दाङ । कोरोना भाइरसका बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुद्यै छन् । संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संक्रमितहरु ।
अस्पतालभित्र मानिस हिँड्ने गल्लीमा पनि ठाउँ खाली छैन । खाली नभएपछि नयाँ संक्रमितले उपचार पाउन मुस्किलजस्तै भएको छ । अक्सिजनको अभाव भएपछि अस्पतालले नयाँ बिरामी भर्ना लिन सकेका छैनन् । यो हरिबिजोग हो दाङको लमही अस्पतालकाे, जसका कारण मृत्युदर उच्च बन्दैछ ।
भनिन्छ, स्थानीय सरकार प्रत्यक्ष जनतासँग सबैभन्दा नजिकबाट सराेकार राख्ने सरकार हो । तर (कोभिड १९) ले गर्दा अस्पतालमा जनताहरु सास फेर्न अक्सिजन नपाएर छट्पटिंदा पनि त्यही स्थानीय सरकारका जनप्रतिनिधिहरु यस्तो विषम् परिस्थिति र महामारीको बेला विभिन्न बहानामा छेउ लागेर र तर्किएर हिँड्ने गरेका छन् ।
कोरोनाको दोस्रो चरण निकै जोखिमपूर्ण रहेको अवस्थामा दाङका अधिकांश अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजन नहुँदा बिरामीहरु छटपटाइरहेको र बिरामीका आफन्तहरु अक्सिजनको खोजीमा भाैंतारिइ रहेका देखिन्छन् । कोरोनाका संक्रमितहरु बढेपछि दाङ जिल्लामा अक्सिजनको समस्या चर्काे बन्दै गएकाे छ ।
हामी (कोभिड १९) को महामारीबाट बच्ने बचाउने अभियानमा छाैं । त्यतिमात्रै नभइ हामी संक्रमितको ज्यान बचाउने गरी होमिनुपर्ने बेला आएको छ, भनेर विभिन्न कार्यक्रममा बोल्ने गर्छन् सरकार प्रमुखहरु । तर यो सबै जनताको आँखामा छारो हाल्ने मात्रै काम भएको छ, लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी टंक कुमाल भन्छन् –‘छोरो कर्ण कुमाल बिरामी भएको करिब २४ दिन भयो । छातीको एक्सरे गराउनको लागी लमही अस्पतालमा रसिद काटेँ तर लमहीका मेयर कुलबहादुर केसीले यहाँ होइन दाङ घोराही लैजानुपर्छ । यहाँ गर्न पाइन्न भनेर जवाफ फर्काए ।’
‘छोरालाई थप उपचारको लागी बाहिर लैजाने आर्थिक छैन । लकडाउनका कारण साँझ बिहानको छाक टार्न मुस्किल भएको बेला छोरोलाई उपचारको लागी कहाँ लैजाने ? एक्सरे गराउने मेशिन राखे हुन्छ त भन्दा, मेयर केसीले एक्सरे गराउने मेशिनलाइ दश लाख पर्ने जवाफ दिएकाे कुमालले बताए ।
‘यस्तो विषम् परिस्थितिको बेलामा कुनै विकासका योजनाको काम बन्द गरेर उक्त मेशिन खरिद गरि लमही अस्पतालमा जडान गरेर जनतालाई सेवा दिन किन चुकिरहेको छ लमही सरकार ? यहाँको स्थानीय सरकार त उहि नै हो । उनैको हातमा छ सबै । मान्छे मरेर गएपछि त्यो योजना के काम लाग्यो र ?’ समयमा संक्रमितको ज्यान बचाउन हामीले गर्न सक्ने अरू धेरै उपाय होलान्, तर मूल रूपमा ठूला अस्थायी उपचार केन्द्र स्थापना आवश्यक रहेको लमही अस्पतालका सुपरिडेण्डेन डाक्टर रञ्जिता महतोले बताइन् ।
‘अहिले पनि यसका लागि काम थाल्न सकिन्छ, केही दिनमै अस्थायी संरचना बनाएर उपचार गरेका उदाहरण छन्, हामीले पनि गर्न नसकिने भन्ने होइन, उनले भनिन् । उनका अनुसार अहिले लमही अस्पतालको ईमर्जेन्सीमा आठजना कोभिडका बिरामीहरुको उपचार भइरहेको छ ।
यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही अस्पतालमा रहको पुरानो एक्सरेबाट स्वास्थ्यकर्मीलाई राम्रोसँग रिपोर्ट छुट्याउन गाह्रो भएपछि नयाँ डिजिटल एक्सरे खरिदको प्रक्रियामा रहेको जानकारी दिए । उनले भने–‘लमही अस्पतालमा रहेको एक्सरे पुरानो भइसकेको छ । अव नयाँ खरिदको प्रक्रियामा छाैं ।’