हर्क साम्पाङमाथि पहिले लाठीचार्ज, अहिले फूल र अबिरको वर्षा

गणतन्त्रनेपाल समाचारदाता, दाङ

एक वर्षअघि धरानको खानेपानीसम्बन्धी ज्ञापनपत्र लिएर जाँदा सामाजिक अभियन्ता हर्कराज साम्पाङ राईलाई नगरपालिकाको जुन प्रवेशद्वारबाट भित्र छिर्न दिइएको थिएन‚ मंगलबार त्यही प्रवेशद्वार उनकै स्वागतका लागि सजाइएको थियो ।

बिहानै दुईतिर पानीले भरिएको तामाको गाग्री फूलले सजाइएको थियो ।

निर्वाचित हुनुअघि जनताको माग लिएर जाँदा साम्पाङलाई नगरपालिकामा छिर्न नदिन फलामे प्रवेशद्वार बन्द गरिएको थियो । उनी प्रवेशद्वार नाघेर जान खोजेका थिए । धरानका तत्कालीन प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई सम्बोधन गर्दै बाहिर निस्केर हिसाबकिताब देखाउन माग पनि गरेका थिए । त्यसबेला साम्पाङमाथि लाठीचार्जसमेत भएको थियो । तर यसपटक भने लाठीचार्जको ठाँउमा स्वागतसहितको फूल र अविरको वर्षा भयो ।

नगरपालिकाका कर्मचारीको स्वागतलाई सहर्ष स्वीकार गर्दै फूलमाला र गुच्छा लिएर अगाडि बढेका प्रमुख साम्पाङलाई नगरप्रहरीले सुरक्षा दिँदै स्वागतका साथ स्यालुट हाने । कर्मचारी लाम लागेर फूलमाला र अबिर पालैपालो लगाइदिए । उनलाई स्वागत गर्न कर्मचारीहरू ‘तछाड मछाड’ गरेका थिए । स्वागत गरिसकेपछि उनीहरूले नै नवनिर्वाचित साम्पाङलाई ‘हजुर मेयर साप’ भन्दै कार्यकक्षसम्म पुर्‍याए ।

स्वागतको लाममा धरान उपमहानगरपालिकामा केही महिनाअघि खानेपानी आयोजनाको विषयमा विवाद हुँदा साम्पाङबाट पेचिलो गाली खाने अधिकृत र कर्मचारीहरू पनि थिए । साम्पाङले सबै नभए पनि केही कर्मचारी भ्रष्टाचारी भएको आरोप पनि लगाएका थिए । दलीय उम्मेदवार नभएर स्वतन्त्र र नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग सिधा वादविवादमा उत्रेका अभियन्ता स्थानीय तहको चुनावमा एकाएक जनमत पाएर जितेपछि प्रमुख भएर आउदा केही कर्मचारीहरू भने सशंकित देखिएका थिए । केहीचाहीँ ‘हामीलाई यस्तै प्रमुख चाहिन्छ’ भन्नेहरू पनि थिए ।

साम्पाङले औपचारिक रुपमा पदभार ग्रहण गरेपछि पहिलो पटक धरानमा वैज्ञानिक कर प्रणाली लागू गर्नेगरी एक अध्ययन कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे । कार्यदलले अध्ययन गरेर सुझाव पेश गर्ने छन् । कार्यदलले धरानको कर वैज्ञानिक भए/नभएको, आयस्रोतहरूको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिने छ । सुझाव कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्र विक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन् । धरानमा ‘कर बढाएर जनताको ढाड सेक्ने काम गरेको’ भनेर व्यापक जनगुनासो सुनिँदै आएको छ ।

निर्णय पुस्तिकामा हस्ताक्षर गरे पनि सञ्चारकर्मीसँग करिब १० मिनेट आफ्नो धारणा राखेका थिए । उनले आफू स्वतन्त्र उम्मेदवारको रुपमा जितेर आए पनि सबै राजनीतिक दल, संघसंस्था र नागरिक समाजकै सल्लाह सुझाव र सहकार्य समन्वय गरेर धरानको विकास निमार्ण गर्ने, उन्नत सहर बनाउने बताए ।

उनले भने, ‘अहिले विभिन्न समस्या र चुनौतीहरू पनि बढिरहेको छ । हामी मिलेर नै विभिन्न समस्या र चुनौतीको सामना गर्ने छौं । जनताको विश्वास कायम गर्न मैले धेरै काम गर्नुपर्ने छ । यो चुनौतीपूर्ण छ तर हामी सबैको सहकार्यबिना म एक्लैले गर्न सक्दिनँ ।’ उनले खानेपानी समस्या तत्काल समाधान गर्न उत्पादन बढाउन र स्रोत बढाउन लिकेज रोक्ने र मर्मत सम्भारको काम सुरु गर्ने बताए ।

उनले सेवालाई चुस्तदुरुस्त बनाएर धरानमा ‘स्थानीय सरकार छ है’ भन्ने अनुभूति दिलाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले दलीय कार्यकर्ता र दलीय उम्मेदवारलाई मतदान गर्ने नगरवासीलाई सम्बोधन गर्दै भने, ‘अहिले जनताले अन्य जनप्रतिनिधिहरू पनि असल व्यक्तिलाई नै चुनेर जिताएका छन् । यहाँ आउने असल नै छन् । हामी जुनुसुकै दलबाट वा स्वतन्त्रबाट आए पनि मिलेर काम गर्ने भएकाले धरानको विकास रोक्न कसैले सक्दैन ।’

मा प्रकाशित