भारत एक सामाजिक, धार्मिक र साँस्कृतिक विविधता भएकाे बहुरङ्गी मुलुक हाे तर आज यसकाे यही सबैभन्दा ठूलाे विशेषता वा शक्ति निशानामा परेकाे छ। पछिल्ला केही बर्षदेखि यस मुलुककाे दाेस्राे सबैभन्दा ठूलाे धार्मिक समूह (मुस्लिम) काे अस्तित्वलाई नकार्ने र उनकाे वैधतामाथि प्रश्न उठाउने कोशिश गरिन्दैछ। यही सन्दर्भमा यस बर्षकाे सुरुवातमा वरिष्ठ पत्रकार सईद नकवीकाे एउटा पुस्तक बजारमा आएकाे छ ‘द मुस्लिम भेनिशेस’ (The Muslims Vanishes). याे पुस्तक मूलतः एक काल्पनिक व्यङ्ग्य नाटक हाे। सईद नकवीले यस व्यङ्ग्य नाटककाे माध्यमबाट भारतकाे वर्तमान राजनीतिक परिप्रेक्ष्यमा कैयौं महत्वपूर्ण प्रश्नहरु उठाएका छन् जो काल्पनिक हाेइनन्, बरु वास्तविक हुन्। जसमध्ये मुख्य प्रश्न याे हाे कि के ‘मुस्लिम मुक्त’ भारत एक मजबूत भारत साबित हुनेछ? अनि, के यी दुई समुदायका बीच सदियाैंदेखि हुर्केबढेकाे साझा विरासत र धरोहरलाई यति सजिलैसँग मेटाउन सकिन्छ?
‘द मुस्लिम भेनिशेस’ एक सरल तर प्रभावशाली कथा हाे जो भारतकाे वर्तमान सामाजिक-राजनीतिक परिस्थितिहरुकाे सन्दर्भमा अगाडि बढ्छ। पुस्तककाे सुुरुवात याे खबरबाट हुन्छ कि एकदिन अचानक भारतकाे पूरै मुस्लिम जनसंख्या देशबाट गायब हुन्छ र अब यहाँ उनकाे कुनै नामो-निशान बाँकी रहन्दैन। उनीहरुद्वारा छाेडिएका सम्पत्तिहरु र व्यवसायहरु बाहेक। यहाँसम्म कि उनीहरु आफुहरुसँग कुतुबमिनार, बिरयानी र उर्दू भाषा पनि सँगै लिएर गएका हुन्छन्। यसपश्चात् पूरै देशमा अराजकताकाे माहौल उत्पन्न हुन्छ। कसैले बुझ्न सकिरहेको हुदैन कि यहाँ के भइरहेछ ?
अचानक भएकाे याे घटनाबाट मानसिक रुपमा बाहिर निस्केपश्चात् मानिसहरुकाे ध्यान मुस्लिमहरुद्वारा छोडिएका जग्गा-जमिन, घर-भवन र उनीहरुका सम्पत्ति तथा कारोबारहरुतर्फ जान्छ। उनीहरु आपसमा मिलेर याे अर्बोंकाे सम्पत्तिलाई बाँडेर मुस्लिम-मुक्त भारतकाे लाभ उठाउने योजना बनाउँछन् तर याे सम्पत्ति बाँडफाँड गर्ने कार्य यति सजिलाे हुदैन। मुस्लिमहरुद्वारा छोडिएका सम्पत्तिहरुमाथि कब्जा जमाउने बिषयलाई लिएर सवर्ण-प्रभुत्वशाली जाति र दलित-पिछडा वर्गका जातिहरुका बीचमा विवादकाे स्थिति उत्पन्न हुन्छ जसले पछि गएर वर्चस्वकाे लडाईँकाे रुप धारण गर्छ। जनसँख्यामा अधिक भएका कारण दलित-पिछडा वर्ग तथा जाति/समुदायकाे पल्ला भारी हुन्छ र उनीहरुले नै मुस्लिमहरुले छाेडेका अधिकांश सम्पत्तिहरु तथा काराेबार/व्यापारहरुमाथि कब्जा जमाउँछन् र अब यससँगै उनीहरुकाे दाबी र हस्तक्षेप राजनीति र ठूला पदहरुमा पनि बढ्दै जान्छ।
याे ती मानिसहरुका लागि एउटा ठूलाे भुकम्पकाे झटका सरह हुन्छ जो ‘मुस्लिम मुक्त भारत’ का आकाँक्षी थिए र मुस्लिमहरुलाई हिन्दू राष्ट्रकाे स्थापनाकाे दिशामा अवराेधकका रूपमा हेरिरहेका थिए तर मुस्लिममुक्त भारतकाे आफ्नै अलगै किसिमका समस्याहरु सामुन्ने आउन थाल्छन्। हिन्दुहरुकै बीचमा मतभेद देखिन थाल्छ। सवर्णहरु र दलित तथा पिछडा जाति/समुदायहरुका बीचमा संघर्षकाे स्थिति उत्पन्न हुन पुग्छ। आफ्नाे जनसंख्याकाे बलका कारण दलित एवं पिछडा जाति/समुदायहरुकाे वर्चस्व बढ्न थाल्छ। दलित एवं पिछडा जाति/समुदायहरु राजनीतिक रूपले मजबूत बन्दै जानु र उनीहरुकाे शक्तिशाली पदहरुमा आसीन हुने सम्भावना क्रमश: बढ्दै जानुबाट सवर्णहरु चिन्तित हुन्छन्।
विस्तारै-विस्तारै उनीहरुले बुझ्न थाल्छन् कि मुस्लिमहरुले मुलुक छाेडेर जाँदा उनीहरुकाे वर्चस्वकाे सबैभन्दा ठूलाे हतियार पनि गएकाे छ। उनीहरुलाई महसुस हुन्छ कि वास्तवमा याे मुस्लिमहरु नै थिए जसकाे प्रयाेग हिन्दूहरुकाे ध्रुविकरण गर्नका लागि गरिन्दै थियाे र संख्यामा कम हुनका बावजूद यसैकाे माध्यमबाट उनीहरुकाे वर्चस्व कायम भइरहेकाे थियाे। तर अब त्याे परिस्थिति रहेन। मुस्लिमहरुले मुलुक छाेडेर गएपछि परिस्थिति बदलियाे। मुलुकभित्रकाे शक्ति समिकरण बदलियाे। याे बदलिएकाे समिकरणमा उनीहरु कमजाेर देखिए। अब याे बदलिएको परिस्थितिकाे प्रतिराेध गर्नका लागि उनीहरु चाहन्छन् कि चुनाव स्थगित गरियाेस्। अनि, यस बीचमा उनीहरु मुलुक छाेडेर गएका गायब मुस्लिमहरुलाई फिर्ता गराउन चाहन्छन् जसबाट चुनावहरुका दौरान हिन्दुहरुकाे ध्रुविकरणका लागि फेरि एउटा दुश्मनलाई खडा गर्न सकियाेस् र उनीहरुकाे वर्चस्व पुन: कायम हाेस् र सधै कायम भइरहाेस्।
‘दि मुस्लिम भेनिशेस’ ले भारतमा बढिरहेकाे इस्लामफाेबियाकाे साथै भारतीय समाजकाे शक्ति समिकरणकाे पनि सटिक चित्रण गरेकाे छ। यसले अहिलेकाे भारतीय समाजमा हिन्दू राष्ट्रवादी विचारकाे विचारधारात्मक वर्चस्वलाई त चित्रण गरेकाे त छ नै साथै हिन्दूत्ववादीहरुले चाहेजस्तै मुस्लिमहरु भारतबाट गायब भए पनि उनीहरु एकलाैटी राज नहुने बरु मुस्लिमइतरकाे अन्य सामाजिक समुहहरुले उनीहरुलाई राेक्ने तथ्यलाई दर्शाएकाे छ। वास्तवमा भारतीय समाजकाे शक्ति सन्तुलन नै यस्ताे छ कि यहाँ कुनै पनि सामाजिक समुहकाे वर्चस्व स्थापित हुन सक्दैन। यसभित्रकाे सामाजिक विविधता र उनीहरुकाे स्वार्थकाे परस्पर टकरावले सामाजिक सन्तुलन कायम गर्न सघाउँछ। अर्थात् भारतकाे सन्दर्भमा सेक्युलारिजम वा धर्मनिरपेक्षता नै सबैभन्दा उत्तम नीति हाे। एकअर्काको अस्तित्वलाई स्वीकार्नु र मिलीजुली बस्नु अर्थात् सामाजिक सम्मिलिकरण नै भारतकाे हकमा सही सामाजिक नीति हाे। भारतीय समाजकाे आन्तरिक शक्तिसमिकरणले नै अटाेमेटिकल्ली सामाजिक सहअस्तित्व, सहकार्य, धार्मिक-साम्प्रदायिक सहिष्णुता र सामाजिक सद्भावकाे माँग गर्दछ।
याे पुस्तक भारतकाे मिली-जुली संस्कृति (गंगा-जमुनी तहज़ीब)
र साझा विरासतकाे वकालत गर्छ र त्यसकाे शक्तिमाथि भराेसा देखाउँछ। सहअस्तित्व, सहमति, सहकार्य र एकताकाे नीति र शक्तिप्रति भराेसा देखाउँछ। वर्तमान समयमा भारत नामक मुलुक जुन पागलपनकाे दौरबाट गुज्रिरहेकाे छ, याे किताब त्यसकाे परिणामकाे एक काल्पनिक चित्रण हाे। पछिल्ला केही वर्षहरुदेखि भारतमा एक विचित्रकाे हावा चलिरहेको छ जसअन्तर्गत मुस्लिमहरुका विरुद्ध घृणा, उनीहरुमाथि आक्रमण र त्यसभन्दा पनि अघि बढेर याे देशकाे सार्वजनिक र आर्थिक जीवनबाट उनीहरुलाई बहिष्कार गर्ने घटनाहरु अति सामान्य हुन थालेकाे छ। यस्ताे लाग्छ कि भारतमा मुस्लिमहरुकाे जीवनकाे हरेक पक्षलाई समाप्त पार्ने अभियान चलिरहेकाे छ। ‘हिन्दूहरु खतरामा छन्’ भन्ने नारा याे अभियानकाे सबैभन्दा ठूलाे नारा हाे र याे खतरा मुस्लिमहरुबाट छ भन्ने भाष्य याे अभियानकाे छ।
अर्काेतर्फ, मुख्तार अब्बास नकवीकाे राज्यसभामा कार्यकाल पूरा भएपछि ३९५ सांसद भएकाे भारतकाे सत्ताधारी पार्टीमा
अब कुनै मुस्लिम सांसद रहने छैन। पछिल्लाे समयमा उनले अल्पसंख्यक कार्यमन्त्रीकाे पदबाट राजीनामा दिएपछि अब मोदी सरकारकाे मन्त्रिमण्डल पनि ‘मुस्लिम मुक्त’ भइसकेकाे छ। यसप्रकार, यससमय भारत सरकारकाे मन्त्रिमण्डल र सत्ताधारी पार्टीका सांसदहरुमा भारतकाे दाेस्राे सर्वाधिक ठूलाे सामाजिक-धार्मिक समुदायकाे प्रतिनिधित्व शून्य छ। के याे अवस्था भारतकाे केन्द्रीय सत्ताबाट ‘मुस्लिम वैनिशेस’ (मुस्लिमहरु गायब भएकाे अवस्था) हाेइन?
सईद नकवी पछिल्ला केही वर्षहरुदेखि भारतमा मुस्लिमहरुकाे अस्तित्व जस्तो पेचिलाे मुद्दामा आफ्नाे कलम चलाउँदै आइरहेका छन्। यसभन्दा पहिले सन् २०१६ मा उनकाे किताब ‘बिइङ द अदर-द मुस्लिम इन इंडिया’ प्रकाशित भएकाे थियाे जो सन् १९४७ काे मुलुक विभाजन पश्चातकाे भारतीय मुस्लिमहरुकाे अवस्थामाथि आधारित थियाे। ‘दि मुस्लिम वैनिशेस’ त्यसपछिकाे कडी हाे। याे त्यसैकाे कडी हाे। नाटक विधा र आफ्नो गम्भीर विषयवस्तुकाे बावजूद याे कृति मनोरन्जक र पठनीय छ। यधपि, नाटक हुनुकाे बावजूद पनि यसलाई मञ्चन गर्नु गाह्राे देखिन्छ। यसकाे कारण एक त यसमा चरित्रहरुकाे भरमार छ। र अर्को विषयकाे जटिलता, यिनै कारण यसलाई मञ्चन गर्नु गाह्राे हुनेछ। तर यस सीमाका बावजूद याे हाम्राे समयकाे एक जरूरी नाटक हाे जो काल्पनिक हुँदाहुँदै पनि सत्यकाे धेरै निकट छ। याे किताब अंग्रेजीमा उपलब्ध छ तर १५ सेप्टेम्बर पश्चात् ‘कहाँ गए मुसलमान?’ काे नामबाट यसकाे हिंन्दी संस्करण पनि प्रकाशित हुँदैछ।