आज फेरि एकपटक ‘मुहाफ़िज़’ हेरेर अर्कै दुनियाँमा पुगे। भाेपालका पुराना गल्लीहरुमा। ती गल्लीहरुबाट गुज्रिन्दै जाँदा आउने एउटा पुरानाे मस्जिदकाे छेऊमा अवस्थित एउटा पुरानाे जीर्ण हवेलीमा अनि त्याे हवेलीकाे एउटा अँध्याराें काेठाभित्र जहाँकाे एउटा कुनाकाे एउटा खाटमा नूर साहब लडिरहेका छन्।
नूर साहब अर्थात् नूर शाहजहाँबादी। जाे कहिले आफ्नाे अतीतलाई सम्झेर भावनामा बहन्दै आफ्ना भावनाहरुलाई नज़्ममा उतार्छन्, त कहिले आफ्नाे काेठाकाे सानाे झ्यालबाट बाहिरकाे दुनियाँलाई चियाउँछन्। नूर साहबलाई आफुले पालेका परेवाहरु एकदमै प्रिय छन् जाे प्रेम र शान्तिका प्रतीक हुन् अनि स्वतन्त्रताका पनि। त्याे यसकारण किनभने नूर साहबकाे जिन्दगीमा यी चीजहरुकाे अभाव छ।
त्याे भाेपालकाे गल्ली, त्याे भाेपालकाे सडक-बजार, त्याे भाेपालकाे परिवेश, त्याे अखाड़ा र कुश्ती। त्याे नूर साहबकाे प्रिय रम, अब्बल नफ़ीस गाेश्त, उम्दा कश्मिरी ज़फरान र देहरादुनकाे चामलकाे बिरयानी। त्याे नूर साहबका ठूला-ठूला उदास आँखाहरु। त्याे उनकाे जर्जर हवेलीमा कृत्रिम मुशायरा। त्यहाँकाे उदास फ़िज़ा अनि एउटा कविकाे दुरावस्था। नूर साहबकाे बेनूर-बेरङ जिन्दगी, उनकाे भत्किएकाे मन र त्याे मनभित्र दबिएका उनका बेहिसाब नज़्महरु। उफ। छुट्टै कशिश छ याे फिल्ममा। एक छुट्टै खालकाे नाेस्टालिया गाँसिएकाे छ याे फिल्मसँग मेराे। लगाव छ मलाई याे फिल्मसँग अनि नूर शाहजहाँबादीकाे चरित्रसँग पनि। यही नूर शाहजहाँबादी उर्फ नूर साहब यस फिल्मकाे केन्द्रमा छन्। अनि उनकै वरिपरि याे फिल्मकाे कथा घुमेकाे छ।
फिल्मकाे आरम्भमै नूर साहबकाे दर्शन हुन्छ। उनी ओच्छ्यानमा ढल्किरहेका हुन्छन् र ढल्केरै आफ्नाे कलमबाट आफ्ना भावनाहरु कागजमा उतारिरहेका हुन्छन्। उनका औलाहरुका सहारा पाएर कलम कागजमा दाैडिन्छ र उनका भावनाहरुलाई एक नज़्म (कविता) काे रुपमा लिपिबद्ध गर्दै जान्छ,
आज इक़ हर्फ़ को फिर ढ़ूंढ़ता फिरता है ख़्याल
आज इक़ हर्फ़ को फिर ढ़ूंढ़ता फिरता है ख़्याल
मध-भरा हर्फ कोई, ज़हर भरा हर्फ़ कोई
दिलनशीं हर्फ़ कोई, क़हर भरा हर्फ़ कोई
आज इक़ हर्फ़ को फिर ढ़ूंढ़ता फिरता है ख़्याल
हर्फ़-ए-उल्फ़त कोई दिलदार-ए-नज़र हो जैसे
जिससे मिलती है नज़र बोसा-ए-लब की सूरत
इतना रौशन कि सारे-मौजा-ए-ज़र हो जैसे
सोहबत-ए-यार में आग़ाज़-ए-तरब़ की सूरत
हर्फ़-ए-उल्फ़त कोई शमशीर-ए-ग़जब हो जैसे
आज इक़ हर्फ़ को फिर ढ़ूंढ़ता फिरता है ख़्याल
यही हर्फ़काे बाटाे भएर म थाहा छैन कतिबेला नूरकाे अन्तर्मनकाे यात्रा गर्न पुगे। उनकाे मनभित्रका भावनाका गहिराईमा डुब्न पुगे। त्यहाँभित्र मैले देखे नूर (जाे डाँडापारिकाे जून भइसकेका छन्), काे मनभित्र रहेकाे नैराश्यता, उदासी, बेचैनी, सन्ताप, चिन्ता, विरह र पश्चताप। आफ्नाे वैभवशाली अतीतप्रति उनकाे माेह (नाेस्टाल्जिया)। वर्तमानकाे गुमनामी तथा एकान्तवास र परिवार, प्रशंसक लगायत सबैबाट प्राप्त उपेक्षा र अपमानद्वारा उत्पन्न नैराश्यता, उदासी, अवसाद, तिक्तता र विक्षिप्तता।
अनि, ती नैराश्यता, उदासी, अवसाद, तिक्तता र विक्षिप्तताकै बीच भविष्यप्रति थाेरै आशावाद पनि। पराजित मानसिकता र बिथाेलिएकाे मनसँगै मनलाई मलमपट्टी गर्ने थाेरै प्रयास पनि। झीनो आशाकाे किरण वा प्रकाश पनि।
यही प्रकाश त हाे जसले उनलाई भविष्यप्रति थाेरै भए पनि आशावादी बनाउँछ। ‘भविष्यकाे पुस्ताहरुका लागि आफ्नाे तर्फबाट केही याेगदान गरेर जाऔंं, उनीहरुलाई केही दिएर, आफ्नाे केही चिनाे छाेडेर जाऔंं’ भन्ने भावना मनभित्र जागृत गराउँछ। भविष्यकाे पुस्ताहरुका लागि उर्दुमा कविता लेखिछाेड्ने र आफ्नाे उक्त रचनालाई भविष्यकाे पुस्ताहरुका लागि सुरक्षित राखिदिने ‘मुहाफ़िज़’ काे खाेजी पनि गराउँछ।
उर्दुकाे कुनै समयका प्रख्यात कवि, तर अहिले बिर्सिइएका, गुमनाम भएका नूर। पत्नीद्वारा अपमानित नूर। अल्सरकाे राेगी, बिमार र जीर्ण नूर। बेकामे प्रशंसकहरुद्वारा घेरिएका वा आफ्नाे कदर गर्ने काेही नभएपछि उनीहरुबाट घेरिएर बस्न बाध्य भएका नूर। तर अझै मरेका छैनन् नूर। अझै पनि उम्दा लेख्न सक्छन् नूर। नूरभित्रकाे ‘नूर’ अझै पनि जिउँदै छ।
नूर ऊर्दु शायरीका धराेहर हुन्, हिजाेकाे ऊर्दुकाे वैभव र आजकाे ऊर्दुकाे दुरावस्थाकाे जिउँदाे प्रमाण हुन्। एक जिउँदाे इतिहास हून् नूर। नूरकाे पतन उनकाे मात्र पतन हैन, सिङ्गाे उर्दु भाषा (ज़ुबाँ), साहित्य ( नज़्म) र सँस्कृति (तहज़ीब) कै पतन हाे। याे एक सिङ्गाे सभ्यताकाे पतन हाे। नूर त एउटा बिम्ब मात्र हुन्। यस फिल्मले नूरलाई बिम्ब बनाएर उर्दु भाषा र साहित्यकाे दुरावस्थालाई पनि दर्शाउँछ।
यसरी जहाँ एकातिर नूरकाे फुङ्ग रङ्ग उडेकाे जीवन छ, रङ्ग खुइलिएकाे कुनै जर्जर हवेली झै, उनकाे आँखामा तैरिरहेकाे र टाढाटाढासम्म फैलिएकाे नैराश्यता छ, पतझडमा सबै पात झरेर नाँगेझार भएकाे रुखजस्तै उनकाे एकांकी जीवन छ, रस निचाेरिएर कागतीकाे खाेस्टाजस्तै भएकाे मन छ। सँसारकाे रङमञ्चमा फुङ्ग रङ्ग उडेकाे जीवन र उर्दुकाे बहिखातामा हाई काढिरहेका उदासीहरु छन् त्यही अर्काेतर्फ रङ्ग उडेकाे जीवनलाई जसाेतसाे घिसारिरहेकाे अर्काे पात्र छ, देवेन।
देवेन उर्दुकाे प्रेमी हाे। उर्दु उसकाे पहिलाे प्रेम हाे तर ऊ मिरपुरकाे कुनै कलेजमा हिन्दी पढाउँछ। जसकाे सहाराले ऊ आफ्नाे र आफ्नाे परिवारकाे जीविका चलाउँछ। हेर्नुहाेस् त, कस्ताे असङ्गति छ यहाँ। जुन काममा उसकाे मन बसेकाे छ, रस बसेकाे छ, त्याे काम उसले गर्न पाएकाे छैन। जुन काममा उसकाे मन नै छैन, त्याे काम उसले गर्नु परिरहेकाे छ। जिन्दगीकाे रेलगाडीलाई चलाउन ऊ आफ्नाे इच्छा-चाहनाहरुलाई काेइला बनाएर बालिरहेकाे छ।
माना के रंज-ओ-ग़म के फ़ासले हैं तेरे-मेरे दरमिया
पर आज भी कायम है_____तेरी ख़ैरियत की आरज़ू
उर्दु र देवेन बीचकाे सम्बन्ध पनि करिब-करिब यस्तै भएकाे छ। उर्दुसँग देवेनकाे ‘रंज-ओ-ग़म’ काे फ़ासला भएता पनि उर्दुकाे ‘खैरियत’ काे आरज़ू (इच्छा-चाहना) त अझै पनि उसमा छँदैछ।
अनि, याे देवेनकाे मात्र कथा हाेइन, याे हामीमध्ये धेरैजनाकाे कथा हाे। हामी धेरैजना यस्तै असँगतिपूर्ण जीवन बाँचिरहेका छाैं। हाम्रो रुचि, प्रेम, लगाव हुन्छ एउटामा। काम भने अर्कै, मन नपरेकाे गरिरहेका हुन्छाैं हामी। हाम्राे बाध्यता हुन्छ, परिबन्ध हुन्छन् र यस्तै यस्तै कुराहरुले हामीलाई बाँध्छन्। हामी परिस्थितिसँग, बाध्यतासँग सम्झाैता गर्छाैं अनि अन्य काम गरेर जिन्दगीलाई जसाेतसाे घिसारिरहन्छाैं। याे असँगति नै हाम्राे जिन्दगी बन्छ। हाम्राे जिन्दगी यही विराेधाभाषमा बित्ने गर्छ। हामीले चाहेकाे, प्रेम गरेकाे कुरा एउटा हुन्छ, तर हामी जिन्दगी बिताइरहेका हुन्छाैं अर्काेसँग जसप्रति हामीमा कुनै रुचि, प्रेम वा लगाव नै हुन्न। भनिन्छ, समयसँगै सबै थाेक बदलिन्छ…तर सायद केही पनि बदलिन्दैन। हामी नयाँ विकल्प खाेज्छाै जसमा आकर्षण कम हुन्छ। रस कम हुन्छ।
कहते हैं के वक़्त के साथ बहोत कुछ बदल जाता है पर शायद कुछ नहीं बदलता, हम नई माशूकाएं ढ़ूंढ लेते हैं जिनके नख़रे कम हाेते है !
जे हाेस्, देवेन पत्नी सरला र छाेरा मनुकाे ज़िम्मेवारी उठाउनका लागि एक प्राइवेट कलेजमा हिन्दी पढाउँछ। पत्नी र छाेरालाई दिनका लागि ऊ सँग समय हुँदैन। त्यसबाट समय बचाएर ऊ उर्दु भाषा-कवितालाई समय दिन चाहन्छ, नूर शाहजहाँबादीलाई समय दिन चाहन्छ, किनभने उर्दु उसकाे पहिलाे प्रेम हाे। उर्दुलाई समय दिनु, नूर शाहजहाँबादीलाई समय दिनुकाे अर्थ आफ्नाे प्रेमलाई, आफ्नाे प्यासनलाई जीवितै राख्नु पनि हाे।_
एकदिन देवेनलाई भेट्न भाेपाल, मिरपुरबाट उसकाे बाल्यकालकाे साथी मुराद बेग आउँछ जो कविताहरुलाई सँगालेर प्रकाशित गर्न र त्यसकाे लाभ र लुफ़्त दुवै उठाउन जान्दछ। यस अर्थमा ऊ कविताकाे व्यापारी हाे। साथै कवितालाई त्यसकाे कद्रदानहरु समक्ष पुर्याउने माध्यम पनि हाे मुराद। थाहा छैन, कति पत्रिका/अंकहरु उसले उर्दूमा प्रकाशित गर्याे, त्यसकाे कुनै हिसाब छैन। एक साहित्यिक पत्रिकाकाे प्रकाशक मुराद अब भने हरेश खान थालेको छ। किनभने अब साहित्य पढ्ने मानिसहरु रहेनन्, उर्दू पढ्ने पाठकहरु छैनन् अब। उर्दू भाषा मर्दै गइरहेको उसकाे अनुभव छ। देवेन कलेजमा हिन्दी पढाउँदै भए पनि समय निकालेर शाैखकै रुपमा सही, उर्दूमा कविताहरु लेखिरहेकाे छ। याे तेल सकेर निभ्न लागेकाे उर्दूकाे दियाेमा दुई-चार थाेपा तेल हालेर दियाेलाई बालिरहने उसकाे सत्प्रयास हाे।
सिगरेट आपसमा साझा गर्ने मित्रहरु हुन् देवेन र मुराद। यसले उनीहरुकाे मित्रता कति पुरानाे र घनिष्ट छ भन्ने प्रश्नकाे उत्तर दिन्छ। मुराद देवेनसँग नास्ता गरिरहन्दा नास्ताकाे टेबुलमै देवेनसमक्ष एउटा प्रस्ताव राख्छ। जिन्दगीका केही पाएका र गुमाएका आयामहरुलाई अनि देवेनकाे इच्छाहरुलाई आफ्नाे कारोबारकाे मुनाफासँग जोड्दै उसलाई भन्छ कि ऊ उसकाे म्यागजिनका लागि भाेपाल गएर नूर शाहजहाँबादीकाे अन्तर्वार्ता लिएर आउन्। (तथापि ऊ नूर साहबकाे बारेमा देवेनले लेखेकाे पुस्तक प्रकाशित गर्न भने मान्दैन किनभने पुस्तक आजकल कसैले पढ्दैन)। उनकाे जिन्दगीकाे हालातकाे बारेमा जानकारी लिएर आउन्।
देवेनकाे इच्छाहरुले एउटा उडान पाउँछ र ऊ उडान भर्न तयार हुन्छ। ऊ नूर शाहजहाँबादी (नूर साहब) काे अन्तर्वार्ताकाे लागि मुरादकाे चिट्ठी लिएर भाेपाल नूर साहबकाे निवासमा जान तयार हुन्छ। उसकाे मनमा उत्साह जाग्छ कि ‘पुस्तक न सही, रोज़गार-ए-इश्क़ न सही, कुनै सुन्दर साेचलाई साकार पारेर हेराैं।’ नूर शाहजहाँबादीलाई भेट्नु देवेनकाे लागि कुनै पीरलाई भेट्नुभन्दा कम थिएन।
तर त्यहाँ पुगेर नूर शाहजहाँबादीकाे असलियतलाई आफ्नै आँखाले देखेपछि भने उसकाे सारा उत्साह धरासायी हुन्छ। नूर साहबकाे हालत त बहुतै बिजाेग हुन्छ। नूर बिमार शरीर लिएर ओच्छ्यानमा लडिरहेका हुन्छन्। नूर समक्ष जब उनी ‘आफु दिल्लीबाट नूर साहबकाे लागि मुराद बेगकाे चिट्ठी लिएर आएकाे, मुराद बेगले यसपटक उर्दू कविता (नज़्म) माथि एउटा बिशेषांक निकाल्न लागेकाे र त्यसकाे लागि उहाँलाई अन्तर्वार्ताकाे लागि आग्रह गरेकाे’ कुरा बताउँछ, तब नूर व्यङ्गात्मक भाषामा भन्छन्, ‘उर्दू कविता रे? जब उर्दू भाषा नै बाँकी रहेन, समाप्त भइसक्याे भने कहाँबाट उर्दू कविताकाे कुरा आयाे? उर्दू मरिसक्याे, समाप्त भइसक्याे। अब त तिमी केवल उर्दूकाे लाश देखिरहेकाे छाैं। यी यहाँ (आफुलाई देखाउँदै) लडिरहेकाे छ। दफ़्न हुने प्रतीक्षामा।’
नूर साहबकाे स्वास्थ्यस्थिति ठीक छैन। उनकाे घरकाे माहाैल पनि ठीक छैन। उनी दुनियाँबाट ‘आइसाेलेटेट’ भएर जिइरहेका छन्। उनका मित्रहरु वा प्रशंसकहरुकाे नाममा एक हुल हुल्लडबाजहरु छन् जाे उनकाे अगाडि कविताप्रेमी भएकाे स्वाङ गर्छन् तर कविता ढँग पुर्याएर पढ्न समेत जान्दैनन्। तिनीहरु वास्तवमा नूरकहाँ सित्तैमा रक्सी र बिरयानी खान आउने गर्छन्। नूर साहबकी जेठी पत्नी सफिया बेग़म मुखाले छिन् तर केही हदसम्म नूर साहबकाे ख्याल राख्छिन् र उनकी कान्छी पत्नी इम्तियाज़ बेग़म कपटी छिन्। उनका जेठी र कान्छी पत्नीहरु आपसमा मिल्दैनन्।
नूर साहब उर्दू साहित्यकाे उधाेपतन भइरहेकाे हेर्न सकिरहेका छैनन्। याे कुरा उनलाई अत्यन्त खट्किरहेकाे छ। (स्कुल-कलेजमा उर्दू पढाएर, उर्दूमा पाठ्यपुस्तक छापेर उर्दूकाे सँरक्षण नहुने उनकाे बुझाई छ। उनी यस्ताे विचार राख्ने देवेनमाथि व्यङ्ग गर्दै भन्छन्, ‘उहाँ महाशयलाई हेर्नुहाेस्। उहाँ उर्दूमा पाठ्यपुस्तक छापेर उर्दूलाई सँरक्षण गर्ने रे?’)
तर उनी यसलाई राेक्न सक्दैनन्। याे परिस्थितिलाई (बदल्न) केही गर्न सक्दैनन्। उनी परिस्थितिकाे सामु लाचार छन्। उनकाे आफ्नै अवस्था चिन्ताजनक छ। सत्य के हाे भने उर्दू र नूर दुवैकाे सूर्य अस्त हुने क्रममा छ। उनकाे जीवनभरिकाे मेहनत, आजीवन उनले गरेकाे काेशिश अहिले याे बिन्दुमा आएर शून्य भएकाे छ। त्यसैले उनी बहुतै उदास छन्। तर केही पनि गर्न सकिरहेका छैनन्। अनि यतिमा चित्त बुझाइरहेका छन कि उनलाई चाहनेहरु हरेक साँझ मदिरासँगै उनकाे नज़्ममाथि ‘इर्शाद, वाह, वाह, बहुत ख़ूब’ भनिरहेका छन्। चाहे त्याे नक्कली नै सही।
एक दिन नूर साहब देवेनलाई ‘इम्तियाज़ बेग़म आफ्ना नज़्महरु सुनाउन गइरहेको र उनलाई पनि नज़्महरु लेखाउन मन लागेकाे’ भन्दै देवेनलाई टेलिग्राम पठाएर बाेलाउँछन्। देवेन आईपुग्दा महफ़िल जमिसकेकाे हुन्छ। इम्तियाज़ बेग़म आफ्ना नज़्महरु गाएर सुनाइरहेकी हुन्छिन्। सबैजना बसेर उनलाई सुनिरहेका छन्। नूर साहबका निकम्मा साथीहरु पनि अनि नूर साहब पनि एक ठाउँमा बसेर उनलाई सुनिरहेका हुन्छन्। देवेन पनि चुपचाप नूर साहबकाे छेऊमा आएर बस्छ र चुपचाप इम्तियाज़ बेग़मकाे नज़्म सुन्न थाल्छ।
ए जज़्बा-ए-दिल गर मैं चाहूं
हर चीज़ मुक़ाबिल आ जाए,
मंज़िल के लिए दो बाम चलूं
और सामने मंज़िल आ जाए
ए जज़्बा-ए-दिल…
महफ़िलमा इम्तियाज़ बेग़मकाे खूब वाहवाही हुन्छ। काेही उनलाई फूल दिन्छन् भने काेही उनीमाथि पैसा लुटाउँछन्। अचानक इम्तियाज़ बेग़म ‘अब म तपाईंहरुलाई मेराे नयाँ नज़्म सुनाउँछु’ भन्दै नूर साहबकाे नज़्म गाएर सुनाउन थाल्छिन्,
राज़-ए-उल्फ़त छुपा के देख लिया
दिल बहाेत कुछ जला के देख लिया
और क्या देखने काे बाँकी है
आप से दिल लगा के देख लिया
याे देखेर देवेन आश्चर्यचकित हुन्छ। ऊ यसबारे नूरकाे ध्यानाकर्षण गराउँछ। नूरले यसअघि इम्तियाज़ बेग़ममाथि पैसाकाे वर्षा हुँदा नै अपमानित महसुस गरिसकेका हुन्छन्। याे वाकयापछि उनी महफ़िलबाट उठ्छन् र बाहिर निस्कन्छन्। देवेन उनलाई सहारा दिँदै उनकाे काेठामा पुर्याउँछ। काेठामा पुगेर नूर देवेनसामु खुल्छन्, उसलाई इम्तियाज़ बेगमकाे बारेमा बताउँछन्।
भन्छन्, ‘अब याे अवस्था आएकाे छ। पहिले उनी यस्ती थिइनन्। सुरुसुरुमा जब उनी याे घरमा आएकी थिईन्, एक कुनामा बसेर मेराे रचना सुन्थिन्। मैले थाहा पाए कि उनी आफै पनि शायरी लेख्छिन्। मैले लाख अनुराेध गर्दा पनि उनले आफ्नाे रचना देखाउन मानिनन्। भन्न थालिन्, ‘मलाई लाज लाग्छ। म मात्र तपाईंलाई सुन्न चाहन्छु। तपाईंबाट सिक्न चाहन्छु। बिस्तारै बिस्तारै उनकाे रङ सामुन्ने आउन थाल्याे। जब मेरा साथीहरु मेराे रचना सुन्न यहाँ आउँथे तब उनलाई असह्य हुन्थ्याे। अब त म सँग दिनकाे लागि के नै बाँकी छ र? म त आफै एक भिखारी भएकाे छु। आफ्नाे सबथाेक गुमाइसकेकाे छु।’
नूर साहब थप भन्छन्, ‘सैयाैं कविताहरु छन् मेराे दिमागमा जुन कागजमा लेखिएका छैनन्। म ती सबै कविताहरु लेखाउन सक्छु, यदि सही मान्छे पाए भने। तर इम्तियाज़लाई हैन। काेही यस्ताे व्यक्ति भेटियाेस्, जाे मेराे नजिक बसुन् र आरामसँग मलाई सुनुन्। यदि यस्ताे काेही व्यक्ति भए उसलाई सुनाउनका लागि म सँग धेरै थाेक छ।’
नूरलाई एकजना सहयाेगीकाे खाँचाे छ। कसैले लेख्न सहयाेग गरे उसलाई अझै पनि म उम्दा कविताहरु रच्न सक्छु भन्ने विश्वास मनमा छ। ऊ देवेनसामु आफ्नाे मनकाे भावना पाेख्छ पनि। तर के देवेन उनले खाेजेकाे सहयाेगी बन्न सक्छ त?
नूर र देवेन बातचित गरिरहेकै बेला इम्तियाज़ बेग़म काेठामा प्रवेश गर्छिन् अनि आज आफुले कमाएकाे रुपैयाँ-पैसा नूरकाे सामु फ्याँकिदिदै नूरलाई काेस्न थाल्छिन्। नूरकाे अपमान गर्छिन्। नूर सिद्धिसकेकाे तर आफ्नाे प्रतिभा अझै सही सलामत रहेकाे भन्दै धमास लाउँछिन्, उसकाे सफलता देखेर नूर जलेकाे र मुशायरालाई बीचैमा छाडि उठेर हिँडेकाे, उनकाे अपमान गरेकाे भन्दै राेष प्रकट गर्छिन्। नूरकी जेठी पत्नी सफिया बेग़म उनलाई जबर्जस्ती तानेर नूरकाे काेठादेखि बाहिर निकाल्छिन्। नूर हत्केलाले मुख छाेपेर रुन्छन्।
नूर चाहन्छन् एकजना सहयाेगी, एक जना मुहाफ़िज़ अनि देवेनकाे चाहना पनि यही त हाे। देवेनलाई पनि त नूर साहबकाे अन्तर्वार्ता रेकर्ड गर्नु छ। जसरी पनि। कम मशक्कत त गरेकाे छैन देवेनले याे अन्तर्वार्ता रेकर्ड गर्न। कम पापड त बेलेकाे छैन। सिद्दिक़ी साहबकाे मदत लिएर कलेजबाट फन्ड हासिल गरेकाे छ। सेकेन्ड हेन्ड नै सही, टेपरेकर्डर खरीद गरेकाे छ। टेक्निसियनकाे व्यवस्था गरेकाे छ। आफ्नाे परिवारलाई, आफ्नाे छाेरा र पत्नीलाई उपेक्षा गरेर भाेपाल आएकाे छ। यहाँसम्म की नूर साहबकी कान्छी पत्नी इम्तियाज़ बेग़मकाे दुर्व्यवहार पनि झेलेकाे छ अनि उनकी जेठी पत्नी सफिया बेग़मकाे नाजायज माँग पनि पूरा गरेकाे छ।
कहाँ से आई निग़ारे-सबा किधर को गई
अभी चिराग़े-सरे-रह को कुछ ख़बर ही नहीं
अभी गरानी-ए-शब में कमी नहीं आई
निज़ाते-दीदा-ओ-दिल की घड़ी नहीं आई
चले चलो कि वो मंज़िल अभी नहीं आई
देवेनलाई नूर साहबकाे अन्तर्वार्ता लिन शान्त-एकान्तस्थल चाहिएकाे छ, यस्ताे एकान्त जहाँ केवल कवि नूरलाई सुन्न सकियाेस्। जहाँकाे एकान्त वातावरणमा नूर आफुलाई खुलेर पाेख्न सकुन्। आफ्ना भावनाहरुलाई पाेख्न सकुन्, आफुभित्रकाे कविलाई ‘एक्सप्लाेर’ गर्न सकुन्, जहाँ उनलाई डिस्टर्ब गर्ने काेही नहाेस्। जहाँ उनी आफ्नाे कविकाे वास्तविक स्वरुपमा प्रकट हुन सकुन्। यस्ताे वातावरण चाहिएकाे छ देवेनलाई जहाँ नूर र उसकाे बीचमा काेही नहुन्, केवल उनका भावनाहरु मात्र हुन्। तर नूर साहबकाे घरमा यस्ताे वातावरण पटक्कै छैन। त्यसैले, नूर साहबकाे घरमा अन्तर्वार्ता रेकर्ड गर्ने सम्भावना पनि छैन।
यस्ताेमा नूर साहबकी जेठी पत्नी सफिया बेग़म देवेनलाई मदत गर्न अघि सर्छिन्। तर बदलामा पैसाकाे माँग गर्छिन्। उनी पैसा लिएर नूर साहबकाे अन्तरवार्ताकाे लागि अलि परतिरकाे काेठीमा एउटा काेठाकाे व्यवस्था गरिदिन्छिन्। उनलाई ‘नूर साहबकाे रेकर्डिङ प्रकाशित भएमा उनी फेरि लाइमलाइटमा आउनेछन् र उनले गुमनाम हुनुपर्दैन’ भन्ने कुरासँग कुनै मतलब छैन। केवल पैसासँग मतलब छ उनलाई। देवेन आफ्नाे तामझाम लिएर काेठीमा जान्छ। नूरकी जेठी पत्नी सफिया बेग़म उसकाे पछि-पछि नूर साहबलाई पनि काेठीमा पठाउँछिन्। अब देवेन नूर साहबकाे अन्तर्वार्ता लिने तयारी गरिरहेकै हुन्छ कि नूर साहब बिरयानी र रमकाे माँग गर्छन्।
अनि, फेरि भर्खरै अन्तर्वार्ता सुरु गरेकाे हुन्छ कि नूर साहबका निकम्मा प्रशंसकहरु त्यहाँ पनि आइपुगिहाल्छन्। अनि त देवेनले उनीहरुका लागि पनि बिरयानी र रमकाे व्यवस्था नगरि धरै पाउँदैन। उसकाे थप खर्च हुन्छ। पैसा सकिन्छ तब ऊ मुरादलाई फाेन गरेर मुरादसँग पनि पैसा माग्छ।
देवेन नूर साहबकाे अन्तर्वार्ता रेकर्ड गर्ने प्रयत्न गर्छ तर नूर साहबले बाेल्दा वा कविता पढ्दा नूर साहबका हुल्लडबाज प्रशँसकहरुले बीचबीचमा डिस्टर्ब गरिरहन्छन्। राम्राे कविता पढ्दा वा अन्तर्वार्ता दिदाँ अनाडी ट्याक्निसियन उनकाे आवाज रेकर्ड नै गर्न बिर्सन्छ। त्यसमाथि काेठीमा हुने हाेहल्ला र झगडाहरुले रेकर्डिङमा खलल पुर्याइरहन्छ।
तर पनि दु:खसुख नूर साहबकाे अन्तर्वार्ता रेकर्ड गरिरहेकाे देवेनकाे सेकेन्ड हेन्ड टेपरेकर्डरले नूर साहबकाे वजनदार आवाजकाे भार थाम्न सक्दैन र बिग्रिन्छ। क्यासेटकाे रिल पनि सबै टेपरेकर्डरले तानेर बिगारिदिन्छ। बाँकी कसर उसकाे अनाडी छात्रहरुले रिल दुरुस्त गरिदिने भन्दै क्यासेट लगेर झनै बिगारिदिएर पूरा गरिदिन्छ। यसरी देवेनकाे अन्तर्वार्ताकाे सत्यानाश हुन्छ। नूर साहबले त पहिलेदेखि नै याे टेपरेकर्डरमाथि विश्वास गरिरहेका थिएनन्। आशंका व्यक्त गरिरहेका थिए। ‘मेशिन विश्वासिलाे हुँदैन’ भनिरहेका थिए। उनले भनेका थिए, ‘याे सब नयाँ-नयाँ आविष्कारहरु हुन्। बिजलीकाे पँखा, टेपरेकर्डर, वीसीआर, टिवी। मान्छेले आफ्नै घाँटीकाे लागि बनाएका फन्दाहरु हुन् यी। याे टेक्नाेलाेजीबाट मान्छे स्वतन्त्र हुँदैन, बरु अझ पराधीन हुन्छ। अझ जकडिन्छ। यिनीहरु आफैमा समस्याहरु हुन्। यिनीहरुसँग बाँधिएपछि मान्छेले कसरी छुटकारा पाउन सक्छ? कसरी स्वतन्त्र हुन्छ? कसरी उडान भर्छ?’
उसकाे बिग्रेकाे टेप सुनेर सिद्धिकी साहब रिसाउँछ। ‘कलेजकाे त्यत्राे बजेट खर्च गरेर याे बकवास ल्याएर आयाै? अब बाेर्ड मिटिङमा बाेर्ड कमिटीले टेप सुन्ने इच्छा गरे उनीहरुमाथि के असर हुनेछ?’ भन्छ। उता मुराद ‘याे टेपबाट अब मेराे म्यागजिनकाे लागि कामलाग्ने जे जति सामग्री निकाल्न सकिन्छ, निकाल’ भन्छ। देवेन ‘याे त कलेजलाई दिनुपर्छ, कलेजले त्यत्राे खर्च गरेकाे छ। टेप किन्न पैसा कलेजले नै दिएकाे हाे’ भन्दा मुराद ‘के मैले चै खर्च गरेकाे छुईन? मैले चै तिमीलाई पैसा दिएकाे छुईन?’ भन्छ।
यसरी तनावमाथि तनाव खप्टिन्छ देवेनमाथि। उता इम्तियाज़ बेग़म देवेनमाथि अर्काे तनाव थप्छिन्। उसलाई बाेलाएर ‘म पनि नूर साहब जतिकै प्रतिभाशाली कवियत्री हुँ। मेराे आवाज रेकर्ड गर र बेच। तिमी मालामाल हुन्छौं’ भन्छिन्। देवेनले ‘तपाईँ र नूर साहबकाे तुलना हुन सक्दैन। नूर साहब त महान् हुनुहुन्छ। तपाईं त नूर साहबकाे रचना चाेरेर सुनाउनुहुन्छ। तपाईं नूर साहब जस्ताे कहिल्यै लेख्न सक्नुहुन्न’ भन्छ।
इम्तियाज़ बेग़म आहत हुँदै भन्छिन्, ‘तिमी त म जस्ताे एक तवायफ़ले कविताहरु रच्न सक्छ भन्ने कुरा नै मान्दैनौं हैन? तिम्राे विचारमा एक महिला नाँच्ने-गाउने, मुजरा गर्ने तवायफ़ त हुन सक्छ तर साेचविचार गर्ने, कवितामा आफ्नाे भावनाहरु अभिव्यक्त गर्ने कवियत्री हुन सक्दैन। हैन त? किन सक्दैन? कविता मर्दहरुकाे जागिर हैन। म पनि लेख्न सक्छु। बुझ्याैं?’
इम्तियाज़ बेग़म ‘कवियत्री हुँ’ भन्दै नूर साहबका रचनाहरु चाेर्छिन् र आफ्नाे रचना भन्दै अरुलाई सुनाउँछिन्। उनी प्रतिभाहिन छिन्, उनमा कविता लेख्ने क्षमता छैन तर लेख्न सक्छु भन्दै ढिँपी गर्छिन्, जबकि जति प्रयास गर्दा पनि उनी कविता लेख्न सक्दिनन्। याे उनकाे सत्य हाे। तर उनी आफ्नाे सत्यलाई स्वीकार्न मान्दिनन्। उनी ‘आफुमा कविता लेख्ने प्रतिभा नभएकाे सत्यलाई स्वीकार्न चाहन्दिनन्। उनी भ्रममा बाँच्छिन्। अनि अरुले उनकाे भ्रमलाई नपत्याइदिदाँ रुष्ट हुन्छिन्। अरुले उनलाई ऐना देखाइदिए विचलित हुन्छिन्। आफुलाई पितृसत्ताकाे भिक्टिमकाे रुपमा प्रस्तुत गर्छिन्। अनि, ‘कविता मर्दहरुकाे मात्र जागिर हैन’ भन्दै डायलग मार्छिन्। आफुलाई सही साबित गर्न छद्म नारीवादकाे सहारा लिन्छिन्। तर प्रतिभा नभएकाे कारण उनकाे याे नारीवादकाे मुकुण्डाेले काम गर्दैन। उनकाे याे मुकुण्डाे तुरुन्तै उनकाे अनुहारबाट झरिहाल्छ। उनी कवियत्री नभएर एक अटेन्सनसिकरमात्र हुन् भनेर देवेनले उनलाई बाेध गराएरै छाड्छ।
नूर साहबकाे अन्तर्वार्ता प्रभावी ढँगले रेकर्ड हुन नसक्दा सबैकाे नाेक्सान हुन्छ। त्यसपछि, देवेन फेरि नूर साहबलाई भेटन जान्छ। (त्यतिबेला नै देवेनलाई इम्तियाज़ बेग़मले बाेलाएर आफ्नाे आवाज र रचनाहरु रेकर्ड गर्न भन्छिन्। अनि देवेनले बाध्य भएर उनलाई ऐनामा उनकाे अनुहार देखाउँछ।) नूर साहब देवेनलाई आफ्नाे पिरकाे पवित्रस्थलमा लिएर जान्छन्। उता आहत इम्तियाज़ बेग़म नूर साहबका सबै परेवाहरुलाई उडाइदिन्छन्। नूर साहबकाे सुकूनलाई उडाइदिन्छन्।
यार लाैट आएंगे, दिल ठहर जाएगा
ग़म ना कर, ग़म ना कर
दिल ठहर आएगा, दर्द थम जाएगा
ग़म ना कर, ग़म ना कर
अब्र खुल जाएगा, रात ढल जाएगी
रुत बदल जाएगी
ग़म ना कर, ग़म ना कर
ज़ख्म भर जाएगा, दिन निकल आएगा
ग़म ना कर, ग़म ना कर
भनिन्छ, महान् व्यक्तिहरुलाई आफ्नाे मृत्युकाे पूर्वाभाष हुन्छ। महान् कवि नूर शाहजहाँबादीलाई पनि आफ्नाे मृत्युकाे पूर्वाभाष भइसकेको हुन्छ। नूर साहबकाे अन्तिम समय आइसकेको हुन्छ। त्याे उनलाई थाहा भइसकेको हुन्छ। त्यसैले उनी अन्तिम यात्रामा निस्किनुअघि मक्का-मदिनाकाे यात्रामा निस्कन्छन्। यात्रामा निस्किनुअघि उनी आफ्नाेे अन्तिम रचनाकाे पाण्डुलिपि देवेनलाई हुलाकबाट पठाइदिन्छन् र पत्रमार्फत् भन्छन्, ‘यसलाई सँरक्षित र प्रकाशित गर्नु।’ नूर साहब देवेनलाई आफ्नाे रचनाकाे मुहाफ़िज़ बनाउँछन् तर अब नूर साहब र उनकाे रचनाकाे लागि कसैसँग पनि समय हुँदैन। देवेन एक्लाे पर्छ।
कलाकाे दुई वटा उमेर हुन्छ…एउटा त्याे जाे जिइसकिएकाे छ, अर्काे त्याे जाे जिउन बाँकी छ। एउटा इतिहास, अर्काे वर्तमान। भारतका प्रसिद्ध कवि नूर शाहजहांबादीले कलालाई जिइसकेका छन् भने देवेनले अझै जिउन बाँकी छ। नूर कलाकाे इतिहास हुन्, भने देवेन वर्तमान। देवेनले अझै धेरैथाेक देख्नै बाँकी छ। कलाले पनि उत्तराधिकार खाेज्छ, मुहाफ़िज़ खाेज्छ। नूरले देवेनलाई मुहाफ़िज़ राेज्याे। कलाकाे पारखीले कलाकारलाई खाेज्छ, जसरी देवेनले नूरलाई खाेज्याे अनि कलाकारले मुहाफ़िज़लाई खाेज्छ जसरी नूरले देवेनलाई खाेज्याे।
त्यसपछि, नूर साहबसँग देवेनकाे भेट उनकाे अन्तिम यात्रामा मात्र हुन्छ। त्याे पनि टाढाबाट। देवेन टाढैबाट आफ्नाे कवि नूर साहबकाे अन्तिम दर्शन गर्छ। देवेनकाे हातमा नूर साहबकाे अन्तिम रचना हुन्छ। जसले उसलाई ऊ नूरका मुहाफ़िज़ भएकाे याद दिलाइरहन्छ। याे अन्तिमकाे दृष्य मार्मिक लाग्छ। घरकाे मुनि नूरकाे शव उठाएर मलामीहरु निस्किरहेकाे र घरमाथि इम्तियाज़ बेग़म राेइरहेकाे दृष्य पनि मार्मिक लाग्छ।
आज बाज़ार में पा-ब-जौलाँ चलो
आज बाज़ार में पा-ब-जौलाँ चलो
चश्म-ए-नम जान-ए-शोरीदा काफ़ी नहीं
तोहमत-ए-इश्क़-ए-पोशीदा काफ़ी नहीं
आज बाज़ार में पा-ब-जौलाँ चलो
आज बाज़ार में पा-ब-जौलाँ चलो
दस्त-अफ़्शाँ चलो मस्त-ओ-रक़्साँ चलो
ख़ाक-बर-सर चलो ख़ूँ-ब-दामाँ चलो
राह तकता है सब शहर-ए-जानाँ चलो
आज बाज़ार में पा-ब-जौलाँ चलो
आज बाज़ार में पा-ब-जौलाँ चलो
‘मुहाफ़िज़’ ले मानिसकाे एकाँकीपनाकाे कथा भन्छ, उसकाे उपेक्षाकाे कथा भन्छ। एक जमानाकाे प्रख्यात कवि अहिले उपेक्षा र ओझेलमा बाँच्न बाध्य छन्। यस फिल्मले उनकाे भावनाहरुलाई प्रकट गर्छ। उनकाे अन्तर्मनकाे यात्रा गराउँछ। कुनै जमानाकाे प्रख्यात कवि (जाे आज डाँडापारिकाे जून भइसकेका छन्) आज गुमनाम भएर बाँचिरहन्दा उसमा के कस्ता सँवेगहरु उत्पन्न हुन्छन्, के कस्ता भावनाहरु उत्पन्न हुन्छन्, ती कुराहरुलाई अनि उनीभित्रकाे नाेस्टनल्जिया, यी सबै कुरालाई अभिरेखन गर्छ। याे फिल्म मार्मिक तथा बिषादपूर्ण पनि लाग्छ। भाेपालकाे नूरकाे वरिपरिकाे परिवेशले पनि मनलाई एक तमासकाे बनाइदिन्छ।
‘मुहाफ़िज़’ काे चरित्रहरुकाे कुरा गर्दा यसका प्रमुख चरित्रहरु हुन् नूर र देवेन। उनीहरु दुवैकाे चरित्रका आ-आफ्नै विशेषताहरु छन्। यी दुवै चरित्र यादगार छन्। तर मलाई उनीहरुका अतिरिक्त यसका महिला चरित्रहरु पनि उत्तिकै यादगार लाग्छन्। बडी बेग़म (सफिया बेग़म), इम्तियाज़ बेग़म, सरला, काे चरित्र पनि। यहाँसम्मकी बड़ी बेग़मकी छेऊमा बसेकी बुढी बेग़म पनि।
नूरकी पहिलाे पत्नी सफिया बेग़म अझै पनि हवेलीकाे हर्ताकर्ता हुन् तर उनलाई आफुले नूर साहबलाई उत्तराधिकारी दिन नसकेकाे टेस छ। आफुले उत्तराधिकारी दिन नसकेकै कारण नूरले अर्काे विवाह गरेर आफुमाथि साैता थाेपेकाे उनकाे बुझाई छ। त्यसैले उनी आफ्नी साैता इम्तियाज़ बेग़मलाई मन पराउँदिनन् तर नूर साहबकाे ख्याल भने राख्छिन्। थाेरैबहुत नूर साहबकाे ख्याल नूरकी पत्नीहरुमध्ये यदि कसैले राख्छन् भने त्याे उनले नै राख्छिन्। हवेलीकाे दैनन्दिन कामहरु सम्हालिरहेकी हुन्छिन् उनी, कश्मीरी ज़फरान हालेर पति नूरलाई मनपर्ने बिशेष प्रकारकाे दाल बनाइरहेकी हुन्छिन् उनी। तर उनकाे मनभित्र भने एउटा गहिराे टिस छँदैछ।
इम्तियाज़ बेग़मकाे चरित्र नकारात्मक लाग्छ। उनी छुच्ची छिन्, कठाेर छिन्, ईर्ष्यालु छिन्। उनी नूर साहबलाई भेट्न आउने मानिसहरुसँग चिढ्छिन्। उनीहरुसँग अभद्र व्यवहार गर्छिन्। उनी देवेनकाे सामु नूर साहबकाे अपमान गर्छिन्। प्रतिभाहीन भएता पनि आफुलाई नूर साहबकै हाराहारीमा राख्न खाेज्छिन्। आफू पनि नूर साहब जतिकै महान् कवियत्री भएकाे दाबी गर्छिन्। यसकाे लागि उनी छद्म नारीवादकाे सहारा पनि लिन्छिन्।
याद गर्नुहाेस् त त्याे दृष्य जहाँ देवेन उनलाई नूर साहबकाे रचना चाेरी गर्ने गरेकाे, नूर साहबकाे रचनालाई दुनियाँकाे सामु आफ्नाे भन्ने गरेकाे र उनी कहिल्यै नूर साहब जतिकाे प्रतिभावान् कवि हुन नसक्ने, नूर साहबकाे एक एक हरफमा उनकाे माैलिक छाप हुने, त्यस्ताे हरफ अरु कसैले रच्न नसक्ने बताउँछन्, तब उनी कठाेर मुखाकृति बनाएर भन्छिन्, ‘…अनि विशेष गरेर एउटी महिलाले। अनि, त्याे पनि मैले। याे त तिमी मान्नै सक्दैनौं कि एउटी महिला पनि कविता रच्न सक्छिन्। तिम्राे विचारमा एउटी महिला नाँच्ने-गाउने, मुज़रा गर्ने तवायफ़ त हुन सक्छिन् तर एउटा साेच्ने-विचार गर्ने, कवितामा भावनाहरु व्यक्त गर्ने कवियत्री हुन सक्दिनन्। त्यसैले त मेराे कविता तिमीलाई नूर साहबकाे जस्ताे लाग्छ। हैन? मेराे शिक्षादीक्षा नभए पनि मैले सिकेकी छु। नूर साहबबाट पनि सिकेकी छु। जस्ताे उनी लेख्न सक्छन्, म पनि सक्छु। कविता कुनै मर्दकाे जागिर हैन र म सही अर्थमा कवियत्री हुँ।’
इम्तियाज बेगम आफू जे हाेइनन्, त्याे हुँ भन्छिन्। आफुमा कविता लेख्ने गुण नभएता पनि आफुलाई कवियत्री भन्छिन्। अनि आफ्नाे कुरा साबित गर्न ‘म पनि कविता लेख्न सक्छु, कविता मर्दकाे मात्र जागिर छैन’ जस्ताे नारीवाद डायलग पनि प्रहार गर्छिन्। उनलाई देखेर साँच्चै टिटलाग्छ। तर उनकाे एउटा के कुरा साेचेर उनप्रति दया लाग्छ भने उनमा कविता रच्ने र नाम कमाउने ठूलाे चाहना छ। उनले नूरकाे घरका कामहरु सम्हालिन्। उनकाे छाेरालाई जन्म दिईन्, हुर्काइन्, बढाइन्। तब गएर नूरले कविता रच्ने समय पाए। उनकाे समय चाेरेर नै त नूर महान् कवि भएकाे सत्य हाे नि। उनकाे समयकाे चिहानमाथि नूरकाे ज्वजल्यमान कविकाे व्यक्तित्व खडा भएकाे कुरा त सत्य हाे नि। भलै याे सत्य फिल्मकाे कथ्यबाट लुकेकाे छ।
सिद्दिक़ी साहबकाे चरित्र छाेटाे छ, तर यादगार छ। कलेजमा वा घरबाहिर त सिद्दिक़ी साहब औपचारिक प्रतीत हुन्छन्, नियमसँगत ढँगले चल्ने, अरुलाई पनि नियमकाे परिपालना गर्न लगाउने, ‘स्राेतसाधन उपलब्ध गराइसकेपछि साेहीअनुसारकाे जिम्मेवार बहन गर्नुपर्छ’ भन्ने मान्यता राख्ने अनुशासित व्यक्ति। तर घरभित्र, एकान्तमा भने उनी निकै रसिक लाग्छन्। मदिराप्रेमी, गीत-सँगीतप्रेमी अनि उर्दूप्रेमी। उनी पनि एक्ला छन्। आफ्नाे पुर्खाले विरासतमा छाेडेर गएकाे हवेलीमा धुम्धुम्ती एक्लाे जीवन बिताइरहेका छन्। अनि, बब्बुकाे आवाजमा गजलहरु सुन्दै एकाँकी रातहरु कटाइरहेका छन्। उर्दूप्रतिकाे प्रेम उनमा पनि कम त छैन। उनी भाेपाल छाेडेर दिल्लीमा बस्न चाहन्छन् जहाँका मानिसहरु आज पनि ख़ालिश (शुद्ध) उर्दू बाेल्छन्। उनी देवेनलाई भन्छन्, ‘देवेन भाइ, ‘काश कसैले ममाथि दया गरेर याे हवेलीलाई कब्जा गरून्, अथवा आगाे लगाइदिऊन् यसमा। अनि फेरि म स्वतन्त्र भएर दिल्ली जानेछु, त्याे शहरमा जहाँ आज पनि मानिसहरु ख़ालिश उर्दू बाेल्छन्।’ यतिबेला बब्बुले गाइरहेकाे ‘नसीब आज़माने के दिन आ रहे है’ उनीमाथि एकदमै सटिक लाग्छ।
नसीब आज़माने के दिन आ रहे है,
क़रीब उन के आने के दिन आ रहे है
जो दिल से कहा है जो दिल से सुना है,
सब उनको सुनाने के दिन आ रहे है
अन्त्यमा हुन्छ पनि त्यही। सिद्दिक़ी साहबकाे हवेली दिल्लीकाे एक बिजनेसम्यानले किन्छ र त्यहाँ बहुतले सपिङ कम्प्लेक्स बनाउने याेजना बनाई हवेली भत्काउन थाल्छ। भत्किरहेकाे सिद्दिक़ी साहबकाे हवेलीले पुर्खाहरुकाे विरासत वा सम्पदा भत्किरहेकाे, ध्वस्त भइरहेकाे वा नष्ट भइरहेकाे जनाऊ दिन्छ। अहिलेकाे पुस्ताले पुर्खाकाे विरासत वा सम्पदाकाे सँरक्षण गर्न नसकेकाे सत्यलाई दर्शाउँछ। उर्दू पनि त यसरी नै नष्ट भइरहेकाे छ। पुर्ख्याैली हवेलीकाे जर्जरता र विध्वंस, नूरकाे खस्ता हालत, उनकाे बेवारिसे रचनाहरुका बिम्बद्वारा सम्पदाहरुकाे विध्वंसकरणलाई दर्शाउनु मार्मिक लाग्छ। भाषा पनि त यस्तै सम्पदा हाे।
सिद्दिक़ी साहबकाे हवेलीकाे विध्वंसकरणकाे दुईटा अर्थ लाग्छ। एउटा पुर्ख्याैली विरासत वा सम्पदाहरुकाे विध्वंसकरण। अर्काे, सिद्दिक़ी अर्थात् छाेरा पुस्ताकाे स्वतन्त्रता। हवेली ध्वस्त भयाे तब त सिद्दिक़ी स्वतन्त्र भए। अर्थात्, पुर्ख्याैली सम्पदा ध्वस्त भयाे अनि मात्र सिद्दिक़ी स्वतन्त्र भए। भन्नुकाे अर्थ हवेली अथवा पुर्ख्याैली सम्पत्तिले छाेरा पुस्तालाई बाँधेर राखेकाे छ अथवा छाेरा पुस्ता पुर्ख्याैली सम्पदाहरुलाई घाँडाे ठान्छन्, बाेझ, भार वा गलाकाे पासाे ठान्छन् जसबाट जतिसक्दो छिटाे मुक्त हुन सक्याे उति स्वतन्त्र ठान्छन् छाेरा पुस्ता। याे अर्थ पनि लाग्छ।
तर सिद्दिक़ी साहबकाे हकमा भने सम्भवतः याे कुरा सत्य हाेइन। उनकाे कथा भने अर्कै छ। उनी पुर्ख्याैली हवेलीलाई बेचबाच गरेर ख़ालिश उर्दू बाेल्ने शहर दिल्लीमा जान चाहन्छन्। अर्थात् उनी जहाँ उर्दू बाेलिन्छ त्यहाँ जान चाहन्छन्। यसकाे अर्थ उनी उर्दू बाेलिने शहरमा आफ्नाेपन महसुस गर्छन्। यसमा उनकाे उर्दूप्रेम झल्किन्छ। उनकाे सम्पदाप्रेम झल्किन्छ। उनले पुर्खाहरुकाे एउटा सम्पदा हवेलीबाट मुक्त हुन खाेज्नु साँस्कृतिक सम्पदाबाट पूर्ण रुपमा मुक्त हुन खाेज्नु थिएन, बरु पुर्खाहरुकाे अर्काे सम्पदा उर्दू भाषासँग जाेडिनका लागि थियाे। याे त ‘वल्लाे घरकाे नरे, पल्लाे घरमा सरे’ भनेजस्तै हाे। आफ्नाे सँस्कृति र सम्पदाबाट सिद्दिक़ी साहब कटेका छैनन्, टाढिएका छैनन्।
देवेनकी पत्नी सरलाकाे चरित्रलाई पनि यहाँ नजरअन्दाज गर्न सकिन्न। सरलामा हामी आमपरिवारकी घरगृहिणी र आममानिसकाे पत्नीकाे मुहार देख्छाैं जाे आफ्नाे पतिकाे घरलाई सम्हाल्छिन्, बच्चालाई सम्हाल्छिन्, पतिका लागि खाना र नास्ता तयार गर्छिन्। अनि कहिलेकाहीँ ‘चिया, नास्ता, कपडा धुनु, सरसफाई गर्नु, केवल यति नै रहेकाे छ मेराे जिन्दगीमा’ भन्दै गुनासाे पनि पाेख्छिन्। बदलामा उनकाे श्रम र खटनबाट लाभ लिइरहेको उनकाे पति उनकाे अवमूल्यन गर्दै भन्छ, ‘दिनभरि घरै त बस्छाैं तिमी। तिमीलाई के समस्या छ र? के काे गुनासाे गर्छाै तिमी?’
सरला जस्ता पत्नीहरु त हुन्, जाे आफ्नाे श्रम, सीप, खटन र कार्यकुशलताले आफ्नाे पतिकाे घरलाई सम्हाल्छिन्, सिँगार्छन्। आफ्ना पतिलाई उसकाे काममा मग्न हुन दिन्छिन्, पतिलाई उसकाे प्यासनलाई पछ्याउनका खातिर पर्याप्त समय उपलब्ध गराउँछिन्। याे सरलाकाे श्रम, त्याग र तपस्याकाे उपलब्धि नै त हाे कि देवेन जतिबेला आफुले चाह्याे उति बेला भाेपाल जाने र आउने गरिरहन पाउँछन्, अन्तर्वार्ताकाे लागि तयारी गर्ने माैका पाउँछन्। आफ्नाे प्यासनलाई पछ्याउने समय, लक्जरी वा प्रिभिलेज पाउँछन्। के सरला नभए देवेनले याे सब पाउन सम्भव हुने थियाे त? पक्कै पनि हुने थिएन।
याे देशमा कति सरलाजस्ता पत्नीहरु हाेलान् जाे अझै पनि आफ्ना पतिकाे प्रतीक्षा गर्दै बसिरहेका हाेलान्, कतिबेला पति कामदेखि घर फर्केर आउलान् अनि ऊसँग आवश्यक सरसामानहरु सँगै किन्न बजार जाउला भनेर। अनि पतिले आफ्नाे वचन निभाएर सँगै बजार लैजाँदा दँग पर्दा हाेलान्।आफ्नाे पति रेलमा सँगै चढेर आफ्नाे माइतमा साथी दिन गइदेला भनेर अपेक्षा गर्दा हाेलान्, अनि पति आउन असमर्थ भएपछि नमिठाे मन बनाउँदै आफै एक्लै रेल चढेर यात्रा गर्दा हाेलान्, ‘पतिकाे काम छ’ भन्ने कुरालाई बुझिदिदै। अनि आफ्ना व्यस्त पतिले आफुले माइतबाट पठाएकाे टेलिग्राम नहेरेपछि आफै सामान बाँधेर घर फर्केर आई घरकाे सरसफाई पनि गरेर पतिकाे प्रतीक्षा गर्दै बस्दा हाेलान्। अनि, पति आएपछि पतिलाई गर्वका साथ सुनाउँदा हाेलान्, ‘मेरा बाबुआमाले मेराे नानीलाई लुगा किनिदियाे, जुत्ता किनिदियाे…’
पतिसँग थाेरै गुनासाे अनि धेरै परिवार र पतिप्रति प्रेम बाेकेर घरगृहस्थी सम्हालिरहेका, छाेराछाेरीलाई स्कुलका लागि तयार गरिरहेका, पतिका लागि चिया, नास्ता र खाना तयार गरिरहेका पत्नीहरु…हाम्राे समाजका अधिकाँश पत्नीहरु यस्तै त हुन्छन् नि। हाेइन र?
काव्यात्मक वा कवितात्मक शैली याे फिल्मकाे अर्काे आकर्षण हाे। नूरकाे दर्बिलाे स्वरमा फैज़ अहमद फैज़का क़लाम र नज़्महरु सुन्नु पाउँदा सुखद अनुभूति हुन्छ। ज़ाकिर हुसैन र उस्ताद सुल्तान खानका धुनहरुद्वारा सुसज्जित फैज़ अहमद फैज़का कलाम, आसार, नज़्म र ग़ज़लहरु सुरेश वाडकर, कविता कृष्णमूर्ति र हरिहरनकाे आवाजमा सुन्न पाउनु पनि कम आनन्दमय अनुभूति त हाेइन। ‘आज इक हर्फ़ को फिर ढ़ूंढ़ता फिरता है ख़्याल’, ‘आज बाज़ार में पाव बजाेला चलाे’, ‘नसीब आज़माने के दिन आ रहे है’ आदि। मलाई त कविता कृष्णामूर्तिकाे स्वरमा ‘ए जज़्बा ए दिल गर मैं चाहुँ’ गजल त यति मिठाे छ कि जति सुने पनि मन भरिन्दैन। वाह, क्या गजल छ। अनि, क्या गायन छ। मेरा यी शब्दहरु पढेर याे अड्कल काट्नु कि म नज़्म, गजलहरुकाे सागरमा डुबेकाे छु त याे गलत हुनेछैन।
कलाकार-रचनाकार जबसम्म स्वतन्त्र रहन्छ वा उनलाई स्वतन्त्र रहन दिइन्छ तबसम्म मात्र रचनाहरु पनि जीवित रहन्छ, रचनाकार पनि जीवित रहन्छ। तर जब उनलाई कैद गरिन्छ तब उनकाे मृत्यु हुन्छ अनि उनी इतिहास बन्न पुग्छन्। सँग्रहालयकाे एउटा कुनामा राखेकाे इतिहास जसलाई हेर्ने, प्रशंसा गर्ने र गुणगान गाउनेहरुकाे भीड त जम्मा हुन्छ तर उनकाे आँखामा छाएकाे गहिराे उदासीलाई देख्दैनन्, उनकाे पीडा-वेदना देख्दैनन्, उनकाे आँसुहरु भित्रभित्रै रसाएर सुकेकाे देख्दैनन्, देख्छन् त मात्र एउटा तस्वीर, एउटा छवि, एउटा मूर्ति। उनकाे अन्तर्मनलाई त देख्दैनन्। हरेक बुनेकाे ख़्याल (विचार), खिचेकाे तस्वीर, रंगाइएकाे छवि, कुदिएको मूर्तिहरुमा कैद भएकाे आत्मामा धुलाे जम्न नपाओस्, त्यसकाे लागि तिनलाई स्वतन्त्र गरिदिनु आवश्यक हुन्छ। कलाकार-रचनाकारकाे हकमा उनकाे सुस्त भएकाे मनकाे पखेटा फेरि फड्फडाउन थाल्नुपर्छ, उनकाे प्रतिभाकाे निभेकाे तारा फेरि टिमटिमाउन थाल्नुपर्छ, फेरि सितारका तारहरुमा झंकार पैदा हुनुपर्छ अनि ओठले नज़्म सुनाउन थाल्नुपर्छ।
जाे रुके ताे काेह-ए-ग़रान थे हम,
जाे चले ताे जान से गुज़र गए !
राह-ए-यार हमने क़दम क़दम,
तुझे यादगार बना दिया !!
भारतकाे धर्तिमा जन्मिएकी र अमेरिकामा जिन्दगी बिताएकी लेखिका अनीता देसाईकाे उपन्यास ‘इन कस्टडी’ मा आधारित फिल्म हाे ‘मुहाफ़िज़’। अनिताले कुन मनस्थितिले याे उपन्यास लेखिन् हाेली म कल्पनामात्र गर्न सक्छु। सायद उनकाे बुवा वा हजुरबुवाकाे नाेस्टाल्जियाले पाे उनलाई याे उपन्यास लेख्न प्रेरित गर्याे कि? के थाहा?
सन् १९९३ मा मर्चेन्ट आईभाेरी प्रोडक्शंस अन्तर्गत इस्माइल मर्चेन्टकाे निर्दैशनमा बनेकाे फिल्म ‘मुहाफ़िज़’ एक यस्ताे सिर्जना हाे जो थाहा छैन कति बर्षदेखि गुमनामीमा रहेकाे छ, छायाँमा परेकाे छ अनि आफुभित्र थाहा छैन कति भावना, संवेदना र मर्महरुकाे सागर समेटेर लडिरहेकाे छ, डिभिडीकाे कुनै थुप्राेमा अथवा युट्युबकाे कुनै कुनामा। आफ्नाे अस्तित्वकाे सँकट झेल्दै, ठ्याक्कै नूर जस्तै। कैद भएर बसिरहेकाे छ याे आशामा कि काेही त आउला र एक नजर म तिर पनि लगाउला। काेही त निस्केला मलाई हेर्ने, बुझ्ने अनि मेराे चर्चा गर्ने। मेराे कदर गर्ने। काेही त निस्केला मेराे पनि मुहाफ़िज़।
काेही त हाेस्, जाे मलाई लिएर महफ़िल जमाओस्। म माथि चर्चा-परिचर्चा गराेस्, गीत गाओस्, नज़्म सुनाओस्। कला, साहित्य, सँस्कृति, कलाकृतिहरुकाे जगेर्ना र उत्थानकाे कुरा गराेस्। कवि-कलाकारहरुकाे प्रतिष्ठा, मानसम्मान, सम्मानित र सुरक्षित जीवनकाे कुरा गराेस्।
आए कुछ अब्र, कुछ शराब आए,
उसके बाद आये जो अज़ाब आए…