शान्तिको सन्देश बोकेर मेची महाकाली साइकल यात्रा पूरा गरेका बर्सात क्षेत्रीलाई विशेष सम्मान

सविन प्रियासन

घोराही,९ दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल पत्रकार महासङ्घ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) दिपक श्रेष्ठ तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले क्षेत्रीलाई नेपाली टोपी र खादा ओढाएर सम्मान गर्नुभएको थियो।
सम्मान कार्यक्रममा वक्ताहरूले क्षेत्रीले देशका विभिन्न भूभागमा साइकल यात्रा गर्दै शान्ति, सहिष्णुता र सकारात्मक सन्देश फैलाएको उल्लेख गर्दै उहाँको साहस, समर्पण र दृढ इच्छाशक्तिको प्रशंसा गरेका थिए। उनीहरूले युवापुस्ताले समाजमा सकारात्मक परिवर्तनका लागि यस्ता सिर्जनात्मक र प्रेरणादायी अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।
सम्मान ग्रहणपछि बोल्दै साइकल यात्री बर्सात क्षेत्रीले आफ्नो यात्राको मुख्य उद्देश्य शान्तिको कामना, राष्ट्रिय एकता र आपसी सद्भावको सन्देश प्रवाह गर्नु रहेको बताउनुभयो। यात्राका क्रममा देशका विभिन्न स्थानका नागरिकसँग भेटघाट गर्दै शान्तिपूर्ण समाज निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको अनुभव प्राप्त भएको उहाँले सुनाउनुभयो।
क्षेत्रीले १६ दिनको अवधिमा मेचीदेखि महाकालीसम्मको लामो साइकल यात्रा सफलतापूर्वक सम्पन्न गर्नुभएको हो। यात्राका क्रममा विभिन्न जिल्ला र सहरहरू पार गर्दै उहाँले शान्ति र सामाजिक सद्भावको सन्देश प्रवाह गर्नुभएको थियो। गृहनगर फर्किएपछि स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाले उहाँको अभियानको प्रशंसा गर्दै सम्मान गरेका छन्।
यस सम्मान कार्यक्रमले क्षेत्रीको अभियानप्रति सम्मान व्यक्त गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने कार्यप्रति सबैलाई प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID