‘झुंड’ (२०२२): बहिष्कृत भारतकाे कथा 

सिनेमा चर्चा

प्रभाष

अहिले भारतीय सिनेमामा एउटा ‘न्यू वेब’ उठेकाे छ, दलित-आदिवासी-पिछडा-उत्पीडित तथा बहिष्कृतहरुकाे सिनेमाकाे वेब। छाेटाेमा, दलित सिनेमाकाे वेब। तमिल सिनेमामा याे वेबले एक स्पष्ट विचारधारात्मक आकार ग्रहण गर्दै गइरहेकाे देखिन्छ भने तेलुगु सिनेमामा याे वेभ प्रखर रुपमा छुट्टै रुपरङका साथ उदाइरहेकाे देखिन्छ। मराठीमा पनि उत्कृष्ट दलित सिनेमाहरु बनिरहेका देखिन्छन्। पा. रंजित, भेट्रिमारन, मारि सेल्वाराज, शेखर कम्मुला, बुची बाबु सना, नागराज मन्जुले जस्ता न्यू एज फिल्ममेकरहरु याे दलित न्यू वेब सिनेमाका प्रमुख आर्किटेक्टहरुका रुपमा देखा परेका छन्।

दलित सिनेमाकाे याे वेबकाे प्रभाव यति बलियाे बनेकाे छ कि याे अब बलिउडकाे दैलाेसम्म पुगेकाे छ जसकाे पहलकदमी नागराज मन्जुलेले गरेका छन्। नागराज (जाे मूलभूत रुपमा मराठी फिल्ममेकर हुन्) ले हिन्दीमा ‘झुंड’ बनाएर बलिउडलाई घच्घच्याएका छन्। नागराज मन्जुले दलित सिनेमाकाे यस न्यू वेबकाे एक प्रमुख आर्किटेक्ट मानिन्छन्। यसअघि ‘फैंड्री’ (२०१३) र ‘सैराट’ (२०१६) जस्ता जर्बदस्त र वाइडली एक्लेम्ड दलित सिनेमाहरु बनाएका नागराजले यसपटक भने दलित-बहिष्कृत समुदायकाे अलगै कथा टिपेका छन् र त्यसलाई अलगै काेण र अलगै शैलीमा भनेका छन् जसमा फुटबल एउटा महत्त्वपूर्ण अवयबकाे रुपमा रहेकाे छ।

‘झुंड’ मा एकै समयमा भारतकाे दुई अलग-अलग तस्वीरलाई देखाउने कोशिश गरिएकाे छ। यी दुई तस्वीरकाे बीचमा ठूलो भिन्नता छ। खासमा, ‘झुंड’ बहिष्कृत भारतकाे कथा हाे। याे त्याे भारतकाे कथा हाे जाे उपेक्षित छ, जाे शिक्षा, स्वास्थ्य, राेजगार र गुणस्तरीय जीवनबाट बन्चित छ, जसलाई हाइ-क्लास साेसाइटीले बहिष्कार गरेकाे छ, जाे समाज/राज्यकाे मूलधारदेखि धकेलिएर सीमान्तमा परेकाे छ। जाे जाेखिममा छ, असुरक्षित छ र जीवन निर्वाह गर्न साना-ठूला अपराधहरु गर्न बाध्य छ, जसले राज्यबाट केही पनि अटेन्सन पाएकाे छैन अथवा भनाैं जसलाई राज्यले पूर्ण रुपमा बेवास्ता गरेकाे छ। याे भारत ठूलाे छ र यिनीहरु ठूलाे सँख्यामा छन्। तर राज्यबाट पाउनुपर्ने अभिभावकत्व र सँरक्षणकाे अभावमा बेवारिसे जीवन व्यतीत गरिरहेका छन्। याे भारतभित्र कति लुकेका प्रतिभाहरु छन्, जाे उचित मार्गदर्शन, प्राेत्साहन, वातावरण र अवसर/एक्सपाेजर नपाएर त्यसै सडिरहेका छन्।

‘झुंड’ ले त्याे विशाल बहिष्कृत भारतभित्रका लुकेका प्रतिभाहरुतर्फ समाज तथा राज्यकाे ध्यानाकर्षण गराउने काेशिश गरेकाे छ जससम्म राज्य पुग्न सकिरहेकाे छैन, न त उनीहरु नै राज्यसम्म पुग्न सकिरहेका छन्। किनभने समाजकाे मूलधार तथा राज्यले आफु र उनीहरुका बीचमा यति अग्लाे पर्खाल खडा गरिदिएकाे छ कि जसलाई नाघेर समाजकाे मूलधार तथा राज्यसामु आइपुग्नु उनीहरुका लागि असम्भवप्राय: छ।

त्यसैले, याे पहलकदमी समाजकाे मूलधार तथा राज्यले नै गर्नुपर्छ। समाजकाे मूलधार तथा राज्यले आफुले खडा गरेकाे पर्खाललाई भत्काएर ती हिडेन ट्यालेन्टहरुसम्म पुग्नुपर्छ। उनीहरुलाई मूलधारमा सामेल गर्नुपर्छ। किनभने, उनीहरु भनेका समग्र भारतका भविष्य हुन्। उनीहरु भाेलि भारतकाे नाम विश्वभरि चम्काउने सामर्थ्य राख्छन्। त्यसैले, भारतकाे उज्ज्वल भविष्यकाे लागि समाज तथा राज्यकाे मूलधारमा उनीहरुकाे सामेलीकरण गर्नु अत्यावश्यक छ।

‘झुंड’ काे परिवेश रियलिस्टिक छ। ‘झुंड’ काे शूटिङ नै गड्डीगाेदाम नामक नागपुरकाे एक वास्तविक सुकुम्बासी बस्तीमा गरिएकाे हाे। ‘झुंड’ का पात्रहरु पनि रियलिस्टिक छन्। ‘झुंड’ मा देखाइएका पात्रहरु नागपुरकाे सुकुम्बासी बस्ती गड्डीगाेदाममा नै बसाेबास गर्ने किशोर-किशाेरी तथा वयस्कहरु हुन्। उनीहरु सबैजना त्यस सुकुम्बासी बस्तीका वास्तविक बासिन्दाहरु हुन्, कुनै बनावटी पात्रहरु हैनन्।

तसर्थ, ‘झुंड’ मा सुकुम्बासी बस्तीमा बसाेबास गर्ने मानिसहरुलाई जस्ताकाे तस्तै देखाइएकाे छ। उनीहरुका जीवनका प्रत्येक पाटाेलाई छुने कोशिश गरिएकाे छ। यहाँ बस्ने मानिसहरुका काम-धन्धा, सा-साना कुराहरुमा झगडा गर्ने उनीहरुका स्वभाव, स्कुल-कलेज जाने, पढ्ने-लेख्ने, भविष्यनिर्माण गर्ने उमेरमा चुराेट, गाँजा, रक्सी र लागुपद्धार्थकाे नशामा लठ्ठ, कलम समाउनुपर्ने हातमा रड, लाठी-मुँग्राे र छुरा लिएका युवाहरु, त्यस्तै उनीहरुकाे गरिबी, रहनसहन, जीवनशैली सबैलाई दुरुस्तै पर्दामा उतारिएकाे छ।_

‘झुंड’ काे कथा फुटबल कोच तथा ‘स्लम सकर एनजीओ’ का संस्थापक विजय बरसेकाे जीवनीबाट प्रेरित छ। तर, उनी कथाका एकमात्र मुख्य वा केन्द्रीय पात्र हाेइनन्, उनी एउटा माध्यममात्र हुन् कथाभित्रका थुप्रै थुप्रै पात्रका कथाहरुलाई एक्सप्लाेर गर्ने र उनीहरुलाई समाजकाे मूलधारसँग जाेड्ने। काेच विजयबाट प्रेरणा लिएर आफैलाई साबित गर्न सङ्घर्ष गरिरहेका सुकुम्बासी बस्तीका केटाहरुका डन सांभ्याकाे लामाे कथादेखि लिएर दुरदराजका गाउँमा बस्ने, पढाइदेखि बन्चित भएकी र पहिचानपत्र बनाउन जद्दाेजहद गरिरहेकी माेनिका अनि सधै आफुलाई कुटिरहने आफ्नाे toxic पतिलाई छाेडि आफ्ना तीनजना बच्चालाई लिएर नयाँ जीवन सुरु गर्न सङ्घर्ष गर्ने रजिया जस्ता पात्रहरुकाे समेत कथा हाे याे। विजयकाे मात्र हाेइन। विजय यी सारा पात्रहरुलाई प्लेटफर्म प्रदान गर्ने र मूलधारसँग जाेड्ने पात्र मात्र हाे।

‘झुंड’ काे कथा एक वाक्यमा भन्नुपर्दा याे आवारागर्दी, लुटपाट र चाेरी गर्दै हिँड्ने, शिक्षा र अन्य सेवा-सुविधाबाट बन्चित, उपेक्षित एवं बहिष्कृत समुदायका किशाेर-किशाेरी तथा युवा-युवतीहरुलाई एक शिक्षकले कसरी उनीहरुभित्र अन्तर्निहित फुटबल खेल्ने क्षमतालाई पहिचान गरि त्यसलाई माझेर, उनीहरुलाई अनुशासित बनाइ, उनीहरुलाई आफ्नाे खेलकाैशल प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्छन् र अन्तर्राष्ट्रिय विश्वकप फुटबलकाे प्लेटफर्मसम्म पुर्‍याउँछन्, त्यसकाे कथा हाे।_

अनि, अर्काेतर्फ, ती बहिष्करण र अपराधिकरणकाे ट्रयाकमा दाैडिरहेका किशाेर-किशाेरी तथा युवा-युवतीहरुले कसरी आफुहरुलाई अनुशासित, परिस्कृत र रुपान्तरित गरि बहिष्करण र अपराधिकरणकाे ट्रयाकबाट बाहिर निकालेर उज्ज्वल भविष्यतर्फकाे ट्रयाकमा दाैडाउँछन्, त्यसकाे कथा हाे।

तथाकथित सभ्य समाजले जाति र वर्गकाे पर्खाल खडा गरेर समाजकाे पीँधमा रहेका यी वर्ग-समुदायलाई अलग धकेलिदिएका छन्। यी तथाकथित प्रगतिशील समाज उनीहरुलाई ‘फाेहाेरी’ र ‘मैलाधैला’ भन्छन्। उनीहरुलाई उपेक्षा, घृणा र तिरस्कार गर्छन्। यस सिनेमामा यस्ता थुप्रै दृष्यहरु छन् जसले यस सत्यलाई स्पष्टसँग देखाउँछन्। 

जस्तै, एक दृष्यमा सुकुम्बासी बस्तीका सबै युवा मिलेर कोच विजयलाई भेट्न उनकाे एकेडेमीको फुटबल ग्राउन्डमा जान्छन्। उनीहरु फर्किएपछि विजयकाे सहकर्मी कोच उनलाई साेध्छ, ‘विजय सर, यस्ता मान्छेहरुसँग तपाईं के गर्नुहुन्छ?’ 

विजय मुस्कुराउँदै जवाफ फर्काउँछन्, ‘फुटबल खेल्छु यिनीहरुसँग। यिनीहरु राम्राे खेल्छन्।’

फेरि सहकर्मी काेच भन्छ, ‘यस्ता मान्छेहरुसँग घुलमिल गर्नुहुदैन। के राम्राे खेल्छन्? यिनीहरु हाम्राे मैदानमा आउँछन्। केटीहरुलाई जिस्काउँछन्, नशाबाजी गर्छन्।’

त्यसैगरि, अर्काे एउटा दृष्यमा क्याम्पसका प्रमुख प्रोफेसर कोच विजयसँग भन्छन्, ‘यी फाेहाेरहरुलाई क्याम्पसमा नल्याएकै वेश हुनेछ।’ 

थप एक दृष्यमा विजयले बडाे मुश्किलले क्याम्पस मेनेजमेन्टबाट कलेजकाे ग्राउन्डमा स्लम फुटबल टुर्नामेन्ट सँचालन गर्ने अनुमति लिन्छन् तर ग्राउन्डमा प्रतियोगीहरुबीच झगडा भएपछि मेनेजमेन्ट प्रमुख विजयलाई भन्छ, ‘याे सबै बन्द गर। याे तपाईंबाट हुँदैन। पूरै कलेजलाई सुकुम्बासी बस्ती बनाइदिनुभयाे।’

त्यसैगरि, अदालतमा सरकारी वकिल भन्छ, ‘यस्ताे अपराधिक मानसिकता भएका मान्छेहरुलाई पासपाेर्ट दिने र विदेश पठाउने हाे भने यिनीहरुले हाम्राे देशकाे प्रतिमालाई मलिन बनाउनेछन्। यिनीहरुलाई बढावा दिए हामी पनि अपराधी बन्नेछाैं। तसर्थ, यिनीहरुकाे पूरै झुंडकाे पासपाेर्ट खारेज गर्नुपर्छ।’ 

याे धारणा उक्त वकिलकाे मात्र धारणा हाेइन, सिङ्गाे हाई क्लास साेसाइटीकाे लाे क्लास साेसाइटीप्रतिकाे धारणा वा पूर्वाग्रह हाे र अधिकाँश राज्यसँचालकहरुकाे धारणा पनि याे भन्दा भिन्न छैन।

तमिल फिल्ममेकर पा रंजित भन्छन्, ‘ब्याकड्रपसँग संवाद वा संगीतबिना पनि सामाजिक यथार्थलाई भन्ने अपरिमित शक्ति हुन्छ।’ यहाँ नागराजले कथाकाे प्रत्येक पाटाेलाई प्रष्ट्याउन ब्याकड्रपकाे त्यही शक्तिकाे अर्थपूर्ण प्रयाेग गरेका छन्। सुकुम्बासी बस्तीकाे मानिसहरुका पसलहरुमा डा. बाबासाहेब अम्बेडकरकाे तस्वीर टाँगिएकाे हुनुदेखि लिएर उक्त बस्तीका मानिसहरुले निलाे पहिरनमा अम्बेडकर जयन्ती मनाउनुसम्म।

यस सिनेमाकाे सुरुवाती दृष्यहरुमा एकातर्फ किशाेर तथा युवाहरुले चाेरीकाे बाइकमा नक्कली नंबर प्लेट लगाएर कुदाएकाे, भवनबाट एसी चाेरेकाे, गुडिरहेको रेलगाडीबाट काेइला चाेरेकाे, मारपिट गरेकाे, बाइक चढेर लुटपाट गरेकाे, प्लास्टिक आदि फाेहाेर बटुलेकाे, लागुपद्धार्थ सेवन गरेकाे, अवैध रक्सी बेचेकाे आदि देखाइन्छ।

 

अर्काेतर्फ, उनीहरुकाे सुकुम्बासी बस्ती र विश्वविधालय भएकाे हाइ क्लास साेसाइटी अलग-अलग भएकाे, विश्वविधालयकाे पछाडिपट्टि धेरै पर उनीहरुकाे सुकुम्बासी बस्ती भएकाे, उनीहरुकाे,सुकुम्बासी बस्ती र विश्वविद्यालयका बीचमा पर्खाल ठडिएकाे, कलेजकाे सेक्युरिटी गार्डले उनीहरुकाे बस्तीकाे मैदानमा फाेहाेर फाल्ने गरेकाे, मैदानमा फुटबल प्रयाक्टिस गर्न आएका केटाकेटीहरुले उनीहरुलाई घृणाकाे नजरले हेर्ने गरेकाे देखाइन्छ।

यसरी नागराजले बिना कुनै संवाद, यी ब्याकड्रपहरुमार्फत् धेरै कुरा भनेका छन्। उनले ब्याकड्रपकाे माध्यमबाटै भारतकाे वर्गीय अन्तरलाई दर्शाएका छन्, सामाजिक विभाजनलाई दर्शाएका छन्, वन्चितिकरण र प्रिभिलेजलाई दर्शाएका छन्। विभेदलाई दर्शाएका छन्। यतिमात्र हाेइन, उनले दलितहरुकाे सङ्घर्षलाई पनि दर्शाएका छन् र सामाजिक विभाजनलाई पार गरेर जानुपर्ने सन्देशलाई पनि दर्शाएका छन्।

‘झुंड’ मा दुईवटा फुटबल टिमलाई देखाइएकाे छ। कलेजकाे फुटबल टिम र सुकुम्बासी बस्तीकाे फुटबल टिम। कलेजकाे फुटबल टिम राम्राेसँग तयार पारिएकाे गुणस्तरीय ग्राउन्डमा गुणस्तरीय खेलसामग्रीहरुका साथ फुटबलकाे अभ्यास गर्छ। तर सुकुम्बासी बस्तीकाे टिम भने त्यसकाे पल्लाेपट्टि रहेकाे कलेजकाे पछाडिकाे फाेहाेर फाल्ने चाैरमा बिना कुनै खेलसामग्री फुटबलकाे अभ्यास गर्छ। यस दृष्यमार्फत् अत्यन्त सरल ढंगले प्रिभिलेज्ड र नन् प्रिभिलेज्ड/वन्चित केटाकेटीहरु र उनीहरु बीचकाे वर्गीय अन्तरलाई दर्शाइएकाे छ। 

याे दुईटा सँसारलाई एउटा पर्खालले अलग्याएकाे छ। याे पर्खाल गरिब-दलितलाई आफुबाट अलग्याउन हाइ क्लास साेसाइटीले खडा गरेकाे सामाजिक विभाजन र विभेदकाे पर्खाल हाे। 

‘झुंड’ काे अन्तिमकाे दृष्यमा हवाइजहाज नागपुरकाे सुकुम्बासी  बस्तीमाथिबाट उडेर गइरहेकाे देखिन्छ अनि तल पर्खालमा लेखिएकाे देखिन्छ, ‘Crossing the wall is strictly prohibited.’

‘झुंड’ काे काेर्टरुमकाे एउटा दृष्यमा विजय बनेका अमिताभ बच्चन जज महाेदयालाई भन्छन्, ‘यिनीहरु चाहे जतिसुकै ट्यालेन्टेट किन नहाेऊन्, यिनीहरु तपाईंकहाँ आइपुग्न सक्दैनन् किनभने तपाईंले तपाई र यिनीहरुका बीचमा ठूलाे पर्खाल खडा गरिदिनुभएकाे छ।’

याे दृष्यमा देखिएकाे पर्खाल हाई क्लास साेसाइटीले खडा गरेकाे त्यही पर्खालकाे बिम्ब हाे, जसले तिनीहरुबाट दलितहरुलाई विभाजित गरेर पारीपट्टि धकेलेकाे छ र दलितहरुलाई वारी उनीहरुकाे ‘जाेन’ वा ‘साेसाइटी’ मा आउने अनुमति दिइएको छैन। यसले दलितहरुलाई सामाजिक विभाजनकाे पर्खाललाई नाघेर आफुपट्टि आउन नदिने सवर्णहरुकाे विभेदकारी व्यवस्थालाई दर्शाउँछ।

अनि, दलितहरु चढेकाे हवाइजहाजले उक्त पर्खालमाथि उडान भरिरहेकाे दृष्य पनि प्रतिकात्मक छ। याे दृष्य वास्तवमा दलित सशक्तीकरणसँग जाेडिएकाे छ। याे खासमा दलितहरुले आफ्नाे प्रतिभाकाे बलमा प्रगति गरेर सुकुम्बासी बस्तीबाट माथि उठि सामाजिक विभाजन र विभेदकाे त्याे पर्खाललाई नाघेर उडान भरिरहेकाे कुराकाे बिम्बात्मक अभिव्यक्ति हाे। सामाजिक विभाजनकाे पर्खालभन्दा दलितहरुकाे हैसियत अग्लाे हुँदै गइरहेकाे तथ्यकाे अभिव्यक्ति हाे। त्यसैले, याे दृष्य ‘सिम्बाेलिक’ छ तर ‘पावरफुल’ छ। 

त्यस्तै, उत्तरार्धतिरकाे अर्काे दृष्यमा अंकुश र उनका साथीहरु एयरपोर्टतर्फ दाैडिन्दै गइरहेका हुन्छन् र ब्याकड्रपमा नागपुरकाे दीक्षाभूमि देखिन्छ। दीक्षाभूमि त्याे ऐतिहासिक स्थल हाे जहाँ डा. बाबासाहेब अम्बेडकरले वर्णव्यवस्था आधारित हिन्दु धर्मकाे चँगुलबाट दलितहरुलाई मुक्त गर्न आफ्ना अनुयायीहरुका साथमा सामुहिक रुपमा बाैद्ध धर्म ग्रहण गरेका थिए। अघि बढिरहेका गतिशील दलित युवाहरु र ब्याकड्रपमा दीक्षाभूमिलाई देखाउने याे अर्काे सिम्बाेलिक तर पावरफुल दृष्य हाे।

फरक प्रसङ्गमा, ‘झुंड’ मा एउटा दृष्य छ, जहाँ माेनिका नामक केटी ‘National Slum Football Team’ मा छनाैट हुन्छिन् र पासपोर्टका लागि पहिचानपत्र बनाउन सरकारी अड्डा जान्छिन् तर पहिचानपत्र पाउदिनन्। बरु उनलाई पहिले परिचय खुल्ने अर्कै कागज लिएर आऊ भनेर पठाइन्छ। त्यसपछि, उनी एकठाउँबाट अर्काे ठाउँमा जान्छिन्, दर-दरकाे ठाेकर खान्छिन्। सरकारी कार्यालयबाट जब उनी आफ्नाे पितासँग बाहिरिइरहेकी हुन्छिन्, तब उनीहरुकाे छेऊमा ‘डिजिटल इंडिया’ काे साइनबाेर्ड देखिन्छ। ‘डिजिल इंडिया’ अर्थात् सबै नागरिकलाई डिजिटल सेवासँग जाेड्ने सरकारकाे नारा अनि धरातलमा भने एक पहिचानपत्रका लागि एक कार्यालयबाट अर्काे कार्यालयमा भाैतारिरहेका सेवाग्राही आमजनता। याे प्रसङ्गले ‘डिजिटल इंडिया’ काे नारालाई सरकारी कार्यालयहरुले नै कसरी धज्जी उडाइरहेका छन् भन्ने सत्यलाई दर्शाउछ। केही नभनि पनि धेरै कुरा भन्छ याे एउटा दृष्यले।

त्यही उनीहरुकाे उपेक्षा र बहिष्करणलाई गहिराेसँग रेखांकन गर्ने एउटा महत्वपूर्ण दृष्य माेनिकाकाे छ। जसमा माेनिका र उनकाे पिता पासपोर्ट बनाउन प्रशासनकहाँ जाँदा त्यहाँ बसेकाे सरकारी बाबुले कागजपत्र माग्छ। उनीहरुसँग कुनै कागजपत्र हुँदैन। उनीहरुलाई स्कुलमा दुई दिनमात्र स्कुल गएकी माेनिकालाई भर्ना गरेकाे प्रमाणपत्र ल्याउन भनिन्छ जसबाट माेनिकाकाे पहिचान खुल्न सकाेस्। स्कुलकाे शिक्षक असल हुन्छ। उसले उनीहरुलाई माेनिकालाई स्कुलमा भर्ना गरेकाे प्रमाणपत्र उपलब्ध गराउछ। त्याे प्रमाणपत्र लिएर उनीहरु ग्राम पंचायतमा पहिचानपत्र लिन पुग्छन्। ग्राम पंचायतले गाउँकाे कुनै ठूलाे मान्छेले सिफारिस गरिदिए मात्र पहिचानपत्र पाइने, अन्यथा नपाइने भन्दै उनीहरुलाई रित्ताे हात फर्काइदिन्छन्। उनीहरु गाउँकाे एउटा व्यापारीलाई आग्रह गर्न पुग्छन्। उसले पनि ‘म तिमीहरुलाई चिन्दिन’ भनेर सिफारिस गरिदिनु मान्दैन। तर उसकाे पसलमा काम गर्ने मान्छेले उनीहरुलाई चिनेकाे हुन्छ। उसले कंभिन्स गरेपछि मात्र उसकाे मालिक उनीहरुकाे सिफारिस गरिदिन राजी हुन्छ। उसकाे सिफारिसपत्र पाएपछि मात्र माेनिकाले पासपाेर्ट पाउछिन् र उनकाे विदेश जाने बाटाे खुल्छ।_

याे खास प्रसङ्गले प्रष्ट पार्छ कि अशिक्षा र राज्यसम्म पहुँच नपुगेका कारण तथा राज्यकाे पनि उनीहरुसम्म पहुँच नपुगेका कारण गरिब-सीमान्तीकृतहरुसँग पहिचानपत्र, जन्म प्रमाणपत्र, बसाेबास प्रमाणपत्र जस्ता जरुरी कागजपत्रहरु हुँदैनन् अनि जब उनीहरुका छाेराछाेरीहरुकाे पासपोर्ट बनाउनुपर्ने हुन्छ तब उनीहरुले ठाउँ-ठाउँमा ठोकरहरु खानुपर्छ, उपेक्षा सहनुपर्छ। यस सिनेमामा त माेनिकालाई पसलमा काम गर्नेले चिनेकाे कारण उसकाे सहयाेगले माेनिकाकाे परिचयपत्र बन्नु सम्भव भयाे। यस्ता कति माेनिकाहरु हाेलान् जाे कुनै पनि ठूला-बडाले नचिनेकाे कारण सनाखत नगरिदिएकै कारण पहिचानपत्र, पासपाेर्ट आदिबाट बन्चित भइरहेका हाेलान्? अगाडि बढ्न नपाइरहेका हाेलान्? राज्य उनीहरुसमक्ष कहिले पुग्ने? उनीहरुलाई कहिले पहिचानपत्र दिने?

‘झुंड’ले राष्ट्रवादकाे अहिले प्रचलित न्यारेटिभ्समाथि पनि प्रश्न उठाएकाे छ। एक यस्ताे दाैरमा जहाँ राष्ट्रवादी सिनेमाहरुकाे बजार गर्म छ। प्रत्येक फिल्ममेकर आर्थिक फाईदाकाे लागि याे उर्लिन्दाे राष्ट्रवादकाे भेललाई सक्दाे भजाउन चाहन्छन्। धेरैजनाकाे लागि त याे सरकारकाे चाकरी गर्ने, सत्ताकाे निकट पुग्ने र पुरस्कृत हुने सुवर्ण अवसर बनेकाे छ। यस्ताेमा नागराज मन्जुलेले भने अलग काेणबाट राष्ट्रवादकाे अवधारणामाथि प्रश्न उठाएका छन्। याे अलग काेण भनेकाे दलित-बहिष्कृतहरुकाे काेण हाे। उनीहरुकाे दृष्टिकोण हाे। याे काेणबाट उनले प्रश्न उठाएका छन् कि ‘राष्ट्र भनेकाे के हाे?’ यसका लागि उनले एक अबाेध दलित केटा पात्र कार्तिकलाई खडा गरेका छन् जाे प्रश्न गर्छ कि  ‘भारत भनेकाे के हाे?’ एक यस्ताे समयमा जहाँ सिङ्गाे मुलुक नै उग्र राष्ट्रवादकाे रङ्गमा रङ्गिएकाे छ, सिङ्गाे मुलुक नै राष्ट्रवादकाे मुद्दामा दुई खेमामा विभाजित भएकाे छ, बहुसंख्यकवादले ‘राष्ट्र’ र ‘राष्ट्रवाद’काे toxic narrative गढेर त्यसमा असहमत हुनेहरुलाई अराष्ट्रिय तत्वकाे बिल्ला भिराईरहेकाे छ र उनीहरुमाथि थिचाेमिचाे गरिरहेकाे छ। यस्ताे समयमा याे प्रश्न उठाउनु निश्चय नै महत्वपूर्ण कुरा हाे। 

अम्बेडकरका अनुसार, जुन मुलुक हजारौं जात-जातिहरुमा विभाजित भएकाे हुन्छ, त्याे मुलुक राष्ट्र हाेइन। त्यसैले, भारत एक राष्ट्र हाेइन। किनभने, भारतमा जातिहरु छन्। प्रथमतः जाति राष्ट्रविराेधी कुरा हाे किनभने यसले सामाजिक जीवनमा विभाजन ल्याउँछ। जाति-जातिका बीचमा ईर्ष्या, द्धेष, घृणा र दुर्भावना उत्पन्न गर्छ। असमानता र विभेदकाे सिर्जना गर्छ। भारत तबमात्र एउटा राष्ट्र बन्छ, जब भारतबाट जातिय विभाजन र विभेद समाप्त हुन्छ। सबै जात-जातिका बीचमा समानता, भातृत्व र एकता कायम हुन्छ। तब मात्र भारतकाे परिभाषा पूर्ण हुन्छ।

अमेरिकी इतिहासकार पिटर साहलिंसका अनुसार ‘राष्ट्रिय पहिचान’ भनेकाे ‘मित्र’ र ‘शत्रु’ लाई परिभाषित गर्ने सामाजिक रुपमा सँरचित एक अविरल प्रक्रिया हाे। अपूर्ण राष्ट्रत्व (incomplete nationhood) काे एउटा प्रमुख लक्षण राज्यले आफ्नै नागरिकहरुलाई अन्यकरण गर्नु हाे। भारतमा दलितहरुलाई अन्यकरण गरिएकाे छ, उनीहरुकाे अपराधिकरण गरिएकाे छ र उनीहरुलाई शत्रुजस्तै व्यवहार गरिएकाे छ। उनीहरुलाई प्रवेश निषेध गरिएकाे छ, वन्चितिकरण गरिएकाे छ र किनारातिर धकेलिएकाे छ। यसले भाैतिक एवं मनाेवैज्ञानिक पर्खाल खडा गरिदिएकाे छ। याे जातिवादकाे पर्खाल हाे। कुनै पनि राष्ट्रमा जातिवादकाे पर्खाल ठडिनु त्याे ‘राष्ट्र’ अझै पनि राष्ट्र बनिनसकेकाे वा बन्न नसकेकाे तथ्यकाे सुचक हाे। याे एक राष्ट्रकाे रुपमा त्यसकाे असफलताकाे सुचक हाे। दलितहरुकाे बसाेबासस्थल सुकुम्बासी बस्ती भनेकाे आधारभुत मानवीय सेवासुविधाबाट बन्चित असुरक्षित बसाेबासस्थल हाे। सुकुम्बासी बस्ती आफैमा असफल राष्ट्रकाे बिम्ब हाे। दलितहरुले बाँचिरहेका गरिबी र अभावग्रस्त अमानवीय जीवन, जीविकापार्जनका लागि उनीहरुले गर्ने जाेखिमपूर्ण अपराधिक कामहरु राष्ट्र ‘राष्ट्र’ काे रुपमा आफुले गरेका सँकल्पहरु पूरा गर्न असफल भएकाे तथ्यका सुचकहरु हुन्।

यदि भारतलाई साँच्चिकै राष्ट्र बनाउने हाे भने याे जातिवादलाई अन्त्य गर्नुपर्छ। सामाजिक विभाजनकाे याे पर्खाललाई भत्काउनुपर्छ र स्वतन्त्रता, समानता र भातृत्वका आधारमा सबै जातिहरुका बीच सामाजिक सम्मिलिकरण गर्दै अघि बढ्नुपर्छ। दलित तथा पिछडिएका वर्ग-समुदायहरुलाई सशक्तीकरण गर्दै, उनीहरुलाई याेग्य बनाउदै लैजानुपर्छ। यति याेग्य कि उनीहरु आफ्नाे याेग्यताकाे बलमा सुकुम्बासी बस्तीबाट माथि उठ्न सकुन्, सामाजिक विभाजनकाे याे बडेमानकाे अग्लाे पर्खाललाई नाघ्न सकुन्। उडान भर्न सकुन्। उचाइमा पुग्न सकुन्। आफ्नाे जीवनलाई बदल्न सकुन्। कुनै पनि राष्ट्र ‘राष्ट्र’ बन्नकाे लागि विभेद र विभाजनकाे अन्त्य र अपनत्व र समानताकाे आवश्यकता पर्दछ। ‘झुंड’ ले त्यही दिशातर्फ मार्गनिर्देश गर्दछ। याे कुरालाई ‘झुंड’ ले आफ्नो एसेन्स, आफ्ना पात्रहरु र उनीहरुका कथाहरुमार्फत् महसुस गराउँछ। तसर्थ, ‘झुंड’ काे दृष्टिकोण अम्बेडरवादी लाग्छ।

‘झुंड’ काे एउटा सर्वाधिक महत्वपूर्ण दृष्य दलित-बहुजन समाजका मानिसहरुले डा. बाबा साहब अम्बेडकरकाे जयन्ती मनाएकाे दृष्य हाे। याे दृष्यमा दलितहरु एकठाउँमा भेला हुन्छन्। डिजेले म्युजिक प्लेयरमा ग्रुभी बिट्स बजाउँछ अनि उनीहरु डा बाबासाहब अम्बेडकरकाे ठूलाे तस्वीरकाे मुनि गाेलबद्ध हुन्छन् र उन्मुक्त भएर नाच्छन्। तस्वीरमा डा. बाबा साहेब अम्बेडकरका अतिरिक्त शिवाजी महाराज, ज्याेतिराव फुले र साहु महाराजजस्ता उनीहरुका आइकनहरुका चित्र पनि अंकित भएकाे देख्न सकिन्छ। पूरै पाँच मिनेटसम्म याे दृष्य चलिरहन्छ अनि अमिताभ बच्चनले डा. बाबा साहेब अम्बेडकरकाे तस्वीरलाई प्रणाम गरेर बाहिरिएपछि याे दृष्य समाप्त हुन्छ।

 

याे दृष्य यसकारण पनि महत्वपूर्ण छ कि यसअघि कुनै पनि हिन्दी सिनेमामा यस्ताे देखिएकाे थिएन जसमा दलित समाजले आफ्नाे महापुरुषकाे जयन्ती मनाइरहेकाे हाेस् र आपसमा ‘जय भीम’ भनेर अभिवादन साटासाट गरिरहेकाे हाेस्। हिन्दी सिनेमामा अम्बेडकर जयन्ती मनाएकाे देखाइएकाे याे नै पहिलाे अवसर हाे। दलितहरुका आइकनहरुलाई सिनेमाकाे पर्दामा सम्मान र गरिमाका साथ प्रस्तुत गरिएकाे पनि याे नै पहिलाेपटक हाे। अनि, हिन्दी सिनेमाका महानायकले भारतीय इतिहासकाे महानायकसामु हात जाेडेर शीर झुकाई नमन गरेकाे दृष्यले पनि यसलाई थप गरिमामय बनाउँछ। यसअघि कुनै पनि हिन्दी सिनेमामा यस्ताे दृष्य देखिएकाे थिएन। हिन्दी सिनेमामा याे दृष्य देखिन एक शताब्दी लाग्याे।

सन् १९५० देखि लिएर सन् १९८० काे दशकसम्मका हिन्दी सिनेमाहरुमा अम्बेडकरकाे एउटा तस्वीर धरि देखाइएन। सन् १९८२ मा बनाइएकाे ‘गान्धी’ मा सिङ्गाे सिनेमाभरि अम्बेडकरकाे बारेमा कुनै पनि ‘रेफरेन्स’ छाेडिएन। त्यसयता आएर हिन्दी सिनेमामा यदाकदा रेन्डमली अम्बेडकरकाे तस्वीर देखाइन थालियाे। अन्ततः अहिले आएर नागराज मन्जुलेकाे याे हिन्दी सिनेमा ‘झुंड’ मा अम्बेडकरलाई गरिमामय ढंगले देखाइयाे। हिन्दी सिनेमाका महानायक अमिताभ बच्चनले डा. बाबा साहब अम्बेडकरलाई नमन गरेकाे शट मूलधारकाे हिन्दी सिनेमामा राखिएकाे अद्वितीय शट हाे र याे शटमा हिन्दी सिनेमाकाे सर्वाधिक प्रतिष्ठित अभिनेता महानायक अमिताभ बच्चन हुनुले पनि यसकाे महत्वलाई दर्शाउछ। यसले एक महत्त्वपूर्ण परिवर्तनलाई संकेत गर्छ। 

यस सिनेमामा याे दृष्यकाे महत्व यतिमात्र छैन कि याे दृष्यले यस सिनेमाका ती मैलाधैला पात्रहरु कुन समाजका हुन् भन्ने कुरालाई प्रष्ट्याउँछ। बरु त्यसभन्दा पनि बढी यसकारण महत्वपूर्ण छ कि यसले हिन्दी सिनेमामा प्रचलित एकतर्फी सवर्ण कल्चरलाई ताेड्छ र समावेशी कल्चरकाे सुरुवात गर्छ। 

बलिउडमा मध्यम तथा निम्नमध्यमवर्गीय पात्रहरुका साँस्कृतिक जीवनलाई देखाउँदा उनीहरुले गणपति वा दहीहांडी उत्सवलाई मात्र हर्षाेल्लासका साथ मनाइएकाे देखाइन्छ। तर अम्बेडकर जयन्तीलाई मनाएकाे देखाइन्दैन जबकि भारतमा मध्यम तथा निम्नमध्यम वर्गभित्र उल्लेखनीय सँख्या दलितहरुकाे पनि छ र दलितहरुद्वारा अम्बेडकर जयन्ती उत्तिकै धुमधामका साथ मनाइन्छ। याे बलिउडले हुर्काएकाे सवर्ण कल्चर हाे। नागराजले ‘झुंड’ मा गणपति वा दहीहांडीलाई अम्बेडकर जयन्तीद्वारा प्रतिस्थापित गरेर याे सवर्ण कल्चरलाई ताेडेका छन् र समावेशी कल्चरकाे सुरुवात गरेका छन्। त्यसैले, याे दृष्य आइकाेनिक छ र दलितहरुका लागि सदैव आइकाेनिक रहिरहनेछ।

‘झुंड’ ले ‘साेसल एन्डाेसमाेसिस’ काे बारेमा पनि कुरा गर्छ। अंकुश पहिले भावनालाई जिस्काउने गर्छ, जबकि उसमा कुनै क्वालिटी हुँदैन। भावना उसलाई मन पराउदिनन्। पछि, अंकुशले आफ्नाे खेलकाैशलले भावनालाई प्रभावित गर्छ। अनि, भावना उनकाे नजिक आउछिन्। यसरी अलग-अलग सामाजिक पृष्ठभूमिका मानिसहरु जब जाति-धर्म-वर्ण-वर्ग वा सामाजिक हैसियतजस्ता कुराहरुदेखि अलग रहेर याेग्यता, प्रतिभा र मन/विचार वा भावनाका आधारमा एकअर्काकाे नजिक आउँछन् र एकअर्काकाे साथी बन्छन्, एकअर्कासँग खुल्छन्, तबमात्र उनीहरु एकअर्कालाई सही ढंगले चिन्न र बुझ्न सक्छन्। एकअर्कासँग वास्तविक संवाद स्थापित गर्न सक्छन्। यसले उनीहरुबीच स्वास्थ्य सम्बन्धकाे विकास गर्छ, प्रेमकाे पनि विकास गर्न सक्छ र याे स्वास्थ्य सम्बन्ध वा प्रेमले जातिय-वर्गीय विभेदलाई मेट्न याेगदान गर्छ। खासमा मित्रता वा प्रेम जस्ताे कुनै सुन्दर र अद्भूत कुरा तब मात्र प्रकट हुन्छ जब सामाजिक-आर्थिक-जातिय वा वर्णीय गाैरवकाे भावना विलिन हुन्छ। अम्बेडकरले यसैलाई ‘साेसल एन्डाेसमाेसिस’ भनेका छन् जसले समानतातर्फकाे मार्गलाई प्रशस्त गर्छ। अंकुश र भावनाबीचकाे सम्बन्धकाे याे प्रसङ्गले विशेषत: अम्बेडकरकाे यही अवधारणालाई बुझाउने काेशिश गर्छ।

नागराजले ‘झुंड’ मा बलिउडका सारा स्टेरियाेटाइपलाई भत्काएका छन्। उनी ‘झुंड’ मा आफ्ना पात्रहरुलाई स्टाइलका साथ इन्ट्रड्युज गराउदैनन्। उनका पात्रहरु सुन्दर लाग्दैनन्। उनीहरु एट्रेक्टिभ छैनन्। उनीहरु हेर्दा हिराे-हिराेइनजस्ता देखिन्दैनन्। उनीहरु स्लाे माेशनमा हिँड्दैनन्। उनीहरु भारीभरकम डाइलगहरु बाेल्दैनन्। नागराज आफ्ना पात्रहरुलाई जस्ताकाे तस्तै देखाउँछन्। कतै पनि लिपापाेती गर्दैनन्। उनी आफ्ना पात्रहरुलाई सुरुदेखि नै चाेरी र लुटपाट गरिरहेका, नशा गरिरहेका, झगडा तथा आवारागर्दी गरिरहेका, केटी जिस्काइरहेका देखाउँछन्, कुनै ब्याकअप स्टाेरी र इमाेशनल एंगलबिना नै। उनी आफ्ना पात्रहरुका लागि सहानुभूति बटुल्ने कसरत गर्दैनन्, न त उनीहरुलाई जस्टिफाई गर्ने काेशिश नै गर्छन्। बरु उनीहरुका मूलधारबाट उपेक्षित र किनाराकृत जीवनलाई हुबहु देखाउछन्। उनकाे अप्राेच स्ट्रेट फरवर्ड छ। 

नागराजले सुकुम्बासी बस्तीका दलितहरुलाई नैराश्यता र अवसादमा बाँचिरहेका मानिसहरुका रुपमा हाेइन, बरु सामाजिक परिस्थितिले अवराेध गरेकाे कारण अघि बढ्न नसकिरहेका सामान्यजनका रुपमा देखाएका छन्। उनीहरुकाे जीवनमा हाँसखेल छ, उत्सव छ, मनाेरन्जन छ, सँगीत छ, जीविकोपार्जनका लागि गरिने दैनन्दिन सङ्घर्ष छ, तर उनीहरुकाे भविष्य भने अनिश्चित छ। किन अनिश्चित छ त? किनभने, उनीहरु राज्यकाे अभिभावकत्व, सँसाधन, सम्मिलिकरण तथा सम्मानबाट बन्चित छन्।

‘झुंड’मा विजय बरसेकाे भूमिकामा अमिताभ बच्चन सहज र स्वभाविक लाग्छन्। अर्को कुरा, ‘विजय’ नामसँग अमिताभ बच्चनकाे पुरानाे ‘कनेक्सन’ पनि छ। अमिताभकाे अधिकाँश ब्लकबस्टर सिनेमाहरुमा उनकाे नाम विजय नै थियाे। त्यसैले, ‘विजय’ नाम अमिताभमाथि नै उपयुुक्त लाग्छ। यसपटक के मात्र फरक छ भने यसअघि उनले निभाएका विजयका सम्पूर्ण भूमिकाहरु काल्पनिक थिए पनि यसपटक निभाएकाे विजयकाे उनकाे भूमिका वास्तविक हाे।

 

‘झुंड’ नागराज मंजुलेकाे पहिलाे बलिउड सिनेमा हाे र यस सिनेमामा उनले बहिष्कृत तथा ओझेलमा परेकाे भारतकाे कथा भनेका छन्। सुकुम्बासी बस्तीमा जीवन गुजारिरहेका आधा नाङ्गा भारतलाई सिनेमामा दस्तावेजिकरण गरेका छन्। ‘झुंड’ यस कथामा बनाइएकाे पहिलाे बलिउड सिनेमा पनि हाे। याे बलिउडमा नयाँ शैली हाे। याे नागराजले बलिउडमा भित्र्याएकाे दलित सिनेमाकाे न्यू वेभ हाे। यसरी उनले यस सिनेमामार्फत् उक्त बहिष्कृत तथा ओझेलमा परेका भारतप्रति मूलधारकाे ध्यानाकर्षण गराउने इमानदार प्रयत्न गरेका छन् जसकाे सरहना गर्नु आवश्यक छ। उनी आफ्नाे उद्देश्यमा कति सफल हुन्छन्, त्याे समयले बताउँला तर फिल्मले समीक्षक तथा दर्शकहरुबाट जुन प्रशंसा र सरहना पाइरहेकाे छ त्यसले याे सिनेमा जुन उद्देश्य लिएर बनाइएकाे हाे, त्याे उद्देश्यमा सफल हुने संकेत दिन्छ।

मा प्रकाशित