‘पँचायत, सिजन-२’- एक भिन्न स्वाद दिने वेब-सिरिज

सिरिज चर्चा

प्रभाष

अमेजन प्राइम भिडियाेले ल्याएकाे ‘पंँचायत’ वेब-सिरिजलाई धेरै सिनेप्रेमीले मन पराए। कारण थियाे यसकाे कन्टेन्ट। विशुद्ध ग्रामीण परिवेशमा बनाइएकाे याे सिरिजले ग्रामीण समाजकाे दैनन्दिनी किस्साहरुलाई मजेदार ढंगले हाँस्यकाे लेपन लगाएर प्रस्तुत गरेकाे थियाे। साथै ग्रामीण सामाजिक जनजीवन र राजनीतिक अवस्थाकाे पनि चित्रण गरेकाे थियाे। सँगै सँगत गर्दा बन्ने मित्रतापूर्ण सम्बन्ध र मानवीय संवेदनाकाे अभिरेखन यसकाे अर्काे प्रमुख बिशेषता थियाे। गाउँकाे सुन्दर लाेकेशन, देहाती पात्रहरु, उनीहरुले आपसमा सँवाद गर्ने देहाती भाषाशैली, त्यसमाथि हास्य र भावुकताकाे उचित सम्मिश्रणले दर्शकहरुलाई साँच्चै नै लाेभ्याएकाे थियाे। त्यसैले त यसले अपार लाेकप्रियता पाएकाे थियाे र असँख्याैं सिनेप्रेमी यसकाे दाेस्राे सिजनकाे व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका थिए।

सिनेप्रेमीहरुकाे यस प्रतीक्षामाथि पूर्णविराम लगाउँदै अमेजन प्राइम भिडियाेले भर्खरै यसकाे दाेस्राे सिजनलाई पनि रिलिज गरेकाे छ। ‘पँचायत’ काे याे दाेस्राे सिजन पनि उहीँ प्रकृतिकाे छ। उहीँ गाउँ-देहात (खासमा गाउँभन्दा पनि उदारवादी भारतकाे सहर-उन्मुख गाउँ भन्नु उपयुक्त हुनेछ) मा दैनन्दिन घट्ने किस्साहरु, गाउँ-देहातका सानातिना-झीनामसिना लाग्ने तर यथार्थमा निकै महत्त्वपूर्ण अन्तर्विराेध वा समस्याहरुलाई यसमा दर्शाइएकाे छ। साथै, मानवीय सम्बन्ध र संवेदना, मित्रताकाे मूल्यमान्यता र साे मूल्यमान्यताकाे निर्वाह, मानिसकाे स्वाभिमान, आत्मसम्मान र गरिमाकाे महत्व, आमाबाबुकाे छाेराछाेरीप्रतिकाे प्रेम, मित्रकाे मित्रप्रतिकाे प्रेम र आदरजस्ता कुराहरुलाई यसमा अभिरेखन गरिएकाे छ जसले यसपटक पनि दर्शकहरुलाई रिझाउनेछ।

‘पँचायत’ काे केन्द्रीय पात्र हुन्, अभिषेक त्रिपाठी जाे एक मध्यमवर्गीय शिक्षित युवक हुन् र ग्राम पँचायत फुलेराकाे सचिवकाे रुपमा कार्यरत छन्। उनी फुलेराकाे पँचायत अफिसमा नै बस्छन् र त्यहाँकाे पँचायतकाे काम हेर्छन्।  पँचायतकाे काम गर्ने क्रममा र फुलेरा गाउँमा बस्ने क्रममा उनले भाेगेका समस्याहरु, उनलाई आइपरेका अफ्ठ्यारा वा कठिनाइहरु र उनले अनुभव गरेका अनुभूति, एक वाक्यमा, उनले त्यहाँ जिएकाे जीवनकाे अभिरेखन हाे ‘पँचायत’, एक हिसाबले।

तर ‘पँचायत’ अभिषेक त्रिपाठीकाे मात्र कथा हाेइन। यसमा अन्य थुप्रै पात्र छन्। गाउँकाे प्रधान भनिने (तर खासमा प्रधान नभएर प्रधानका पति) बृजभुषण दुबे, उनकी पत्नी मन्जुदेवी (जाे खासमा प्रधान हुन्), उनीहरुका छाेरी रिंकी, कार्यालय सहायक विकास, उपप्रधान प्रल्हाद यसका अन्य मुख्य पात्रहरु हुन्। उनीहरुका अतिरिक्त ‘पँचायत’ का परिधिमा अन्य पात्रहरु पनि छन्। सबै पात्रका आ-आफ्ना गुण, प्रवृत्ति वा बिशेषताहरु छन्। ती सबैका आपसी सम्बन्धका किस्साहरुले यस सिरिजलाई राेचक र मनाेरन्जक बनाएकाे छ।

‘पंचायत-२’ काे पहिलाे एपिसाेडदेखि नै दर्शकहरुलाई रस बस्दै जान्छ, जहाँ एक नर्तकीले ‘तिमी नाँच्न किन छाडिदिदैनाैं?’ भन्ने फुलेरा सचिव अभिषेककाे प्रश्नकाे उत्तरमा उनलाई भन्छे, ‘हर काेही कहीँ न कहीँ नाँचिरहेक‌ै छन् सचिवजी।’ जुन कुरा सचिवजी अर्थात् अभिषेककाे मनभित्र गहिराेगरि धसिन पुग्छ र यसलाई हेरिरहेका दर्शकहरुकाे मनमा पनि।

किनभने, यहाँ कसैले पनि आफुले चाहेजस्ताे जीवन जिउन पाएकाे छैन। आफुले चाहेजस्ताे काम गर्न पाएकाे छैन। फेरि पनि मानिसहरु आफ्नाे मनलाई मारेर, बेमनले त्याे काम गरिरहेका छन्। परिस्थितिसँग सम्झाैता गरेर बाँचिरहेका छन्। अर्थात्, सबै कहीँ न कहीँ नाँचिरहेकै छन्। आफ्नाे तालमा हैन, अरु कसैकाे तालमा। नियतिकाे तालमा, परिस्थितिकाे तालमा, भाग्य वा दुर्भाग्यकाे तालमा, अनि आफ्नाे मालिककाे तालमा। आफ्नाे तालमा त कसले नाँच्न पाएकाे छ र? तर के गर्ने? नाँच्नैपर्छ। नाँच्दिन भन्दा पनि धर पाइन्दैन। निदा फाज़लीकाे तलकाे चर्चित शेरले भनेजस्तै, 

‘कभी किसी को मुक़म्मल जहाँ नहीं मिलता

कहीं ज़मीं तो कहीं आसमाँ नहीं मिलता’

‘पँचायत-२’ ले बिस्तारै आफ्ना पत्रहरु उघार्दै जान्छ र आफ्ना पात्रहरुमार्फत् हाम्राे समाजकाे पात्रहरुका चरित्रचित्रण गर्दै जान्छ। अनि, दाेस्राे एपिसाेडबाट यसले भुषण नामक यस्ताे पात्रलाई ‘इंट्रड्युज’ गराउँछ जसले हाम्राे समाजकाे एक खाले ठेट पात्रहरुकाे प्रतिनिधित्व गर्छ। याे पात्र गाउँकाे प्रधानकाे विराेधमात्र गर्छ, कहिले बाटाे नबनाएकाे भनेर, त कहिले माटाे बेचेकाे भनेर, कहिले चर्पी नबनाइदिएकाे भनेर त कहिले के भनेर। यहाँसम्मकी सचिवलाई पनि छाेड्दैन। उनीमाथि पनि प्रधानकाे चाकडी गरेकाे गम्भीर आराेप लगाउँछ र सचिवलाई जहाँ देख्याे त्यही नै निन्दा गर्न थाल्छ। उसकाे विराेधभित्र नागरिक कर्तव्यकाे भावना कम, पूर्वाग्रह र रिसइवीकाे भावना अधिक हुन्छ। उसकाे निन्दा प्रतिशाेधकाे भावनाद्वारा निर्दैशित हुन्छ। ऊ ‘उनीहरुकाे कार्यशैली सच्चियाेस्’ भन्ने उद्देश्य राखेर हाेइन, उनीहरुलाई खुइलाउने उद्देश्य राखेर एकाेहाेराे विराेध गर्छ।

ऊ यति निहुँखाेजुवा छ कि पँचायतकाे गाडी अनियन्त्रित भएर सडककाे एकछेऊमा तेर्सिन्दा अर्काे छेऊबाट आफ्नाे बाइक लैजान मान्दैन बरु त्यही छेऊबाट जाने भन्दै जबर्जस्तीकाे अड्डी कस्छ र पँचायतकाे गाडी नहटिन्जेलसम्म त्यही उभिएर हर्न बजाइरहन्छ र अन्ततः सचिवलाई पँचायतकाे गाडी त्यहाँबाट हटाउन बाध्य पार्छ। 

ऊ आफ्नी पत्नीकाे चप्पल कसैले लगाइदिदाँ चप्पल चाेरेकाे आराेपमा एफआइआर गर्न खाेज्छ। ऊ गाउँलेहरुलाई प्रधानकाे विरुद्धमा भड्काउछ। ‘के निहुँ पाऊँ कनिका बुकाउ’ भनेझै ऊ सधै प्रधान वा पँचायतलाई खुइलाउने निहुँकाे खाेजी गरिरहन्छ। 

एकजना गाउँलेकाे घरमा चर्पीकाे हण्डी फिट गर्न पँचायतले ढिलाे गर्दा ऊ उसलाई पँचायतकाे तानाशाहीविरुद्ध खुल्लामा शा‌ैच गरेर ‘क्रान्तिकाे प्रकाश ल्याउन’ उक्साउँछ। त्याे पनि ठीक त्यही दिन, जुन दिन ‘खुल्ला शाैचमुक्त क्षेत्र’ घाेषित भइसकेकाे गाउँमा खुल्लामा शा‌ैच गरे-नगरेकाे अनुगमन गर्न जिल्लाध्यक्ष आउन लागेकाे हुन्छ।

यसरी खुल्लामा शाैच गर्न उक्साएर ऊ जिल्लाध्यक्षकाे सामु प्रधानकाे शीर निहुर्‍याउन चाहन्छ। यसबाट उसकाे अहमकाे तुष्टि त हाेला तर गाउँकाे ‘खुल्ला शाैचमुक्त क्षेत्र’ काे दर्जा खारेज हुन सक्छ र सिँगाे गाउँकै बेइज्जती हुन सक्छ, फंड पनि राेकिन सक्छ। तर ऊ यी कुराहरुकाे परवाह गर्दैन। उसलाई केवल आफ्नाे दुश्मनकाे शेखी झार्नुसँग मतलब छ, गाउँकाे हितसँग छैन। गाउँकाे हितभन्दा आफ्नाे अहमकाे तुष्टि उसकाे लागि ठूलाे छ।

भुषणकाे पात्रले हामीलाई हाम्राे गाउँ-समाजकाे यस्तै असामाजिक पात्रहरुकाे सम्झना दिलाउँछ। यस्ता पात्रहरु जाे विराेध गर्न मात्र जान्दछन्, तर सहयाेग गर्न जान्दैनन्। जाे भाँजाे हाल्न मात्र जान्दछन्, तर भाँजाे हटाउन जान्दैनन्। जाे बिगार्न मात्र जान्दछन्, तर सपार्न जान्दैनन्। जाे तिल जत्राे कुरालाई त्यही निमिट्यान्न पार्न हैन, बरु त्यसलाई पहाड बनाउनतर्फ लाग्छन्। जाे ताेरीकाे दानामा पनि प्वाल खाेज्दै हिँड्छन्। जाे परिस्थितिलाई सपार्न हैन, त्यसलाई गिजाेलेर झनै बिगार्न उधत हुन्छन्। जाे गुदीकाे लागि भन्दा बाेक्राकाे लागि झगडा गर्छन्, जाे शरीरमा सानाे मुसा निस्किए त्यसलाई ‘प्रपर ट्रिटमेन्ट’ गरेर निकाे पार्न हाेइन, काेट्याएर क्यान्सर बनाउन खाेज्छन्।

भुषण उर्फ दुर्गेश कुमार

आफ्नाे आँखा खाेलेर हेर्नुहाेस् त, के हाम्राे वरिपरि यस्तै भुषणजस्ता पात्रहरु गुलियाेमा झिँगा भन्केसरि भन्किरहेका छैनन् त? हामीलाई झिँगाहरुले जस्तै झिँजाे गरिरहेका छैनन् त? वास्तवमा भन्ने हाे भने हाम्राे समाजमा भुषणजस्ता पात्रहरुकै बिगबिगी छ। हाम्राे गाउँ-टाेलमा यिनीहरुकै आधिपत्य छ, हाम्राे वडा, समिति, कार्यालयहरुमा यिनीहरुकै वर्चस्व छ। हाम्राे समाजकाे हरेक क्षेत्रमा यिनीहरु नै कब्जा जमाएर बसिरहेका छन्। 

अर्काे शब्दमा ‘भुषण सिन्ड्राेम’ ले हाम्राे समाजमा जरा गाडेर बसेकाे छ। ‘भुषण सिन्ड्राेम’ हाम्राे समाजकाे एक गम्भीर राेग हाे। ‘भुषण सिन्ड्राेम’ भनेकाे पूर्वाग्रह र शत्रुता राखेर व्यवहार गर्नु, वस्तुनिष्ठ ढंगले नेतृत्वकाे मूल्यांकन नगर्नु, बरु पूर्वाग्रह राखेर नेतृत्वकाे विराेध गर्नु, पुर्वाग्रहले ‘आधाे’ भएर सत्य नदेख्नु, रिसइवी राखेर अरुकाे खेदाे खन्नु, आफुलाई मन नपर्ने मान्छेलाई क्षति पुर्‍याउन गाउँ-समाजलाई क्षति पुर्‍याउने हदसम्म अघि बढ्नु, समाजकाे हितलाई आफ्नाे स्वार्थभन्दा तल राख्नु, आफ्नाे स्वार्थलाई समाजकाे हितभन्दा माथि राख्नु, सहअस्तित्व, सहमति र सहकार्यलाई नमान्नु र त्याे पद्वतिलाई भत्काउन उधत हुनु, असामाजिक साेच र कार्यव्यवहारलाई अपनाउनु, मेलमिलाप गर्न नमान्नु आदि हुन्। 

यही ‘भुषण सिन्ड्राेम’ हाे जसले हाम्राे समाजलाई अघि बढ्न दिइरहेकाे छैन, हाम्राे समाजकाे सद्भावलाई बिगारिरहेकाे छ, हाम्राे समाजकाे सहमति र सहकार्यकाे पद्धतिलाई भत्काइरहेकाे छ र समाजमा असामाजिक प्रवृत्तिलाई बलियाे बनाइरहेकाे छ। ‘भुषण सिन्ड्राेम’ आफैमा एक असामाजिक प्रवृत्ति हाे।

हरेक समाजमा धेरथाेर ‘भुषण प्रवृत्ति’ हुन्छ नै। तर हाम्राे समाजमा भने याे प्रवृत्ति जब्बर छ। यसले हाम्राे समाजमा दह्राेसँग जरा गाडेर बसेकाे छ। (भारत र नेपालकाे समाज र सामाजिक प्रवृत्ति मूलभूत रुपमा एकै हाे।) हामी आफैभित्र पनि कहीँ न कहीँ भुषणकाे केही न केही अँश लुकेकाे छ। त्यसैले हामीले याे भुषण प्रवृत्तिलाई प्रतिकार र दुरुत्साहित गर्दै लैजानुपर्छ। याे भुषण प्रवृत्तिलाई जरैदेखि उखालेर फ्याँक्न कम्मर कस्नुपर्छ। ‘पँचायत-२’ ले हामीलाई यही बाेध गराउँछ।

‘पँचायत-२’ काे एउटा दुर्लभ बिशेषता के छ भने यसमा साना पात्रहरुले जीवनका ठूला कुराहरु बताउँछन्। केही छिनमात्र देखा पर्ने यस्ता पात्रहरुले प्रमुख पात्र अभिषेक त्रिपाठीलाई जीवनकाे महत्त्वपूर्ण पाठ सिकाएर जान्छन्। जस्तै, मञ्चमा नाँच्ने नर्तकीले उनलाई उनकाे अनिच्छित काम गर्नुपर्ने विवशतालाई बाेध गराएर जान्छे भने एक गरिब ड्राइभरले उनकाे नाजुक आर्थिक अवस्था र असुरक्षित भविष्य दुवैलाई महसुस गराएर जान्छ।

पँचायतले आफ्नाे ‘नशा मुक्ति अभियान’ काे प्रचार गर्नका लागि भाडा तिरेर बाेलाएकाे गाडीकाे ड्राइभरकाे रुपमा आएकाे याे पात्र नशामा यति धुत्त हुन्छ कि ऊ गाडी नै चलाउन सक्दैन। गाडी चलाउनुकाे त के कुरा ऊ आफ्नै जीउ समेत थाम्न सक्दैन र पँचायत अफिसभित्र पसेर सचिव अभिषेककाे ओच्छ्यानमा डङ्ग्रङ्ङ लड्न पुग्छ अनि बारम्बार नशाकाे सुरमा मालतीकाे नाम लिइरहन्छ। पँचायतकाे काम गर्न आएकाे ऊ आफै अभिषेकलाई घाँडाे बनिदिन्छ। सुरुमा त्याे जड्याहालाई देखेर खुब रिस उठ्छ, घृणा पनि जाग्छ तर जब उसले आफ्नाे मनभित्र परेकाे गाँठाेलाई खाेल्छ, आफु जड्याहा हुनुकाे कारणलाई खाेल्छ, तब ऊप्रति सहानुभूति उत्पन्न हुन्छ। ऊ असल व्यक्ति हाे भन्ने बाेध हुन्छ। 

जड्याहा ड्राइभर

उसले खासमा भारतकाे बहुसंख्यक गरिबकाे प्रतिनिधित्व गर्छ। जाे न्यून आय गर्छन् अनि त्यही न्यून आयमा उनीहरुले उनीहरूकाे बालबच्चा, पत्नी र परिवारलाई पाल्नुपर्ने हुन्छ। थाेरै आयमा फाराे-तिनाे गरेर, जसाे-तसाे गरेर उनीहरूकाे घर चलाउनुपर्ने हुन्छ। उनीहरुकाे आयबाट उनीहरुकाे घरकाे आवश्यकता पूरा हुँदैन, गरिबी र अभाव बढ्दै जान्छ। अनि, जब न्यून आयले निम्त्याउने गरिबी र अभावले उनीहरुलाई खान थाल्छ, तब उनीहरु रक्सी खान थाल्छन्। उनीहरुलाई थाहा हुन्छ, बरु रक्सीले उनीहरुलाई खाइ मार्दैन तर गरिबी र अभावले खाइ मार्छ। 

यतिबेला मासिक बीस हजार मात्र कमाउने अभिषेकलाई उसकाे दु:ख आफ्नै दु:ख जस्ताे लाग्छ, उसकाे व्यथा आफ्नै व्यथा जस्ताे लाग्छ। उसमा अभिषेक आफ्नै प्रतिबिम्ब देख्छ। उसले नशामा गरेकाे बर्बराहटमा अभिषेक आफ्नै जीवनकाे कटु सत्यलाई पाउँछ। उनलाई लाग्छ, म पनि उनीहरुमध्येकै एक हुँ।

त्यसैले, अभिषेक ऊप्रति समानुभूति राख्छ। अनि, उसलाई सिरानी लगाइदिएर सुविधाका साथ सुत्न दिन्छ। जब ऊ हाेशमा आउँछ, तब मुख धाेएर गाडी फर्काएर ल‌ैजान्छ अनि जाँदा-जाँदै उसले अभिषेकसँग माफी पनि माग्छ। अघि मातेर लेतेपेते भएकाे ऊ अहिले हाेशमा आउँदा कति भलाद्मी देखिन्छ।

याे प्रसङ्गले भारतकाे दैनिक काम गरेर गुजारा गर्ने बहुसंख्यक गरिब श्रमिक भुइँमान्छेकाे पीडालाई दर्शाउँछ। महँगीकाे मार झेल्दै, गरिबी र अभाव सहन्दै, न्यून आयमा कष्टकर जीवन व्यतीत गरिरहेका भुइँमान्छेका दु:खसँग साक्षात्कार गराउँछ जुन कुरा हामी मध्यमवर्ग र सम्भ्रान्तहरुकाे लागि कुनै मुद्दा नै हुँदैन/बन्दैन। जसलाई हामी झीना-मसिना कुरा ठान्छाैं र साइड लगाउँदै अरु ‘ठूल-ठूला’ कुराहरुतर्फ अघि बढ्छाैं। तर हाम्रा लागि याे कुरा झीना-मसिना भएता पनि उनीहरुका लागि जीवन-मरणकै प्रश्न हाे। याे सत्यलाई हामी शहरिया सम्भ्रान्तहरु बुझ्दैनाैं। 

‘मैं पी कर बे-हाल था

ताे उसकाे बुरा लगा

काश, वाे देख पाता मेरा दर्द

जाे हालात ने मुझे दिए,

ताे जान पाता

मुझे कितना बुरा लगा हाेगा?’

– प्रभाष

अर्काे कुरा, कुनै पनि व्यक्तिलाई बाहिरबाट हेरेर उसकाे बारेमा धारणा बनाइहाल्नु सही हुँदैन। किनभने, व्यक्ति बाहिरबाट हेर्दा जस्ताे देखिन्छ, यथार्थमा ऊ त्यस्ताे नहुन पनि सक्छ। त्यसैले, व्यक्तिकाे आवरणलाई हाेइन, उसकाे मनलाई बुझ्न सके मात्र हामी कुनै पनि व्यक्तिलाई सही अर्थमा जान्न र बुझ्न सक्छाैं। व्यक्तिलाई बाहिरबाट हैन, भित्रबाट चिन्नु जरुरी छ। बाहिरबाट हेरेर बनाएकाे धारणा कति गलत हुन सक्छ भन्ने सत्य याे प्रसङ्गले महसुस गराउँछ।

सा-साना पात्रहरुले जीवनका ठूल-ठूला पाठ सिकाउने क्रममा नर्तकी र ड्राइभरपछि साताैं एपिसाेडमा अभिषेककाे एकजना एनआरआई मित्र सिद्धार्थ देखा पर्छ। गाउँकाे राेमान्टिसिज्मकाे कल्पनामा डुबेर गाउँ आएकाे उसले आफ्नाे कल्पनाकाे गाउँ र वास्तविक गाउँमा धेरै भिन्नता पाउँछ। भैंसी र सर्प काण्डले एकदिनमै उसकाे गाउँकाे राेमान्टिसिज्मकाे हावा निकालिदिन्छ र भाेलिपल्टै ऊ ‘गाउँ हामीले साेचेजस्ताे राेमान्टिक वा रमाइलाे हुँदाे रहेनछ’ भन्ने पाठ सिकेर फर्किन्छ। 

अभिषेककाे एनआरआई मित्र सिद्धार्थ

आजका धेरै युवाले, जाे गाउँले जीवनदेखि अनभिज्ञ छन्, गाउँकाे बारेमा राेमान्टिक धारणा बनाएका छन्। गाउँकाे बारेमा एक आदर्श चित्र आफ्नाे मनभित्र गढेका छन्, तर गाउँकाे वास्तविक चित्र उनीहरुले आफ्नाे मनभित्र गढेकाे चित्रजस्ताे छैन। गाउँकाे वास्तविक चित्र र उनीहरुले मनभित्र गढेकाे गाउँकाे चित्रका बीच आकाश-जमिनकाे अन्तर छ। गाउँकाे धर्तिमा टेकेपछि मात्र याे अन्तर थाहा हुन्छ।

याे सत्यलाई अझ राम्राे तरिकाले, अझ ठाेस कथा रचेर देखाउन सकिन्थ्याे। तर सायद निर्दैशककाे उद्देश्य त्यसाे गर्नु थिएन। उनी याे बिषयमाथि छाेटाे टिप्पणीमात्र गर्न चाहन्थे। यसलाई विस्तारमा देखाउन चाहन्दैनथे। नर्तकी र ड्राइभरकाे प्रसङ्गमा पनि यही भन्न सकिन्छ।

गाउँमा पक्की सडक छैन। प्रधानले त्यही सडक बनाउँछु भन्ने वाचा गरेर आफ्नी पत्नीलाई चुनाव जिताएका थिए। तर सडक बनाउनलाई उनीसँग फंड छैन। अब सडककाे लागि फंड माग्न उनीहरु आफ्नाे क्षेत्रकाे विधायकलाई गुहार्न पुग्छन्। यसरी प्रधानदेखि लिएर विधायकसम्मकाे राजनीतिकाे क्यानभास रचेर त्यस क्यानभासको वरिपरि रहेर ‘पँचायत-२’ ले नेताकाे चरित्र, उसकाे स्वार्थकेन्द्रित राजनीति, आमजनता र नेताबीचकाे फराकिलाे दुरी र राजनीतिक प्रणालीकाे कमजाेरी समेतलाई एकसाथ चित्रण गर्छ। नेता र जनताबीचकाे सँचारप्रणाली जुन हाम्राे राजनीतिकाे रक्तसँचार प्रणाली हाे त्याे अवरुद्ध भएकाे गम्भीर सत्यतर्फ सँकेत गर्छ। अनि मानिस/नागरिकहरुकाे आत्मसम्मानकाे प्रश्नलाई पनि उठाउँछ।

आत्मसम्मानकाे प्रश्न त ‘पँचायत-२’ ले यसअघिकाे एपिसाेडबाटै उठाउन सुरु गरेकाे थियाे। यस सिरिजले कहिले विकासलाई, कहिले प्रधानजीलाई त कहिले सचिव अभिषेकलाई अघि सारेर आत्मसम्मानकाे महत्वलाई बुझाउँछ। 

छाेरीकाे बिहेकाे सन्दर्भमा केटा पक्षलाई भेट्न गएकाे प्रधानजीलाई केटा पक्षले आफुहरुले पर्खिरहेकाे हाेटलमा नआएर अर्कै हाेटलमा बाेलाएकाे मनपर्दैन। अझ प्रधानजीले आफुहरुले हाेटल बुकिङ गरिसकेकाे र एड्भान्स पनि दिइसकेकाेले यतै आउन आग्रह गर्दा उताबाट केटाकाे पिताले ‘त्यस्ताे सस्ताे हाेटलकाे त्यति जाबाे एड्भान्स पैसाकाे लागि के गलफत्ती गरिरहेकाे? यहाँकाे हाेटल त्याे भन्दा महँगाे छ’ भन्दै ‘भीखमँगा जस्ताे बेहाेरा नदेखाउन’ भन्दा प्रधानजी उसले आफुलाई अपमान गरेकाे महसुस गर्छन्।_

ठीक यस्तै महसुस अभिषेकले पनि त्यसबेला गर्छन्, जुनबेला प्रधानजीकाे बचाउमा उनले बाेल्दा विधायकले उनलाई तथानाम गाली गर्छन्। त्यसबेला अभिषेकलाई कस्ताे लाग्याे हाेला अथवा प्रधानजीलाई कस्ताे महसुस भयाे हाेला, याे कुरा उनीहरुले मात्र बुझ्न सक्छन्, जाे कुनै न कुनै बेला कसै न कसैबाट यसैगरि अपमानित भएका छन्। 

अपमान महसुस गर्नु भनेकाे आफ्नाे आत्मसम्मानमा कसैले चाेट पुर्‍याएकाे महसुस गर्नु हाे। आफ्नाे मानवीय गरिमालाई कसैले कुल्चिएकाे अनुभूत गर्नु हाे। आफ्नाे स्वत्वमाथि आँच आएकाे बाेध गर्नु हाे। 

अनि आत्मसम्मान भनेकाे ईगाे, अहँकार, घमण्ड वा अटेरीपना हैन। याे पुष्पाराजले ‘झुकेगा नहीं साला’ भनेजस्तो पनि हैन। उनकाे जुन स्वत्व छ नि अथवा उनकाे मानव अस्तित्वकाे जुन गरिमा हुन्छ नि, त्यसलाई अक्षुण्ण राख्ने चाहना वा ढृढता हाे। 

मानिसकाे लागि उनकाे आत्मसम्मान नै सबैभन्दा ठूलाे कुरा हाे। मानिसकाे लागि आत्मसम्मानभन्दा ठूलाे कुरा अरु केही पनि हुन सक्दैन। मानिस चाहे पदसाेपानमा सानाे हाेस् वा ठूलाे, सबैलाई आफ्नाे आत्मसम्मान प्याराे हुन्छ। आफ्नाे आत्मसम्मानमाथि प्रहार गरेकाे कसैलाई पनि सह्य हुदैन। 

त्याे आत्मसम्मान नै त हाे, जसले मानिसलाई आफु हुनुकाे गाैरवबाेध गराउँछ, ऊ जीवित हुनुकाे अर्थबाेध गराउँछ। आत्मसम्मान रहे मात्र बाँच्नुकाे अर्थ हुन्छ। आत्मसम्मान नै नरहे बाँचे पनि त्याे जीवन मरेतुल्य हुन्छ। 

यहीँ आत्मसम्मानकाे रक्षार्थ प्रधानजीले आफुलाई भिखमँगा भन्ने व्यक्तिकाे परिवारसँग जाेड्न लागेकाे सम्बन्धलाई पूर्ण रुपमा ताेडिदिन्छन्।

यसैगरि अभिषेक पनि गाउँमा आयाेजित कीर्तनमा विधायकलाई अतिथिकाे रुपमा बाेलाउने कुरा सुन्नसाथ भड्किन्छन् र घर जाने अनि कीर्तन अवधिभर उतै बस्ने निर्णय गर्छन्। उनले टिकट पनि काटेर ल्याउँछन्। किनभने, कीर्तनमा आफुलाई अपमान गर्ने विधायककाे अगाडि बस्नु उनकाे आत्मसम्मानलाई स्वीकार्य हुँदैन। 

सडककाे लागि विधायकलाई बाेलाउनु उनकाे मित्रहरुकाे बाध्यता भए पनि उनकाे मित्रहरुले उनकाे अनुपस्थितिमै सही, यसपटक विधायकले उनकाे अपमान गर्न खाेज्दा त्यसलाई सहन्दैनन् र त्यसकाे प्रतिवाद गर्छन्।

‘उसूलाे पे जहाँ आँच आए टकराना ज़रुरी है

जाे ज़िन्दा हाे ताे फिर ज़िन्दा नज़र आना ज़रुरी है’

– वसीम बरेलवी 

परिणाम, विधायककाे दरबारबाट निकालिन्छन्। तर यसपटक उनीहरु आफ्नाे शिर ढल्न दिने पक्षमा हुँदैनन्।  आत्मसम्मानकाे महत्वलाई उनीहरुले राम्रोसँग बुझिसकेका हुन्छन्। उनीहरुलाई सडककाे लागि फंड चाहिएकाे हुन्छ, तर आफ्नाे मित्रकाे आत्मसम्मानकाे मूल्यमा हैन। उनीहरुकाे लागि सडकभन्दा ठूलाे आफ्नाे मित्रकाे आत्मसम्मान हुन्छ। आत्मसम्मानभन्दा ठूलाे सडक हुन सक्दैन। उनीहरु विधायकलाई सम्मान गर्छन्, उसकाे सामु चाहिदाे मात्रामा झुक्छन् पनि तर आफ्नाे शिर,  आफ्नाे आत्मसम्मान नै ढल्ने गरि झुक्न चाँहि उनीहरुलाई स्वीकार्य हुदैन। इक़बाल अज़ीमकाे तलकाे शेरले भने जस्तै, 

‘झुक कर सलाम करने में क्या हर्ज़ है मगर

सर इतना न झुकाओ कि दस्तार गिर पड़े’

‘पँचायत-२’ काे छैटाैं र आठाैं एपिसाेडले हाम्रा नेताहरुकाे सक्कली अनुहारलाई उदाङ्गाे पार्छ। उनीहरुकाे असली चरित्रलाई उजागर गर्छ। हाम्रा नेताहरु कस्ता छन्? उनीहरु जनतादेखि कटेर कति टाढा पुगिसकेका छन्, यस कुरालाई देखाउँछ। 

यसमा एउटा दृष्यमा प्रधानजी आफ्ना मित्रहरुसहित नेताकाे सामुन्ने साेफामा बसेका छन्। नेता पनि उनीहरुकाे सामुन्ने नै बसेकाे छ। उनीहरु एकअर्काकाे नजिकै देखिन्छन् तर पनि उनीहरु बीच लामाे दूरी छ। याे विचारकाे दूरी हाे, व्यवहारकाे दूरी हाे, परस्पर टकराईरहेका विपरीत स्वार्थहरुले काेरेकाे दूरी हाे। याे दूरी उनीहरुबीचकाे सँवादले देखाउँछ। उनीहरुकाे हरेक संवादले याे दूरीकाे बाेध गराउँछ। नेता आफ्नाे हरेक भावभँगिमादेखि लिएर हरेक संवादद्वारा उनीहरुलाई उनीहरुकाे ‘औकात’ याद दिलाईरहन्छ। ‘उनीहरु माग्ने हुन् र ऊ दिने हाे, उनीहरु तुच्छ हुन् र ऊ उच्च हाे, उनीहरु धुलाे हुन् र ऊ ठूलाे हाे, उनीहरु दास हुन् र ऊ मालिक हाे, उनीहरु रैती हुन् र ऊ शासक हाे’ भन्ने कुरा हरपल उनीहरुलाई महसुस गराईरहन्छ। 

याे नेता (विधायक) जनताका सामु प्रत्यक्ष हाेस् वा अप्रत्यक्ष (फाेनमा) हाेस्, रवाफ झाडिरहन्छ। भेट गर्न आएका उनीहरुमध्ये कसैलाई ‘पाद्जस्ताे सेन्ट लगाएकाे’ भन्दै झपार्छ त कसैलाई कार्टुन भन्दै बेइज्जत गर्छ। शब्दैपिच्छे गाली बक्छ। आफुलाई कसैले केही भने उनलाई गालीबेइज्जती गरेर निकाल्छ। जनताले विकासकाे लागि साँसद क्षेत्र विकास काेषबाट बजेट माग्दा आफ्नाे फाईदा खाेज्छ। सिधै ‘तिमीहरुलाई बजेट दिएर मलाई चै के फाईदा हुन्छ?’ भन्छ। उनीहरुले ‘हाम्राे वफादारी पाउनुहुन्छ’ भनेर उत्तर दिदाँ प्रत्युत्तरमा भन्छ, ‘वफादारीकाे त अचार पनि बन्दैन।’ 

प्राथमिकताका आधारमा जनताकाे आवश्यकता पूरा गर्नुपर्नेमा ऊ जनताकाे आवश्यकतालाई हैन, आफ्नाे स्वार्थलाई प्राथमिकतामा राख्छ। ऊ आफ्नाे राजनीतिक करिअर चम्काउन आमजनतालाई आन्दोलनकाे अग्रमाेर्चामा पठाउँछ र त्यसलाई भजाउन खाेज्छ। आमजनताकाे ज्यानलाई जाेखिममा हालेर ऊ राजनीतिकाे सिढी उक्लिन चाहन्छ। ऊ जनतालाई मान्छे नै गन्दैन, रैती ठान्छ र रैतीजस्तै व्यवहार गर्छ। जनताकाे इज्जत गर्दैन। उनीहरुलाई दुई काैडीकाे ठान्छ।

जनताकाे मतबाट निर्वाचित भएर माथि पुग्ने र माथि पुगेपछि जनतालाई जन्तु ठान्ने, जनतालाई उनीहरुकाे जायज हकबाट बन्चित गर्ने, उनीहरुकाे हक हनन् गर्ने र हक खाेज्दै आएका जनतालाई बाहिर निकालिदिने याे नेताले हाम्राे राजनीतिकाे गुढ चरित्रलाई देखाउँछ।

हम जिन्हे चुनते है वाेट देकर हमारी हक़ाे का रक्षक समझकर जीत कर वाे करते है हमारा हक़ाे का हनन भक्षक बनकर’

याे नेता (विधायक) सँग हाम्रा बहुसंख्यक नेताकाे चरित्र ठ्याक्कै मिल्छ। राम्ररी नियालेर त्याे पर्दामा प्रकट भएकाे नेता (विधायक) काे अनुहार हेराैं त। के उसकाे अनुहारमा हाम्राे आफ्नै नेताहरुकाे अनुहारकाे प्रतिबिम्ब देखिन्दैन र? जनतालाई दुई काैडीकाे ठान्ने, उनीहरुकाे आदर गर्न नजान्ने, आफ्नाे राजनीतिक स्वार्थ र फाईदाका लागि जनतालाई अघि सारेर उनीहरुकाे ज्यान जाेखिममा हाल्ने अनि आफ्नाे राजनीतिकाे राेटी सेक्ने, नागरिक हैन, भीड जम्मा गर्न खाेज्ने जसले आफ्नाे स्तुतिगान गाओस् र उनीहरुसामु रवाफ झाड्न पाईयाेस्। के हामी यस्तै नेताहरुबाट शासित छैनाैं र? के हाम्राे समाज र राजनीतिमा यस्तै नेताहरुकाे बिगबिगी छैन र? 

याे ‘पँचायत-२’ ले देखाएकाे महत्वपूर्ण कुरा हाे, नेताकाे चरित्रचित्रण। जनतालाई दुई काैडीकाे ठान्ने उसकाे साेचकाे चित्रण, जनताबाट आफ्नाे स्वार्थसिद्ध मात्र गर्न खाेज्ने, जनतालाई दिन नखाेज्ने, जनताबाट लिन मात्र खाेज्ने, जनतालाई ‘युज एंड थ्राे’ मात्र गर्ने उसकाे व्यवहार। 

‘पँचायत-२’ मा नेताकाे जस्ताे चरित्रचित्रण गरिएकाे छ नि, त्याे नेताकाे बिल्ला वा मानहानि हैन, बरु विकृत राजनीतिकाे उत्पादन भारत, नेपाल र यसकाे वरिपरिकाे समाजकाे बहुसंख्यक नेताहरुकाे प्रतिमूर्ति हाे। 

हाम्राे व्यवस्थामा नेता र जनताबीच संवाद कति टुटिसकेकाे छ, उनीहरु बीचकाे दूरी कति लामाे भइसकेकाे छ, हाम्राे लाेकतन्त्र कसरी विकृततन्त्रमा परिणत भइसकेकाे छ, याे कुराकाे सानाे झलक देखाउँछ ‘पँचायत-२’ ले। अथवा भनाैं, यसलाई हेर्ने आँखिझ्याल प्रदान गर्छ। याे आँखिझ्याल सानाे छ, तर यसबाट विकृत राजनीतिकाे सारा परिदृष्यलाई नियाल्न सकिन्छ।

विधायकलाई निर्वाचन क्षेत्र विकास काेषकाे नाममा पैसा दिने परिपाटी (जुन भारत, नेपाल लगायतका दक्षिण एसियाली देशहरुमा अभ्यास भईरहेकाे छ) कति गलत छ भन्ने कुरा पनि देखाउँछ ‘पँचायत-२’ काे याे प्रसङ्गले।

मननीय कुरा त के छ भने जुन जनतालाई दुई काैडीकाे भन्दै नेताले लत्याएर आफ्नाे दरबारदेखि बाहिर निकाल्ने गर्छ, त्यही दुईकाैडीकाे जनताका सन्तानहरुले नै न्यून तलबमा सेनामा भर्ति भएर देशकाे रक्षा गर्ने महान् काम गरिरहेकाे हुन्छ। देशकाे लागि प्राण उत्सर्ग गरिरहेकाे हुन्छ तर घटिया नेता भने उनै सहिदका पितालाई अपमान गर्छ अनि फेरि उनकै सन्तानकाे सहादतमा गाेहीकाे आँसु चुहाउन पुग्छ। उनीहरुकाे याेगदान र बलिदानलाई साँचाे मनले कदर गर्नु र नमन गर्नु अनि सहिदकाे अन्तिम सँस्कारमा शाेकाकुल जनताकाे समकक्षी भएर समानुभूति राख्दै दु:ख बाँड्न आउनुकाे साटाे उनीहरुभन्दा उपल्लाे तहकाे बिशिष्ट व्यक्तिकाे हैसियतमा रवाफ देखाउँदै सरिक हुन आउँछ।

तब त मन्जुदेवी विधायकलाई ठीकै भन्छन्, ‘दुई काैडीकाे जनताकाे दुई काैडीकाे छाेराकाे मृत्यु सँस्कारमा तपाईं गएर के गर्नुहुन्छ?…सडककाे लागि पैसा चाहिएला, तर राम्राे व्यवहार गर्न पैसा चाहिन्दैन…खराब नेतालाई कहाँबाट जुट्छ भीड र माइक?…यस्तै लक्षण रहे धेरैदिनसम्म तपाईंको कुर्सी रहने छैन। कुनैदिन अरु कसैले आएर पल्टाईदिनेछ।’

अर्थात्, 

मज़लूमों की आह फ़लक तक जाएगी

ज़ुल्म बंद कराें वरना हलक तक आएगी

आखिर नेताले जनताकाे बलिदानलाई कहिले बुझ्छन्? आफु पाईलैपिच्छे जनताबाट आदर खाेज्नेले जनतालाई आदर गर्न चाँहि कहिले सिक्छन्? आफुलाई जनताभन्दा ठूलाे ठान्ने र जनतालाई आफुभन्दा सानाे सम्झिने अनि हरदम जनताभन्दा माथि बस्नेहरु कहिले तल ओर्लेर जनताकाे समकक्षमा आउँछन्? कहिले जनतालाई आफु समान सम्झिन्छन्? कहिले जनतासँग जाेडिन्छन्? कहिले उनीहरुका समस्या र गुनासाहरुलाई बुझेर ईमानदार भई समाधान गर्ने प्रयास गर्छन्? आखिर कहिले?  

जाँदाजाँदै ‘पँचायत-२’ ले याे गम्भीर प्रश्नलाई छाेडेर गएकाे छ।

‘पँचायत-२’ काे चर्चा गर्दा यसमा देखाइएकाे मित्रताकाे सुन्दर चित्रणकाे चर्चा नगरेसम्म यसकाे चर्चा अधुरो नै रहन्छ। अभिषेक, प्रधानजी, प्रल्हाद र विकासबीचकाे जुन मैत्रीपूर्ण सम्बन्ध छ, त्यसले सधै मनलाई शितलता प्रदान गर्दछ। सुरुमा उनीहरु एकअर्कासँग अपरिचित हुन्छन्। अभिषेक फुलेरा गाउँमा आएपछि मात्र उनीहरुकाे परिचय हुन्छ। सुरुमा यस्ताे लाग्छ, उनीहरुबीचकाे सम्बन्ध भनेकाे प्रधान, उपप्रधान, सहायक र कर्मचारीबीचकाे औपचारिक सम्बन्ध मात्र हाे तर समयक्रमसँगै उनीहरुबीच आपसी सहकार्य र सँगत सघन हुँदै जाँदा उनीहरुकाे सम्बन्ध औपचारिकतामा मात्र सीमित रहन्दैन। औपचारिकताकाे दायरालाई नाघेर फड्काे मार्दै याे सम्बन्धले मित्रताकाे रुप लिन्छ। शनैशनै उनीहरुकाे हृदयकाे तार आपसमा जाेडिन्दै जान्छ र मित्रताकाे झंकार झंकृत हुदै जान्छ। उनीहरु एकअर्कासँग भावनात्मक रुपमा जाेडिन पुग्छन्। 

अब उनीहरु सँगै भेला भएर हाँसखेल गर्दै बियर पिउने साथी बन्छन्। आपसमा च्याट गर्नलाई ह्वाट्सएपमा उनीहरुकाे ग्रुप नै बन्छ। उनीहरु एकअर्काकाे सुखदुःखका साथी बन्छन्। आफ्ना मनका कुराहरु आपसमा सेयर गर्न थाल्छन्। अभिषेक प्रधानजीकाे घरमा आउनेजाने सिलसिला चलिरहन्छ। प्रधानजीकाे घरबाट फर्किन्दा अभिषेककाे बाईकमा लाैका कहिल्यै छुट्दैन। 

उनीहरुकाे सम्बन्ध यस्ताे भावनात्मक बन्छ कि अभिषेक प्रधानजीदेखि टाढिन खाेज्दा प्रधानजीलाई कुनै अनिष्टकाे शंका लाग्छ। उनी कुदेर अभिषेककहाँ पुग्छन् र साेध्छन्, ‘तपाईं किन मेराे घर आउनु हुँदैछैन? म बाट कुनै भूल पाे भयाे कि? तपाईंको मनमा केही कुरा छ भने भनिहाल्नुहाेस्। तर यसरी बाेलचाल, आवतजावत बन्द नगर्नुहाेस्।’ 

अभिषेककाे मनमा ठेस पुग्दा प्रधानजीकाे मुड बिग्रिन्छ। उनीहरुले विधायकले गरेकाे अपमानकाे कारण आफ्नाे सचिव मित्रकाे दिल टुटेकाे कुरा बुझ्छन्। पहिलाेपटक विधायकसामु आफ्नाे मित्रलाई डिफेन्ड गर्न उनीहरु चुके पनि दाेस्राेपटक उनीहरु चुक्दैनन्। आफ्नाे मित्रकाे विरुद्ध अपशब्द बाेलेकाे, आफ्नाे मित्रलाई अपमान गरेकाे उनीहरु सहन्दैनन् चाहे त्याे अपमान गर्ने व्यक्ति विधायक नै किन नहाेस्। उनीहरु त्यसकाे प्रतिवाद गर्छन् चाहे प्रतिवाद गर्दा विधायकले रिसाएर बाटाेकाे लागि फंड नै नदिउन्, परवाह गर्दैनन्। फंडसंड, बाटाेसाटाेकाे मतलब नगरि उनीहरु आफ्नाे मित्रकाे आत्मसम्मानकाे रक्षार्थ उभिन्छन् र आफ्नाे साँचाे मित्रताकाे परिचय दिन्छन्। 

त्यसपछि फर्केर आएर अभिषेकसामु उनीहरु जसरी आफुहरुले गरेकाे प्रतिराेधकाे कहानी सुनाउँछन्, त्याे हेर्दा छुट्टै आनन्द आउँछ। उनीहरु अभिषेककाे ट्रेनकाे टिकट पनि च्यातिदिन्छन् र अन्तत: सँगै बसेर बियर पिउन थाल्छन्। उनीहरुकाे बियर खासै चिसाे त हुदैन तर पनि उनीहरुले पिएकाे बियरले उनीहरुलाई हेरिबस्ने हामी दर्शकहरुलाई पनि ठण्डक दिन्छ। 

तर त्याे बियरकाे ठण्डक राम्राेसँग अनुभूत गर्न नपाउँदै प्रल्हादमाथि ब्रजपात हुन्छ। एकछिन अघिसम्मकाे रमाइलाे माहाैल अब शाेकपूर्ण बन्न पुग्छ। 

त्यसपछि प्रल्हादकाे दु:खमा उनीहरु जसरी सहभागी हुन्छन् र उनकाे दु:ख बाँड्ने काेशिश गर्छन्, त्याे हृदयस्पर्शी लाग्छ। त्याे अन्तिमतिरकाे दृष्य जसमा उनीहरु चारवटा थाली राखेर, (प्रल्हादकाे भागमा चै फलफूल भएकाे थाली) वरिपरि बसेर सँगै खान बस्छन् तर खान सक्दैनन्। सबैकाे मुहार शाेकाकुल देखिन्छ, याे दृष्यले मनलाई कुँड्याईदिन्छ, मनलाई कस्ताेकस्ताे बनाईदिन्छ। याे दृष्यमा उनीहरुकाे भावनात्मक जुडावकाे चरमबिन्दुलाई देख्न सकिन्छ। 

भनिन्छ मित्रता कुनै खास मानिससँग हुदैन, जाे सँग हुन्छ उही खास बन्छ। अभिषेक, प्रधानजी, प्रल्हाद, विकास…काेही पनि खास मानिस हैनन्, सबै आममानिस हुन्। तर आममानिस नै सही, उनीहरु एकअर्काका लागि खास मानिस हुन्। त्यसैले त उनीहरु एकअर्काकाे चिन्ता गर्छन्, एकअर्काकाे दु:ख बाड्ँछन्। एकअर्कालाई सहारा दिन्छन्। एउटालाई चाेट लागे सबैलाई पीडा हुन्छ। उनीहरुकाे याे मित्रता तेस्राे सिजनमा झनै प्रगाढ हुने अपेक्षा गर्न सकिन्छ। उनीहरुकाे मित्रतालाई देख्दा मलाई निम्न ‘शेर’ याद आउँछ, 

दाेस्ती से क़ीमती काेई जागीर नहीं हाेती

दाेस्ती से ख़ूबसूरत काेई तस्वीर नहीं हाेती

दाेस्ती यूं ताे दिल का अदृष्य डाेर हाेता है

मगर इस डाेर से मज़बूत काेई ज़ंजीर नहीं हाेती

‘पँचायत’काे सबल पक्ष भनेको यसको सरल कथावस्तु हाे जससँग आफ्नाे जरा गाउँसँग जाेडिएका दर्शकहरु सजिलै जाेडिन सक्छन्। यसकाे सरल प्रस्तुति हो। यसका सरल संवादहरु हुन्, जाे न त भारीभरकम छन्, न त उपदेशात्मक, न त फिल्मी नै छन्। बरु हुबहु त्यस्तै छन् जुन गाउँ-देहातमा दैनन्दिन बाेल्ने गरिन्छ। यसका यस्ता पात्रहरु हुन्, जसलाई आमजिन्दगीमा यत्रतत्र, सर्वत्र देख्न, भेट्न सकिन्छ, जाे सँग हामी आमदर्शक सजिलै ‘रिलेट’ गर्न सक्छाैं। यस्ताे लाग्छ कि हामी नै यसका पात्रहरु हाैं। यसकाे अथेन्टिसिटी हाे। याे सिरिज यति ‘अथेन्टिक’ लाग्छ कि कतै पनि यस्ताे लाग्दैन यसमा कलाकारहरुलाई क्यामेरासामु उभ्याएर शूट गरिएकाे हाे। बरु यस्ताे लाग्छ कि कुनै गाउँमा खास-खास स्थानहरुमा १०-१२ वटा क्यामेरा फिट गरेर त्यहाँकाे गतिविधिहरुलाई रेकर्ड गरिएकाे हाे।

‘पँचायत-२’ का सबै पात्र काल्पनिक हुन्। उनीहरुकाे वास्तविकतासँग कुनै सम्बन्ध छैन। सुरुमा देखाइने ‘डिस्कलेमर’ले त यही भन्छ तर हामीलाई भने उनीहरु काल्पनिक हुन् भने रत्तिभर पनि लाग्दैन। यस्ताे अथेन्टिक छन् यसका पात्रहरु/कलाकारहरु। जीवन्त चरित्रचित्रण/अभिनय सायद यसैलाई भनिन्छ। ‘पँचायत-२’ मा कलाकारहरुले अभिनय गरेका छैनन्, बरु आफ्नाे पात्रलाई जिएका छन। यस सिरिजले सुरुवातबाट बनेको आफ्नो छुट्टै ग्रामीण संसारलाई कायम राखेको छ। आफ्नो काल्पनिक गाउँ अनि त्यहाँ बस्ने हरेक पात्रको चरित्रको यात्रालाई स्वाभाविक बनाएको छ।

जितेन्द्र कुमार पँचायत सचिव अभिषेककाे पात्रमा सही लाग्छन्। पहिले उनी धेरैजसाे ठुस्स पर्ने गर्थे भने अहिले मुस्कुराउन थालेका छन्। उनमा याे परिवर्तन रिंकीलाई देखेर आएकाे संकेत ‘पँचायत’काे पहिलाे सिजनकाे ‘एन्डिङ’ले गरिसकेकाे छ। यस सिजनमा उनकाे सहायक विकासले पनि याे कुरालाई महसुस गरेकाे छ। 

‘पँचायत’काे पहिलाे सिजनकाे ‘एन्डिङ’मा ‘एन्ट्रड्युस’ गराईएका यस सिरिजकी नायिका रिंकी (सान्विका) लाई याे सिजनमा भने ‘फुल फ्लेज्ड राेल’मा प्रस्तुत गरिएकाे छ। झट्ट हेर्दा रिंकीकाे पात्र पितृसत्ताकाे साँचाेबाट निकालिएकी आदर्श युवती जस्ताे लागेता पनि केही दृष्यले भने अर्कै छनक दिन्छ। 

हाेटलमा उनकी आमा मन्जुदेवीले ‘केटा पक्षले केही रवाफ त देखाउँछ नै, देखाउन दिऊँ’ भन्दा रिंकी ‘उनीहरुलाई किन रवाफ देखाउन दिने? आज देखाउन दिए पछि पनि देखाउँछ’ भन्दै जसरी प्रतिकार गर्छिन्, त्यसले उनकाे चरित्रकाे अर्कै पाटाेतर्फ इङ्गित गर्छ। 

अनि, बिहेकाे कुरा टुटिसकेपछि पनि त्याे केटाले उनलाई बारम्बार फाेन गर्दा उनी त्यसकाे जसरी प्रतिकार गर्छिन्, त्यसले उनमा ‘ह्यारेसमेन्ट’बारे चेतना भएकाे र त्यसकाे प्रतिकार पनि गर्न सक्षम भएकाे देखाउँछ। याे सबल युवतीकाे परिचायक हाे।

बेमज्जाकाे कुरा चै याे सिजनमा हाम्राे नायक सचिव अभिषेक र नायिका प्रधानकी छाेरी रिंकीबीच ‘लव’ हुन सकेन, तर ‘कुछ लव जैसा’ भने पक्कै पनि भएकाे छ उनीहरुबीच। दुवैकाे मनमा एक अर्काप्रति ‘फिलिङ्स’ पक्कै छ। त्याे ‘फिलिङ्स’ उनीहरुका आँखामा झल्किन्छ पनि, तर उनीहरु एकअर्कासामु त्यसलाई अभिव्यक्त गर्न भने सकिरहेका छैनन्, केही केही तलकाे शायरीमा भने जस्तै,

हम दिल की बात जुबाँ पर ला न सके

पर चुपके से आँखाें ने इज़हार कर दिया

– प्रभाष

वा फेरि रानी मलिककाे याे पङ्क्तिले भने जस्तै,

जुबाँ ख़ामाेश हाेती है, नज़र से काम हाेता है

इसी पल का ज़माने में माेहब्बत नाम हाेता है

हाम्राे नायक र नायिकाबीच केही भेट भए तर ‘त्यस’बारे कुरा भएन। हाम्राे नायक नायिकाकाे जन्मदिनकाे उत्सवमा सहभागी भयाे, नायिकालाई प्रेजेन्ट दियाे, नायिकालाई मदत गर्‍याे, नायिकासँग चिया पियाे, समाेसा पनि खायाे तर पनि मामिला अघि बढ्न सकेन। यस मामिलामा हाम्राे नायक कछुवाभन्दा पनि सुस्त रह्यो।

तर सुस्त गतिमै सही उनीहरुकाे प्रेम ‘परवान चढ्दैछ’। 

यस सिरिजमा नायिकाकाे जन्मदिनमा एउटा गीत बज्छ, जसले भन्छ, ‘धीमे धीमे व्यवहार बढ़ता है, ऐसे ही भैया प्यार बढ़ता है।’

हाे, यस गीतले भनेजस्तै विस्तारै-विस्तारै उनीहरुबीच व्यवहार बढ्दैछ। यसरी नै त प्यार/प्रेम बढ्ने हाे।

सुखद् कुरा चाँहि के भने हाम्राे नायकले नायिकाकाे माेबाइल नम्बर सेभ गरेकाे छ अनि नायिकाले पनि नायककाे माेबाइल नम्बर सेभ गरेकी छिन्। सबैभन्दा पहिले नायिकाले नायककाे नम्बर सेभ गरेर फाेन गरेकी हुन्। नायक जुन अवस्थामा हुँदा उनले नायकलाई फाेन गरेर सहानुभूति दिने ‘काेशिश’ गरिन्, त्यसलाई यसाे बुझ्दा उनमा मनमा नायकप्रति केही फिलिँग्स पक्कै छ भन्ने लाग्छ। 

साथै अब त नायिकाकी आमा मन्जुदेवीले पनि नायकलाई राम्राे नजरले हेर्न थालेकी छन्। पहिले हाम्राे नायक अभिषेक उनकाे घरमा आएकाे मन नपराउने, उनकाे पतिले अभिषेकलाई घरमा बाेलाउँदा ‘जवान छाेरी घरमा भएकाेले परपुरुषलाई घरमा बाेलाउन नहुने’ भन्दै त्यसकाे विराेध गर्ने मन्जुदेवीलाई अहिले अभिषेक उनकाे घरमा जतिबेला, जतिचाेटि आए पनि फरक पर्दैन। अब त उनी अभिषेकलाई आफ्नी छाेरी रिंकीकाे जन्मदिन जस्ताे महत्त्वपूर्ण अवसरमा आमन्त्रण गर्छन् र अभिषेकले आउन नमान्दा ननिकाे मान्छन्।

तर दुखद् कुरा चै के छ भने नायककाे गाउँबाट ट्रान्सफरकाे चिट्ठी आएकाे छ र याे चिट्ठीकाे व्यहाेरा थाहा पाएपछि नायिका र उनकी आमाका मुहारमा चिन्ताका धर्साहरु देखिएका छन्।

प्रधानजी (रघुविर यादव) सधैझै स्वभाविक लाग्छन्। उनकाे चरित्रमा खासै परिवर्तन आएकाे देखिन्दैन। अ, भडास पाेखेकाे दृष्यहरुमा भने उनले कमाल गरेका छन्। सचिव अभिषेकसँग विधायकलाई बाेलाउने कुरामा अनबन भएपछि घरमा आएर भडास पाेखेकाे, विधायकसँगकाे कन्फ्रन्टेशनकाे दृष्य अनि त्यसपछि पँचायत अफिसमा आएर भडास पाेखेकाे दृष्यमा उनले कमाल गरेका छन्।

मंजुदेवी (नीना गुप्ता) यसपटक पहिलेभन्दा बढी जागरुक भएकी छन्। उनलाई आफू प्रधान भएकाे बाेध भएकाे छ र अब उनी आफ्नाे भूमिका खाेज्न थालेकी छन्। एउटा दृष्यमा त उनी उनकाे प्रधानकाे भूमिका खाेसेर आफै निभाइरहेका उनकाे पतिलाई डिएमलाई उजुरी गरेर जेल हालिदिने धम्की पनि दिन्छन्। 

उनमा पहिलेभन्दा बढी चातुर्य र परिपक्वता आएकाे छ। उनकाे त्याे चातुर्यता विभिन्न अवसरमा दृष्टिगाेचर पनि हुन्छ। जस्तै, आफ्नाे चातुर्यताकाे उपयाेग गरेर उनी परमेश्वरसँग सकुशल माटाेकाे डिल सम्पन्न गर्छिन्। बाटाेकाे फंडका लागि विधायकलाई गाउँमा बाेलाउन भीड जुटाउनकाे खातिर अखण्ड कीर्तनकाे आयाेजना गर्ने याेजना उनकै दिमागकाे उपज हुन्छ। 

उनीहरुकाे याे याेजना सचिवलाई मन नपरेकाे थाहा पाएपछि उनी भन्छिन्, ‘के हामीले विधायकलाई रिश्तेदारी गर्न बाेलाउन लागेका हाैं र? बाटाेकाे फंडकाे लागि पाे बाेलाउन लागेका हाैं। यति कुरा त सचिवजीले बुझ्नुपर्छ नि।’ उनकाे कुरा सुन्दा उनमा पहिलेभन्दा बढी परिपक्वता आएकाे सजिलै ठम्याउन सकिन्छ।

विकास (चंदन राेय) र प्रल्हाद (फैसल मलिक) यसपटक अझ प्रिय लाग्छन्। खुल्लामा शाैच गर्ने व्यक्तिलाई समात्न गएकाेदेखि लिएर विधायककाे प्रतिवाद गरेकाे दृष्यहरुमा उनीहरुले पनि कमाल गरेका छन्। विकास त हरेक दृष्यमा कमाल लागेका छन्। अझ प्रल्हादलाई त लास्टकाे एपिसाेडमा भावपूर्ण अभिनय देखाउने अवसर समेत दिइएकाे छ जुन उनकाे र सिङ्गाे सिरिजकै फेबरमा गएकाे छ। 

भुषणकाे पात्रमा दुर्गेश कुमार पनि जमेका छन्। पंकज झा बेसाेमती विधायककाे पात्रभित्र समाहित भएका छन्। अभिषेककाे एनआरआई साथी सिद्धार्थकाे पात्रमा छाेटाे समयका लागि देखा परेका सतिश रेले पनि खुबै हँसाएका छन्।

प्रमुख पात्रहरुका अतिरिक्त सा-साना पात्रहरुमा देखिने कलाकारहरुले पनि गहिराे छाप छाेडेका छन् चाहे त्याे नर्तकीकाे पात्रमा देखिएकाे कलाकार हुन् वा ड्राईभरकाे पात्रमा देखिएकाे कलाकार। खुल्लामा शाैच गर्न खाेज्ने विनाेद (अशाेक पाठक) त यति धेरै रियल लाग्छ कि यस्ताे लाग्छ शूटिङ युनिटले कुनै गाउँलेलाई समातेर क्यामेरा अगाडि उभ्याएका हुन्। ड्राइभरकाे रुपमा देखिएकाे व्यक्तिलाई हेर्दा पनि यस्ताे लाग्छ कि ऊ काेही जड्याहा ड्राईभर हाे जसलाई उनीहरुले चुपचाप क्यामेराले खिचेर फिल्ममा देखाए।

खुलामा साैच गर्न खाेज्ने गाउँले विनाेद उर्फ अशाेक पाठक

निष्कर्ष, याे छ कि,  ‘पँचायत-२’ एक राम्राे सामाजिक-पारिवारिक सिरिज हाे। यसलाई एक्लै बसेर पनि हेर्न सकिन्छ अनि परिवारसँग बसेर पनि। ‘पँचायत’ काे पहिलाे सिजनकाे तुलनामा दाेस्राे सिजन थाेरै कमतर लागे पनि यसले तपाईलाई निराश पार्दैन, अझ तेस्राे सिजनकाे लागि पर्याप्त काैतुहलता जगाएर सिद्धिन्छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID