यो दुई दशकअघिको मात्रै कुरा हो। त्यतिबेला गाउँका निरक्षर आमाहरु नाच्न, गाउन धक मान्थे। उनीहरु तीजबाहेक अन्य कुनैबेला नाचेको देखिँदैनथ्यो। तीजका लागि भनेर तीन दिनअघिबाटै घरको काम सकेर निस्किएका उनीहरु जम्मा भएर गीत गाउँथे-
एउटा हातमा कापी कलम, अर्को हातमा रेडियो।
उठ बजै दैलो पोत, क्याम्पस हिनियो।
खासमा स्कुल नटेकेका उनीहरुलाई क्याम्पस के हो थाहै हुन्थेन। तर आमाहरुका क्याम्पस हिँडियो गीतको नृत्य हरेर ‘बा’ हरु ताली बजाउँथे।
त्यो समय अहिलेजस्तो सामाजिक सञ्जाल थिएन। टेलिभिजन पनि निक्कै कमको घरमा हुन्थ्यो। तीज आउन एक साता बाँकी रहँदा रेडियोले बजाउने विरहका गीतमा आमाहरू सुक्सुकाउँथे।
रेडियोमै बज्ने ‘तीजको रहर आयो बरिलै’मा रमाउँथे। उनीहरुलाई आफ्नो स्वतन्त्रता भनेको हरितालिका तीजमा माइत जानु, गीतमा मनको गाँठो फुकाउनु मात्रै थियो।
अलिकपछि महिलाले गीतमार्फत आफ्ना अधिकारका कुरा गर्न थाले। हाम्रो पुरुष सत्ताले सामान्य विरोध त्यहीँबाट सुरु गर्यो।
गायिका कोमल ओलीले १५/१६ वर्षअघि ‘पोइल जान पाम’ भन्दै गीत गाएपछि बहुलाउन सुरु गरेको पुरुष सत्ताले आजसम्म महिलाको पनि आफ्नै रहर हुन्छ भनेर बुझ्न सकेको छैन। त्यसयता हरेक तीजमा तीजको मौलिकता र संस्कृति भत्काएको नाममा महिलाले विभिन्नखाले लाञ्छना सुन्दै आइरहेका छन्।
हरेक वर्ष तीजका विषयमा केही न केही विवाद भएकै हुन्छ। कुनै न कुनै महिलामाथि प्रहार भइरहेकै हुन्छ। अझै भनौं, हरेक वर्ष महिलाले गाएका गीत र गरेका नृत्यले हाम्रो पुरुष सत्तालाई नराम्रोसँग हल्लाइरहेको हुन्छ।
एउटा सामान्य डान्स स्टेपले यो वर्ष नराम्रोसँग हल्लाएको छ पुरुष सत्ताको मथिंगल। महिला भएकै कारण शरीर हल्लिन्छ कि भनेर विस्तारै हिँड्नुपर्ने, शीर निहुराएर, लजाएर मधुर स्वरमा बोल्नुपर्ने जस्ता पुरातन सामन्ती पितृसत्तात्मक मूल्य मान्यताबाट माथि उठेर महिलाले बाँच्न खोजेको कुरा धेरैलाई मन परेको छैन। त्यसैले विश्वमै प्रयोगमा रहेको डान्स स्टेपका कारण महिलाहरु ट्रोलको सिकार भैरहेका छन्।
सन २०१६ तिरै बलिउड अभिनेत्री कट्रिना कैफले गरेको नृत्यको एक अंश पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा देखियो। चल्तीको भाषामा भन्ने हो भने भाइरल भयो।
सोही स्टेप नायिका एलिजा गौतमले गरिन्। एलिजाले यो डान्स स्टेपमा नाच्नुअघि पनि थुप्रैले नाचेका छन्। एलिजाले नाचेपछि भने यो डान्स स्टेपले धेरैलाई उत्तेजित बनायो। धेरैका आँखाले उत्तेजक देख्यो। विस्तारै भाइरल हुँदै गएको यो डान्स स्टेपमा अरु धेरैका नृत्य सामाजिक सञ्जाल टिकटकमा देखिए।
यससँगै सदियौंदेखि जरा गाडेर बसेको पुरुष सत्ताको जरा नराम्रोसँग हल्लिरहेको छ। महिलाको स्वतन्त्रता मन परेन भन्न नसकेर यो सत्ताले संस्कृति मासिएको चिन्ता गरिरहेको छ। महिलाको नृत्यले संस्कृति सकियो भनेर रोइरहेका छन्।
उनीहरुले संस्कृतिको चिन्ता गर्दै गर्दा नृत्य गर्ने महिलाको व्यक्तिगत जीवनमाथि नै प्रहार गरिरहेका छन्। उनीहरुका परिवारलाई विभिन्न आक्षेप लगाइरहेका छन्। यो सबै कुरालाई हेरिरहँदा लाग्छ, यो पुस्ता पनि पुरातन सोच र मान्यताबाट बाहिर निस्कन सकिरहेको छैन।
यो समय विवादमा परेकी एलिजाको केही वर्षअघि यही जमातले गुणगान गाइरहेको थियो। उनले केही वर्षअघि श्रीमानको गोडा धोएर पानी खाइन्। एलिजाले गोडा धोएर पानी खाएको तस्बिर र भिडियो सार्वजनिक गरिन्। केही महिलावादीले विरोध गरे। त्यो समय धेरै मानिस एलिजाको कित्तामा उभिए। उनीहरुले भने ‘त्यो उनको व्यक्तिगत जीवनको रोजाइ हो। उनले आफ्नो स्वेच्छाले गरिन्। त्यसमा यो दुनियाँलाई के समस्या?’
हिजो एजिलाको स्वेच्छाको वकालत गर्ने त्यही जमात उनको नृत्य विरुद्ध खनिएको छ। हिजो महिलाको स्वेच्छाको वकालत गर्ने यो समाजले जुनसुकै डान्स स्टेप गरे पनि त्यो उनको व्यक्तिगत रोजाइको कुरा हो भनेर बिर्सिएको अभिनय गरिरहेको छ।
एलिजाले केही वर्षको अन्तरमा पाएको यो ताली र गालीलाई नियालेर हेर्ने हो भने यो सत्ताले महिलाले सधैं पुरुष मनोविज्ञानलाई माथि पारेर बाँच्दा मात्रै राम्रो मान्छ। अन्यथा आफूलाई मन परेको कुरामा मान्छेको रोजाइ भन्ने यो सत्ताले उसलाई मन नपर्ने वित्तिकै अश्लीलताको बिल्ला भिराएको छ।
नृत्य गरेकै भरमा केही निजामती कर्मचारीलाई संस्कृतिको ठेक्का लिएका केहीले सार्वजनिकरुपमा माफी माग्न बाध्य गराए। अघिल्लो साता प्रियंका ओलीले निजामती कर्मचारीको पोसाकमा रहेका ६ युवतीको समुहको नृत्यको क्लिप्स टिक टकमा अपलोड गरिन्। उनले बलिउडमा कट्रिनाले ‘काला चस्मा’ माथि गरेको डान्स स्टेपको नक्कल गरेकी थिइन्। युवतीको यो नृत्यले संस्कार मात्रै हल्लिएन देशको सम्पूर्ण निजामति संयन्त्र नै हल्लियो।
नृत्यमा आएका कमेन्टले युवतीहरुलाई विक्षिप्त बनायो। दाङको बबई गाउँपालिकामा कार्यरत यी स्वास्थ्यकर्मीले अपलोड गरेको दुई दिनमा भिडियो हटाए। त्यसपछि उनीहरुले सार्वजनिक रुपमै माफी मागे। उनीहरुले आफ्नो मर्यादामा बस्ने प्रतिज्ञा गरेर अर्को भिडियो पोस्ट गरे।
डगमगाइरहेको पुरुषसत्ता अहिले महिलाले मागेको सार्वजनिक माफीसँग खित्का छोडेर हाँसिरहेको छ। संस्कारमाथि सचेत भइदिएकोमा मुस्कुराइरहेको छ। सबैभन्दा धेरै त आफूले दमित गरेर माफी मगाउन सफल भएकोमा स्याब्बासी दिइरहेका छन्।
तर, कसैले पनि सोचेका छैनन् युवतीहरुले हृदयदेखि माफी मागेका हुन वा होइनन् भन्ने कुरा। उनीहरुले शीर झुकाएर हृदयबाट माफी माग्नुपर्ने गल्ती गरेकै थिएनन् भन्ने त यो समाजलाई थाहा छ। आफ्नो स्वतन्त्रताको उपभोग गर्दा उनीहरुलाई अपराधी करार गरियो।
यदि उनीहरुले सार्वजनिक माफी नमागेका हुँदा हुन् त अहिलेसम्म उनीहरुको जागिरसमेत धरापमा परिसकेको पनि हुन सक्थ्यो। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चरित्र हत्या र दुव्र्यवहार भएपछि बाध्य भएर माफी मागेका युवतीहरुको मन खुशी छैन। कामबाट हटाउन दबाव दिने खालका टिप्पणी आउन थालेपछि गल्तीको महसुस गरेका छौं भनेर माफी माग्न भनिएपछि माफी मागेको खबर पनि सार्वजनिक भएको छ।
महिलाको स्वतन्त्रतासँग यो समाज कसरी अत्तालिन्छ भन्ने एउटा गतिलो उदाहरण मात्रै होइन, महिलालाई दबाउन कतिसम्मको प्रयत्न गर्छ भन्ने कुराको गतिलो उदाहरण पनि हो।
जब–जब महिलाहरु आफ्नै शैलीमा बाँच्न खोज्छन्, पुरुषहरुले यसैगरी नियन्त्रण गर्न चाहान्छन्। यहाँ तपाई भन्नुहोला, महिलाले पनि त नृत्य र तीजका गीतलाई लिएर विरोध गरेका छन्। त्यो विरोध महिलाले गरेका होइनन्। वर्षौंदेखि चेतनामा बोकेर हिँडेको पुरुष मनोविज्ञानले गरेको हो। पुरातन सोचले गरेको हो।
आलोचना गर्नेहरुले यस्ता नृत्यका स्टेपले समाजमा अराजकता फैलाउने तर्क गरेका छन्। भावी पुस्तामा गलत सन्देश जाने बताएका छन्। पछिल्लो समय धेरै नेपालीले नक्कल गरेको यो डान्स स्टेप नर्वेजियन हीप–हप र सहरी नृत्य टोली ‘द क्विक स्टाइल’ ले पहिलो पटक अपलोड गरेको थियो।
‘काला चस्मा’ बनाएका ती भिडिओहरु सामाजिक सञ्जालका विभिन्न प्लेटफर्म हुँदै नेपाली प्रयोगकर्तासम्म आइपुगेको नृत्य हो यो। विदेशीले नेपाली गीतमा नाच्दा रमाइलो मान्ने जमात महिलाले नाचेको यो डान्स स्टेपलाई राष्ट्रविरोधी भनेर नारा लगाइ बसेको छ। संस्कृति मासियो भनेर चिन्ता व्यक्त गरिरहेको छ। इन्टरनेटका माध्यमबाट नैतिक पहरेदारी गर्दै महिलालाई लगातार ट्रोलको सिकार बनाइएको छ।
त्यसो त यो समाजले महिलामा ती नजानिँदो पहरेदारी हरेक क्षण गरिरहेको छ। नैतिक खबरदारी गरिरहेको छ। यो खबरदारीलाई चाडपर्वमा अझै धेरै बढाइन्छ। महिलाहरुको बाँच्ने तरिका, हाँस्ने तरिका, नाच्ने तरिका आफू अनुकुल नहुँदा आलोचना गर्छ। उनीहरुलाई नृत्यको हुक स्टेपसँग होइन, महिलाको स्वतन्त्रतासँग समस्या छ।
यो समाज अहिले पनि चाहन्छ महिलाले उदासी गीत गाउन, गीतमा स्वामी राजाको दीर्घायुको कामना गरुन्। उदास हुँदै संगिनी नाचुन्। महिलाले प्रगतिका थुप्रै खुड्किला उक्लिसक्दा पनि पुरुषको साहारा बिना महिला बाँच्न सक्दैनन् भन्ने मनोविज्ञानबाट हाम्रो समाज बाहिर निस्कन सकेकै छैन।
समय सधैं एकै ठाउँमा रोकिएर बस्दैन। समय चल्दै जाँदा यहाँ मानिँदै आएका मान्यता पनि भत्किँदै जान्छन्। भत्किएका पुराना मान्यताका ठाउँमा नयाँ मान्यताहरु स्थापित हुँदै जान्छन्। विज्ञान र प्रविधिको, शिक्षा र चेतनाले अब्बल महिला संसारभरि छरिएका छन्। आफैं स्वाबलम्बी छन्। आजका महिलाले बुझिसकेका छन् अब श्रीमानको दीर्घायुको कामना गर्ने होइन, आफ्नै जीवनलाई निरोगी र सक्षम बनाउनु पर्छ। त्यसैले अहिलेका महिलाको नृत्य र गायनलाई १८ औँ शताब्दीको आँखाले हेरिनु गलत हो।
कसैलाई सबैले हिँडिरहेको भन्दा फरक तरिकाले हिँड्न मन लाग्ला। उसले त्यो फरक तरिकाले हिँड्न पाउने कि नपाउने? कसैलाई हाँस्दाहाँस्दै चिच्याएर हाँस्न मन लाग्ला, उसले धक खोलेर हाँस्न पाउने कि नपाउने? संसार भरका संस्कृति इन्टरनेटको माध्यमबाट छिनभरमा विश्वमा छरिन्छन्। महिला आफैं विश्वका धेरै देशमा पुगेका छन्।
कसैलाई नाच्दा नाच्दै इन्टरनेटमा अथवा कतै देखेको डान्सको स्टेप नाच्न मन लाग्यो, उसले नाच्यो भन्दैमा उसले बाँचेको सम्पूर्ण जीवन माथि हिलो छ्याप्ने अधिकार यो समाजलाई कसले दियो। शिक्षित र स्वाबलम्बी एजिला गौतम देशमा श्रीमान छोडेर क्यानडा पुगेर आफैं परिश्रम गरेर छोरीहरुको रखवाली गरिरहेकी छिन्। उनलाई गाली गरिएको त्यो डान्स स्टेप क्यानडामा नै गरेकी हुन्।
आफैं कमाएर श्रीमानलाई समेत सहज जीवन यापनका लागि साथ दिइरहेकी एलिजाले किन ‘पति परमेश्वर’ मान्नु पर्ने? उनले किन उदास गीतमा नाच्नुपर्ने? उनले किन बुहार्तनका गीत गाउनुपर्ने? जुन जीवन उनले बाँचेकै छैनन्।
एउटी महिलाले नाचेकै भरमा संस्कृति मासिने भयले ग्रस्त छ। नाचेकै भरमा कुनै संस्कृति जोगिँदैन भने यो सत्ताले त्यो संस्कृतिको चिन्ता लिन छोडिदिए हुन्छ।
महिला नाचेकै भरमा, महिला हाँसेकै आधारमा, महिलाले गीत गाएकै आडमा भत्किने संस्कृतिको चिन्ता कहिलेसम्म लिने? यो ढिलोचाँडो भत्किनेवाला छ। कसैको अधिकार र स्वतन्त्रता माथि लगाम लगाएर कसैले गरेकबो चिन्ताको भरमा यो संस्कृति जोगिँदैन।
तपाईको खबरदारीले अबका महिला डराउने र टेर्नेवाला छैनन्। त्यसैले महिलाका नृत्यमा रुवाबासी गर्न छोड्नुहोस्। संस्कृति जोगाउने ठेक्का महिलाको मात्रै होइन। उनीहरुलाई खुलेर बाँच्न दिनुहोस्। आफ्नै हिसावले नाच्न दिनुहोस्। राधिका अधिकारीले लेख्नु भएको यो खबर लाई स्थान दिएका छौ ।