फणीश्वरनाथ रेणु सम्भवतः आधुनिक हिन्दी साहित्यका उत्तर-प्रेमचन्द युगका सर्वाधिक प्रशंसित, लाेकप्रिय तथा प्रभावशाली साहित्यकार हुन्। उनी अञ्चलविशेषलाई आफ्नाे कथाकाे आधार बनाएर स्थानीय भाषाशैली, लवज तथा बाेलीचालीका शब्दहरु टिपेर त्यहाँकाे स्थानीय जनजीवन तथा परिवेशकाे जीवन्त चित्रण गर्ने गर्दछन्। रेणुले हिन्दी कथामा नयाँ परम्परालाई जन्म दिए जुन शिल्प, शैली र स्वादमा भिन्न थियाे। आधुनिक फेशनदेखि टाढा ग्रामीण समाज र पात्रहरू, तिनीहरूका गहिराे मानवीय संवेदना, सुख-दुःख, माया-प्रेम र तीता-मीठा अनुभूतिहरु उनका कथाका विशेषता हुन्।
फणेश्वरनाथ रेणुकाे एउटा सुन्दर कथा छ, ‘पँचलैट’ जुन उनकाे ‘ठुमरी’ कथा संग्रहमा संकलित छ। याे फिल्म रेणुकाे त्यही कथाकाे दृष्य रुपान्तरण हाे। रेणुकाे साहित्यिक रचनामाथि बनेकाे याे दाेस्राे फिल्म हाे। यसअघि रेणुकाे कथामा शैलेन्द्र र बासु भट्टाचार्यले ‘तीसरी कसम’ (१९६६) बनाएका थिए।
सन् १९५४ काे ग्रामीण भारतकाे एक विकट गाउँकाे एउटा टाेल/समुदायकाे कथा हाे याे। एउटा गाउँ छ, जहाँ जातिका आधारमा अनेक टोलहरु बाँडिएका छन्। जसमध्ये, एउटा टाेल हाे महतो टोल अर्थात अछुतहरुकाे टाेल, जहाँ बिजुली छैन जसकाे कारण रातमा उज्यालाेकाे लागि लालटिन बाल्नुपर्छ। फिल्मकाे कथा त्यही बिजुली नभएकाे गाउँकाे महताे टाेलकाे वरिपरि घुम्छ।
एक निडर र निस्फिक्री स्वभावकाे युवा गाेधन साे गाउँकाे उक्त टाेलमा बस्न आउछ। त्याे उसकाे मावली हजुरआमाकाे थलाे हाे। ऊ आफ्नाे मावली हजुरआमाकाे घरबार सम्हालेर बस्न र आफ्नाे बाल्यकालदेखिकाे प्रियसी मुनरीसँग घरजाम गरेर सुखी जीवन बिताउने सपना देखेर गाउँमा आउछ। तर गाउँकाे पञ्चायतले उसकाे हजुरआमाकाे जग्गा-जमिन सबै कब्जा गरेर राखेकाे हुन्छ। पञ्चायतले सम्पत्ति फिर्ता गर्नकाे लागि पैसाकाे माँग राखेपछि पञ्चायतसँग उसकाे अन्तर्विराेध सुरु हुन्छ। ऊ पैसा दिन मान्दैन। पञ्चहरु उसकाे व्यवहारदेखि रुष्ट हुन्छन्। उसले एकातिर पैसा नदिएकाे र अर्काेतिर, आफुहरूकाे आदर पनि नगरेकाेले पञ्चहरु ऊसँग रिसइवी साँध्न थाल्छन्।
गाेधन मुनरीलाई बिहे गर्न चाहन्छ। दुवै एकअर्कालाई प्रेम गर्छन्। तर मुनरीकी आमा गाेधनलाई देखि सहन्दिनन्। यस्तोमा एकदिन मुनरीकी आमाले पञ्चायतमा ऊजुरी गरेपछि मुनरीलाई सँधै पीछा गर्ने र जिस्काउने गरेकाे आराेपमा गाेधनलाई पञ्चायतले जरिवाना गर्छ तर गाेधनले जरिवाना तिर्न नमानेपछि उसलाई टाेल/समुदायदेखि निष्कासन गरिन्छ।
गाउँमा बिजुली छैन। छिमेकका वामन (ब्राह्मण) र राजपूत (क्षेत्री) टाेल तीब्र र धेरै उज्यालाे दिने आधुनिक पँचलैट (पँचलाइट) प्रयाेग गरिरहेका छन् जबकि महताे टाेलका बासिन्दाहरु उहीँ परम्परागत धिपधिपे उज्यालाे दिने लालटिन बाल्न बाध्य छन्। यस्ताेमा गाउँकाे इज्जत र प्रतिष्ठाकाे खातिर उनीहरू पनि पँचलैट किनेर ल्याउने र छिमेकी टाेलहरूलाई देखाइदिने निर्णय गर्छन्।
उता पञ्चहरु पँचलैट किन्न जान्छन्। यता टाेलबासी पँचलैट ल्याइने खुशीमा भव्य उत्सवकाे तयारी गर्छन्। पूजासामग्री, मिठाइ-प्रसादहरू सबै बनाएर तयार गर्छन्। पञ्चहरुले पँचलैट किनेर ल्याइ पनि पुर्याउछन्। टाेलमा पँचलैट आइपुगेकाेमा सबै हर्षित र उत्साहित हुन्छन्। पञ्चहरु पनि पँचलैट किन्दाखेरिकाे किस्सा भन्दै खुूब डिङ पनि हाँक्छन् तर जब पँचलैट बाल्नुपर्ने बेला आउँछ, सबैजना अकमक्क पर्छन्। किनभने, त्यहाँ उपस्थित कसैलाई पनि पँचलैट बाल्नु आउदैन। उनीहरूकाे अवस्था यस्ताे हुन्छ कि दुहुना गाई त किनेर ल्याए, तर दुहुनु भने कसैलाई आउदैन। अब के गर्ने त्याे गाईलाई ? छिमेकी टाेलकाे मदत लिऊ भने उनीहरूले आजीवन खिसी गर्ने, खिल्ली उडाउने अनि आजीवन उनीहरूकाे अगाडि लज्जित हुनुपर्ने पिर। उसै पनि महताे टाेलबासीहरूले पँचलैट ल्याएर पनि बाल्नु जानिरहेकाे छैन भनेर अन्य टाेलहरुमा खबर पुगिसकेको हुन्छ र तिनीहरूले खिल्ली उडाउन थालिसकेका हुन्छन्। यस्ताेमा सबै जना उदास र चिन्तित हुन्छन्।_
मुनरीलाई थाहा हुन्छ, गाेधनलाई पँचलैट बाल्नु आउछ भनेर। तर आफ्नाे मुखले उनी सबका सामु त्याे कुरा कसरी भनुन् ? उनी आफ्नी सँगिनी कनेलीलाई कानमा खुसुक्क भन्छिन्। त्यसपछि एक कान, दुई कान हुँदै गाइँगुइँ चल्न थाल्छ। जब पञ्चहरूकाे कानमा याे कुरा पर्छ, उनीहरू ‘गाउँकाे इज्जतभन्दा पञ्चहरूकाे फैसला ठूलाे हाेइन’ भनेर गाेधनकाे सजायलाई खारेज गरिदिन्छन् र गाेधनलाई तुरुन्त बाेलाउन पठाउछन्। सुरुमा गाेधनकाे साथी नन्दजी र पछि पञ्चहरुमध्येकै एक छडिदार अगानु महताे उसलाई बाेलाउन जान्छन्, तर पञ्चहरू र टाेलबासीहरूसँग रुष्ट गाेधन आउन मान्दैन। अन्त्यमा, गुलरी काकी आफै गएर गाेधनलाई बाेलाएर ल्याउछिन् अनि गाेधनले कुशलतापूर्वक पँचलैट बाल्छ।
अनि, जति-जति पँचलैटकाे उज्यालो बढ्दै जान्छ, उति-उति बाहिरकाे अँध्याराेसँगै उनीहरूकाे मनभित्रकाे अँध्याराे पनि मेटिँदै जान्छ। सबै जनाकाे मुहारमा खुसी छाउछ। सबै गिला-शिकवा दूर हुन्छन्। सबै मिलेर उत्सव मनाउन थाल्छन्, नाँच-गान गर्न थाल्छन्। गुलरी काकी गाेधनलाई आफ्नाे घरमा खाना खान आउन निम्ताे पनि दिन्छिन्। यसबाट गाेधन र उनकी छाेरी मुनरीकाे प्रेम सम्बन्ध उनलाई स्वीकार्य भएकाे छनक मिल्छ।
फिल्मकाे मूलकथा रेणुकाे कथा ‘पँचलैट’ बाट उठाइएकाे छ र त्यसलाई विस्तार गरिएकाे छ। कथाका पात्रलाई ‘विकसित’ गरिएकाे छ। कथाका मूल पात्र गाेधनलाई पृष्ठभूमिसहित एक पूर्ण व्यक्तित्व प्रदान गरिएकाे छ। त्यसका लागि आइडिया पनि रेणुकाे कथाभित्रबाटै लिइएकाे छ। रेणुकाे मूल कथामा गाेधनले राज कपूरकाे फिल्म ‘आवारा’ काे गीत ‘हम तुमसे माेहब्बत करके सलम…’ गाउछन्। यही एउटा त्यान्द्राेलाई समातेर लेखकले गाेधनकाे पात्रलाई विकसित गरेका छन्। उसलाई राज कपूरबाट प्रभावित पात्रकाे रुपमा देखाएका छन् जाे राज कपूरका फिल्मका गीतहरु गाउँदै हिँड्छ। उसकाे ‘म्यानरिज्म’ र ‘लुक’ पनि राज कपूरकाे जस्तै छ। (अनि कता-कता अनुहार पनि राज कपूरसँग मिल्छ।)
ऊ शहरबाट मावली गाउँ फर्केकाे कुरा त मूलकथामै छ। त्यसैलाई समातेर उसले पटना सहरमा राज कपूरकाे फिल्म ‘आवारा’ तीनपटक हेरेकाे प्रसङ्गलाई जाेडिएकाे छ। जसबाट उसमा राज कपूरकाे प्रभाव परेकाे बताइएकाे छ, जुन तर्कसंगत लाग्छ। सिनेमाले मानिसमा पार्ने असरकाे प्रतिबिम्ब उसकाे पात्रमा झल्किन्छ। याे परिवर्तन मूलकथासँगै मेल खाने गरि गरिएकाे छ।
त्यस्तै प्रमुख पात्रहरूका पनि व्यक्तिगत पृष्ठभूमिहरू जाेडिएका छन्। गुलरी काकी र मुनरीकाे पात्रलाई पनि विस्तार गरिएकाे छ। उनीहरुका दृष्यहरु थपिएका छन्। गाेधन र मुनरीकाे प्रेमकथालाई पूर्णतया विस्तार गरिएकाे छ। मूल कथाका वरिपरि उप-कथाहरु थपिएका छन्।_
गाेधन र पञ्चहरुबीच जमिनकाे स्वामित्वलाई लिएर सुरु भएकाे द्वन्द्वलाई पनि फिल्ममा राम्राेसँग विकसित गरिएकाे छ। त्यसरी नै गुलरी काकीले गाेधनलाई मन नपराउने सानाे प्रसङ्गलाई पनि राम्राेसँग विस्तार गरेर देखाइएकाे छ।
यसाे गर्नुकाे कारण रेणुद्वारा लिखित मूल कथा दुई घण्टाकाे सिनेमा बनाउन पर्याप्त थिएन। त्यसैले कथालाई विस्तार गर्नु आवश्यक थियाे, कथामा पात्रहरुका उपकथाहरू थप्नु आवश्यक थियाे, तर यी सबै उपकथा मूल कथाकै सेराेफेराेमा रहेर, मूलकथासँग मेल खाने गरि थपिएकाे छ। जुन हेर्दाखेरि मूलकथाकै अंग लाग्छ। कृत्रिम ढंगले बाहिरबाट जाेडिएकाे जस्ताे लाग्दैन।
थपिएका उपकथाहरूले रेणुकाे ‘पंचलैट’ काे मूल कथालाई कुनै असर पारेकाे छैन। उल्टै यसले सिनेमाई रुपान्तरणमा मूल कथालाई अझ उजिल्याएकाे छ र अझ सुन्दर, राेचक, मनमाेहक र प्रभावकारी बनाएकाे छ। फिल्मकाे कथ्यशैली ‘नन-लिनियर’ छ।
यस कथामा पंचलैटले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे देखिन्छ। पंचलैटले भत्केकाे मनलाई जाेड्छ, टाढा भएकाहरूलाई नजिक ल्याउँछ, पंचलैटकै कारण रिसाएकाेलाई फकाइन्छ र टाेल/समुदायमा फर्काइन्छ, पंचलैटकै कारण सबै एकजुट हुन्छन्। पंचलैटले जब उज्यालाे दिन्छ, तब त्याे उज्यालाेमा जातिकाे भेदभाव पनि मेटिन्छ।
रेणुले यस सरल र सरस कथाकाे माध्यमबाट भारतीय ग्रामीण समाजमा विधमान जातिय विभाजन एवं भेदभावलाई रेखाङ्कित गरेका छन्। गुलरी काकीले गाेधनलाई मन नपराउनुकाे पछाडि जातीय भेदभाव नै मुख्य कारण भएकाे अड्काल काट्न सकिन्छ। गाउँमा वामन (ब्राम्हण) टाेल, राजपूत (क्षेत्री) टाेल, महताे (अछूत) टाेल, अर्थात् जाति अनुसार हरेककाे आ-आफ्नाे अलग-अलग टाेल हुनुले गाउँकाे जातीय विभाजन र भेदभावलाई दर्शाउँछ।
अनि, पँचलैटकाे उज्यालाेले विभाजनका रेखाहरूलाई मेटाइदिएकाे, गाेधन गुलरी काकीलगायत सम्पूर्ण टाेलबासीका लागि स्वीकार्य भएकाे परिघटनाले जातीय छुवाछुत तथा भेदभाव गर्न छाड्नुपर्ने, यस्ताे भेदभावलाई मेटाउनुपर्ने सन्देश दिन्छ। पँचलैटकाे उज्यालाे चेतनाकाे उज्यालोकाे बिम्ब पनि हाे जसले छुवाछूत र भेदभावजस्ता ती सारा विभेदजन्य कुरीतिलाई मेटाइदिन्छ जसले समाजमाथि अँध्यारो ग्रहण लगाइराखेकाे छ। याे महताे टाेल अविकास-असभ्यताकाे अँध्याराेबाट विकास र सभ्यताकाे उज्यालाेतर्फ प्रवेश गरेकाे संकेत पनि हाे।
एउटा पँचलैट बालिदिएर गाेधन सिङ्गाे समुदायकाे लागि स्वीकार्य हुन्छन्। किनभने, त्याे कार्य समुदायकाे सामुहिक हितका लागि हुन्छ। याे प्रसङ्गले जातलाई हेरेर हाेइन, व्यक्तिकाे कर्मलाई हेरेर उसकाे मूल्यांकन गर्नुपर्छ भन्ने कुरालाई स्थापित गर्छ। टाेलबासीले गाेधनकाे कर्मलाई हेरेर उसकाे सरहना गरे, जात हेरेर हाेइन।
रेणुकाे याे कथाले लाेकतान्त्रिक मूल्य-मान्यतामाथि पनि प्रकाश पार्छ। महताे समुदायलाई पँचलैट बाल्न उनीहरूले महत्वहीन ठानेर पाखा पारेका व्यक्ति गाेधनकाे आवश्यकता पर्याे वा भनाैं उसकाे महत्वबाेध गर्याे। र उसलाई फकाएर ल्यायाे वा ल्याउनुपर्याे। यसले देखाउँछ कि गाउँ/टाेल/समुदाय/समाजका लागि यसकाे प्रत्येक सदस्य उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसाे भएकाे हुनाले गाउँ/टाेल/समुदाय/समाजले कसैलाई पनि, चाहे ऊ जाेसुकै हाेस्, हेप्नु हुँदैन। आफ्नाे कुनै पनि सदस्यलाई अवमूल्यन गर्नुहुँदैन। किनभने, गाउँ/टाेल/समुदाय/समाजकाे लागि यसकाे हरेक सदस्यकाे उत्तिकै महत्त्व हुन्छ। लाेकतन्त्रमा प्रत्येक व्यक्ति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश यसले दिन्छ।
रेणुकाे कथामा पाइने आञ्चलिकताकाे स्वाद याे फिल्ममा पनि छुटेकाे छैन। फिल्मका पात्रहरुबीचकाे गाउँले, रैथानेपन झल्किने संवादहरुले दर्शकहरुलाई बाँधेर राख्छ। उनीहरूका अन्तर्क्रियाहरुले रंगमञ्चकाे अनुभूति दिन्छ। फिल्मका कलाकारहरुका अभिनय स्वभाविक छन्। कलाकारहरुले अभिनय गर्दा भावभंगिमामा बढी जाेड दिएर आफ्ना कुराहरु दर्शकहरुलाई बुझाउने १९५० काे दशककाे अभिनयशैलीलाई अनुसरण गरेका छन्। उनीहरूकाे अभिनयशैलीद्वारा निर्देशकले ५० काे दशककाे समयलाई महसुस गराउन खाेजेकाे छ।
फिल्ममा गाेधनकाे भूमिकामा अमिताेष नागपाल प्रभावशाली लाग्छन्। यस फिल्मका लागि एकजना कलाकारमात्र पहिलेदेखि नै ‘फिक्स्ड’ थिए, अनि त्याे कलाकार अमिताेष नै थिए। बाँकी कलाकारहरूलाई भने अडिसन लिएर चयन गरिएकाे थियाे। मुनरीकाे भूमिकामा अनुराधा मुखर्जी पनि सुहाउँदिलाे लाग्छिन्। दुवै ट्रेन्ड एक्टर हुन् र फिल्ममा उनीहरूकाे जाेडी पनि राम्राे बनेकाे छ। उनीहरूकाे अनस्क्रीन केमिस्ट्रीले मन जित्छ।
उनीहरूलाई सह-कलाकारहरु नयना बन्धाेपाध्याय (कनेली, मुनरीकी सँगिनी), पुनित तिवारी (नन्दजी), मालिनी सेनगुप्ता (गुलरी काकी), यशपाल शर्मा (सरपञ्च), इकबाल सुल्तान (आफुलाई कलेक्टर भन्ने एक पञ्च), ब्रिजेन्द्र काला (छडिदार अगानु महताे) आदिले पनि राम्राे साथ दिएका छन्।
फिल्ममा अभिनय गर्ने धेरैजसाे कलाकारहरु ‘सत्यजीत रे फिल्म एंड टेलिभिजन इंस्टिच्युड’ र कलकत्ताका रँगमञ्चका कलाकारहरू हुन्।
‘पंचलैट’ काे निर्देशन प्रेमप्रकाश मोदीले गरेका हुन्। उनले ९ अथवा १० कक्षामा हुँदा रेणुकाे याे कथा पढेका थिए र त्यसबेलादेखि नै उनलाई रेणुकाे याे कथाले खूब छाेएकाे थियाे। जतिपटक उनी याे कथा पढ्थे, यसका पात्र र परिवेशसँग समाहित हुन्थे। ग्रेजुएशनपछि उनले केही समय जागिर गरे। त्यसपछि जागिर छाेडेर रँगमञ्चमा अभिनय गर्न थाले। त्यसबेलादेखि नै उनले आफु कुनै दिन फिल्ममेकर बन्ने र ‘पंचलैट’ माथि फिल्म बनाउने सपना सजाएका थिए। त्यसपछि उनले सहायक निर्देशक भएर काम गर्न थाले। सुरुमा उनले अपर्णा सेनकाे सहायक निर्देशक भएर काम सुरु गरे अनि क्रमश: तपन सिन्हा, अंजुन दत्त, गुलबहार सिंह, श्यामन र जलन, इन्द्रनील गाेश्वामीजस्ता फिल्ममेकरसँग उनीहरूकाे सहायक भएर काम गरे। अनि सन् २०१३ मा आफ्नाे पहिलाे फिल्म ‘कालिम्पाेंग-ए-सितहरण’ (बांग्ला) काे निर्देशन गरे जाे समरेश मजुमदारकाे बंगाली उपन्यासमाथि आधारित थियाे।
‘पँचलैट’ उनले निर्देशन गरेकाे दाेस्राे फिल्म हाे। ‘पँचलैट’ माथि फिल्म बनाउने उनकाे युवाकालदेखिकाे सपना थियाे। राकेश कुमार त्रिपाठीबाट उनले ‘पँचलैट’ काे पटकथा पनि तयार पारे। तर त्यसलाई पर्दामा उतार्न उनले आठ वर्ष पर्खिनुपर्याे। किनभने, काेही पनि याे विषयमा फिल्म बनाउन तयार भएनन्। फिल्मकाे लागि निर्माता पाउनु नै उसलाई आठ वर्ष लाग्याे। तर, निर्माता भेटिसकेपछि भने उनले आफ्नाे भिजनलाई फिल्ममा ढाल्न कति पनि अबेर गरेनन्। आफ्नाे तन-मन लगाएर उनले याे फिल्म बनाए र ‘पँचलैट’ काे रुपमा विशुद्ध गाउँआधारित स्तरीय पारिवारिक फिल्म बनाउन सफल भए। ‘पँचलैट’ ले यु सर्टिफिकेट हासिल गर्याे। रेणुले लेखेकाे कथा त छाेटाे थियाे। कथाकाे एसेन्सलाई कायमै राखेर उनले त्याे छाेटाे कथालाई विस्तार गरेर फिल्मकाे रुप दिए। उनले पर्दामा रेणुकाे कथालाई साकार पारेका छन्।
‘पँचलैट’ काे शूटिङ फिल्मसिटीकाे कुनै सेटमा हाेइन, वास्तविक लाेकेशनमा गरिएकाे थियाे। झारखण्डदेखि ६० किमी भित्र पर्ने देवघर गाउँमा यस फिल्मलाई शूट गरिएकाे थियाे।
यसमा गाउँकाे परिवेश र हर एक चीजलाई जति वास्तविक राख्न सकिन्थ्याे, त्यति वास्तविक राखिएकाे छ। फिल्मकाे लाेकेसनदेखि लिएर कलाकारका पहिरनहरू समेतलाई अथेन्टिक राख्ने काेसिस गरिएकाे छ। प्रेमप्रकाश आफै झारखण्डका भएकाेले उनले फिल्मकाे लाेकेशनकाे लागि याे सुदुर दुर्गम गाउँ आफैले खाेजेर निकालेका थिए, जहाँ आजसम्म कुनै पनि फिल्ममेकरकाे पाइला परेकाे थिएन। यहाँका बासिन्दालाई फिल्मकाे शूटिङबारे केही पनि थाहा थिएन। उनीहरूले यसअघि कहिल्यै फिल्मकाे शूटिङ देखेका थिएनन्। त्यस्तै भेषभुषाहरूका बारेमा पनि उनी र उनकाे टिमले प्रशस्त रिसर्च गरेर, खूब मेहनत गरेर भेषभुषाहरु तयार पारे। अनि, जुनबेला उनीहरूले देवघरमा याे फिल्मकाे शूटिङ गरिरहेका थिए, त्यसबेला पनि त्याे गाउँमा बिजुली थिएन।
यसअघि कहिल्यै एक्सप्लाेर नगरिएकाे काैमार्य लाेकेशनमा याे फिल्मलाई खिचिएकाे थियाे। त्यसैले, भिजुअल्ली, फिल्मकाे लुक निकै सुसंगत छ। फिल्मकाे प्रत्येक फ्रेम सुसज्जित लाग्छ।
स्थानीय काैमाय परिवेशलाई छाँयाकार जाेन सुप्रतिमकाे लेन्सले जसरी कैद गरेका छन्, त्याे लाजवाब छ। वाइड एन्जेल्स लेन्सद्वारा कैद गरिएका केही सजीव प्राकृतिक शटहरूले यस फिल्मलाई ‘एक्स्ट्रा सिनेम्याटिक बुस्ट’ दिएका छन् र कथ्यमा आभा थपेका छन्।
कल्याण सेनकाे पार्श्वसँगीत सुमधुर र सुहाउदिलाे छ। फिल्ममा राज कपूरबाट प्रभावित गाेधनकाे पार्ट आउँदा र उसले माेनाेलग डेलिभर गर्दा पृष्ठभूमिमा राज कपूरकाे गीत ‘आवारा हूँ…’काे धुन सुन्न सकिन्छ। फिल्मकाे संगीत राम्राे छ। राज कपूरकाे फिल्महरूमा जस्तै यसमा पनि गीतकाे प्रयाेग कथ्यकाे स्वभाविक प्रक्रिया सरह गरिएकाे छ।
रेणुकाे याे कथा उनकाे ‘मारे गए गुल्फाम’ कथाजस्ताे हृदयविदारक छैन। बरु त्यसकाे विपरीत मिठासपूर्ण र सुखद् छ। यसले ‘मारे गए गुल्फाम’ जस्ताे मनलाई बटार्दैन बरु मनलाई पुल्कित गर्छ। मनलाई प्रसन्न बनाउँछ।
‘पंचलैट’ रेणुकाे साहित्यिक रचनालाई ताेडमराेड नगरिकन पर्दामा प्रस्तुत गरिएकाे एक इमानदार फिल्म हाे। याे एक ‘फिल गुड’ फिल्म हाे। याे फिल्म रमाइलाे छ। यसमा कुनै नग्नता, अश्लीलला वा गालीगलाैज छैन, न कुनै मारकाटका हिंसात्मक दृष्य नै छ। सपरिवारसँगै बसेर यस फिल्मकाे आनन्द उठाउन सकिन्छ।
‘दाे बिघा जमीन’, ‘मदर इंडिया’, ‘गंगा जमुना’, ‘तीसरी कसम’, ‘साैदागर’, ‘नैयाँ’, ‘नदीया के पार’, ‘लगान’ जस्ता गाउँ आधारित फिल्महरुकाे गाैरवपूर्ण परम्परामा ‘पँचलैट’ पनि सामेल भएकाे छ। एकपटक हेर्नुहाेस् याे फिल्म, यसले तपाईकाे आँखामा आँशु र मुहारमा मुस्कान दुवै ल्याइदिन्छ।
बलिउडमा एक जमाना यस्ताे थियाे, जहाँ हिन्दी साहित्यमाथि फिल्महरू बनाइन्थे। तर, ९० काे दशकपछि त्याे प्रचलन हरायाे। ‘पँचलैट’ ले पुन: त्याे पुरानाे प्रचलनलाई निरन्तरता दिने प्रयास गरेकाे छ, जसलाई सरहना गर्नु जरुरी छ। भारतीय साहित्यसँग पर्दामा प्रस्तुत गर्नका लागि कथाहरूकाे अथाह भण्डार छ। ती कथाहरूलाई पर्दामा ल्याएर आजका नयाँ पुस्ताका दर्शकहरूलाई देखाउने सके, भारतीय साहित्यतर्फ उनीहरूकाे रुचि जगाउन सके अति उत्तम हुनेछ। त्यसैले, साहित्यमाथि फिल्महरू बनाउने प्रचलन पुन: सुरू भए सबैलाई फाइदा हुनेछ। ‘पंचलैट’ यस दिशातर्फ एक सकरात्मक कदम हाे।
@Prabhas733