गरिब मजदुरहरुलाई बाँझाे सपना बेच्ने ‘पुष्पा’ र ‘केजिएफ’

सुहास

पछिल्ला केही बर्षमा यस्ता फिल्महरुका बाढी आएकाे छ जसका नायक कुनै मजदुरवर्गीय पृष्ठभूमिका हुन्छन् अनि सारा प्रतिकूल परिस्थितिसँग जुधेर, त्यसमाथि विजय हासिल गरेर ठूला शक्तिशाली ‘डन’ बन्छन्। यस्ता अधिकांश फिल्महरु दक्षिण भारतीय भाषाहरुमा बनेका छन्। तर यस्ता फिल्महरुलाई भारतकाे हिन्दीभाषी क्षेत्रहरुमा मात्र हाेइन, बरु सम्पूर्ण भारतभरि नै शानदार सफलता मिलेकाे छ। यस्ता फिल्महरुलाई ठूला संख्यामा मानिसहरुले सिनेमाहलहरुमा गएर हेरेका छन्।

र, यी फिल्महरु हेर्ने मानिसहरुमा उल्लेखनीय सँख्या श्रमजीवी वर्गका मानिसहरु, विशेष गरेर मजदुरहरुका रहेकाे छ। हामी उनीहरुका इलाकामा युवा मजदुरहरु अथवा सामान्यतया नौजवानहरुलाई ‘पुष्पा’ फिल्मकाे नायक पुष्पाराज (अल्लु अर्जुन) काे नृत्यशैलीकाे नक्कल गरिरहेका, उसकाे स्टाईलकाे नक्कल गरिरहेका, उसकाे स्टाइलमा उसकाे डायलग बाेल्ने काेशिश गरिरहेका देख्न सक्छौं।

यसैगरि ‘केजिएफ’ फिल्मकाे नायक रकी भाइ (यश) काे स्टाईल र डायलगकाे नक्कल गरिरहेका युवा मजदुर वा नौजवानहरु पनि पर्याप्त भेटिन्छन्। यस्ता फिल्महरु र यिनका गीतहरु (जुन गीतहरु अक्सर भद्दा र अश्लील हुन्छन्) ले लोकप्रियताका सारा रेकर्ड ध्वस्त पारिरहेका छन्। यसको कारण के हाे त? यस्ता फिल्महरुमा यस्ताे के छ जाे हामी बीच रहेका तमाम मजदुरहरु यस्ता फिल्महरुका क्रेजी बन्दै गइरहेका छन्?

यसकाे पहिलाे कारण हाे, यस्ता फिल्महरुका नायक कुनै मजदुरवर्गीय पृष्ठभूमिकाे हुन्छ। ऊ गरिबीसँग संघर्ष गर्छ, अनेक किसिमका प्रतिकूल परिस्थितिसँग एक्लै आफ्नाे व्यक्तिगत बहादुरी र निडरता/बिन्दासपनाकाे बलबुतामा लड्छ/भिड्छ र जीत हासिल गर्छ अनि कालान्तरमा स्वयं आफ्नाे निडरता र दुस्साहसिक कारनामाहरुका बलमा अपराधी बन्छ। अनि, यही अपराधकाे जगमा ऊ अन्तत: एउटा ठूलाे कारोबारी बन्न पुग्छ, जसले स्वयँ थुप्रै थुप्रै मजदुरलाई काममा लगाइरहेकाे हुन्छ। अर्थात् उनीहरुकाे श्रमशाेषण गरिरहेको हुन्छ।

याे नायक मजदुरवर्गीय पृष्ठभूमिबाट उदाएकाे हुन्छ। उसले बाल्यकालदेखि नै धेरै अन्याय र अत्याचार झेल्छ, पुलिसकाे कुटाई खान्छ, उसका आमा वा परिवारका सदस्यहरुलाई दबंग गुण्डाहरु, अपराधीहरु र पुँजीपतिहरुले सताउँछन्। हरेक पाइलामा उसले अपमान, गाली र बेइज्जतीकाे सामना गर्नुपर्छ, त्यसैले आजकाे समाजका आममजदुर युवाहरु कतै न कतै आफ्नाे छाँया उसमा देख्छन्। कतै न कतै ऊ सँग ‘कनेक्ट’ हुन्छन्।

किनभने, वास्तविक जीवनमा पनि एक गरिब मजदुरवर्गीय युवाले हाम्राे समाजमा अक्सर यस प्रकारकाे परिस्थितिहरुकाे सामना गर्नुपर्छ। यदि ऊ मजदुरी गरिरहेकाे छ भने उसले दैनन्दिन आफ्नाे मालिक वा साहुबाट गाली-गलौच, अपमान, मारपिट, उत्पीडन र दमनकाे सामना गर्नुपर्छ। यदि ऊ दलित पृष्ठभूमिकाे हाे भने याे ऊ माथिकाे शोषण, दमन, उत्पीडन र हिंसाले अझ भयंकर रूप धारण गर्छ।

‘पुष्पा’ फिल्मकाे नायक पनि कुनै तथाकथित ‘तल्लाे/नीच’ जातकाे (दलित) हुन्छ, जसकाे आमासँग कुनै उच्च जातकाे धनी मान्छेले सम्बन्ध बनाउँछ तर पछि उनलाई पत्नीकाे रूपमा अपनाउदैन। पुष्पाले बाल्यकालदेखि नै जातिय अपमान सहनुपर्छ, ‘नाजायज’ भएकाेमा मान्छेहरुकाे छेडखानी, हेपाई र वर्गीय शोषण-उत्पीडनकाे सामना गर्नुपर्छ। तर यसकाे बावजूद पुष्पा त्याे उच्च जातकाे मान्छेप्रति छाेरासमान भावना वा आकांक्षा राख्छ र उसकी आमा पनि उसलाई आफ्नाे पतिदेव मान्छिन्। याे आफैमा एक अत्यन्त घृणित र अपमानजनक प्रतिक्रियावादी पिछडिएकाे सोच हाे।

‘पुष्पा’ का अल्लु अर्जुन

यसैगरि, ‘केजिएफ’ का नायकले पनि गरिबी र दमन-उत्पीडनकाे बर्बरतम् रूपहरुकाे सामना गर्नुपर्छ। यी फिल्महरुमा यसप्रकारकाे अन्याय र अपमानकाे जुन चित्रण गरिएकाे छ त्यसले निश्चितै रुपमा मजदुरहरुभित्र घृणा र आक्राेशलाई उभार्छ। किनभने, त्यसमा उनीहरु पुँजीवादी वर्गीय समाजमा पुँजीपति वर्ग र उसकाे पुलिस वा नाेकरशाहीद्वारा आफुहरुमाथि गरिने व्यवहारकाे छवि देख्छन्।

दाेस्राे कुरा, याे घृणा र आक्राेशकाे फलस्वरूप यी फिल्महरुका नायक याे प्रश्न उठाउँदैन कि विधमान समाज/राज्यव्यवस्थामा जो मजदुर समस्त धन-सम्पदा पैदा गर्छ, हरेक चीजबीज बनाउँछ, हरेक सेवा प्रदान गर्छ र जाे देशकाे अर्थव्यवस्थाकाे मेरुदण्ड हाे, ऊ माथि यस्ताे व्यवहार किन गरिन्छ?

ऊ याे प्रश्न उठाउँदैन कि साराका सारा कल-कारखानाहरु, खानी-बनजँगलहरु, जलस्राेतहरु, खेत-खलिहान, जग्गा-जमिनहरु, एक शब्दमा भन्नुपर्दा उत्पादनका सारा संसाधनहरुमाथि मुट्ठीभर परजीवी पुँजीपति (उधाेगपति-व्यापारी) हरुकाे कब्जा किन छ जाे आफू केही पनि गर्दैन, जुकासरह मजदूर वर्गकाे शरीरमा टाँसिएर केवल उसकाे रगत चुसिरहन्छ?

ऊ ती मालिकहरु, पुँजीपति (उधाेगपति-व्यापारी) हरु, अपराधीहरु, पुलिस र सरकारी तन्त्रका अधिकारीहरुले आफुहरुमाथि गर्ने शोषण, उत्पीडन, दमन र अपमानकाे प्रतिराेध गर्नका लागि आफुजस्तै हजाराै-लाखाैं मजदुरहरुलाई एकजुट गर्ने बारेमा साेच्दैन, जसले उसले जसरी नै यसप्रकारकाे अन्याय र अपमान खेपिरहेकाे हुन्छ।

उसले कहिल्यै समस्त व्यवस्थामाथि कुनै पनि प्रश्न उठाएकाे देखिन्दैन। न त ऊ कहिल्यै याे प्रश्न नै साेध्छ कि के याे व्यवस्थाकाे विकल्पमा कुनै अर्काे उन्नत व्यवस्था सम्भव छ जाे मजदुरहरुकाे हितमा हाेस्? के याे समाजव्यवस्थाकाे साटाे अर्काे कुनै वैकल्पिक समाजव्यवस्था सम्भव छ? के यस्ताे कुनै समाज/राज्यव्यवस्था बनाउन सकिन्दैन जसमा जो मजदुर उत्पादन गर्छ, उही उत्पादनका संसाधनहरुका मालिक हाेऊन्? के यस्ताे कुनै समाजव्यवस्था बनाउन सकिन्दैन जसमा मेहनतकश वर्ग आफ्नाे राजसत्ता कायम गरुन् र समस्त उत्पादन, राजकाज र समाजकाे ढाँचालाई आफ्नाे सामूहिक मेधा र शक्तिकाे बलबुतामा सँचालन गरून्?

अहँ। तपाईंको पुष्पा वा रकी भाई याे प्रश्न कहिल्यै पनि साेध्दैनन्। तब फेरि पुष्पा वा रकी भाई के गर्छन् त? यस्ताे प्रश्न साेध्नु त टाढाकाे कुरा, उनीहरु त पुँजीवादी समाजकाे शोषण र अन्यायका विरुद्ध सामान्यतया कुनै पनि प्रश्न उठाउँदैनन्, बरु उनीहरु स्वयं एक पुँजीपति बन्न चाहन्छन्, आफ्नाे ‘डेयरिङ’ (बहादुरी) काे बलमा।

उनीहरु आफ्ना साथी मजदुरहरुसँग कुनै न कुनै प्रकारकाे एकजुटता कायम गरेर याे अन्याय र शोषणकाे तन्त्रलाई चुनौती दिने बारेमा कहिल्यै साेच्दैनन्, बरु आफैलाई यस्ताे शक्तिशाली स्थितिमा पुर्‍याउन चाहन्छन्, जहाँ स्वयं त्याे शक्तिशाली शासक वा शोषक बन्न सकियाेस्। यस्ताे खासमा ‘पुँजीवादी व्यक्तिवाद’ लाई मजदुरहरुकाे मनमस्तिष्कमा राेप्नका लागि देखाइन्छ। वर्गीय सामुहिक प्रतिरोध र संघर्षलाई हाेइन, पुँजीपति बन्नकाे लागि नायकवादी र व्यक्तिवादी प्रतिरोधलाई देखाइन्छ।

अर्थात्, नायक आफै एक पुँजीपति बन्न चाहन्छ। उसलाई थाहा हुन्छ कि हरेक पुँजीपतिकाे धनकाे साम्राज्यकाे जगमा अपराध, कालाबजारी, धोका, भ्रष्टाचार, दुराचार र हत्याहिँसा हुन्छ। यसकारण, ऊ अपराधकाे दुनियाँबाट आफ्नाे यात्राकाे सुरुवात गर्छ। जब ऊ दर्जनाैं अपराध र हत्याहिंसा गरेर, हरेक प्रकारकाे दुराचार र षड्यन्त्र गरेर, अपराधकाे दुनियाँमा आफ्नाे शासन कायम गर्छ, आफ्नाे हैकम जमाउँछ, तब ऊ आफ्नो अपराधकाे दुनियालाई कारोबार वा व्यवसायमा परिणत गर्छ। प्रारम्भमा उसकाे याे कारोबार वा व्यवसाय गैरकानुनी हुन्छ। पछि ऊ कारोबारका नियम तथा दाउपेचहरु सिकेर आफ्नाे कारोबारलाई कानुनी स्वरूप प्रदान गर्ने तयारी गर्छ। यसकाे लागि पनि उसले कैयौ नयाँ अपराध र हत्याहिंसा गर्नुपर्छ।

अन्त्यमा, ऊ स्वयं एक ठूलाे पुँजीपति बन्न पुग्छ जो स्वयं सैंकडाैं मजदुर र मेहनतकशहरुकाे शोषण गरिरहेकाे हुन्छ। यति हाे, ऊ सीधै कुनै पनि मजदुरकाे अपमान गर्दैन, कसैलाई जातिय अपमान वा विभेद गर्दैन, रबिनहुडले जसरी कैयौं मजदुर र गरिबहरुकाे भलाई पनि गरिरहन्छ र उसका मजदुरहरु आफ्नाे मालिकलाई अर्थात् उसलाई घृणा गर्दैनन्, बरु प्रेम गर्छन्। किनभने ऊ उनीहरुकै बीचबाट उदाएको हाे।

उनीहरू बिर्सिन्छन् कि निसन्देह ऊ उनीहरुकै बीचबाट उदाएकाे हाे, तर अब ऊ उनीहरूकाे मालिक हाे र ऊ अब उनीहरूकाे मेहनतलाई लुटने काम गरिरहेकाे छ। उसकाे कारोबार र अपराधकाे साम्राज्यकाे जगमा उनीहरूकाे मेहनत छ, उनीहरूकाे श्रमशाेषण छ। यस सबका बावजूद पनि उनीहरु उसलाई माया गर्छन्, ऊ सँग डराउँछन्, उसकाे आदर गर्छन् र ऊ माथि गर्वसमेत गर्छन्।

किनभने ऊ उनीहरूकाे आहत भएकाे अस्तित्वगत अहंलाई केही हदसम्म मालिश गर्छ। उनीहरूलाई यस कुरामा राहत र शान्ति मिल्छ कि मजदुर पृष्ठभूमि र तथाकथित तल्लाे जातिकाे पृष्ठभूमिबाट उठ्नुकाे बावजूद ऊ स्वयं दुनियाँकाे ‘राजा’ बन्याे र उसले अन्य पुँजीपतिहरुलाई मजा चखायाे। यही कुरा प्रमुख बन्छ। तर अब ऊ स्वयं एक पूँजीपति बनेर उनीहरुकाे शोषण गरिरहेकाे छ। याे तिताे सत्य भने गाैण बन्छ।

सारमा, मजदुरहरुकाे वर्गीय चेतनाकाे स्थान ‘मजदुर अस्मिता’ ले लिन्छ जसमाथि कुनै मजदुरवर्गीय पृष्ठभूमिबाट उठेकाे दबंगकाे माध्यमबाट गर्व गर्न सिकाइन्छ।

यस्ता फिल्महरुमा नायिकाकाे जस्ताे चित्रण हुन्छ, त्यसमा पनि हामी शासक वर्गकाे महिलाहरुका प्रति तुच्छ सोचलाई देख्न सक्छाैं, जसबाट हामी मजदुरहरु पनि अक्सर प्रभावित हुन्छाैं। नायक-नायिकाकाे सम्बन्धमा नायककाे भूमिका सदैव स्वामी, मालिककाे जस्ताे हुन्छ। नायिका यदि घमण्डी हुन्छिन् भने फिल्मकाे एउटा उल्लेखनीय हिस्सा नायकद्वारा नायिकाकाे घमण्डलाई ताेड्न र उनलाई आफ्नाे पाैरुषका समक्ष समर्पण गराउनमा खर्च गरिन्छ। नायिका पनि अन्त्यमा खुशी-खुशी नायककाे स्वामित्वलाई स्वीकार गर्छिन्। (‘केजिएफ’ काे नायक-नायिका रकी भाइ र रीना देसाईलाई सम्झनुहाेस्)

अक्सर उनकाे आत्मसम्मानकाे भावना खलनायकद्वारा उनीमाथि बलात्कारकाे प्रयास अनि फेरि नायकद्वारा उनलाई बचाइने प्रकरणद्वारा समाप्त हुन्छ, जसपश्चात् उनी आफ्ना सारा आत्मसम्मानलाई तेल लिन पठाउँछिन् र नायककाे चरणमा समर्पित हुन्छिन्। नाँच्नु, नायकलाई माेहित गर्नु र खुशी बनाउनुका अतिरिक्त नायिकाकाे जीवनमा केही पनि बच्दैन। मजदुर वर्गभित्र स्त्रीहरुलाई पुँजीवादी शोषणकाे मेशिनेरीमा घिसारिने कारण जति स्वतन्त्रता र अधिकार मिल्छ, यस्ता फिल्महरुमा त्यसलाई पनि खाेसिन्छ।

विचारणीय कुरा त याे छ कि हाम्राे मजदुरवर्गीय पृष्ठभूमिबाट उदाएकाे नायक अक्सर यस्ती नायिकालाई आफ्नाे ‘पौरुष’काे बलमा जित्छ, जो स्वयं मजदुर वर्गका हुदिनन्, बरु मध्यमवर्गीय वा उच्चवर्गीय पृष्ठभूमिका हुन्छिन्। परिणाम: वर्ग अन्तरविरोधकाे मूर्खतापूर्ण समाधान प्रस्तुत गर्न (अर्थात् एक मजदुरवर्गीय पृष्ठभूमिका नायकद्वारा पौरुषकाे बलमा एक मध्यमवर्गीय वा उच्चवर्गीय स्त्रीलाई ‘जित्न’) का लागि पनि स्त्रीकाे शरीरलाई युद्धकाे मैदान बनाइन्छ जबकि सर्वहारा वर्गकाे सोच याे हुन्छ कि ऊ हरेक सामाजिक रुपमा दमित र उत्पीडित समुदायकाे मुक्तिकाे समर्थन गरुन् र उनकाे मुक्तिकाे लड़ाईलाई एक सही वर्गीय दिशा दिने प्रयास गरुन्।

स्त्रीहरुका प्रति यस्ताे सोच र लैंगिक एवं जेण्डरगत सम्बन्धहरुका बारेमा यस्ताे घटिया र घृणित चित्रणमाथि क्रान्तिकारी सर्वहारा वर्ग केवल थुक्न सक्छन्। यस प्रकारकाे सोच ती प्रतिक्रियावादी र शोषणकारी शासक वर्गकाे नै हुन सक्छ, जसकाे हित शोषणसमेत सामाजिक उत्पीडनका तमाम रूपहरुलाई कायम राख्नमा छ, जस्तै महिलाहरुका उत्पीडन, दलितहरुका उत्पीडन आदि।

क्रान्तिकारी सर्वहारा वर्ग स्त्री र पुरुषहरुकाे साँचाे समानतामा विश्वास गर्छन्। उनीहरु जान्दछन् कि दुनियाँमा कुनै पनि ठूलाे सामाजिक-आर्थिक परिवर्तन महिलाहरुकाे सहभागिता, विवेक र जुझारूपना बिना भएकाे छैन। उनीहरु वर्गसंघर्षमा काँधमा काँध मिलाएर लड्नमा र महिला र पुरुषका बीचमा समानता कायम गर्नमा विश्वास गर्छन्।

तर ‘पुष्पा’ र ‘केजिएफ’ जस्ता फिल्महरु मजदुर वर्गकाे दिमागभित्र आफ्नाे सडेगलेकाे विचारधारालाई भरिदिन्छन्। निश्चित रुपमा, उनीहरुमाथि यसकाे असर पर्छ र यसकाे फाइदा अन्तत: मालिक वर्गलाई नै हुन्छ। किनभने यस्तो सडेगलेकाे विचारधाराकाे असरले मेहनतकश मजदुरवर्गकाे संघर्षलाई भित्रैदेखि कमजाेर बनाउँछ।

‘केजिएफ’ का यश

यी फिल्महरु सुरूदेखि अन्त्यसम्म यस्ता सडेगलेका विचारधारा र प्रतिक्रियावादी मूल्यमान्यताहरुद्वारा भरिपूर्ण हुन्छन् र यिनीहरुका सबै पाटाेकाे आलाेचना प्रस्तुत गर्नु याे ‘मज़दूर बिगुल’ काे पृष्ठहरुमा सम्भव छैन। तर यसकाे हामीले विस्तृत चर्चा गर्नुपर्छ र बुझ्नुपर्छ कि पूँजीपति वर्गका फिल्महरु र उनीहरुका कलाहरुले सामान्यतया हामीलाई के सिकाइरहेकाे छ?

कलाकाे काम हाम्रा चाहनाहरु, आकाँक्षाहरु र अपेक्षाहरुकाे चित्रण गर्नु हाेइन। कलाकाे काम याे सिकाउनु हाे कि हामीले के चाहने? के-कस्ता कुराहरूकाे आकाँक्षा राख्ने? के कस्ता कुराहरूकाे अपेक्षा गर्ने?

हामीलाई बताइन्छ कि तिमी पुष्पा वा रकी भाइ जस्तै बन्ने चाहना, आकाँक्षा र अपेक्षा पाल। हामीलाई पुष्पा र रकी भाइकाे काल्पनिक कथाहरु यसरी देखाइन्छ कि हामी उनीहरुमा आफ्नो छविलाई खाेज्छाैं। अढाई-तीन घण्टा हामी आफ्नाे जीवनकाे तिताे सत्यहरुदेखि टाढा कतै पलायन हुन्छाैं र पुष्पा र रकी भाइकाे रूपमा पर्दामा त्याे जीवनलाई जिउँछाैं, जसलाई वास्तविक जीवनमा हामी कहिल्यै पनि जिउन सक्दैनाैं। हामीलाई ती सपनाहरु देखाइन्छ, जो बाँझाे छन्।

फिल्ममा पुष्पा निर्धक्कसँग ‘अपुन झुकेगा नहीं’ भन्न सक्छ तर हामी मजदुर जान्दछाैं कि एक्लै हाम्राे कुनै शक्ति छैन र आफ्नाे दैनन्दिनकाे जीवनमा राेटीकाे लागि हामीले कदम-कदममा आफ्नाे मालिक वा ठेकेदारकाे सामु झुक्नुपर्छ, उनीहरुकाे गाली-गलौच र अपमानलाई सहनुपर्छ। जब कुनै बिन्दुमा हाम्राे आक्राेश बिस्फाेट हुन लागेकाे हुन्छ, तब आफ्नो अबाेध बच्चाकाे अनुहार, आफ्ना वृद्ध आमाबाबुकाे अनुहार हाम्राे मनसपटलमा झलझली प्रकट हुन्छ, अनि हामी आफुलाई राेक्छाैं र रगतकाे घुट् पिएर हरेक प्रकारकाे अपमान र उत्पीडनलाई सहन्छाैं। किनभने हामी जान्दछाैं कि मालिक वर्गसँग पैसा, पुलिस र सरकारकाे पावर छ।

अर्काेतर्फ, एक्लाे मजदुरकाे रुपमा कुनै पनि मजदुरकाे केही औकात छैन, केही तागत छैन। याे कुरा सुन्दा तिताे लाग्छ तर सत्य यही हाे। याे कुरा सबैलाई थाहा छ।

तर ‘पुष्पा’ र ‘केजिएफ’ जस्ता फिल्महरु हामीलाई याे तिताे सत्यबाट केही समयका लागि पलायनकाे बाटाे देखाउँछन्। जसमा हामी वास्तविक जीवनकाे अन्धकारबाट टाढा भाग्छाैं र एक काल्पनिक जीवनलाई जिउने कोशिश गर्छाैं जुन हामी यथार्थमा कहिल्यै जिउन सक्दैनौं किनभने एक एक्लाे मजदुरकाे पुँजीपतिका सामु कुनै तागत वा औकात हुदैन।

हाम्राे वास्तविक शक्ति हाम्रो एकजुटतामा छ। पुँजीपतिकाे पैसाकाे शक्ति हाम्राे एकजुटताकाे सामु केही पनि हाेइन। किनभने, अन्तत: पूँजीपतिकाे पुँजी हाम्राे श्रमशक्तिकाे दोहनद्वारा निचोरिएकाे मुनाफाबाट आउँछ। हाम्राे सामूहिकताका समक्ष त्यसले केही गर्न सक्दैन। एउटा कारखानाकाे प्यारामिटरमा, एउटा पेशाकाे प्यारामिटरमा र सिङ्गाे देशकाे समस्त अर्थव्यवस्था र समस्त मजदुर वर्गकाे प्यारामिटरमा यस्ताे सामूहिकता र एकजुटता कायम गरेर नै हामी आफुविरुद्ध भइरहेको अन्याय, उत्पीडन र अपमानका विरुद्ध लड्न सक्छाैं।

तर यस प्रकारका फिल्महरुमा याे बाटाेकाे बारेमा साेच्न नै निषेध गरिएकाे हुन्छ। हामीलाई यस्ताे फिल्म हेर्दाखेरि प्रतिरोधकाे याे साँचाे र व्यावहारिक बाटाेकाे बारेमा सोच्ने अनुमति हुदैन। त्यस समय हामीलाई पुँजीवादी व्यक्तिवाद र नायकवादकाे अफिम सुँघाइदिइन्छ जसले हामीलाई तिताे यथार्थदेखि पलायन गर्नमा मदत गर्छ र केही समय हामी आफ्नाे सत्य र त्यसकाे दु:खदेखि टाढा भाग्छाैं।

यसकारण यस प्रकारका फिल्महरु वास्तवमा पलायनवादी फिल्महरु हुन्, जो कि हामीलाई वास्तविकतालाई बुझ्ने र त्याे वास्तविकताकाे अनुरुप सही कदम उठाउने दिशातर्फ जान प्रेरित गर्दैन, बरु हामीलाई वास्तविकतालाई हेर्नबाट रोक्ने काम गर्छ र यसप्रकार पुँजीवादी विचारधाराकाे कामलाई सम्पन्न गर्छ, हामीलाई सत्य देख्नबाट रोक्ने काम। यसैलाई अंग्रेजी भाषामा ‘फेटिश’ भनिन्छ।

मजदुर वर्गलाई यस्ता फिल्महरुका आवश्यकता छ जाे विधमान पुँजीवादी समाजमा अन्तर्निहित शोषण, उत्पीडन र दमनका पाटाेहरुलाई सत्यतथ्यका साथ उजागर गरुन्। समस्याहरुलाई सही तरिकाले प्रस्तुत गर्ने कार्यभित्र नै त्यसको समाधानहरुका सम्भावना पनि लुकेकाे हुन्छ। यदि कुनै अन्तरविरोधलाई सही तरिकाले चित्रित गर्ने हाे भने, सही तरिकाले बुझ्ने हाे भने त्यसको समाधानकाे कुरालाई उपदेशका समान प्रस्तुत गर्नुपर्ने कुनै आवश्यकता नै पर्दैन, न त याे कलाकाे काम हो कि हरेक फिल्मकाे अन्त्यमा क्रान्तिकाे बाटाेकाे रुपरेखा प्रस्तुत गरियाेस्।

वास्तवमा, कलाकाे पहिलाे काम हाे यथार्थकाे ईमानदार चित्रण गर्नु। सही प्रातिनिधिक तथ्यहरुकाे पहिचान गर्नु जो कि यथार्थकाे सारतत्वलाई प्रस्तुत गर्दाे हाेस्। उदाहरणका लागि, कुनै एक मजदुर पुँजीपति बन्नु सम्भव छ र याे समस्त सामाजिक यथार्थकाे हिस्सा हुन सक्छ तर याे सामाजिक यथार्थकाे कोई प्रातिनिधिक हिस्सा हाेईन। जस्तै, कुनै बच्चा एक हातमा छ वटा औलाहरुका साथ जन्मिएको छ भने तब याे सामान्यीकरण गर्न सकिन्दैन कि मनुष्यहरुका एक हातमा छ वटा औलाहरु हुन्छन्।

पुँजीवादी कला अप्रातिनिधिक यथार्थकाे कुनै एक पाटाेलाई उठाएर त्यसकाे सामान्यीकरण गर्छ अनि फेरि हामीलाई विशेष प्रकारकाे चाहनाहरु, आकांक्षाहरु र सपनाहरु पाल्नका लागि प्रशिक्षित गर्छ, जो कि पूँजीपति वर्गका लागि लाभदायक हाेस्।

सर्वहारा वर्गकाे कला समस्त सामाजिक यथार्थकाे सारतत्वलाई समात्छ किनभने याे तिनकाे प्रातिनिधिक पक्षहरुलाई समात्छ, तिनकाे कलात्मक अमूर्तन र सामान्यीकरण गर्छ। यसर्थ, याे सत्यका साथमा उभिएको हुन्छ। यसर्थ, याे अन्तरविरोधहरुलाई सही रूपमा प्रस्तुत गर्न सक्छ र यसर्थ यसलाई अन्त्यमा क्रान्तिका बारेमा उपदेश दिनुपर्ने कुनै आवश्यकता हुदैन, बरु अन्तरविरोधहरुकाे यसकाे सही र सटीक चित्रण स्वत: हामीलाई अन्तत: सही दिशातर्फ सोच्नका लागि प्रेरित गर्छ।

वास्तवमा काे सही दिशातर्फ सोच्छ अथवा सोच्न सक्छ, याे त्याे व्यक्तिकाे वस्तुगत सामाजिक एवं राजनीतिक वर्गीय अवस्थितिमाथि निर्भर हुन्छ। तर निश्चय नै सर्वहारा कला यथार्थकाे एक सटीक, ईमानदार र वैज्ञानिक चित्रणका माध्यमबाट समाजका प्रातिनिधिक सत्यहरु र त्यसकाे अन्तरविरोधहरुलाई बुझ्नमा हाम्राे मदत गर्छ।

‘पुष्पा’, ‘केजिएफ’ आदि जस्ता फिल्महरुले यसकाे ठीक उल्टाे काम गर्छ। यी फिल्महरु विशेष गरेर खतरनाक यसकारण हुन्छन् किनभने यी फिल्महरुका विषयवस्तु कुनै एनआरआई धनी भारतीयकाे प्रेम प्रसङ्ग हुदैन, बरु एक यस्ताे नायककाे हुन्छ जो स्वयं मजदुर वर्गबाट उदाएका हुन्छन् अनि फेरि कथाले उसलाई पुँजीपति बनाइदिन्छ। यसकारण यस्ता फिल्महरुका माथि उल्लेखित कारणहरुले मजदुरहरु, बिशेष गरेर नाैजवान मजदुरहरुमाथि निकै गहिराे असर पर्छ।

स्पष्ट छ, याे लेखमा हामी यी फिल्महरुकाे विस्तृत सैद्धान्तिक र कलात्मक आलोचना प्रस्तुत गर्न सक्दैनौं। त्यसैले, केही विशिष्ट पाटाेहरुतर्फ संकेत गरेर त्यतिमै हामीले सन्तोष गर्नु परेकाे छ। याे लेखमा हाम्राे उद्देश्य अत्यन्त स्पष्ट छ, यी फिल्महरुका सामाजिक प्रकार्यलाई चित्रित गर्नु र त्यसकाे माध्यमबाट पूँजीपति वर्गद्वारा बेचिइरहेकाे कलाकाे सामाजिक प्रकार्यलाई सामान्यतया रेखांकित गर्नु। पछि-पछि हामी अलग-अलग फिल्महरुका माध्यमबाट यस विषयमाथि अझ विस्तारपूर्वक लेख्ने प्रयास गर्नेछाैं।

भारतका कम्युनिष्ट विचारक सुहासकाे ‘मजदुर बिगुल, जुलाई २०२२ अंक’ मा प्रकाशित लेखकाे नेपाली अनुवाद।

अनुवादक:- प्रभाष राज

मा प्रकाशित