आदिवासी समाजकाे अपमानकाे ब्राह्मणवादी परम्परालाई अगाडि बढाउँदै राजामौलीकाे ‘आरआरआर’ 

प्रभास

आदिवासी समाजकाे अपमानकाे ब्राह्मणवादी परम्परालाई अगाडि बढाउँदै राजामौलीकाे ‘आरआरआर’

– आकाश पोयाम

एस.एस.राजामौलीकाे पिरियड फिल्म ‘आरआरआर’ काे अन्तिम दृश्यमा नायक अल्लूरी सीताराम राजु हिन्दू भगवान् रामकाे भेषभूषामा प्रकट हुन्छन् र आफ्नाे कमरेड कोमाराम भीमलाई साेध्छन्, ‘भन तिमीलाई के चाहियाे?’

उत्तरमा काेमाराम भन्छ, ‘मलाई ज्ञान देऊ, भाइ।’

यसपश्चात् अल्लूरी एउटा तीरकाे चुच्चाेमा आफ्नाे औला घाेचेर सेताे झण्डामा देवनागरी लिपिमा ‘जल, जंगल, जमिन’ लेख्छन्।

(अल्लूरी सीताराम राजुकाे भूमिका तेलुगु अभिनेता रामचरण तेजाले र काेमाराम भीमकाे भूमिका जुनियर एन टि रामारावले निभाएका छन्।)

याे एक दृष्यमा कैयौं अर्थ लुकेकाे छ। तथापि, फिल्मकाे सुरुवातमा डिस्क्लेमर दिइएकाे छ कि ‘आरआरआर’ एक काल्पनिक कथा हाे र याे कुनै पनि जीवित वा मृत व्यक्तिमाथि आधारित छैन, न त कुनै जाति, पन्थ वा जनजातिमाथि नै आधारित छ।

तर राजामौलीकाे मिडिया अन्तर्वार्ता र याे फिल्म स्पष्ट सँकेत गर्छ कि फिल्मका पात्रहरु प्रसिद्ध ऐतिहासिक व्यक्तिहरु अल्लूरी सीताराम राजु र काेमाराम भीममाथि आधारित छन्।

क्षेत्रीय जातिकाे सदस्य अल्लूरीलाई सन् १९२२-१९२४ काे ‘रम्पा विद्रोह’ काे नेतृत्व गरिरहेकाे देखाइएको छ। याे विद्रोहमा तत्कालीन मद्रास प्रान्तकाे गोदावरी नदीकाे किनारमा बस्ने आदिवासी जनताले अंग्रेजहरुका विरुद्ध गुरिल्ला युद्ध लडेका थिए।

त्यही आदिलाबादकाे गोण्ड समुदायकाे सदस्य कोमाराम भीमले सन् १९२८-१९४० का बीच हैदराबादका निजामहरुका विरुद्ध सशस्त्र विद्रोहकाे नेतृत्व गरेकाे थियाे।

अल्लूरी बनेका रामचरण र काेमाराम बनेका जुनियर एनटिआर

‘आरआरआर’ मा यी दुवैकाे एक काल्पनिक कथा बताइएकाे छ जहाँ उनीहरु आ-आफ्ना विद्रोह सुरू गर्नुभन्दा पहिले सँगै मिलेर एक गोण्ड समुदायका बालिकालाई बचाउँछन्।

राजामौलीले गरेकाे दुवै क्रान्तिकारीका चित्रण एक अर्काभन्दा धेरै अलग छ। अल्लूरी (जसकाे जाति उनकाे जनैसँगै झुण्डिरहेकाे हुन्छ) लाई असभ्य समाजलाई सभ्यता सिकाउने र कोमारामलाई मार्गदर्शन गर्ने व्यक्तिकाे रुपमा देखाइएकाे छ। ज्ञान प्रदान गर्नकाे लागि अल्लूरीलाई कोमारामले गरेको याचना दुवैका बीच ज्ञान दिने (गुरु) र ज्ञान लिने (चेला) काे सम्बन्धकाे प्रतीक हाे।

एउटा दृश्यमा कोमारामलाई जमिनमा बसेर खाइरहेकाे र अल्लूरीलाई आफ्नाे मेचमा बसेर पढिरहेको देखाइएकाे छ। याे कोमारामकाे बेतुककाे छवि हाे किनभने मानवविद् क्रिस्टोफ वन फ्यूरर हैमडर्फले उसलाई पढ्न र लेख्न सक्षम बताएका छन् जसले निजामहरुलाई असँख्याैं निवेदन लेखेकाे थियाे।

जुनियर एनटिआर र रामचरण

 

यसका अतिरिक्त फिल्ममा साहित्य, विज्ञान र कलामा अन्तर्निहित गोण्ड समुदायकाे बौद्धिक परम्परालाई पनि अनदेखा गरिएकाे छ। आन्ध्र प्रदेशकाे पूर्व मुख्यमन्त्रीकाे नाति र प्रभावशाली कम्मा जातिकाे सदस्य जुनियर एनटीआरद्वारा कोमाराम भीमकाे भूमिका निभाउनु भारतीय सिनेमामा आदिवासी पात्रहरुका भूमिका उच्च जातिका हिन्दुहरुद्वारा निभाइने परम्पराकै विस्तार हाे। (आदिवासीहरुका बीच ब्राह्मणवाद फैलाउने दक्षिणपन्थी एजेण्डालाई ध्यानमा राख्दै कास्टिङसँग जाेडिएकाे यस्तो निर्णय गर्ने गरिन्छ।)

यसका अतिरिक्त जब कोमारामद्वारा गढिएकाे नारा ‘जल, जंगल, जमिन’ लाई अल्लूरी गोण्ड समुदायकाे पवित्र प्रतीक सेताे झण्डामा लेख्छन्, तब उनी आदिवासीहरुका माँगहरुलाई स्वीकार गर्दागर्दै पनि एक धार्मिक प्रतीककाे अपमान गरिरहेका हुन्छन् किनभने, उनी यस्ताे भाषामा यी शब्दहरु लेख्छन् जुन भाषा आदिवासी ज्ञान र संस्कृतिलाई मेटाउने औपनिवेशिक हतियार हाे। आदिवासीहरुमाथि हिन्दी र हिन्दू धर्मलाई थोपार्नु भारतीय ‘राष्ट्र-राज्य’ (Nation-State) मा समाविष्ट गर्ने हिंस्रक प्रक्रियाकाे नै मुख्य हिस्सा रहिआएकाे छ।

‘आरआरआर’ काे पाेस्टर

भारतकाे दाेस्राे सबैभन्दा ठूलाे अनुसूचित जनजाति (Scheduled Tribe – S.T) गोण्ड समुदायकाे अपमानजनक चित्रणका बावजूद ‘आरआरआर’ लाई समीक्षकहरुकाे प्रशंसा र बक्स-अफिसमा पनि सफलता मिलेकाे छ। जब मैले मूलधारका प्रकाशनहरुमा छापिएका समीक्षाहरुलाई पढे तब मैले फिल्ममा देखाइएकाे गाेण्ड समुदायका मानिसहरुका अपमानजनक प्रस्तुति र अमानवीयकरणकाे कसैले पनि, कतै पनि, कुनै पनि आलोचना गरेकाे देखिन। ‘आरआरआर’ काे सफलताले भारतीय समाजभित्र लुकेकाे त्याे वास्तविकतालाई बयान गर्छ जो या त आदिवासी समाजलाई बिल्कुलै देख्दैन/देख्न सक्दैन, या त उनीहरुलाई वनवासी/जँगलीहरुका रूपमा लिन्छ वा वनवासी/जँगली ठान्छ। याे स्टेरियोटाइपलाई कायम राखिरहने भारतीय सिनेमाकाे लामाे इतिहास छ र आजसम्म एउटै पनि सशक्त आदिवासी पात्रलाई लिएर एउटै पनि फिल्म भारतीय सिने उधाेगमा बनाइएकाे छैन।

राजामौली लगातार यस्ता (आदिवासीहरुकाे गलत चित्रण गर्ने, उनीहरुलाई हाेच्याउने र अमानवीय रुपमा प्रस्तुत गर्ने) फिल्महरु बनाइरहेका छन्। उदाहरणका लागि उनकाे फिल्म ‘बाहुबली’ काे पहिलाे भागमा प्रधान शत्रुकाे रुपमा देखाइएकाे कालकेयहरु (जसलाई स्पष्ट रूपमा आदिवासी त भनिएकाे छैन तर उनीहरुलाई जसरी कालाे वर्णकाे र हिन्दु धर्मग्रन्थहरुमा वर्णित राक्षसहरुसँग मिल्दाेजुल्दाे देखाइएकाे छ,  त्यसले उनीहरु आदिवासी नै हुन् भन्ने स्पष्ट हुन्छ) का भेषभुषा वा आभूषणहरु, आदिवासी रीतिरिवाज र नृत्यहरु अनि सामान्यतया स्वच्छताकाे कमि (उनीहरुलाई फाेहाेरी देखाउनु) ले आदिवासी संस्कृतिलाई नै सन्दर्भित गर्दछन्। ‘आरआरआर’ मा कोमारामकाे प्रवेश जंगलकाे एक यस्ताे शिकारीकाे रूपमा हुन्छ जो बाघलाई लालच दिएर गुफादेखि बाहिर निकाल्नका लागि आफैमाथि एक गिलास रगत खन्याउँछ। जब ऊ यसाे गरिरहेकाे हुन्छ, नेपथ्यमा ‘गोण्ड’ शब्द पटक-पटक सुनिन्छ। यधपि, गोण्ड समुदायमा यसरी शिकार गर्ने कुनै परम्परा छैन।

‘बाहुबली’ काे कालकेयकाे विपरीत ‘आरआरआर’ काे नायक कोमाराम ‘राक्षस’ हाेइन, बरु एक ‘अदवी मनिषी’ अर्थात् जँगलमा बस्ने एक असभ्य मानव हाे जो बाघलाई मारेपछि उसकाे शरीरसँग माफी माग्छ। ‘दि हिन्दू’ मा छापिएकाे समीक्षामा भनिएकाे छ , ‘फिल्ममा एकअर्काभन्दा पूर्णतया: अलग दुईजना नायक छन्। एउटा साहसी, विवेकी र अथाह आचरणयुक्त छ, जबकि अर्काे एक खुल्ला किताबजस्तै छ जो भावुक छ र उसमा साेझाेपन र क्रोध दुवै छ।’ एक अन्य समीक्षक बताउँछन् कि ‘सिद्धिप्राप्त अल्लूरी सीताराम राजु काेमाराम भीमलाई दुनियाँका तरिकाहरु सिकाउँछन् जबकि काेमाराम अल्लूरीले आफ्नाे मूल (जरा) लाई कहिल्यै नबिर्सिउन् भन्ने कुरालाई सुनिश्चित गर्छ।’

‘आरआरआर’ का दुईजना नायकहरु

आदिवासीहरुका यस प्रकारकाे चित्रणलाई आयमारा समाजशास्त्री तथा इतिहासकार सिल्विया रिवेरा कौसिकनकीले उपनिवेशवादी विचार-परम्पराकाे रूपमा परिभाषित गरेका छन् जसमा मूलनिवासी (आदिवासी) हरुलाई आफ्नाे मूल नबदलिने र आफ्नो अतीतसँग टाँसिइरहने मानवहरुकाे रुपमा चित्रित गरिन्छ। उनी लेख्छन्, ‘यसप्रकारकाे चित्रण मूलनिवासी (आदिवासी) हरुलाई समकालीनता, जटिलता र गतिशीलताबाट बञ्चित गर्छ।’ भारतमा याे सामान्य कुरा हाे।

केही बर्ष पहिले म जुन संगठनमा काम गर्थे, त्यसकाे उच्च जातिका निर्दैशक एउटा कार्यक्रमका लागि एकजना आदिवासी प्यानलिस्टलाई सहभागी गराउन चाहन्थ्याे। जब उसलाई केही कार्यकर्ताहरु र विद्वानहरुका नाम सुझाईयाे तब उसले ‘आफ्नाे पहिचानका साथ प्रस्तुत हुन सक्ने’ कुनै आदिवासी प्यानलिस्टलाई ल्याउन भन्याे र लिस्टमा प्रस्तावित नामहरुलाई काटिदियाे। उसकाे भनाईकाे अर्थ थियाे, प्यानलका राख्नका लागि कुनै यस्ताे व्यक्ति हुनुपर्‍याे जो जँगलमा बस्ने आदिवासीकाे स्टेरियोटाइपमा फिट हाेऊन्।

राजामौली गोण्ड समुदायलाई अधीनस्थ र अभावग्रस्त समाजकाे रूपमा प्रस्तुत गर्छन्। फिल्मकाे सुरुवातमा निजामकाे एकजना सल्लाहकार अर्काे एकजना ब्रिटिश अधिकारीसँग भेट्छ र अनुराेध गर्छ कि गभर्नरकी पत्नीले जुन केटीलाई आफुसँग दिल्ली लिएर गएकी छिन्, उनलाई फर्काइदिऊन् किनभने उनी एक गोण्डकी छाेरी हुन्।

ब्रिटिश अधिकारीकाे दाेभाषे उसलाई जवाफ दिदै भन्छ, ‘के भयाे त? के उनकाे शिरमा सिङ छ?’

निजामकाे सल्लाहकार एक याचक सरह भन्छ, ‘हाेइन, हाेइन, उनीहरू सीधासाधा मानिसहरु हुन्। उनीहरु याे अन्याय चुपचाप सहन्छन्।’

याे धारणा पूर्णतया असत्य हाे किनभने सन् १८५७ काे विद्रोहभन्दा पहिलेदेखि नै आदिवासी जनसमुदायहरु ब्रिटिश शासनको विरोध गरिरहेका थिए। फिल्मकाे समयरेखाभन्दा चारबर्ष पहिले सन् १९१६ मा गोण्ड महासभाकाे स्थापना भइसकेकाे थियाे जो यस समुदायकाे राजनीतिक संगठन थियाे र यसले गाेण्डहरुकाे हकअधिकारहरुकाे वकालत गर्थ्याें। निजामहरुका विरुद्ध कोमारामकाे संघर्ष यसैसँग जाेडिएकाे थियाे। कोमारामले वनभूमिबाट गोण्डहरुका सामुहिक विस्थापनका विरुद्धमा प्रतिरोध आन्दोलनकाे नेतृत्व गरेकाे थियाे। त्यसबेला जो जाे मानिसहरु आफ्नाे घर छाेड्दैनथे, उनीहरुका घरहरुलाई वन सुरक्षाकर्मीहरु आएर जलाइदिने गर्थे।

तथापि कोमारामलाई सन् १९४० मा पुलिसले गोली हानेर हत्या गर्‍याे तर उसकाे विचार आज पनि जीवित छ। आन्ध्र प्रदेश र तेलंगनामा आदिवासीहरुकाे भूमिदेखि बिस्थापनकाे दर सर्वाधिक उच्च छ। उनीहरुका भूमिमाथि मुख्य गरेर उच्च जातिका हिन्दूहरुकाे कब्जा रहेकाे छ। इन्द्रवेलीकाे गोण्ड गाउँमा सन् १९२१ मा भएकाे एउटा बैठकमा आदिवासीहरुका भूमिहरुका फिर्ताकाे माँग प्रमुख रूपमा उठाइएकाे थियाे जसकाे जवाफ पुलिसले अन्धाधुन्ध गोली चलाएर दियाे। स्थानीय बासिन्दाहरुका अनुसार त्यसबेला सयजना भन्दा बढी मानिसहरु मारिएका थिए। इन्द्रवेली नरसंहारका कारण ‘पिपुल्स वार ग्रुप’ प्रति आदिलाबादका गोण्डहरुकाे समर्थन तीब्र गतिमा वृद्धि भएकाे थियाे जसकाे कारण आगामी केही वर्षभित्रै जिल्लामा गाेरिल्ला दस्ताकाे सँख्या एकदेखि बढेर चा‌ैध पुगेकाे थियाे र यसकाे कुल सदस्यता दुई सयभन्दा बढी पुगेकाे थियाे।

यस मामिलालाई सन् १९८३ मा मुख्यमन्त्री चुनिएका एन टी रामारावले विधालयहरुमा आदिवासी शिक्षकहरुलाई अत्यधिक  सँख्यामा नियुक्त गरेर शान्त पार्ने कोशिश पनि गरे। सन् १९८० काे दशकमा शिक्षक बनेका यिनीहरु आफ्नाे समुदायका सदस्यहरुमाथि हुने उत्पीडनका विरुद्ध गरिने शान्तिपूर्ण विरोध प्रदर्शनहरुमा सदैव अग्रपंक्तिमा रहे। डिसेम्बर २०२० मा मैले तेलंगना पुलिसद्वारा आदिलाबादमा आदिवासीहरुमाथि गरिएका उत्पीडनहरुमाथि एउटा प्रतिवेदन लेखेकाे थिए। ती शिक्षकहरुलाई ‘कठोर गैरकानूनी गतिविधि रोकथाम अधिनियम’ (TADA) अन्तर्गत पक्राऊ गरिएकाे थियाे।

यस्ताे परिस्थितिमा जहाँ गोण्ड समुदायका मानिसहरुलाई अझै पनि माओवादी भनेर मारिन्दैछ, जुनियर एन टी रामारावलाई (फिल्ममै सही) एक महान गोण्ड नेताकाे रुपमा देखाउनु अपमानजनक छ। याे घटनाले उसकाे हजुरबुवाका नीतिहरु (जसमा माओवादीलाई सखाप पार्न एन्टी माओइस्ट पुलिस युनिट ग्रेहाउण्डकाे स्थापना गरेकाे तथ्य पनि सामेल छ) काे याद दिलाउँछ। याे दुखद् कुरा हाे कि कोमारामलाई एक यस्ताे साधारण व्यक्तिकाे रूपमा चित्रित गरिएकाे छ जो ठूला कुरा वा मुद्दाहरुलाई बुझ्दैन। ऊ अल्लूरीकी पत्नी सीतालाई भन्छ, ‘म मल्ली (अपहरित गोण्ड बालिका) का लागि आएकाे थिए र तिम्राे पति जमिनकाे लागि आएकाे थियाे। म त एक जँगलकाे मान्छे हुँ र याे सब बुझ्न सक्दिन।’

काेमाराम बनेका जुनियर एनटिआर

याे अल्लूरीमाथि छोडियाे कि उनी कोमारामलाई उसकाे समुदायकाे मानिसहरुका उत्पीडनका बारेमा शिक्षित गरुन्। याे कुरा वर्तमान आदिवासी बहसभन्दा अलग छैन जसमा सवर्ण कार्यकर्ताहरुलाई उनीहरुकाे कमभन्दा कम काम वा याेगदानका लागि सम्मानित गरिन्छ तर राज्यदमनकाे शिकार भइरहेका आदिवासी कार्यकर्ताहरुलाई अक्सर बिर्सिइन्छ।

इतिहासका किताबहरुमा अल्लूरी महिमागान गोदावरीका मर्री कामय्या, गम गंतमदोरा, गम मल्लूदोरा, तबेली वीरन्ना पडालु र गोकेरू एरेसु जस्ता औपनिवेशिक र सामन्ती उत्पीडनका विरुद्ध लड्ने याेद्धाहरुका मूल्यमा भएकाे हाे। यसका अतिरिक्त अल्लूरी र उनकाे संघर्षमाथि पनि अति धेरै साहित्य लेखिएका छन् तर कोमारामका बारेमा धेरै कम लेखिएको छ, शून्य बराबर। अक्टाेबर २०२० मा जब यस फिल्मकाे एउटा टिजर जारी गरियाे तब ‘आरआरआर’ विवादकाे बिषय बन्न पुग्याे किनभने यसमा कोमारामलाई मुसलमानकाे भेषमा टाउकाेमा टोपी र आँखामा काजल लगाएकाे देखाइएकाे थियाे।

भारतीय जनता पार्टी (भाजपा) काे तेलंगाना राज्यका अध्यक्ष बंदी संजय कुमारले एउटा रैलीलाई सम्बाेधन गर्दै भने, ‘फिल्मलाई सनसनीपूर्ण बनाउनका लागि राजामौलीले कोमाराम भीमलाई गाेलाे (मुसलमानी) टोपी लगाएकाे देखाए तर के हामी यसलाई स्वीकार्नेछाैं? कदापि स्वीकार्ने छैनाैं।’ उनले धम्कीले भरिएकाे शैलीमा भने, ‘यदि राजामौलीले याे आपत्तिजनक दृश्यलाई हटाएन भने उसले यसकाे गम्भीर परिणाम भाेग्नुपर्नेछ।’ कोमारामकाे नाति सोन राव सहित कैयाैं मानिसले उक्त दृष्यकाे आलोचना गरे।

याे सत्य हाे कि कोमारामले हैदराबादका मुस्लिम शासकहरुका विरुद्ध लडाइँ लडे तर फेरि पनि जल, जमिन र जंगलमाथि आदिवासीहरुका हकअधिकारहरुका लागि गरिएकाे उनकाे लडाइँकाे धर्मसँग कुनै लेनादेना थिएन। राजामौलीका पिता वी.वी.विजयेन्द्रप्रसादले विवादलाई साम्य पार्नकाे लागि बताए कि गोलाे (मुसलमानी) टोपी लगाएको देखाउनु फिल्मकाे दृश्यकाे माँग थियाे र आदिलाबादका युवा आदिवासी पारम्परिक रूपले मुहर्रमकाे जुलुसका दौरान हसन र हुसैनकाे बलिदानकाे प्रतिक ‘सवारियां’ लिएर हिँड्छन्। कोमारामलाई एक धर्मनिष्ठ हिन्दूकाे रुपमा देखाउनु समस्याग्रस्त छ। फिल्मकाे ट्रेलर ‘राम के लिए ख़ुद को तैयार करो, भीम के लिए ख़ुद को तैयार करो’ जस्ता कुराहरुका माध्यमबाट अल्लूरी र कोमारामसँगै दुई पाैराणिक कथाहरुलाई आपसमा गुथिएकाे छ।

हिन्दू अतीतकाे कथित गाैरवगाथालाई गढ्नका लागि आदिवासी इतिहासलाई मेटाउने औपनिवेशिक र ब्राह्मणवादी साहित्यहरुमा गोण्डहरुलाई ‘भीमकाे पूजा गर्नेहरु’ भनिएकाे छ। यधपि, गाेण्ड समुदायमा भीमकाे अभिप्राय महाभारतकाे चरित्र भीमसेनसँग हाेइन, बरु उनीहरुले बर्षाकाे देउता मानेकाे उनीहरुकाे पैतृक देउता भीमल पेनसँग छ। फिल्ममा एउटा दृष्यमा कोमाराम भीमलाई राममन्दिरमा प्रार्थना गरिरहेकाे देखाइएकाे छ भने अर्काे दृष्यमा उनलाई अल्लूरीसँग जन्माष्टमीकाे पूजामा सामेल भएकाे देखाइएको छ। एक राष्ट्रवादी दृश्यमा त कोमाराम भीमले स्वयंलाई ‘वंदे मातरम’ लेखिएकाे एउटा झण्डामा बेरेर आगाेबाट बचेकाे देखाइएको छ। पूरै राष्ट्रलाई हिन्दू धर्मद्वारा ढाक्ने याे दृश्यकाे अत्याधिक आलोचना गरिएकाे छ। यहाँ ध्यान दिनुपर्ने कुरा के छ कोमाराम भीम एक राष्ट्रवादी नेता थिएनन्, बरु गोण्डहरुका नेता थिए।

अन्तिम दृश्यमा जब पृष्ठभूमिमा वैदिक मन्त्रोच्चारण हुन्छ, तब अल्लूरीले रामकाे जस्तै वस्त्र लगाएका हुन्छन् र वैदिक मन्त्र फुकेर उनी धनुबाणले एक सिँगाे ब्रिटिश बटालियनलाई एक्लै हराएर कोमारामलाई बचाउँछन्। यस किसिमका कल्पनिक दृश्यहरुले हिन्दुहरुद्वारा आदिवासीहरुमाथि भइरहेका उत्पीडन, अत्याचार, शाेषण, हिंसा र औपनिवेशिक कालदेखि ब्राह्मणवादी शक्तिहरुका विरुद्ध चलिरहेको गोण्ड समुदायकाे प्रतिरोधकाे इतिहासलाई मेटाइदिन्छ। जनगणनामा आदिवासीहरुलाई हिन्दूहरुमा वर्गीकृत गरेकाे विराेधमा याे संघर्ष अहिले पनि जारी छ।

सन् २०१८ मा केरलाकाे अट्टापडीकाे एक आदिवासी मधुलाई सवर्ण हिन्दुहरुले कुटिकुटि मारे। यसकाे एकबर्ष पछि उत्तर प्रदेशकाे सोनभद्र जिल्लामा गुर्जरहरुद्वारा दिनदहाडै ११ गोण्डहरुकाे हत्या गरियाे। त्यही बर्षकाे सुरुवातमा छत्तीसगढकाे बलरामपुर जिल्लामा सवर्णहरुले आठ पण्डा जनजातिलाई कुटिकुटि मारे। मानवविज्ञानी र भाषाविद् राम दयाल मुण्डाले सन् २००५ मा दिएकाे एउटा प्रवचनमा प्राचीन ब्राह्मण ग्रन्थहरुमा लेखिएका वर्णहरुका चार-स्तरीय पदानुक्रम दैविक (सूर, नारायण, देव, यक्ष), मानव (नर, मानव), उपमानव (वानर, किन्नर) र अमानव (असुर, राक्षस, दानव) काे बारेमा चर्चा गरेका थिए। जबकि ‘बाहुबली’ मा कालकेय समुदायलाई याे सिढीकाे तल्लाे खुट्किलामा देखाइएकाे छ र ‘आरआरआर’ मा कोमारामलाई बाँदर हनुमानकाे भूमिका दिएर अमानवकाे रूपमा देखाइएकाे छ। एउटा दृश्यमा ऊ अल्लूरी र उसकी पत्नीकाे चर्चा गर्दै भन्छ, ‘मैले राम र सीतालाई मिलाउने वाचा गरेकाे छु, भलै मैले यसकाे लागि लंका जलाउनु किन नपराेस्?’ अन्य दुई परिस्थितिमा ऊ घाइते अल्लूरीलाई पुनर्जीवित गर्नका लागि जडिबुटीकाे त्यसरी नै खोज गर्छ जसरी रामायणमा संजीवनी बुटीकाे खाेज हनुमान गर्छ।

यसप्रकार फिल्ममा थुप्रै परिस्थितिमा कोमारामलाई ठीक त्यसैगरि अल्लूरीलाई आफ्नाे काँधमाथि बाेकेर लैजाँदै गरेकाे देखाइएको छ जसरी हनुमान रामलाई लैजान्छ। जस्ताे कि अधिकांश लोकप्रिय (popular) भारतीय संस्कृति, मिडिया र साहित्यमा हुँदै आइरहेको छ कि आदिवासी नायक सहायककाे भूमिकादेखि अघि बढ्न सक्दैन।

याे फिल्ममा पनि भीषण हिंसालाई विशेष रूपले आदिवासी पात्रहरुका वरिपरि खिचिएकाे छ। फिल्ममा अपहरित केटीकी आमाका टाउकाेमा एक ब्रिटिश सैनिक माेटाे लाठीले हिर्काउँछन्। यसैगरि फिल्मकाे आरम्भमा ब्रिटिश पुलिस अफिसर अल्लूरी, कोमारामकाे भाईलाई निर्ममतापूर्वक प्रताडित गर्छ। कोमारामलाई पनि फिल्ममा पुलिसले कैयाैंपटक पब्लिकमा निर्दयितापूर्वक पिट्छ। यस किसिमका दृष्यहरु देखाउनुकाे अर्थ आदिवासी समुदायहरुलाई नियन्त्रणमा राख्ने हेतुले हाे। यस्ताे समयमा जहाँ आदिवासी महिलाहरुका विरुद्ध हिंसा, हिरासतमा उनीहरुलाई प्रताडित गर्नु र सार्वजनिक रूपमा लिंचिङ गर्नु एक तिताे यथार्थकाे रुपमा समाजले देखिरहेकाे छ, भाेगिरहेकाे छ, मनोरन्जनकाे उद्देश्यले यसकाे यसरी ‘ग्ल्याइमराइज गर्नु’ अत्यन्त अमानवीय छ।

१२ अप्रिलमा राजामौली वास्तविक कोमारामका नातिसँग ‘आरआरआर’ हेर्न आदिलाबाद गए। त्यहाँ फिल्मले गोण्डहरुकाे धेरै आलोचनाकाे सामना गर्नुपरेन। आंशिक रूपले यस्तो यसकारण भयाे किनभने ब्राह्मणवादले आदिवासी गाउँ/समाजहरुमा जरा गाडिसकेकाे छ। साथै याे यसकारण पनि भयाे कि आदिवासी समुदायहरुलाई राष्ट्रकाे सार्वजनिक बहस र प्रमुख ऐतिहासिक दस्तावेजहरुबाट गायब पारिएकाे छ। यसरी कि ‘आरआरआर’ मा देखाइएकाे तिरस्कार पनि अब मानिसहरुलाई आदिवासीहरुकाे प्रगति लाग्न थालेकाे छ। अरुहरुकाे त कुरा छाेडिदिऊ, स्वयं आदिवासी समुदायहरुलाई यस्ताे लाग्न थालिसकेकाे छ भनेपछि बुझ्नुहाेस् परिस्थिति कति चिन्ताजनक बन्दै गइरहेको छ।

अनुवाद:- प्रभाष राज

मा प्रकाशित