर ब्रिगेडियर हबिबुल्लाहसँग पनि सम्बन्ध जाेड्छन्।
त्यसपछिकाे कथा राेचक ढँगले अघि बढ्छ। घटनाक्रमहरु राेचक ढँगले विकसित हुँदै जान्छन्। के नायक आफ्नाे उद्देश्यमा सफल हुन्छन् त? के उनी आफ्नाे भूमिकामा खराे उत्रन्छन् त? जासुसी पनि युद्धकै एउटा रुप हाे र उनी यस युद्धका सिपाही हुन्। यस युद्धमा उनले के कस्ताे परिस्थितिहरुबाट गुज्रिनुपर्छ? के कस्ता कार्यहरु गर्न बाध्य हुनुपर्छ? के बाट के बन्नुपर्छ? यी सबै कुरा त्यसपछिकाे घटनाक्रमले बताउँछ।
हुन त ‘मुख़बिर’ काे कथा अचाकली नयाँ भने हाेइन। अनि हिन्दी सिनेमाहरुमा यसअघि पनि मुख़बिरहरु (सुराकीहरु) नदेखिएका हाेइनन्। तर उनीहरु सा-साना भूमिकाहरुमात्र देखिन्थे जसलाई दर्शकहरु छिट्टै बिर्सिन्थे। आमिर खानकाे सुपरहिट फिल्म ‘सरफराेश’ (१९९९) काे फट्का नामक पात्र याद छ तपाईंलाई? ‘अब तक छप्पन’ (२००४) काे विनाेद र पप्पु नामक पात्रहरु नि? पक्कै पनि याद छैन हाेला। के गर्ने त्यसबेला मुख़बिर पात्रहरु यति गाैण हुने गर्थे कि उनीहरु दर्शकहरुकाे ‘नाेटिस’ मै आउँदैनथे। नाेटिसमा आए पनि दर्शकहरुले उनीहरुलाई फिल्म हेरिसकेपछि बिर्सन्थे, किनभने उनीहरुकाे भूमिका नै यति छाेटाे हुन्थ्याे।
‘तिरँगा’ (१९९३) फिल्ममा त मुख़बिरलाई अत्यन्त हास्यास्पद रुपमा देखाइएकाे थियाे। यस फिल्ममा एकजना ‘ख़बरीलाल’ नामक मुख़बिर पात्र हुन्छ जाे रेडियाेमा समाचार वाचन गर्ने शैलीमा आफ्नाे अधिकारीहरुलाई सूचना दिने गर्छ र अन्त्यमा फाेनमा आफ्नाे अधिकारीलाई सूचना दिदै गर्दा मारिन्छ।
त्यसअघि त हिन्दी फिल्महरुमा त ‘मुख़बिर’हरु नै हुँदैनथे। बरु जासुस (डिटेक्टिभ) वा जेम्स बाेण्ड मार्काका एजेन्टहरु हुन्थे। जितेन्द्र, फिराेज खान र मिथुन चक्रवर्तीहरु सस्ता एक्शन फिल्महरुमा यस्ता जासुस वा एजेन्ट बनेर देखा पर्ने गर्थे।
केही बर्षअघि मेघना गुलज़ारकाे एउटा फिल्म आयाे ‘राज़ी’ (२०१८), जसमा आलिया भट्ट प्राेटागाेनिस्ट थिईन् र उनी यस फिल्ममा मुख़बिर बनेकी थिईन् जाे भारतकाे इंटेलिजेन्स एजेन्सी (RAW) काे लागि सुराकी गर्न पाकिस्तानकाे उच्च सैन्य अधिकृतकाे घरमा बुहारी बनेर जान्छिन्। (‘राज़ी’ सत्तरीकाे दशककाे काे कालखण्डमा ‘बेस्ड’ थियाे जतिबेला ‘RAW’ काे गठन भइसकेको थियाे। तर याे सिरिज ‘मुख़बिर- द स्टाेरी अफ अ स्पाई’ मध्य साठीकाे दशककाे कालखण्डमा ‘बेस्ड’ छ जतिबेला ‘RAW’ काे गठन भइसकेको थिएन।)
तर ‘राज़ी’ भन्दा पनि एक दशक अगाडि, सन् २००८ मा एउटा फिल्म आएकाे थियाे ‘मुख़बिर’। मेराे विचारमा याे पहिलाे फिल्म थियाे जसले एक मुख़बिर पात्रलाई केन्द्रमा राखेर उसकाे भूमिका, काम र जिन्दगीलाई पहिलाेपटक एउटा सिङ्गाे फिल्ममा ‘एक्सपाेज’ गरेकाे थियाे। याे फिल्म ‘मुख़बिर’ एक यस्ताे युवाकाे बारेमा थियाे जाे पुलिस डिपार्टमेन्टका लागि आतंकवादीहरुकाे दुनियाँमा पसेर तिनीहरुकाे भित्री सुचनाहरु निकाल्ने र पुलिसलाई पठाउने काम गर्छ। मुख़बिरबारे यतिकाे डिटेलमा यसअघि कुनै पनि फिल्मले देखाएकाे थिएन।
त्यसकाे चाैध बर्षपछि अहिले त्यही नाममा याे बेवसिरिज आएकाे छ, ‘मुख़बिर-द स्टाेरी अफ अ स्पाई’ (२०२२). याे सिरिजले पनि मुख़बिरकै कथा बताउँछ, तर यसपटक मुख़बिर पुलिसकाे नभएर इंटेलिजेन्स विभागकाे छ र ऊ पुलिसकाे लागि आतंकवादीकाे सुराकी हाेइन, बरु इंटेलिजेन्सकाे लागि पाकिस्तानमा गएर त्यहाँकाे सैन्य अधिकृतहरुकाे सुराकी गर्छ। याे सिरिज हेरिरहन्दा मलाई सन् २००८ काे फिल्म ‘मुख़बिर’ देखि लिएर सन् २०१८ काे फिल्म ‘राज़ी’ सम्मकाे याद आयाे। तिनका दृष्यहरु दिमागमा घुमिरहे।
सँक्षेपमा भन्नुपर्दा, ‘मुख़बिर’ का कथाहरु यसअघि नभनिएका हाेइनन्, तर proper ढँगले, proper story & characteristion का साथ भनिएकाे थिएन। ‘मुख़बिर’ (२००८) र ‘राज़ी'(२०१८) मुख़बिरका कथा भन्ने, मुख़बिरलाई नै केन्द्रमा राखेर बनाइएका proper मुख़बिर ‘बेस्ड’ फिल्महरु थिए। याे सिरिज ‘मुख़बिर-द स्टाेरी अफ अ स्पाई’ ले यही धारलाई अघि बढाउँदै मुख़बिरकाे कथालाई बिस्तारमा ‘एक्सप्लाेर’ गर्छ। यसमार्फत् उनकाे जिन्दगीकाे हार्डशिपहरुलाई ‘एक्सपाेज’ गर्छ।
(भर्खरैमात्र यही विधामा बनेकाे एकअर्काे वेबसिरिज ‘क्याट’ पनि रिलिज भएकाे छ। याे वेबसिरिज चाहिँ पुलिसकाे एक यस्ताे मुख़बिरकाे बारेमा छ जाे पुलिसकाे नेतृत्वकाे आदेशमा सत्तारुढ दल सँरक्षित अपराधी ड्रग्स काराेबारीहरुलाई समाप्त पार्न परिचालित हुन्छ र उनीहरुकाे दुनियाँकाे हिस्सा बनेर त्याे सबथाेक गर्छ जुन एउटा मुख़बिरले गर्नुपर्छ।)
‘मुख़बिर’ काे लामाे पटकथामा मुख़बिरका कार्यशैली (उनीहरु कसरी चल्छन्, कसरी काम गर्छन् आदि कुराहरु) लाई समेटिएकाे छ। इंटेलिजेन्स आफैमा एउटा सिस्टम हाे। याे सिस्टम कसरी चल्छ? यसले कसरी काम गर्छ, यस कुराकाे चित्रण याे सिरिजमा गरिएकाे पाइन्छ।
‘मुख़बिर’ काे कथा भारतकाे इंटेलिजेन्स ब्युराेकाे ज्वाेइंट डाइरेक्टर कृष्ण धरकाे उपन्यास, ‘मिशन टु पाकिस्तान: एन इंटेलिजेन्स इन पाकिस्तान’ बाट प्रेरित छ। जसलाई सन् १९६५ काे भारत र पाकिस्तानका बीचमा कश्मीरलाई लिएर तानातान वा ‘काेल्ड वार’ चलिरहेकाे पृष्ठभूमिमा रचिएकाे छ। भारत र पाकिस्तानकाे ‘काेल्ड वार’ का बीचमा मुख़बिरहरुकाे परिचालन र उनीहरुकाे उत्ताेलककाे भूमिका, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, त्यसबेलाकाे पाकिस्तानभित्रकाे माहाैल, सरकारप्रमुख र सेनाप्रमुखबीचकाे अन्तर्द्वन्द्वदेखि लिएर मुख़बिरकाे प्रेम कथा, उनकाे हर्ष-बिस्मात्, उनका भावना र सँवेगहरु समेतलाई यसमा चित्रण गरिएकाे छ।
यसका संवादहरु पनि राम्रा छन् जसले कथासँग राम्ररी जाेड्छन् र कथालाई राम्राेसँग बुझाउँछन्। ‘देव साहब की पिक्चर नहीं चली।आइन्दा पिक्चर का प्रिन्ट भेजने से पहले थाेड़ा साेच लिजिएगा। ऐसा ना हाे की थिएटर ही बंद करना पड़े’, ‘ये देव साहब इतनी आसानी से फ्लप हाेने वाली चीज़ नहीं है। थाेड़ा सब्र कराें, इस पिक्चर का चलना बहुत ज़रुरी है’, ‘ये जाे नाेट दिया है ना तुमने नकली है’, तेरा नाेट असली निकला पर चाेसे नकली ले लिए तुने’ यस्तै द्धिअर्थी संवादहरु बहुतै घतलाग्छन्। सँवादहरुमा गालीहरुकाे खासै धेरै उपयाेग गरिएका छैनन्, जुन राम्राे कुरा हाे।
विगतका फिल्महरुमा जसरी एक-अर्काकाे देशलाई गाली गरेकाे देखाइएकाे छैन। (बिशष गरेर भारतीय पक्षद्वारा विगतका देशभक्तिका फिल्महरुमा पाकिस्तानलाई जसरी गाली गरिन्थ्याे, त्यसरी गाली गरिएकाे छैन।)। साथै Nationalism काे नाममा Jingoism प्रदर्शन गर्नबाट पनि बचेका छन् यसका निर्दैशक। यसमा पाकिस्तानविरुद्ध एउटा मात्र सँवाद भारतकाे इंटेलिजेन्सकाे प्रमुख बनेका अदिल हुसैनले बाेलेका छन्, ‘कस्ताे देश हाे पाकिस्तान? सेनामा अपराधीहरुलाई प्रयाेग गर्छन्।’ यति नै बाेलिएकाे छ।
‘मुख़बिर’ काे एउटा उल्लेखनीय पक्ष ‘क्यारेक्टराइजेशन’ हाे। यसमा साना-ठूला सबै पात्रहरु राम्राेसँग चित्रित भएका छन्। ‘मुख़बिर’ काे केन्द्रमा हर्फ़न बुख़ारी भएता पनि याे हर्फ़नकाे मात्र कथा हाेइन। हर्फ़नकाे यात्राकाे क्रममा कथामा अरु पनि थुप्रै पात्र देखा पर्छन्। मूर्तिदेखि लिएर आलमग़िरसम्म, रामकिशाेर नेगीदेखि लिएर जनरल आग़ा खानसम्म। कर्णल ज़ैदीदेखि लिएर ब्रिगेडियर हबिबुल्लाहसम्म। बेगम अनारदेखि लिएर सफ़िनासम्म। हरेक पात्रकाे छुट्टै कथा छ, छुट्टै आकाँक्षा र महत्वाकांक्षाहरु छन्।
हर्फ़न र उनकाे साथी आलमग़िरकाे पात्रले मुख़बिरहरुकाे जीवनलाई प्रतिनिधित्व गर्छ। ज़मिलाले पाकिस्तानकाे नयाँ पुस्ता जाे आधुनिक र स्वतन्त्रताप्रेमी छन्, र जाे सत्ताका सामु बाेल्न डराउँदैनन्, लाई दर्शाउँछिन्। मूर्ति, बर्मन, रामकिशाेरजस्ता पात्रहरुले राज्यसत्ताकाे उपल्लाे तहमा बसेर सबथाेक कन्ट्राेल गर्ने र डिसिजन लिने ब्युराेक्रेट्सहरुलाई प्रतिबिम्बित गर्छन्।
नागरिक सरकार वा सरकारप्रमुख कमजाेर भएकाे माैका छाेपेर वा उसलाई कमजाेर पारेर सत्ता हत्याउने धुनमा हरदम रहनु अनि सरकारलाई कमजाेर पार्न तिकडमहरु गर्नु पाकिस्तानी जनरलहरुकाे आम र साझा चरित्र हाे। सत्ता र शक्तिकाे भाेका पाकिस्तानी जनरलहरुकाे यस चरित्रको सटिक प्रतिनिधित्व मेजर जनरल आग़ा खानकाे चरित्रले गर्दछ। याे पात्र पाकिस्तानकै रियल लाइफ क्यारेक्टर मेजर जनरल याह्या खानमाथि आधारित छ।
कर्णल ज़ैदी र ब्रिगेडियर हबिबुल्लाहकाे पात्र पनि राेचक लाग्छ। ज़ैदी कम बाेल्छ, धीमा बाेल्छ तर सटिक बाेल्छ। उसले काेड भाषामा बाेलेकाे ‘तेराे नाेट नक्कली परेछ’ जस्ता डायलगहरु सुन्दा घतलाग्छ। अर्काेतर्फ, हबिबुल्लाहले नेतृत्वकाे वरिपरि रहेर नेतृत्वकाे चाप्लुसी गर्दै आफ्नाे दुनाे साेझाउने स्वार्थी पात्रकाे भूमिकालाई जीवन्त बनाउँछ।
मलाई यसमा हर्फ़नकाे काका भनिएकाे पात्र पनि यादगार लाग्याे, जाे अझै पनि मनमा आफ्नाे दाइप्रति राेष लिएर बाँचिरहेकाे छ र त्याे राेष आफ्नाे भतिजसामु पाेख्न खाेजिरहेकाे छ। ऊ आफ्नाे भतिजसामु कठाेर देखिन खाेज्छ, उसलाई सिधै अपनाउँदैन तर भित्रभित्रै भने बिस्तारै उसकाे मन आफ्नाे भतिजकाे लागि पग्लिरहेकाे हुन्छ। उसकाे मुहारमा एकसाथ घृणा र प्रेममिश्रित भाव देख्न सकिन्छ। उसकाे मनभित्र कति अन्तर्द्धन्द्ध चलिरहेको हाेला, त्याे अनुमान मात्र गर्न सकिन्छ।
हर्फ़नका काका-काकी निसन्तान हुन्छन्। हर्फ़नकी काकीकाे मनभित्र सन्तान नभएकाेमा गहिराे पीडा हुन्छ। एकदिन हर्फ़न आफ्नाे काका-काकीलाई शरणार्थी शिविरमा भएकी एकजना बालिकाकाे बारेमा बताउँछ। उनी असाध्यै राम्री, मायालाग्दी भएकाेले उनलाई ‘गाेद लिएर’ पाल्न भन्छ। हर्फ़न जानीजानी उनीहरुकाे दुखिरहेकाे मनलाई चलाइदिन्छ जसबाट उनकी काकी अत्यन्त द्रवित बन्न पुग्छिन् तर पतिलाई केही पनि भन्न सक्दिनन्। याे दृष्य अविस्मरणीय लाग्छ।
पछि थाहा हुन्छ, हर्फ़नकी काकीले हर्फ़नकाे काकालाई साे बालिकालाई ‘गाेद लिन’ का लागि मनाइन्। सिरिजकाे अन्त्यतिर, हर्फ़नकाे काका-काकीले साे बच्चीलाई गाेद लिएकाे, काकाले बच्चीलाई बाेकिरहेकाे, अनि काका-काकी घर फर्किरहेकाे देखाइन्छ। उक्त दृष्यमा उनीहरु एकदमै खुशी देखिन्छन्। यसरी, हर्फ़न उनीहरुलाई खुशी दिएर जान्छन्।
हर्फ़नकाे साथी आलमग़िरकाे भूमिका छाेटाे छ तर अत्यन्त महत्वपूर्ण छ। ऊ पनि एक मुख़बिर हाे र हर्फ़नभन्दा सिनियर हाे। उसकाे पृष्ठभूमि वा ब्याकस्टाेरीलाई सटिक ढँगले सिरिजकाे अन्त्यतिर बताइएकाे छ। उसकाे छाेटाे भूमिकामा देशप्रति सटिक समर्पण र बलिदानी झल्किन्छ। पछि हर्फनले उसकाे अभिभावकसँग भेटेर उसकाे सन्देश सुनाएकाे दृष्य हृदयस्पर्शी लाग्छ।
यसप्रकार, हर्फ़नकाे केन्द्रिय पात्रदेखि लिएर उसकाे दादी, काका, काकीका साना-साना पात्रहरुसम्म सबै स्मरणीय लाग्छन्। यसका हरेक पात्रले छाप छाेड्छन्, जसमध्ये व्यक्तिगत रुपमा मलाई बेग़म अनारकाे पात्र बिशेष रुपमा प्रिय लाग्छ। याे पात्रमा असीम पीडा छ। बेग़म अनार एक एक्ली पात्र हुन् जसकाे जीवन रित्ताे लाग्छ, भित्रबाट खाली, रङविहिन, उमङ्गविहिन र प्रेमविहिन लाग्छ। उनकाे करिअर पनि ओरालाे लागिरहेको हुन्छ।
उनकाे जीवनमा भएका पुरुषहरु उनलाई प्रेम गर्दैनन्, केवल उनकाे उपयाेग गर्छन्, उनकाे शाेषण र दाेहन गर्छन्। उनकाे जीवनमा दुइजना पुरुष हुन्छन्। मेजर जनरल आग़ा खान र हर्फ़न। पहिलाे पुरुष मेजर जनरल आग़ा खानले त उनलाई कहिल्यै प्रेम गरेकाे हुँदैन। उसकाे लागि त उनी केवल उसकाे हवस् मेटाउने साधनमात्र हुन्छिन्। जसलाई आग़ा खानलेे उपयाेग गरेर फाल्छ।
उनी पनि मेजर जनरल आग़ा खानबाट वा आग़ा खानसँग प्रेम महसुस गर्दिनन्। तर जनरलसँग सम्बन्धमा रहनु उनकाे आवश्यकता र बाध्यता दुवै हुन्छ। किनभने, करिअर टिकाउनका लागि, आफ्नाे सुरक्षाकाे लागि उनलाई पनि जनरलजस्ताे सत्ताधारी/शक्तिशालीकाे छत्रछाया चाहिएकाे हुन्छ।
तर जनरलसँग सम्बन्धमा हुदाँ पनि उनी खुशी देखिन्नन्। उनी भित्रबाट रित्ताे हुन्छिन्। यस्ताेमा हर्फ़न उनकाे जीवनमा आउँछ जाे सँग उनी प्रेम गर्न थाल्छिन्। उनलाई यस्ताे लाग्छ, हर्फ़न पनि उनलाई प्रेम गर्छ जबकि हर्फ़न सुनियोजित रुपमा जनरल
आग़ा खानकाे नजिक जान र सूचनाहरु सँकलन गर्नका लागि मात्र उनकाे नजिक आएकाे हुन्छ र उनीसँग प्रेमकाे नाटक गरिरहेकाे हुन्छ। तर वास्तवमा उनलाई प्रेम गरिरहेकाे हुँदैन।
वास्तवमा यी दुवै पुरुषहरु उनलाई उपयाेग मात्र गरिरहेका हुन्छन्। एउटाले उनकाे शारीरिक शाेषण गर्छ भने अर्काेले भावनात्मक शाेषण। दुवैले उनलाई शाेषण मात्र गरिरहेका हुन्छन्। यसरी, ‘मेल एक्सप्लाेइटेशन’ काे ‘कल्ट’ नमूना बनेर देखा पर्छिन् बेग़म अनार। याे पक्षले पनि उनकाे चरित्रलाई झनै मार्मिक बनाउँछ। उनीप्रति दर्शकहरूकाे सहानुभूतिलाई झनै बढाउँछ।
बेग़म अनारकाे रुपरङले पनि उनकाे चरित्रलाई ‘जस्टिफाई’ गरिरहेकाे हुन्छ। उनकाे मुहारमा उदासीहरुका बादलहरु देखिन्छन्। उनका आँखाहरु हेर्दा यस्ताे लाग्छ, उनी त्यसकाे पछाडि भावनाकाे आँधीलाई लुकाएर राखेकी छन्, थामेर राखेकी छन्। बाहिरकाे शृङ्गारले भित्रकाे पीडालाई लुकाइरहेकी हुन्छिन् बेग़म अनार।
बेग़म अनारमा अदा छ, नज़ाकत छ। उनकाे बाेलीमा नूर टप्किन्छ। उनकाे गायनमा पीडा झल्किन्छ। अनि, जब उनी आफ्नाे प्रेमी हर्फ़नकाे अगाडि टुट्छिन्, तब कति टिटलाग्दी देखिन्छन् उनी। उफ। उनीप्रति दया लागेर आउँछ।
अझ उनकाे अन्त्यकाे त कुरै नगराैं, अत्यन्त हृदयविदारक र
दर्दनाक लाग्छ उनकाे अन्त्य। आफुले प्रेम गरेकाे व्यक्तिबाटै आफ्नाे निर्मम अन्त्य, किन उनकाे प्रेमी उनीमाथि यति क्रूर भएकाे हाे भन्ने कुरा पनि थाहा नपाई निर्ममतापूर्वक मारिन्छन्प उनी, अनि पलपल तडपिन्दै, असीम पीडा सहन्दै, सनैसनै मर्छिन् उनी। उनकाे यस्ताे दर्दनाक अन्त्यले मनलाई कुडाइँदिन्छ।
उनकाे पात्रकाे सुखद अन्त्य पनि गर्न सकिन्थ्याे, बरु त्यसै गरेकाे भए राम्रो हुन्थ्याे। एउटा दृष्यमा मेजर जनरल आग़ा खान ‘उनलाई रावलपिन्डीमा ‘सिफ्ट’ गर्ने, अनि त्यही आफ्नाे आफन्तहरुसँग बस्नु’ भन्छ। बरु उनलाई रावलपिन्डीमै गएर बसेकाे, धुमधुम्ती एक्लाे जीवन बिताइरहेकाे देखाएकाे भए हुन्थ्याे, आफ्नाे प्रेमीलाई सम्झन्दै, आफ्नाे प्रेमीलाई पर्खिन्दै…ज़मिलाले जस्तै।
त्यसाे गरेकाे भए उनले यति निर्मम मृत्यु भाेग्नुपर्दैनथ्याे। मर्नेबेला आफुले माया गरेकाे व्यक्तिकाे, आफ्नाे प्रेमीकाे क्रूरतम रुप पनि देख्नुपर्दैनथ्याे। अनि अनुत्तरित मर्नुपर्दैनथ्याे। (यस्ताे मृत्युमा त उनकाे आत्माले शान्ति पाउँदैन, उनकाे आत्मा भाैतारिरहन्छ भन्ने गरिन्छ।) नायक पनि यतिसाह्राे क्रूर र पाश्विक देखिनबाट बच्थे। आत्मग्लानीबाट बच्थे। उनकाे पनि छवि जाेगिन्थ्याे।
बेग़म अनारकाे याे पात्रमा ‘भूमिका’ फिल्ममा स्मिता पाटिलले प्ले गरेकी हँसा वाडकरकाे क्यारेक्टरदेखि लिएर मीना कुमारीकाे रियल लाइफ क्यारेक्टरसम्मकाे समिश्रण पाउन सकिन्छ। एक अनाैठाे आकर्षण छ याे पात्रमा, जसले मलाई उनीतर्फ तानेर लैजान्छ। बर्खा बिष्टले बेग़म अनारकाे याे पात्रलाई मनैदेखि जिएकी छिन्। सिरिज हेरिसकेपछि पनि स्मृतिमा लामाे समयसम्म रहिरहन्छ याे पात्र। जसमा बर्खाकाे अभिनय लाजवाब छ।
ज़ैन खान दुर्रानी मुख़बिर हर्फ़न बुख़ारीकाे केन्द्रीय भूमिकामा उपयुक्त लाग्छन्। यसअघि ‘कुछ भीगे अल्फ़ाज़’ मा रेडियाेमा कथा र सायरीहरु सुनाउँदै एक भावुक र संवेदनशील कवि तथा रेडियाे जकीकाे रुपमा दर्शकहरुलाई प्रभावित गरेका खानले यस सिरिजमा भने मुख़बिरकाे रुपमा दर्शकहरुलाई प्रभावित गरेका छन्। कदकाठी, मुहार, हाँसाे अनि संवाद बाेल्ने शैलीले ज़ैन खान दुर्रानी कताकता मलाई सुशांत सिहँ राजपूतकाे झझल्काे दिने गर्छन्। यस सिरिजका नायिका-फाेटाेग्राफर ज़मिलाकाे भूमिकामा ज़ाेया अफ़्राेज़ सुहाएकी छन्। हर्फ़नकाे सहकर्मी आलमग़िरकाे भूमिकामा सत्यदीप मिश्रा अब्बल लाग्छन्।
एस के मूर्तिकाे भूमिकामा प्रकाश राज र मेजर जनरल आग़ा खानकाे भूमिकामा हर्ष छाँयाले प्राण भरेका छन्। दुवैले रियल लाइफ बेस्ड क्यारेक्टरलाई प्ले गरेका छन्। प्रकाश राजकाे एस.के.मूर्ति नामक पात्र के.एस.एन नायर र हर्ष छाँयाकाे मेजर जनरल आग़ा खान नामक पात्र मेजर जनरल याह्या खानमाथि आधारित छ।
सहायक कलाकारहरुले पनि फिल्ममा उत्कृष्ट अभिनय गरेका छन्। कर्णल ज़ैदीकाे भूमिकामा दिलिप शंकर, ब्रिगेडियर हबिबुल्लाहकाे भूमिकामा अतुल कुमारदेखि लिएर हर्फ़नकाे काका र काकीकाे भूमिका निभाउने कलाकारहरु समेत जीवन्त लाग्छन्।
यसप्रकार, यस सिरिजमा ठूलादेखि लिएर साना भूमिकाहरु निभाउने कलाकारहरुसम्म सबैले स्तरीय काम गरेका छन्। जसले यस सिरिजलाई पर्फमेन्सकाे लेभलमा पनि स्तरीय बनाएकाे छ।
कमजाेरीहरुका कुरा गर्दा ‘मुख़बिर’ काे पटकथामा एकाध अमिल्दाे प्रसँग छन्। जस्तै, एउटा दृष्यमा कर्णल ज़ैदी ज़मिलालाई ‘हर्फ़नकाे बारेमा उनलाई जे जति जानकारी छ, आफुलाई बताउन’ भन्छन्।
पहिलाे कुरा त यसअघि कर्णल ज़ैदी आफैले नै हर्फ़नलाई इंटेराेगेट गरेर निर्दाेष पाएपछि छाेडिदिएकाे हुन्छ। यदि उसलाई हर्फ़न निर्दाेष भएकाे सुचना पत्यार लागेकाे थिएन भने ऊ हर्फ़नलाई रिमान्डमा लिएर थप इंटेराेगेट गर्न सक्थ्याे। आखिर हर्फ़नलाई खाेज्दै आउने त्यसबेला काेही पनि थिएन। तसर्थ, यसाे गर्न कर्णल ज़ैदीलाई कुनै बाधा पनि थिएन।
यसाे नगरे पनि यदि कर्णल ज़ैदीलाई अझै पनि हर्फ़नमाथि शंका थियाे, हर्फ़नमाथिबाट उसकाे शंकाकाे निवारण भइसकेको थिएन भने उसले हर्फ़नमाथि गुप्तचरहरुमार्फत् proper निगरानी राख्न सक्थ्याे। ज़मिलालाई धम्काउनुभन्दा याे तरिका कैयौं गुणा प्रभावकारी हुन्थ्याे। जसबाट उसकाे काम पनि बन्थ्याे र उसले कसैलाई धम्काउनु पनि पर्दैनथ्याे।
सबभन्दा ठूलाे कुरा त हर्फ़नले थाहा पाउने खतरा पनि हुँदैनथ्याे। ज़मिलालाई धम्क्याउँदा त ज़मिलाले हर्फ़न बताइहाल्छे नि। अनि, हर्फ़नले उसकाे नियत थाहा पाएपछि ऊ सतर्क भइहाल्छ नि। कर्णल ज़ैदीकाे याे कदम अपरिक्व र इंटेलिजेन्सकाे सकेसम्म गुप्त कारवाही गर्ने चरित्रकाे विपरीत देखिन्छ। याे इंटेलिजेन्सकाे चरित्र सुहाउँदो लाग्दैन।
‘मुख़बिर’ काे सबभन्दा कमजाेर पक्ष चाहिँ के हाे भने यसकाे पटकथा अलि बढी भाग्यवादी भएर लेखिएकाे छ। यसकाे नायकलाई हरेक समयमा भाग्यमानी देखाइएकाे छ। ऊ करिबकरिब बिना अवराेध वा कम अवराेध ‘फेस’ गरेर सजिलैसँग आफ्नाे लक्षित काम पूरा गर्छ। सजिलै आफ्नाे सबै काम फत्ते गर्छ, यस्ताे लाग्छ कि उसकाे विपरीत तत्व, शक्ति वा परिस्थिति अस्तित्ववान हुनु र नहुनुकाे खासै अर्थ छैन। नायकलाई यतिसाह्राे भाग्यमानी पनि देखाउनुहुदैन, हार्डशिप पनि चाहिन्छ नायकमा। स्क्रिप्ट लेख्दा, पात्रलाई ‘डेवलप’ गर्दा हार्डशिप र भाग्यबीच ‘ब्यालेन्स’ राख्नुपर्छ।
यसकाे नायकले हार्डशिप नगरि वा कम मेहनतमै चाहेकाे कुरा पाउनुले अल्छे लेखनको भाव आउँछ। सिनेमा लेखनकाे भाषामा यसलाई ‘Deus Ex Machina’ को प्रयोग गर्नु भनिन्छ जसकाे प्रयाेग विचार गरेर तर्कसँगत ढँगले, त्याे सीमासम्म मात्र प्रयाेग गर्नुपर्ने हुन्छ जुन सीमासम्म पात्र वा घटनाहरु विश्वासनीय लागुन्, इहलाैकिक लागुन्। विश्वासनीयताकाे सीमा नाघेर पात्रहरु इहलाैकिकबाट अलाैकिक लाग्न थाले, सुपरम्यान लाग्न थाले त्याे साधनले जवाफ दिन थाल्छ। यहाँ यस्तै भएकाे छ। यस सिरिजमा सुरुदेखि लिएर अन्त्यसम्मै मनपरि ढँगले ‘Deus Ex Machina’ काे प्रयाेग गरिएकाे पाइन्छ जसकाे कारण नायक बढी भाग्यमानी देखिएकाे छ। अनि, सिरिज बढी भाग्यवाद आधारित।
अब सँगीतकाे कुरा गर्छु। यस सिरिजकाे प्रायः सबै गीत राम्रा छन्। सामान्यतया बेव-सिरिजहरुका गीत-सँगीत फिल्महरुकाे जस्ताे खासै सुमधुर तथा कर्णप्रिय हुँदैनन्। तर यसकाे विपरीत ‘मुख़बिर’ का गीतहरु सबै कर्णप्रिय छन्। लामाे समयपछि एक यस्ताे सिरिज आएकाे छ जसकाे प्राय: सबै गीत कर्णप्रिय छन्। यसभन्दा पहिले एकबर्षअघि आएकाे सिरिज ‘१९६२–द वार इन द हिल्स’ (२०२१) का सबै गीत कर्णप्रिय थिए।