‘किरदार’:- मानवीय संवेदनाका कथाहरु

प्रभास

मानवीय संवेदनाका मार्मिक कथाहरु भन्ने गर्छन् गुलज़ार। मानवीय सम्बन्धका तानाबानाहरु बुनेर त्यसमा मानवीय संवेदनाका कथाहरु घाेल्ने गर्छन् गुलज़ार। नब्बेकाे दशकमा गुलज़ार दुरदर्शनका लागि एउटा सिरियल ‘किरदार’काे लेखन तथा निर्दैशन गर्ने गर्थे जसमा विभिन्न साहित्यकारहरुका कथाहरुलाई फिल्ममा ढालिन्थ्याे। ती कथाहरु आममानिसका कथाहरु हुन्थे। उनीहरुका उल्झिएका-सुल्झिएका सम्बन्धका कथाहरु, उनीहरुका सुख-दु:खका, हर्ष-बिस्मातका कथाहरु हुन्थे। अमानवीय, विभेदजनक, रुढीवादी र अन्यायपूर्ण सामाजिक मूल्यमान्यता, प्रथापरम्परा तथा प्रचलनहरुका कारण जीवनकाे हाँसाे, खुशी, उत्साह र उमँगहरु खाेसिएकाे वा खाेसिन्दै गएकाे पात्रहरुका कथा हुन्थे। ‘किरदार’ले सामाजिक यथार्थलाई, सामाजिक रुढीवादी मूल्यमान्यताले समाजका सदस्यहरुकाे जीवनमा पार्ने असरलाई मात्र दर्शाउँदैनथ्याे, अपितु समाजकाे अमानवीय र विभेदजनक मूल्यमान्यता तथा प्रथापरम्पराहरुमाथि प्रश्न समेत उठाउँथ्याे। ‘किरदार’का हरेक एपिसाेड २३-२४ मिनेटका हुन्थे, र २३-२४ मिनेटमै यसले ती सारा कुराहरु भनिसक्थे, जुन कुरा एउटा सिँगाे कथा वा अढाई-तीन घण्टा लगाएर कुनै सिनेमाले भन्छ। यही गुलज़ारकाे यस सिरियल ‘किरदार’काे बिशेषता थियाे।

आज सुरुवातमा गुलज़ारकाे ‘किरदार’काे तीनवटा एपिसाेड (कथा) काे चर्चा गर्न चाहन्छु।

‘हाथ पिले कर दाे’:-

यस कथामा एकजना आमा छिन्, अनि उनकी छाेरी छिन्। छाेरी जवान छिन्, उनी कसैसँग प्रेम गर्छिन्। जब आमालाई यसबारे थाहा हुन्छ, उनी आहत हुन्छिन्। उनलाई आफ्नै जवानीकाे दिनकाे याद आउँछ, जब उनी एक ट्रकड्राईभरकाे प्रेममा डुबेकी थिईन्, र त्यसबारे थाहा भएपछि उनकी आमा अति आहत भएकी थिईन्।

जवान छाेरीले कसैलाई प्रेम गर्न थालेपछि आमालाई पिरलाे हुन्छ। कतै छाेरी भागेर पाेईल जान्छिन् र हाम्राे नाक काट्छिन् कि भन्ने पिरलाे, कतै छाेरी कुनै ‘ऐरे गैरे नत्थु खैरे’ सँग भागेर आफ्नाे मानसम्मान र ईज्जतलाई धुलिसात पार्छिन् र समाजमा कसैलाई मुखै देखाउन नहुने पाे बनाईदिन्छिन् कि भन्ने पिरलाे आमालाई हुन्छ।

जवानीमा उनले कसैसँग प्रेम गर्दा उनकी आमालाई यस्तै पिरलाे भएकाे थियाे। अहिले उनकी छाेरीले कसैसँग प्रेम गर्दा उनलाई उस्तै पिरलाे भएकाे छ। उनकी आमाले पनि जवानीमा कसैसँग प्रेम गर्दा उनकी हजुरआमालाई उस्तै पिरलाे भएकाे थियाे हाेला अनि उनकी हजुरआमाले उनकाे हजुरबुवालाई उसाेरी नै राम्राे केटा हेरेर आमाकाे बिहे गरिदिनु भनेकी थिईन् हाेला जसरी उनकी आमाले उनकाे बुवालाई भनेकी थिईन् र अहिले उनी आफ्नाे लाेग्नेलाई भनिरहेका छन्। याे एउटा चक्र रहेछ, कहिले नटुट्ने चक्र जसमा पुस्ताैपुस्तासम्म हाम्राे समाजका महिलाहरु घुमिरहेका छन्।

हाम्राे समाजमा खासगरि, महिलाहरुका लागि कसैलाई प्रेम गर्नु कति वर्जित छ भन्ने यथार्थलाई याे कथाले महसुस गराउँछ। जाे महिला जवानीमा आफु पनि प्रेम गर्छिन्, उही महिला आमा बनेपछि छाेरीलाई प्रेम गर्न राेक्छिन्। जवानीमा जे उनले गरिन्, त्यही जवानीमा उनकी छाेरीले गर्दा उनलाई गलत लाग्छ। यसले प्रेमलाई लिएर हाम्राे घरपरिवार (बिशेषगरि आमा/महिला) काे संकीर्णता र पाखण्डतालाई देखाउँछ। जवान भएपछि छाेरीकाे लागि बर खाेजिन्छ। किन? किनभने, उनले बिहेअघि प्रेम गर्न नपाओस् भनेर। आखिर हाम्राे समाजमा प्रेम किन यतिसाह्राे बर्जित छ? आखिर प्रेमसँग यतिसाह्राे किन डराउँछ हाम्राे समाज? याे एपिसाेडले याे गम्भीर सामाजिक महत्वकाे प्रश्नलाई उठाउँछ। ‘हाथ पिले कर दाे’ गुलज़ारद्वारा लिखित एक कथामाथि आधारित छ।

https://youtu.be/YF7Vwq55uOk

‘कल्चर’:-

काशी र पम्मी एकै उमेरका हुन्। काशी गरिब परिवारमा दु:खकष्ट र अभावमा हुर्किएकी, पम्मी धनी परिवारमा सुखसयल र प्रिभिलेजमा हुर्किएकी। स्कुलकाे मुख देख्न नपाएकी अरुकाे घरमा नाेकर्नी बसिरहेकी काशी, अनि कामकाे नाममा सिन्काे नभाँचिकनै हुर्किएकी, राम्राे कलेजमा बिए पढिरहेकी पम्मी।

काशी र पम्मी, दुवैकाे वर्गीय पृष्ठभूमि एकअर्काभन्दा अलग र एकअर्काकाे ठीक विपरीत छ, दुवैकाे सामाजिक-आर्थिक हैसियत, दुवैकाे शीलस्वभाव अनि दुवैकाे भाग्य पनि एकअर्काभन्दा अलग र एकअर्काकाे ठीक विपरीत छ।

दुवै प्रेम गर्छन्। तर जब आफ्नाे प्रेममा सँकट आईपर्छ, काशी आफ्नाे प्रेमकाे पक्षमा ढृढतापूर्वक अडिग रहन्छे, तर पम्मी आफ्नाे प्रेमकाे पक्षमा कुनै अडान लिन सक्दिनन् र परिस्थितिसँग आत्मसमर्पण गर्छे।

धनी र गरिबका बालबच्चाहरुकाे ‘अपब्रिङ्गिङ’ अलग हुन्छ शायद। आफुले भाेग्नुपरेकाे गरिबीले जहाँ काशीलाई आँटिली र बलियाे मनाेबलकाे बनायाे। त्यही पम्मीले जीवनमा कुनै पनि दुख भाेग्नुनपर्दा उनकाे मनाेबल कमजाेर नै रहिरहयाे। सुखसयलमा हुर्किएकी पम्मीले आफुमाथि परेकाे दबाव झेल्न सकिनन् र टुटिन् जबकि सान‌ैदेखि गरिबीका कारण अनेक दबावहरु खेपेर बाँचेकी काशीलाई त्यस्ताे दबावहरुले ताेड्न सकेन।

याे काशी र पम्मीकाे आर्थिक-सामाजिक परिस्थिति नै हाे, जसले एकजनालाई मानसिक रुपमा दह्राे बनायाे भने अर्काेलाई कमजाेर। याे धनी र गरिब परिवारकाे ‘अपब्रिंगिङ’काे परिणाम पनि हाे। व्यक्तिकाे व्यक्तित्वकाे निर्धारणमा उनकाे सामाजिक-आर्थिक परिवेशकाे निर्णायक भूमिका हुन्छ भन्ने कुरा यहाँनिर पुष्टि हुन्छ।

अनि, यस कथाले गरेकाे प्रश्न पनि उही नै छ। आखिर हाम्राे समाजमा प्रेम (बिशेषगरि महिलाहरुका लागि) किन वर्जित छ? किन हाम्राे अभिभावक/परिवार/समाज सन्तानकाे वैवाहिक सम्बन्ध गाँसिदिनका लागि प्रेमलाई हाेईन, धनसम्पत्ति, जागिर, ओहाेदा, सामाजिक हैसियत, सामाजिक मानप्रतिष्ठा आदिलाई मानक बनाउँछ? प्रेम किन विवाहजस्ताे महत्वपूर्ण सम्बन्धकाे लागि मानक बन्न सक्दैन? प्रेमभन्दा बढ्दा महत्व धनसम्पत्ति, कुलखानदानलाई दिईन्छ। किन? विवाहलाई एक हृदयकाे अर्काे हृदयसँगकाे सम्बन्ध नमानेर एउटा आर्थिक सुरक्षा, सुरक्षित जिन्दगी, सुरक्षित आश्रयस्थलकाे रुपमा लिईन्छ। किन? किन विवाहलाई मनकाे मिलनकाे रुप नदिएर एक सामाजिक-पारिवारिक करारकाे रुप दिईन्छ?

यस्ता थुप्रै प्रश्नहरु याे एपिसाेड हेरेपछि मनमा उठ्छ। आर्थिक पक्षलाई मात्र महत्व दिदाँ कसरी कति हृदयहरु टुटिरहेका छन्? के उनीहरुकाे हृदयलाई ताेडेर आर्थिक सुरक्षामात्र सुनिश्चित गरिदिदाँ उनीहरुकाे जीवन खुशी हाेला त? विवाहलाई अभिभावकहरुले सन्तानकाे खुशीभन्दा बढी आर्थिक-व्यापारिक डिलमात्र पाे बनाउँदैछन् कि? याे एपिसाेडले याे प्रश्नमाथि घााेतिल्न बाध्य पार्छ। ‘कल्चर’ मालती जाेशीकाे एक कथामाथि आधारित छ।

https://youtu.be/MAxbU70m5fI



‘मन धुवाँ धुवाँ’:-

याे एपिसाेड पनि मालती जाेशीकाे कथामाथि आधारित छ। यसले पनि उहीँ प्रश्नहरु उठाएकाे छ। एउटा परिवारकाे भाइ
आफुले मनपराएकाे युवतीलाई बिहे गर्न चाहन्छ तर दाईलाई भाईले मनपराएकाे युवती स्वीकार्य हुदैन किनभने उनी उनकाे पिताकाे बिहे अघिकाे अनैतिक सन्तान थिईन्। समाजमा सबैलाई याे कुरा थाहा छ। अनि, उनीहरुकाे परिवार समाजकाे एक प्रतिष्ठित परिवार हाे। त्यसैले, उनलाई बुहारीकाे रुपमा घरमा भित्राउँदा उनीहरुकाे मानप्रतिष्ठा धुलिसात हुन्छ। उनीहरुकाे ईज्जत माटाेमा मिल्छ। भाइ दाईलाई सम्झाउन खाेज्छ कि आमाबाबुले बिहे अघि उनलाई जन्माए त उनकाे के दाेष? अनि, फेरि उनकाे बाबुले उनकाे बारेमा थाहा पाएपछि आफुसँग ल्याएर छाेरीकाे रुपमा स्वीकारेर लालनपालन गरेका थिए, शिक्षादीक्षा दिएका थिए। हामीले उनकाे विगतलाई वा आमाबुवाकाे दाेषलाई किन हेर्ने? उनकाे गुणलाई पाे हेर्नुपर्छ। भाइ मानवीय आधारमा उनलाई मूल्यांकन गराै भन्छ तर अर्थाेडक्स दाईलाई आफ्नाे इज्जतकाे चिन्ता छ, समाजले के भन्छ भन्ने चिन्ता छ, मान्छेहरुले के भन्छन् भन्ने चिन्ता छ, आफ्नाे कथित सामाजिक मानप्रतिष्ठाकाे चिन्ता छ तर आफ्नाे भाईकाे खुशीकाे, उनकाे सुखद् जीवनकाे कुनै चिन्ता छैन।

यस्ताे किन हुन्छ कि व्यक्तिलाई आफ्नाे परिवारकाे सदस्यकाे खुशीभन्दा आफ्नाे कथित सामाजिक प्रतिष्ठा प्याराे बन्न पुग्छ? आफ्नाे घरकाे सदस्यकाे भन्दा बाहिरका मान्छेहरुकाे चिन्ता बढी हुन्छ? आमाबाबुले गरेकाे गल्ती/ दाेष/त्रुटि वा सामाजिक आचारसंहिता विपरीतकाे कर्मकाे भागिदार तिनीहरुकाे सन्तानलाई बनाउन खाेज्नु कति न्यायसँगत कुरा हाे? के याे न्यायसँगत कुरा हाे कि अमानवीय कुरा हाे? भाईलाई सम्झाउन अर्थात् थप दबाव दिन दाईले आफ्नी बहिनी (भाईकी दिदी) लाई समेत तार दिएर बाेलाएकाे छ। दिदी भाईकाे चाहना बुझ्छिन् तर पनि उनी दाईकाे पक्षमा उभिन बाध्य छिन् तर घरमा एउटा सदस्य छन्, जाे घरमा जे भईरहेकाे छ, त्यसमा गलत देख्छिन्। उनकी भाउजू। जाे चाहन्छिन्, सामाजिक प्रतिष्ठा वा परिवारकाे खातिर देवरले कसैलाई बेमनले विवाह गरेर घरमा नल्याउन्। किनभने, बेमनले कसैलाई विवाह गर्दा उनले पतिबाट त्याे मानसम्मान, इज्जत र माया पाउँदिनन् जसकाे उनी हकदार छिन्, र उनकाे जिन्दगी बर्बाद हुन्छ, उनकाे जिन्दगी नर्क बन्छ, जसरी दाई चै ले पिताकाे ईज्जत र परिवारकाे मानप्रतिष्ठाकाे खातिर आफुले मनपराएकाे युवतीलाई छाेडेर उनलाई बिहे गर्दा उनकाे जिन्दगी नर्क बन्याे।

https://youtu.be/BRhUHKQOAOU



‘किरदार’ले उठाएका प्रश्नहरु यिनै हुन्। मानिसकाे/परिवारकाे सदस्यहरुकाे खुशी ठूलाे कि कथित सामाजिक मूल्यमान्यता, इज्जत र मानप्रतिष्ठा ठूलाे जाे अक्सर अमानवीय, रुढिवादी, सामाजिक हायरार्की र विभेदहरुमाथि उभिएकाे हुन्छ? मानिसलाई मानवीयताका आधारमा व्यवहार गर्ने कि सामाजिक प्रथापरम्परा, प्रचलन वा मूल्यमान्यताका आधारमा व्यवहार गर्ने जुन अमानवीय वा अन्यायपूर्ण भए पनि हाेस्। के गर्ने? परिवारकाे सदस्यकाे ईच्छा, आकाँक्षा र चाहनाकाे ख्याल राख्ने कि समाजले के भन्छ त्यतातिर ध्यान दिने? घरभित्रकाे मान्छेकाे ईच्छाअनुसार के गर्दा उनीहरुकाे जीवन सुखी र खुशी हुन्छ त्याे गर्ने कि समाजले के भन्छ? मान्छेहरुले के भन्छन् त्याे गर्ने? परिवारकाे खुशीकाे चिन्ता गर्ने कि आफ्नाे कथित इज्जत, मानप्रतिष्ठाकाे चिन्ता गर्ने? न्याय, मानवता, तर्क, विवेककाे आधारमा सम्बन्धहरुकाे निर्धारण गर्ने कि धन, सम्पत्ति, शक्ति, सामाजिक हैसियत र मानप्रतिष्ठाकाे आधारमा गर्ने?


मलाई लाग्छ, मानवीय सम्बन्धहरुकाे निर्धारण मानवीयता र न्यायकाे आधारमा गरिनुपर्छ। धनसम्पत्ति, हैसियत, सामाजिक प्रभाव, कथित मानप्रतिष्ठाका आधारमा हैन। मानवीय सम्बन्धकाे कसी त उनीहरुकाे मन कतिकाे मिल्छ? उनीहरु आपसमा मिल्दा कतिकाे खुशी हुन्छन्, याे कुरा पाे हुनुपर्छ। मानिसकाे ईच्छा, चाहना र खुशीलाई नै केन्द्रमा राखिनुपर्छ कुनै पनि सम्बन्धकाे निर्धारण गर्दा। जहाँसम्म सामाजिक मूल्यमान्यता, प्रथापरम्परा, प्रचलन, समाजले के भन्छ भन्ने कुरा छ, समाज भनेकै मानिस र उनीहरुकाे अन्तर्क्रियाकाे याेगफल हाे। सामाजिक मूल्यमान्यताहरु समाजलाई सभ्य र सुव्यवस्थित बनाउनकै लागि निर्माण गरिएका हुन् र ती परिमार्जन पनि हुँदै जानेछन्। समाजविकासकाे क्रममा मूल्यमान्यताहरुकाे पनि निर्माण र विनिर्माण हुँदै जानेछन्। त्यसैले, प्रश्न सामाजिक मूल्य मान्यताहरुकाे अक्षुण्णताकाे हाेईन। प्रश्न समाजलाई झन् धेरै सभ्य, मानवीय र न्यायिक बनाउने हाे। मानिसकाे जीवनलाई अझ बढी सुखी र खुशी बनाउने हाे। जीवन साध्य हाे, सामाजिक मूल्यमान्यता साधन मात्र हुन्। जीवनकाे लागि सामाजिक मूल्यमान्यता हाे, सामाजिक मूल्यमान्यताका लागि जीवन हाेईन।

हाम्राे समाज हायरार्कीकाे जगमा उभिएकाे समाज हाे। यहाँ असमानता छ। धनी-गरिब, हुने खाने-हुँदा खाने, शक्तिशाली-कमजाेर, समाजमा जुन पदसाेपानतन्त्र छ, त्यसैकाे आधारमा सम्बन्धहरुकाे पनि निर्धारण गर्ने प्रयास गरिन्छ, र त्यस‌ैले धेरैकाे जीवनलाई नर्क बनाएकाे छ, उनीहरुकाे जीवनलाई भताभुँग बनाएकाे छ, धेरैकाे खुशीहरु खाेसेकाे छ अनि मानवीय जीवनहरुलाई नै बिषादपूर्ण बनाएकाे छ। ‘किरदार’ले यही तिताे सत्यतर्फ ध्यानाकर्षण गराउँछ।

मानवता, न्यायपूर्णता र मानिसकाे खुशीलाई केन्द्रमा राखेर सम्बन्धहरुकाे निर्माण र विनिर्माण गराैं। यदि यसमा सामाजिक मूल्यमान्यताहरु बाधक बन्छन् भने त्यसलाई बदलाैं, परिमार्जन गराैं। इज्जत, सामाजिक मानप्रतिष्ठाका मानकहरु अन्यायपूर्ण, अमानवीय र विभेदपूर्ण छन् भने त्यसलाई पनि बदलाैं। सुन्दर, सभ्य र सुसँस्कृत समाज बनाउँदै लैजानुछ भने अहिले हाम्राे समाजमा विधमान अमानवीय, रुढिवादी र विभेदपूर्ण सामाजिक मूल्यमान्यता, प्रथापरम्परा, प्रचलन सबैलाई बढारेर फ्याँक्नुपर्छ। आफ्नाे मनबाट, दिमागबाट, व्यवहारबाट, घरबाट, परिवारबाट, गाउँ, टाेलबाट…बढारेर फ्याक्नुपर्छ।


‘किरदार’का पात्रहरु लाचार देखिन्छन्, उनीहरु विद्राेह गर्न सक्दैनन् तर उनीहरुकाे दुख, पीडा, वेदना, सुस्केराहरुबाट गुलज़ारले ‘किरदार’ मार्फत् भन्न खाेजेकाे कुरा यही हाे, ‘मानिसहरुकाे खुशी खाेस्ने हाम्राे सामाजिक मूल्यमान्यता, प्रथापरम्परा र प्रचलनहरुलाई बदल्नुपर्छ। त्यसका विभेदकारी र अन्यायपूर्ण मानकहरुलाई भत्काउनुपर्छ। मानिसहरुलाई आफुखुशी, आफ्नाे ईच्छाअनुसार जिउन नदिने रीतिथितिहरु सबैलाई बदल्नुपर्छ।’

मा प्रकाशित