रेखा थापा आफ्नो समयकाे सर्वाधिक स्टारडम भएकी नायिका हुन्। यसमा कुनै सन्देह छैन। अनि, यसमा पनि कुनै सन्देह छैन कि नेपाली सिनेमामा काेमल र निरीह नायिकाकाे चरित्रकाे ‘स्टेरियाेटाइप’ लाई ताेड्ने नायिका पनि रेखा थापा नै हुन्।
रेखा थापाले नेपाली सिनेमामा नायिकाकाे परिभाषालाई बदलिन् र रुन्ची, निरीह, लाचार र असहाय नायिका, फिल्मकाे ग्ल्यामर्सकाे लागि मात्र, नायककाे सामु शाे पिसकाे रुपमा मात्र देखिने-देखाइने गरिएका नायिका चरित्रहरुकाे बदलामा ‘नायकत्व’ (Heroism) ले भरपूर सबल र सशक्त नायिका चरित्रहरुलाई गढिन्।
रेखाले न केवल यस्ता सशक्त नायिकाका चरित्रहरुलाई गढिन् बरु ती चरित्रहरुलाई दर्शकहरुका माझमा सफलतापूर्वक अनुमाेदन गरेर पनि देखाइन्। यसरी उनले नायिकाकाे पुरानो परिभाषालाई मेटिन् र नयाँ परिभाषा लेखिन्। नायिकाका चरित्रहरुका पुराना मानकलाई भत्काइन् र नयाँ मानक स्थापित गरिन्। नेपाली फिल्म उधाेगमा एक समय त यस्ताे पनि थियाे, जुनबेला रेखा थापालाई नै हेर्न भनेर दर्शकहरुकाे ठूलाे भीड सिनेमाहलहरुमा ओइरिन्थे। रेखा थापाकाे नामैले फिल्महरु चल्थे। फिल्मका टिकटहरु हारालुछ बिक्री हुन्थे। सिनेमाहलहरु हाउसफुल हुन्थे।
रेखा थापाले गढेका नायिका चरित्रहरुकाे सबैभन्दा सटिक अभिव्यक्ति हाे, ‘काली’। काली परम्परागत नेपाली नायिकाहरुभन्दा भिन्न छिन्। काली सुन्दर त छिन् नै, साथै बिन्दास पनि छिन्। त्यति मात्र हाेइन, उनी साहसी र लडाकु पनि छिन्। उनी लजाउँदिनन्, बरु उल्टै केटालाई जिस्क्याएर लाजले राताेपिराे बनाइदिन्छिन्। काली हावामा बेताेडका साथ बाइक गुडाउँछिन्, स्टाइलका साथ खैनी खान्छिन्।
काली मुस्तण्डेहरुसँग आफै भिड्छिन् र तिनीहरुलाई धुलाे चटाउँछिन्। काली न परम्परागत नायिकाहरु जस्ताे गुहार माग्छिन्, न त आफ्नाे उद्दारका लागि नायकलाई नै पर्खिबस्छिन्। नायकलाई समेत खुल्लमखुल्ला आफुसँग भिड्न आउन हाँक दिन्छिन् काली। नायकलाई ‘वान् टू वान्’ फाइट खेल्न ओपन च्यालेज दिन्छिन् काली। वर्दीमा हुन् वा बिना वर्दीमा फ्रन्टमा उभिएर भिलेनहरुसँग लडेर, भिडेर, जुधेर उत्पीडनमा परेका चरित्रलाई न्याय दिने साहस र सामर्थ्य राख्छिन् काली।
काली फिल्मकी नायिका कम, नायक ज्यादा लाग्छिन्। कालीकाे स्क्रीनप्रेजेन्स बेजाेड छ। कालीका अदाहरुले भुतुक्क बनाउँछ। उनले स्वैगका साथ वानलाइनर डायलगहरु हान्दा सिटी बजाउन मन लाग्छ। अनि मुस्तण्डेहरुलाई किक हानेर ढाल्दा ताली बजाउन मन लाग्छ। उनकाे मास अवतारलाई सेलिब्रेट गर्न मन लाग्छ। याे उनकाे जादू कै असर हाे कि जब उनी पुलिसकाे वर्दीमा प्रकट हुन्छिन्, तब हामीलाई उनकाे हाइट-साइटकाे पनि मतलब हुन्न।
यसप्रकार काली जे पनि गर्छिन्। उनी बाइक हाँक्छिन्, फाइट खेल्छिन्, केटा जिस्काउँछिन्, प्रेम गर्छिन्, गाउँछिन् र नाँच्छिन् पनि…के गर्दिनन् काली? काली जे गर्दिनन्, त्याे कम छ। अलराउण्डर हुन् काली।
परम्परागत नेपाली नायिकाहरुभन्दा नितान्त भिन्न काली वास्तवमा विद्रोहका बिम्ब हुन्, सिनेमाभित्र पनि, सिनेमाबाहिर पनि। कालीले परम्परागत नेपाली नायिका चरित्रहरुकाे स्टेरियाेटाइपलाई ताेडेकी छन् र आफैलाई नायककाे भूमिकामा स्थापित गरेकी छन्। आफ्नै हिसाबले मूलधारका नायिका चरित्रहरुकाे सशक्तीकरण गरेकी छन्। याे सशक्तीकरणले न केवल नायिका चरित्रहरुकाे सशक्तीकरण गर्याे, अपितु नेपाली सिने उधाेग, सिनेमाहल, सिनेमा बिजनेस र सिने कल्चरकाे पनि सशक्तीकरण गर्याे।
नेपाली सिने उधाेगले रेखा थापाकाे नामले नै दर्शकहरु सिनेमाहलहरुमा फिल्म हेर्न आउने लामाे समय पनि देख्याे। उनकै नामले फिल्म चल्ने गरेकाे लामाे समय पनि देख्याे। याे उनकाे स्टारडमकाे पावर थियाे। उनकाे जादूकाे कमाल थियाे। ‘काली’ त्याे सवर्णकालकाे साक्षी हाे। ‘काली’ ले साेही समयलाई चिन्हित गर्छ।
त्यसपछि फेरि जब बदलावकाे समय आयाे, तब रेखा थापा पनि चुकिन्। रेखा एकखाले टाइपकास्टबाट त बाहिर निस्किन् तर अर्काेखाले टाइपकास्टमा फस्न पुगिन्। एउटा स्टेरियाेटाइपलाई त ताेडिन् तर अर्काे स्टेरियाेटाइपमा जकडिन पुगिन्। आइडल सेट गर्न सकिनन् उनले। ‘हिराेइज्म’ काे पुरानै फर्मुलामा अल्झिरहिन्। त्यस फर्मुलालाई च्यातचुत पारेर अर्काे फर्मुलालाई लेख्न सकिनन् जसरी भारतका विधा बालान, काेणकाेणा सेन शर्मा, ज्याेतिका, नयनतारा, जस्ता नायिकाहरुले लेखिन्।
रेखा पुरानाे स्टेरियाेटाइपलाई भत्काएर नयाँ ट्रेन्ड स्थापना गर्न सफल त भइन् तर कालान्तरमा त्यही ट्रेन्ड अर्काे स्टेरियाेटाइपमा परिणत भयाे जुन स्टेरियाेटाइपदेखि रेखा बाहिर निस्कन सकिनन्, त्यही जकडिरहिन् जसकाे कारण एक एक्ट्रेसकाे रुपमा रेखाकाे ग्राेथ पनि राेकियाे। तर पनि नेपाली सिनेमामा नायिकाकाे स्टेरियाेटाइपलाई ताेड्ने श्रेय त रेखा थापालाई नै जान्छ।