जनयुद्धकालमा नै आफ्नो मतियार हुन नसक्ने दरवारलाई समेत समाप्त पारेर देश बर्बाद गरिरहेको नेपाली काँग्रेस र वर्णसंकर कम्युनिस्ट एमाले लगायत सामन्ती शासनको विरुद्ध माओवादीले जनयुद्धको साहसिक कदम नउठाएको भए यो देश समाप्त गर्न यी दलालहरू सफल हुनसक्थे । यसर्थ दश वर्षे जनयुद्धमा नोक्सानी त भयो, होनाहार युवाहरू सहादत हुनु परे पनि देश जोगिएको छ । यसै भूमिबाट युवाले देश निर्माण र आर्थिक समृद्धिको अभियान चलाउन युवाहरूलाई प्रशस्त मौका मिलेको छ । यसैको उदाहरणको रुपमा माओवादीकोतर्फको नेतृत्वमा रहेका जनार्दन शर्मा अर्थमन्त्रीको भूमिकामा गम्भीर भएर आर्थिक विकासमा तीव्रता दिन कृयाशील छन् । यो देशका लागि ठुलो उपलब्धि हो ।
जसले जतिसुकै ताहुरमाहुर गरेपनि जनयुद्धकाल अगाडिदेखि नै, जनयुद्धमा र अहिले पनि देशको राजनीतिक केन्द्रमा प्रचण्ड नै अगाडि छन् । यो प्रचण्डका लागि ठुलो अवसर पनि हो । साँच्चै अहिलेको अवस्थामा दर्बिलो अडानका साथ नेतृत्व दिनसक्दा प्रचण्ड नेपाल र सिङ्गो सार्क राष्ट्र मात्र नभएर विश्वकै उदाहरणीय नेताको रूपमा उदाउने प्रसस्त संभावनाहरू छन् । यस अर्थमा अर्थमन्त्री जनार्दन शर्मालाई अहिले सरकार सञ्चालनको व्यावहारिक मोर्चामा उभिएको पाइएको छ ।
नेता भनेको सबैखाले बुद्धिको संयोजनकर्ता हो । त्यो संयोजनकारीको भूमिकामा अर्थमन्त्री शर्मालाई पाउन सकिन्छ । देश बनाउनका लागि प्रस्तुत हुने बजेट कस्तो हुने भन्ने कुरामा बौद्धिक समुदायमा छलफल गर्न अहिले उनी बेफुर्सद लागिरहेका छन् । यो तरिका राम्रो हो र यस्तै छलफल उनीजस्तै अरु मन्त्रालय र प्रधानमन्त्रीसमेतले आयोजना गरेर सबैको विचारमा कार्यक्रम तय गर्नसके देश बनाउन गाह्रो कुरै होइन ।
अर्थमन्त्री जनार्दन शर्मा अर्थशास्त्री होइनन् तर अर्थशास्त्रमा ज्ञानै छैन भन्न सुहाउँदैन । कतिपय कुरामा ज्ञान पर्याप्त नहुन सक्छ । यसैले उनले बजेट बनाउने क्रममा बौद्धिक समुदाय र अर्थशास्त्रीको बिच निरन्तर छलफलमा छन् । उनी वास्तवमा व्यावहारिक अर्थशास्त्री हुन् भन्ने कुरा उनले रुकुम जिल्लालाई नमूना गाउँ आर्थिक कार्यक्रम संचालन गरेर नमूना जिल्लाको उदाहरण दिइरहेका छन् । अर्थशास्त्रको ठेली कण्ठ गर्दैमा कोही अर्थशास्त्री हुँदैन । बेजोड अर्थशास्त्री भनाउँदा डा. युवराज खतिवडाले देशलाई नै आर्थिक रूपमा तहस नहस बनाउने हर्कत गरेर आफ्नो स्वार्थको कुम्लो भरेर राज्यको हरेक खाले पद र सुविधामा तल्लीन भएको देखिनु दुर्भाग्यको कुरा हो । उनलाई ज्यादै राम्रो अर्थशास्त्रीको रूपमा यो लेखकले पनि उठाउन पर्याप्त सम्मान दिएकै हो । तर यो कुरा उनले बुझ्न नसक्नुलाई ‘बबुरो अर्थशास्त्री’को नाम दिन के फरक पर्ला । यो कुरामा उनले मन नदुखाए हुन्छ ।
अब आउने बजेटमा निम्न कुराहरूमा ध्यान दिन सके समाजवादी बाटोतर्फ देशको अर्थतन्त्र अग्रसर हुन सक्छ । माओवादी सुप्रिमो प्रचण्डले अपेक्षा गरेको निःशुल्क शिक्षा र स्वास्थ्य कार्यक्रम सबै जनतामा पुग्न सक्छ । लेखकलाई लागेका बजेटमा केन्द्रित हुनुपर्ने कार्यक्रमहरूः
१. नमूना गाउँ विकास कार्यक्रमलाई नेपालको नयाँ आर्थिक नीति बनाउनु पर्छ । प्रत्येक गाउँको साधन स्रोत प्रयोग गरेर गाउँ गाउँ प्रतिस्पर्धामा ल्याउन सके सबै क्षेत्रको एकीकृत विकास हुन्छ । यो नै समाजवादी अर्थ व्यवस्थाको नयाँ स्वरूप हो ।
२. उद्यमशीलता विकास कार्यक्रम संचालन गरेर देशका सबै क्षेत्रका युवा आर्थिक रूपमा सबल सबै उमेरका नागरिकलाई तालिम प्रदान गरेर सुविधायुक्त पूर्वाधारको नजिकमा उद्योग व्यवसाय, कृषि उत्पादन, जडिबुटी फलफूल आदि कार्यक्रममा लगाउनु पर्छ ।
३. तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रम जस्तो कार्यक्रम संचालन गरेर तराईको उर्वर जमिनको संरक्षण गर्दै जनघनत्व बढ्दै गरेको क्षेत्रमा व्यवस्थित बसोबास गर्ने । उद्योग कलकारखानाको स्थापना संचालन गर्ने मात्र नभई तराईलाई विशेष अन्न भण्डारको रूपमा विकसित राख्दै सिमावर्ती भारतीयको अतिक्रमणबाट सुरक्षित राख्ने कार्यक्रम ल्याउनु पर्छ ।
३. गाउँ सहर विकास तथा सामाजिक सुरक्षा शिक्षा कार्यक्रमलाई देशभर संचालन गर्न संघीय सरकारको तहमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सहरी विकास, संचार र योजना आयोगसहितको विकास प्रशिक्षण समिति बनाउने र यसैअनुरूप क्षेत्रीय र ग्रामीण तहससम्म पुग्ने गरी अन्तर्गतका समिति बनाएर घर-घरमा सबैखाले सुविधा पुग्ने गरी प्रशिक्षण र आवश्यक पूर्वाधार तयार गर्न अग्रसर हुने कार्यक्रम ल्याउनु पर्छ ।
४. आर्थिक समृद्धिका लागि सहकारी कार्यक्रम संचालन गरेर देशलाई समाजवादी आर्थिक विकास कार्यक्रम संचालन गर्ने सहकारी मार्फन स्वस्थ्य, शिक्षा, सुरक्षा कोष स्थापना गरेर देशभर सहकारीमार्फत निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा एवं एकीकृत विकास कार्यक्रम संचालन गर्नुपर्छ ।
४. पुनःनिर्माण तथा पूर्वाधार विकास बैंक स्थापना गर्ने र सबैखाले विकाससँग सम्बन्धित स्रोत परिचालन गर्ने व्यवस्था यसै बैंक अन्तर्गत गर्ने । यसका साथै अहिलेका गरिबी निवारण, स्वरोजकार कोष, हिमाली कोषजस्ता अनेकौँ कोषको परिचालन यसै बैंक अन्तर्गत एकीकृत गर्ने ।
५. बैंंक तथा वित्तीय संस्थाको व्यवस्थापनमा ४ वर्गमा राख्दा सही तरिकाले परिचालन गर्न सकिन्छ । पहिलो पुनःनिर्माण तथा पूर्वाधारमा सबैखाले कोष तथा सहायता कार्यात्रम संचालन गर्ने । दोस्रोमा वाणिज्य कारोवार संचालन गर्न नेपाल बैंकको विशेष भूमिका रहने गरी सबै बाणिज्य बैंकको संयोजनमा नियन्त्रण र परिचालन गर्ने । तेस्रो विकास बैंकको संयोजनमा कृषि विकास बैंकलाई विशेष ऐन अन्तर्गत राखेर संयोजनकारी भूमिका दिने । चौथो बाणिज्य बैंकलाई सरकारी बैंकको रूपमा नेतृत्वदायी भूमिकाको रूपमा विकास गर्ने । यसका लागि विशेष तयारी गर्नु जरुरी हुन्छ ।
६. उत्पादनशीलता विकास कार्यक्रममा कृषि, घरेलु, रोजगारी सिर्जना, तालिम जस्ता कार्यक्रम संचालन हुनु पर्छ ।
७. एकीकृत पर्यटन विकास कार्यक्रम संचालन गरेर विभिन्न क्षेत्रमा धार्मिक, सांस्कृतिक, कृषि, चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान, साहित्यिक, साहसिक तथा प्राकृतिक अवलोकन एवं मनोरन्जन जस्ता कार्यक्रम संचालन गर्नुपर्छ । लुम्बिनी विकास समिति, विश्वविद्यालय, र सामाजिक सहभागिताको पहलमा लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको जन्म केन्द्र अथवा प्रसुति अस्पताल बनाउने जसले गर्दा विश्वका बौद्ध धर्माबलम्बीहरूले आफ्नो बच्चा जन्माउने केन्द्रको रूपमा प्रयोग गर्ने र लुम्बिनीबाटै घोडाघोडी खप्तड रामारोसन रारा, काँक्रे बिहार स्वर्गद्वारी, रिडी, मुक्तिनाथ गोर्खा हुँदै स्वयम्भू बौद्धनाथ लगायतको पर्यटन सर्कल बनाउने । यस्तै अन्य क्षेत्र चतरा सर्कल, कालिन्चोक सर्कल पाथीभरा सर्कल बनाएर आन्तरिक र बाह्य पर्यटनको सुविधाको व्यवस्थामा केबुलकार लगायतका यातायात व्यवस्था गर्ने ।
८. विशेष भूमि व्यवस्थापनका लागि एकीकृत बसोबास कार्यक्रम, सबैका लागि आवास र रोजगारी, उर्वर जमिनको संरक्षण गर्ने र उत्पादन गर्ने क्षमता भएकोलाई भूमि उपयोग गर्न दिने र त्यस्तो भूमि तोकिएको मापदण्डअनुसार प्रयोग नभए राज्यले फिर्ता लिने व्यवस्था मिलाउने । अहिले राष्ट्रिय भूमि आयोगले गरेको कार्यक्रम प्रभावकारी छ । तापनि सबै जनतालई बसोबासका लागि जमिन दिने तर उत्पादनका लागि उत्पादन क्षमता भएकालाई मात्र तयारी गरेर जमिन उपलब्ध गराउने ।
९. यातायातमा केवुल कार सामान ओसारपसारमा रोप वे संचालन गर्ने ।
१०. इन्धन प्रयोगमा विद्युतीय चुलो र विद्युतीय कार प्रयोगमा ल्याउन ठाउँ ठाउँमा चार्जिङ स्टेशन राख्ने ।
११. वन जंगलको संरक्षणमा जनसमुदाय परिचालन गर्ने, जंगलमा किम्बु लगाएर रेशम उत्पादन कार्यक्रम, ओखर, रुद्राक्ष, कटुस, नास्पाती, लप्सी, सजिवन जस्ता उत्पादनशील वनस्पतिले बनजंगल भरिभराउ गर्ने । त्यस्तो जंगलबाट टिम्बर, बहुमूल्य फलफूल जडिबुटी उत्पादनबाट देशलाई आर्थिक र पर्यावरणीय रुपमा सबल बनाउने ।
१२. विद्युतीय जेनेरेटरबाट पानी तानेर हरेक नांगा डाँडाहरूमा प्रत्येक बिहान सिँचाइ गरेर सधैँ हरियाली कायम राख्ने । ठुला जंगलको बिच बिचमा आन्तरिक उत्पादनको रूपमा जडिबुटी, गिठा, भ्याकुर, तरुल, बेसार, अदुवाजस्ता बिरुवा लगाएर सामुदायिक संरक्षण र उत्पादनमा प्रतिस्पर्धात्मक कार्यक्रम ल्याउने ।
१३. विद्यालय-विश्वविद्यालयलाई उत्पादन क्षेत्रसँग सम्बन्धित पठनपाठनको व्यवस्था मिलाउने । देशका ठुला उद्योगपतिलाई ठाउँ ठाउँमा पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गर्न प्रोत्साहित गर्ने । देशमा विद्यमान जडिबुटी, परम्परागत पेशा शिक्षा, धर्म संस्कृति साहित्यजस्ता कुराको अनुसन्धान गर्ने कार्यक्रम संचालन गर्ने ।
१४. देशभरका विगत सरकरले बेचबिखन गरेका उद्योग कलकारखाना सम्पत्तिको खोजी गर्ने । हिनामिना गर्नेलाई दण्ड दिने र यस्ता उद्योग देशभर संचालनमा ल्याउने ।
१५. देशलाई भ्रष्टाचारमुक्त सुशासित नमूना शासन व्यवस्था अन्तर्गत संसारमा प्रतिष्ठित उदाहरणीय शैक्षिक विश्वविद्यालय बनाएर विश्व बौद्धिक समुदायलाई आकर्षित गर्ने ।
यसरी संचालन गर्ने कार्यक्रमको छुट्टै दस्तावेज बनाएर माओवादीले आफ्नो पार्टी तहका केन्द्रदेखि स्थानीय जनतालाई समेत छलफल र बहसमा ल्याउनु पर्छ । यो कुरामा अध्यक्ष प्रचण्डले गम्भीर भएर केन्द्रीयस्तरमा एउटा दर्बिलो बौद्धिक समूह बनाएर निरन्तर छलफल गर्न सके यो देश साँच्चै ५ वर्षमा उज्यालो नमूना देश बन्नसक्छ । अहिले अर्थमन्त्री शर्माको देशप्रति चिन्तनशील हुँदै आर्थिक कार्यक्रम सबल बनाउन छलफलमा केन्द्रित भइरहको कुरा उदाहरणीय हो । यो अभ्यास सबै दल र मन्त्रालयमा समेत हुनुपर्छ ।
समग्रमा, अरु त विभिन्न नामधारी गुट हुन्, राजनीतिक शक्ति माओवादी नै हो भनेर आफ्नै अर्थनीति, गृह तथा सुरक्षा नीति, परराष्ट्र नीति, विकास नीति, तथा सम्पूर्ण विकास कार्यक्रम सम्बन्धी बहस र छलफलमा बसेर माओवादी केन्द्रको नेतृत्व गरिरहेका अध्यक्ष प्रचण्डले नै गहन भूमिका निर्वाह गर्नसक्ने अवस्था छ । यसर्थ माओवादी अब विकासवादी माओवादी, समाजवादी माओवादी बन्नु जरुरी छ । यो मौकाको सदुपयोग होस् ।
(लेखक अर्थशास्त्री तथा कृषि विकास बैंकका पूर्व उपमहानिर्देशक हुन।)
साभार : www.leftreviewonline.com