‘मैड’ एक महिलाले आफ्नो toxic & abusive पतिबाट मुक्ति पाउन र आफ्नो सानी छोरीको कस्टडी हासिल गर्नका लागि गरेको संघर्षको कथा हो। एकरात उनको पतिले उनलाई आफ्नो toxic behaviour ले आतंकित पारेपछि भयभीत भएर उनी आफ्नी दुई वर्षीया छोरीलाई लिई पतिको घर छोड्छिन्। जबकि उनको पछाडि कुनै गतिलो ब्याकअप हुदैन। उनीसँग न कुनै संसाधन हुन्छ, न सम्पत्ति वा पैसा हुन्छ, न जागिर हुन्छ।
उनको पतिले उनीमाथि कोर्टमा केस गर्छ। उनी छोरीको पालनपोषण गर्न असमर्थ भएकीले छोरीको कस्टडी आफुले पाउनुपर्ने जिकिर गर्छ। कोर्टले बच्चाकी आमासँग घर र रोजगार नभएको कारण बच्चाको सुरक्षित भविष्यका लागि आमाले दिगो घर र रोजगारको व्यवस्था नगरेसम्म छोरीको कस्टडी बाबुले पाउने निर्णय सुनाउँछ।
‘मैड’ ले देखाउँछ कि पितृसत्तामा पतिबाट छुट्टिन चाहने महिलाहरुले बच्चाको कस्टडी पाउन कति गाह्रो हुन्छ। किनभने, बच्चाको कस्टडीको लागि कोर्टले आमाले बच्चाको भविष्य सुरक्षित गर्न सक्छन् कि सक्दिनन् भन्ने कुरालाई प्राथमिकता दिन्छ अनि स्वभाविक रुपमा पितृसत्तामा महिला परनिर्भर हुने भएकाले, आफू र आफ्नो छोराछोरीको भरणपोषणका लागि पूर्ण रुपमा पतिमाथि निर्भर हुने भएकोले अनि सम्पत्ति र संसाधनहरुमाथि उनको स्वामित्व नहुने भएकोले उनी बच्चाको सुरक्षित भविष्यको लागि कोर्टसामु कुनै दिगाे आधार प्रस्तुत गर्न सक्दिनन्। फलत: बच्चाको कस्टडी गुमाउन पुग्छन्।
‘मैड’ ले पितृसत्तामा महिलाहरुको मुक्तिको बाटो कति दुरुह छ भन्ने कुरालाई अभिरेखन गर्छ। आफ्नो toxic & abusive पतिबाट छुटकारा पाउन, बच्चाको कस्टडी पाउन, रोजगार पाउन, जीविकापार्जन गर्न, न्याय पाउन, अधिकार पाउन -पितृसत्तामा महिलाहरुलाई कति गाह्रो हुन्छ, यी कुराहरुलाई ‘मैड’ मा देखाईएको छ।
अमेरिकाजस्तो एडभान्स र डेवलव्ड मुलुकमा त महिलाहरुलाई यति गाह्रो हुन्छ भने अन्य अन्डरडेप्लव्ड मुलुकहरुमा झन् कति गाह्रो हुन्छ होला, हामी अनुमान मात्र गर्न सक्छौँ।
यसो हुनुको मुख्य कारण पितृसत्ताको विभेदकारी संरचना, यसको चरित्र हो। पितृसत्ताको श्रमविभाजनअनुसार पैसा कमाएर ल्याउने जिम्मेवारी पुरुषहरुको हुन्छ। तसर्थ, सम्पत्तिको मालिक पनि मूलत: पुरुषहरु नै हुन्छन्। महिलाहरुको जिम्मेवारी घरबार सम्हाल्ने, छोराछोरी स्याहार्ने र चुलाचौकाको काम गर्ने हुन्छ। महिलाहरुमा सम्पत्तिको स्वामित्व हुदैन। यस्तोमा पतिलाई छोड्ने हो भने उनीहरुको न कुनै समाउने हाँगो हुन्छ, न कुनै टेक्ने धरातल। उनीहरुको पछाडि कुनै ब्याकअप हुदैन। पतिलाई छोड्दा उनीहरुको जीवन नै अनिश्चय र जोखिममा पर्न जान्छ।
त्यसैले, पितृसत्तामा पतिले जतिसुकै दुर्व्यवहार गरे पनि, जतिसुकै toxic mascular behaviour देखाए पनि महिला त्यसलाई सहेर बस्न बाध्य हुन्छन्। पितृसत्ताको संरचनाले नै महिलाको अवस्थालाई कमजोर बनाएको छ। महिलालाई निर्बल, निमुखा र असहाय बनाएको छ। पितृसत्तामा कमजोर महिलाले अन्यायी पतिलाई छोड्न नसक्नुको एउटा प्रमुख कारण यो हो।
‘मैड’ की नायिका एलेक्सले आफ्नो toxic & abusive पतिलाई छोड्ने आँट गर्छिन्, बिना कुनै ब्याकअप। उनको सहारा भनेको राज्यले घरेलु हिंसापिडितलाई प्रदान गर्ने सेल्टरमात्र हो। तर यहाँ बस्नलाई पनि उनी अयोग्यसिद्ध हुन्छिन्।
किनभने, यहाँ बस्नका लागि उनीसँग पतिले उनीमाथि घरेलु हिंसा गरेको अर्थात् कुटपिट गरेको स्पष्ट प्रमाण हुनुपर्छ। जबकि उनीसँग उनको पतिले उनलाई कुटपिट गरेको कुनै प्रमाण छैन। उनको पति उनलाई कुटपिट गर्दैनथ्यो। त्यसैले उनले उनको पतिका विरुद्ध प्रहरीमा कहिल्यै पनि कुटपिटको उजुरी दर्ता गरिनन्।
उनको पति उनीमाथि हातपात गर्दैनथ्यो तर ऊ उनलाई दुर्व्यवहार (abuse) गर्थ्यो। एलेक्सले आफुलाई आफ्नो पतिले कुनै दुर्व्यवहार नगरेको जिकिर गरे पनि उनी पतिबाट दुर्व्यवहारमा परेकी हुन्। उनको पति हरेक रात मातेर आउँथ्यो र उनीमाथि चिच्याउँथ्यो। उनलाई अपशब्दहरु बोलेर ह्यारेस गर्थ्यो। उनको छेऊको भित्तामा मुक्का बर्साउँथ्यो। सामानहरु तोडफोड गर्थ्यो। उसले गर्ने दुर्व्यवहार यसप्रकारको हुन्थ्यो। ऊ फिजिकल्ली होईन, मेन्टल्ली ह्यारेस गर्थ्यो। ऊ एलेक्सलाई मानसिक रुपमा आघात पुर्याउँथ्यो। त्यसैले, एकरात एलेक्सले आफ्नी दुई बर्षकी छोरीलाई बोकेर घर छोडिन्। तर, उसले एलेक्सलाई कुटपिट नगरेकोले एलेक्सले न त पुलिसमा कम्प्लेन नै दर्ता गरिन्, न त सरकारको कुनै हेल्पलाईनमा फोन गरेर सहायता नै मागिन्। फलत: पति विरुद्ध दुर्व्यवहारको उनको मुद्दा नै कमजोर बन्न पुग्यो।
‘मैड’ ले घरेलु हिंसालाई सम्बोधन गर्ने मामिलामा अमेरिकी राज्यले गरेको व्यवस्थाको कमजोरीहरुलाई पनि औँल्याएको छ। राज्यको व्यवस्थाले शारीरिक हिंसालाई त चिन्छ तर मानसिक हिंसालाई चिन्दैन। घरेलु हिंसालाई सम्बोधन गर्न राज्यले सँयन्त्र त बनायो तर घरेलु हिंसाको यो आयामलाई सम्बोधन गर्ने सँयन्त्र बनाएन। जस्तै, घरेलु हिंसापिडितहरुका लागि निर्मित सेल्टरमा शारीरिक हिंसाका सिकार भएकाहरु मात्र बस्न पाउँछन्, शारीरिक हिंसा नभोगेका तर मानसिक हिंसाका सिकार भएकाहरु बस्न पाउँदैनन्। मानसिक हिंसामा परेकाहरुले कुनै सब्सिडी वा राहत प्याकेज पाउँदैनन्। उनीहरुले आवश्यक सबै प्रबन्ध आफैले गर्नुपर्ने हुन्छ। राज्यले उनीहरुलाई निशुल्क वकिल वा कानुनी सहायता पनि प्रदान गर्दैन। भन्नुको अर्थ के भने, घरेलु हिंसालाई सम्बोधन गर्ने सँयन्त्र बनाउँदा मानसिक हिंसाको आयामलाई राज्यले देखेन। यसतर्फ राज्यको नजर पुग्न सकेन र यो सम्बोधन गर्नबाट छुट्यो।
त्यस्तै बच्चाको कस्टडी पाउन पीडित महिलाले सम्पत्ति, रोजगार, सुरक्षा आदिको मामिलामा आफुलाई पतिभन्दा अब्बल देखाउनुपर्ने अन्यथा बच्चाको कस्टडी नपाउने प्रावधान छ जुन प्रावधान पिडित महिलामैत्री छैन। पितृसत्ताको सँरचनामा जो पुरुषभन्दा स्वत: कमजोर छन्/हुन्छन्, उनले आफुलाई कसरी पुरुषभन्दा बलियो प्रमाणित गर्न सक्छन् ? तसर्थ, यो प्रावधान विसंगत लाग्छ।
बच्चाको कस्टडी पाउनका लागि महिलासँग आफ्नो शीरमाथि छत हुनुपर्छ अर्थात् सेल्टर/घर हुनुपर्छ। घर भएन भने कोर्टमा राम्रो देखिन्दैन। त्यसैले, त्यस्ती महिलाले तत्काल सडक छोड्नुपर्छ र घरको बन्दोबस्त गर्नुपर्छ। घर पहिलो प्राथमिकता हो। दोस्रो प्राथमिकता जागिर/रोजगार हो। उनीसँग राम्रो जागिर वा रोजगार हुनुपर्छ। राम्रो जागिर अर्थात् राम्रो आय हुनुपर्छ। सरकारले व्यवस्था गरेको सब्सिडिज होम पाउनका लागि दुई महिनाको भुक्तानी दिनुपर्ने हुन्छ अनि मात्र आफ्नो नाम पालोमा चढ्छ त्यसपछि लामो समय पालो पर्खिनुपर्ने हुन्छ। बच्चाको डे केयरको खर्च अफोर्ड गर्न नसक्नेका लागि काम पाएपछि सरकारले सब्सिडिज डे केयर उपलब्ध गर्ने व्यवस्था गरेको छ। अर्थात् सब्सिडिज डे केयर पाउन पनि रोजगार हुनुपर्ने शर्त राखिएको छ। जो बेरोजगार छ, जसको कुनै आय छैन, उसलाई पो सब्सिडिज डे केयर उपलब्ध गराउनुपर्नेमा यहाँ ठीक उल्टो व्यवस्था लागु गरिएको छ। ‘मलाई डे केयरको आवश्यकता छ, रोजगारको आवश्यकता छ भन्ने प्रमाणित गर्न पनि मसँग रोजगार हुनुपर्ने ? कस्तो खाले चुतियप्पा हो यो ?’ एलेक्स प्रश्न गर्छिन्।
सरकारले गरेको व्यवस्था कति अप्रभावकारी छ भन्ने कुरा एलेक्सको निम्न संवादले पनि पुष्टि गर्दछ, ‘मलाई अहिले सात किसिमको सरकारी सहयोग प्राप्त भइरहेको छ। म अहिले आफ्नो क्षमताले भ्याउन्जेल अधिकतम् काम गरिरहेको छु, एक पैसा काटिन दिएको छुईन तर पनि खाना, ग्याँस र डे केयर को-पे मा हरेक हप्ता मेरो ९ डलर अतिरिक्त खर्च हुन्छ। कसरी म कोठाको भाडा तिर्न सक्छु जबकि सब्सिडिज कोठाको पनि एक्ट्रा नौ डलर मैले तिर्नुपर्छ भने। सरकारी मदतकर्ताले यो कस्तो मदत गरिरहेको छ मलाई ?’
अर्को उदाहरण, घरेलु हिंसापीडित महिलाका लागि सरकारले TBRA (Tenant Based Rental Asistance) नामक एउटा कार्यक्रम ल्याएको छ जसमा पिडित महिला आफैले भाडामा बस्न कुनै घर खोज्नुपर्छ र घरधनीलाई घरभाडाको निश्चित अंश छुट गर्ने व्यवस्था गरिएको सरकारी TBRA भौचर स्वीकार गर्न राजी गराउनुपर्छ। एलेक्सले थुप्रै घरधनीहरु समक्ष गएर उनीहरुलाई कन्भिन्स गर्ने लाख प्रयत्न गर्छ तर कसैलाई पनि कन्भिन्स गर्न सक्दैन। ‘म ७०% सम्म भाडा तिर्छु, ३०% मात्र मलाई घरभाडा छुट गरिदिनुहोस्, त्यतिको लागि मात्रै TBRA भौचर स्वीकार गरिदिनुहोस्’ भन्दा पनि कोही पनि मान्दैन। अब, कोठा भाडामा पनि दिनु र घरभाडामा पनि निश्चित रकम छुट गरिदिनु कुन चै घरबेटी राजी होलान् ? यस्तो अव्यवहारिक कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा सामेल छ। यो नीति लागु पनि भईरहेको छ कि छैन, यसबाट लक्षित वर्ग लाभान्वित पनि भईरहेका छन् कि छैनन्, यसको फिडब्याक बुझ्ने लेठो सरकारको सम्बन्धित निकायले गर्दैन।
यसप्रकार, ‘मैड’ ले सिलसिलेवार ढंगले घरेलु हिंसा, दुर्व्यवहार, त्यसको ओझेलमा परेको पाटो, राज्यले घरेलु हिंसालाई सम्बोधन गर्ने क्रममा छुटाएका कुराहरु, यसलाई सम्बोधन गर्न राज्यले बनाएका नीतिनियमहरुको कमजोरी तथा व्यवहारिक कार्यान्वयनको जटिलतालाई पनि देखाएको छ।
अर्को महत्त्वपूर्ण कुरा, ‘मैड’ ले अमेरिकाको बारेमा विश्वभरिकै मानिसहरुमा विधमान एउटा मिथलाई पनि तोडेको छ। त्यो के भने ‘अमेरिकामा स्वर्ग छ। त्यहाँ जान पाए मालामाल भईन्छ। अमेरिकामा त बोटमा पैसा टिप्न पाईन्छ’ भन्ने जस्तो धारणा जुन विश्वभरिका अधिकाँश मानिसहरुमा व्याप्त छ, त्यसलाई ‘मैड’ले झुठ्लाएको छ र अमेरिकाको साँचो चित्र देखाएको छ।
सत्य के हो भने संसाधन नभएको अवस्थामा त्यहाँकै नागरिकलाई पनि अमेरिकामा जीविकापार्जन गर्न अत्यन्त कठिन छ। गरिबहरुलाई त्यहाँ बाँच्न अत्यन्त कठिन छ। त्यहाँ काम पाउन नै अत्यन्त कठिन छ। ‘मैड’ कि नायिका शिक्षित छिन्, उनले पहिले पढ्दा स्कलरशीप पनि पाएकी थिईन्। तर पनि ‘मैड’ को काम गर्न बाध्य छिन्। अमेरिका भन्दैमा एसी कोठामा मेचमा बसेर काम गर्ने भाग्य सबैले कहाँ पाउँछन् र ? कम्तिमा गरिबहरुको त अमेरिकामा त्यस्तो भाग्य हुदैन। उनीहरुलाई त त्यहाँ जीवन धान्नु नै अत्यन्त गाह्रो परिरहेको छ। कठोर श्रम गरेपछि मात्र उनीहरुको हातमा थोरै पैसा पर्छ। अनि, त्यो थोरै पैसामा उनीहरुले गुजारा गर्नुपर्ने हुन्छ जुन बडो मुश्किलले उनीहरु गर्ने गर्छन्।
एक त अमेरिकाको ठाउँमा काम नै पाईन्दैन। बडो मुश्किलले काम पाए पनि धेरै खट्नुपर्छ तर ज्याला थोरै पाईन्छ। शिक्षित र कलेजमा छात्रवृत्ति समेत पाएकी एलेक्सले मैडको काम गर्नुपरेको उदाहरणले नै अमेरिकाको सत्यलाई स्पष्ट पार्छ। राम्रो तलबसहितको राम्रो काम वा सम्मानजनक रोजगार त्यहाँको शिक्षित नागरिकलाई त नसीब छैन भने बाहिरबाट आउनेको के कुरा ?
‘हमको मालूम है जन्नत की हक़ीक़त लेकिन, दिल को बहलाने को ग़ालिब यह ख़्याल अच्छा है।’ अमेरिकाको सत्य पनि यस्तै छ। अमेरिका पनि कल्पनामा मन बहलाउन मात्र मिठो लाग्छ। वास्तविकतामा भोग्दा त अत्यन्त तितो लाग्छ। गाह्रो काम, कठोर श्रम, न्यून ज्याला, त्यस न्यून ज्यालाभित्र मुश्किलले जीविकोपार्जन र शून्य बचत – यहीँ अमेरिकाको गरिब तथा संसाधनविहिनहरुको जीवनको सत्य हो। अमेरिका विश्वका आम मानिसहरुले सोचेजस्तो सपनाको देश वा स्वर्ग पक्कै पनि होईन। ‘मैड’ मा एलेक्सकी आमा पाउला उनको प्रेमीले धोका दिएर उनको घर जुवामा उडाईदिएपछि सडकमा आईपुग्छिन्। त्यसपछि उनी राति सडकमा आफ्नो पुरानो कारमा सुत्छिन्। उनको वरिपरि अरु पनि थुप्रै यस्ता मानिसहरु छन् जो सडकमा कारमा सुत्छन्। उनको कुनै बचत छैन, कुनै बिमा छैन। कुनै गतिलो जागिर वा आयस्रोत छैन। अचानक साह्रो बिरामी परिहाले कुन पैसाले उपचार गर्ने हो, थाहा छैन।
पाउलाले अमेरिकाको जोखिममा परेका निम्न तह र तप्काका, निम्न वर्गीय नागरिकहरुका प्रतिनिधित्व गर्छिन्। के अमेरिका उनीहरुको लागि स्वर्ग छ त ? के अमेरिका उनीहरुका लागि स्वर्ग छ भन्न सकिन्छ ? अवश्य पनि सकिँदैन। अमेरिकामा पनि त सीमान्तमा परेका, किनारामा धकेलिएका नागरिकहरुलाई माथि उठाउने खासै व्यवस्था गरिएको रहेनछ नि त। यो सत्य स्पष्ट देखिन्छ।
‘मैड’ मा एक गरिब महिलाको जीवनको उथलपुथल, दु:खकष्टहरुबाट अविरल रुपमा गुज्रिरहँदा उनले भोगेका भोगाईहरु, प्रतिकुल परिस्थितिहरुमा उनले निरन्तर गरेको स्ट्रगल र जीजिबिषा एकदमै स्पष्टसँग प्रकट भएर आएको छ।
गरिब, साधनहिन वा संसाधनहरुबाट बञ्चित भएता पनि ‘मैड’ मा प्रमुख महिला पात्र एलेक्स र पाउला जुझारु लाग्छन्। उनीहरुमा जीवनप्रति असीम जीजिबिषा पाईन्छ। उनीहरु दुवैको जीवन असुरक्षित छ। उनीहरुसँग सम्पत्ति छैन, गतिलो रोजगार छैन, आयस्रोत छैन, गतिलो सेल्टर पनि छैन। आफ्नो बच्चालाई के खान दिने, के लाउन दिने, उनीहरुको भविष्य के हुने, केही थाहा छैन। उनीहरु स्वयंकै जीवन जोखिममा छ, तर यसका बावजूद पनि उनीहरु पतिको हिंसा सहेर बस्दिनन्। पतिले आफुमाथि अत्याचार गरेको सहँदिनन् र आफ्नो बच्चालाई लिएर आफुमाथि हिंसा गर्ने पतिलाई छोड्ने आँट गर्छिन्।
पहिले पाउलाले आफ्नी छोरी एलेक्सलाई लिएर पतिलाई छाड्दा पनि उनीसँग सम्पत्ति, संसाधन, ब्याकअप केही पनि थिएन र पछि एलेक्सले आफ्नी छोरी म्याडीलाई लिएर पतिलाई छाड्दा पनि उनीसँग केही हुँदैन। न सम्पत्ति, न संसाधन, न ब्याकअप। यसका बावजुद पनि उनीहरु दुवैले अत्याचारी पतिसँग सम्बन्धविच्छेद गर्ने आँट गर्छन् र जिरोबाट स्ट्रगल गर्ने आँट गर्छन्, सा-साना त्यान्द्रोमा समातेरै भए पनि अघि बढ्ने साहस गर्छन्, गरिबी, अभाव, दु:खकष्ट, जोखिम, भोक, प्यास, बिचल्ली भोग्दै पनि चुनौतीहरुको सामना गर्दै जीवनलाई अघि बढाउने साहस गर्छन्।
तसर्थ, ‘मैड’का दुवै प्रमुख महिला पात्रहरु एलेक्स र उनकी आमा पाउला सशक्त लाग्छन्। लडाकु लाग्छन्। मलाई लाग्छ, ‘मैड’ले घरेलु हिंसामा परेका तमाम् महिलाहरुलाई परिस्थितिहरुसँग जुध्न र आफ्नो लागि बाटो बनाउन प्रेरित गर्छ। त्यसैले, यो एक हेर्न लायक क्रिएशन हो। रोचक कुरा, यसमा आमाछोरी पाउला र एलेक्सको भूमिका निर्वाह गर्ने अभिनेत्रीहरु एंडी मेकडोवेल र मार्गरेट कवाल्ले वास्तविक जीवनमा पनि आमाछोरी हुन्।