आज मलाइ मेरो बलापन को साथीको याद आयो। बिर्सन चाहेको त हैन मैले उसलाई, तर हरेक पटकका सम्झनाका कारण भने पक्कै हुने गर्दछ्न। घटनाहरूले पटक पटक उसलाई मेरो सामुन्नेमा उभ्याइ दिन्छ।
आज पनि बिहानै हातमुख धोएर तौलियाले मुख पुछ्दै थिएँ । डोली फर्काउन माइत आएकी छोरीले लाडे पर्दै सोधी – बाबा के भाको रे, निधार मा हजुरको ?
पहिलो पटक देखेको पनि हैन । नयाँ दुलाहा साथमा हुँदा के सोधुँ, के सोधुँ भएरै सोधी सायद । मेरो दाहिनेपट्टि निधारमा भएको टाटोलाई ।
ग्वालामा रूखछुत खेल्दा बिनयले स्वामीको हाँगो हाल्लाइ दियर खासाल्दा काटेको, अझै निधारलाई खतले छोडेको छैन। सँधै त वास्ता हुँदैन तर यस्तै पर्दा सम्झना आउँछ। भल्भल्ती बगेको रगत , हत्तपत्त आफूले लगाएको नयाँ बन्डीले मेरो टाउको कसेर बाँधिदिएको । आमालाइ मैले लोटाएको नभनेस् भनेर कसम खुवाएको । १५ दिनसंम्म भैंसी फर्काउने जिम्मा लिएको। आज म ४१ पुगेँ । म १९ को हुँदा जन्मेकी छोरीको अस्ति बिवाह भयो। उसको मुखबाट अनायासै निस्केको प्रश्नले मलाइ २७ वर्ष पछाडि पुर्यायो।
विनय मेरो मिल्ने साथी। उमेरमा समान । सायदै बालादौंतरी यति अभिन्न कमै हुन्छन । स्कुल सँगै, ग्वाला सँगै, घाँस काट्न सँगै, अलि ठूलो हुँदै गयो, बन सँगै, हुँदा हुँदा आँठो जोडिएको बारी सानो हुँदा हलीको पछाडि पछाडि झोला बोकेर मकैको दाना खसाल्दै डल्लाले हानाहान गर्ने संँगै। अलि ठुलो हुँदा एउटाले अर्काको गोरुलाइ हक्लाउँदै जोत्ने पनि संँगै । पढाइ हामी दुवैको औसत नै हो तर मैले पढ्न त्यत्ति जाँगर गरिन, उ चाहिँ मास्टरको छोरा भएर पनि होला । नचाहेर पनि पढ्नैपर्ने ।
आठ कक्षामा पुग्दा उमेरले मलाइ काम थमाइदियो, उसलाई पढाइको बोझ । जिल्लास्तरीय परीक्षाको तयारीबाट उ आमाको आँखा छलेर भेटन आउनपर्ने भो । म कामको मेलो सकेर । ८ कक्षापछि उ अर्को स्कुल गयो । म पढाइलाइ बिट मारेँ । केही बर्षको खेती किसानीपछि गाउँमा समयअनुसारको सानो तिनो व्यापार गरेर बसेको छु।
२ दिनको बसाइ पछि छोरी जुवाइँ घर लागे । नयाँ जुवाइँ चलनअनुसारको सेवा सत्कार गर्नैपर्ने। यता आएका ग्राहकलाई पनि हेर्नैपर्ने । कष्टकरै बिते २ दिन। खाना खाएर काउण्टरमा जम्मा भएका २/३ वटा पत्रिका लगेर खटियामा बसे । समाचारका शीर्षक, मासुको भाउ, राशीफल, कम्पनीका प्रचार यस्तै यस्तै मा हो मेरा आँखा जाने खासमा । ग्राहक बिँयाल्न पसलमा पत्रिका नियमित गरेको ।
पत्रिकाका पाना फर्काउँदै हेर्दै गर्दा चिने चिनेजस्तो लाग्ने पासपोर्ट साइजमा फोटो देखेँ । अलि राम्ररी नियाल्दा मेरो विनय । ‘अतीतको स्मरण, भविष्यको खोजी’ ठुला अक्षरमा हेडिङ लेखिएको । ‘मित्रलाई पत्र’ नामक स्तम्भमा लेखेको चिठ्ठीरुपी लेख । छेउमा लेखक भनेर फोटो अनि फोटोको मुनि विनय शर्मा । ओँठमा मुस्कानसँगै खै किन हो, गह पनि रसाए । यता उता हेरेर आँखा पुछेँ ।
अहिले पढुँ कि, भरे सुत्नु पैले पढ्छु एकछिन सोचेँ । फोटो हेरेँ, अलि तल कमाभित्र अलि ठुला अक्षरमा लेखिएका वाक्यहरू पढेँ । ‘व्यक्तिगत जीवन, मानब जिवनको मुक्तिको सङ्कल्पको अगाडि साहायक हो । ‘जीवन जिउनको लागि मात्र हैन हज्जारौं जिवन, लाखौँ करोडौँ जीवनलाई बाँधेर राखेको साङ्लो चुँडाल्न खर्चिनुपर्छ जीवन, मान्छे भएर मान्छेमाथिको अत्याचार भत्काउन जुटनु पर्छ जीवन’ भन्ने जीवनहरूको समीक्षा गर्ने बेला आयो कि ?’ यत्ति पढेपछि मैले साँझ सबै पढ्ने निधो गरेँ । पत्रिका पटाएर टाँडीमा राखेर काममा लागेँ । बेलुकी खानापछि पत्रिका लगेर बिस्तरामा गएँ र पढन थालेँ ।
प्रिय साथीहरू, नमस्कार,
स्वस्थताको कामना गर्दछु ।
म तपाईंहरूको साथी विनय । जीवनको मध्यम अवस्थामा सञ्चारको सहाराले साथीहरू माझ उपस्थित भएको छु । स्कुले जीवनपछि सबै आ-आफ्नो काममा लाग्यौँ । पढाइ, जागिर, किसानी राजनीति धेरैतिर । म माओवादी जनयुद्धमा लागेँ । विचार, सिद्धान्त, पक्षधरता स्वभाविकै सबैका आफ्ना-आफ्ना हुने गर्दछन । म सबैको विचारलाई सम्मान गर्न चाहन्छु ।
बुवा शिक्षक, खान पुग्ने जग्गा जमिन, यसको जीवन नहोला आधारभुत आवश्यकता सजिलै पूरा हुन्थे । तपाईंहरू सबैलाइ थाहा छ, म स्कुलमा विवाद गर्नेभन्दा मिलाउनेमा गनिन्थेँ । दादागिरी हैन, साथीगिरी मै रमाउथेँ । घमण्डी, रवाफी, प्रभुत्व जमाउने स्वभाव पनि थिएन । म सबैसँग मिलेरै रमाउथेँ ।
मलाइ याद छ, कृषि प्राक्टिकलमा बारी खन्न साथीलाई सहयोग गर्थेँ । कहिलेकाहीँ स्कुल न आउँदा साथीलाइ पानी चार्दिन बाहेकको काम कैले अर्हाइनँ । आफै भन्नू, मलाई जानाजान मृत्युसंँग खेल्ने जनयुद्धमा लाग्न केले प्रेरित गर्यो ? किन लागेँ माओवादीमा ? सायद म गिरफ्तार परि वेपत्ता हुँदा मृत्यु (हत्या) भएको हल्ला आउँदा साथीहरूले त्यो बेला ब्यक्त गरेको सहानुभुति आज भोलि सुन्छु । सबैलाई धन्यवाद दिन चाहन्छु । म तपाईं सबैको कामनाले पनि होला सायद आज यो पत्र लेख्ने अवस्थामा छु । म समाज रूपान्तरणको पवित्र चाहनाले माओवादी जनयुद्धमा लागेँ । मुक्ति या मृत्यु बाहेकको अर्को भिन्नै कुनै व्यक्तिगत उद्वेश्य थिएन।
साथीहरू, मैले तत्कालीन समाजमा ठूलो अन्याय देखेँ, भयंकर अत्याचार देखेँ । ३ कक्षासम्म तेस्रो हुने गया प्रसाद ४ कक्षामा पढन पाउँदैन । जमिन्दारकोमा कमैया नबसी धरै छैन । सबैले पानी भर्ने जरुवामा पानी भर्न नपाएर अलि तल बालुवा खोस्रेर पानी सङ्लाउँदै भर्दै गर्ने बुकाली काकीका बगाल झाडाबान्ताले सोत्तर हुन्छन । जीवनभर बाजेको काम गरेको रनपुरे नि: शुल्क बाँडेको टिभीको औषधि लिन जाने गाडी भाडा नभएर थलिएर मर्छ । भैँस्रानेका बाजे, बा र आफूले पसिना बगाएर बनाएको जमिन कुत नतिरेको बहानामा खोसिन्छ । श्रमिकको श्रमलाई उचित ज्याला दिनुपर्छ भन्ने बिष्णु माडसाबलाई राज्य बिप्लबको मुद्दा लगाई जेल हालिन्छ । राज्यले नै जनतामाथि विभेदको नीति बनाएर दमन गर्छ ।
सेनालाइ ऐन र ठुलालाई चैनको अवस्था व्यवस्थाले नै स्थापित गर्छ । अनि यो अत्याचारको अन्त्य नै मेरो जीवनको लक्ष्य बन्यो । बल तागतमा टिक्ने, जनतालाई अविवेकी ठान्नेका विरुद्ध जनतालाई सचेत बनाउनैपर्ने थियो । शक्तिको अगाडि शक्तिशाली हुनैपर्ने थियो । जनताको चेतना बदल्न हौसला आवश्यक थियो । त्यसैले मैले मृत्यु स्वीकारेर जनताको हौसला बन्ने लक्ष्य लिएँ ।
व्यवस्थाले गर्ने विभेद आज अन्त्य भएको छ । हुकुममा शासन चलाउने चलन अन्त्य भय । मान्छेले मान्छेलाई गर्ने हरेक विभेद कानुनले रोक्छ । राजनैतिक व्यवस्था बदलियो । संघीयता घोषणा भयो । फुलबारी भनिएको देश साँच्चिकै सबै फूलहरूको विशेषताअनुसार फुल्न पाउने भए । सहिदहरूको वलिदानले बनेको नयाँ नेपालमा हामी मौलाउँदै छौँ । म कालले छलेर छोडेकोले गर्व गर्ने भएको छु ।
परिवर्तनमा योगदान हामी सबैको छ । परिवर्तनको विरुद्ध सायदै हामीहरू कोही लाग्यौँ । झण्डा आ-आफ्नो बोक्यौंँ होला, विचार आ-आफ्नो राख्यौंँ होला तर निरङ्कुश मुर्दावाद सबैले भन्यौंँ । परिवर्तन जिन्दावाद सबैले पक्कै भन्यौंँ । हाम्रो योगदान, यो परिवर्तनमा सबैले गर्व गर्न लायक भूमिका निभाएका हौंँ ।
व्यवस्था बदलियो । तह तहको सरकार बने । जनता उत्साहित भए । सफल भएको नैतिक महसुस सबैले गर्यौंँ ।
समय बित्दै गयो । घटना घट्दै गए । व्यवस्था चलाउनेहरूको चालचलन चित्त नबुझ्ने हुँदै गयो । कमरेड देख्दा भाग्ने विकृति आज कमरेडलाई गिज्याउने भयो । आवश्यकताको सिद्धान्तलाई जसरी पनि धन आर्जनले चलाउन थाल्यो । देश चलाउने आशा गरेकाले ग्याङ चलाउन थाले । आन्दोलनमा योगदान गरेकाहरूलाई यात्राको बाटो पहिल्याउन गाह्रो हुन थाल्यो । चाकडी विरुद्धको आन्दोलनको योद्धा जिउनको लागि चाकडी गर्न बाध्य भए । नजान्नेहरू गुमनाम हुन थाले ।
देश नयाँ बनाउने ठाउँमा भएकाहरूले किन भएँ ? कस्ले बनायो ? बनेर के गर्ने ? भन्ने कुरा तौलिया लगाएका लचकदार कुर्सीमा बसेको दिनबाट भुल्न थाले । राजसी ठाँटले, सोच्ने तरिका बदल्न थाल्यो । यो हामी सबैको साझा समस्या हो । हिजो हामी देखिने दुश्मनसंँग लड्यौंँ । आज हामी, हामी भित्रकै दुश्मनसंँग लडौंँ । आजको दुश्मन अलि खतरा छ । हाँसेर रेट्छ ।
आफ्नो आफ्नो झन्डामा लागेको सहिदको रगत हेरौंँ । वलिदानसंँग जोडिएको विचार बुझौंँ । निरास मनस्थितिका अनुहार हेरौंँ । अनि एकपटक सबैले नयाँ संकल्प गरौंँ । कलंकहरु मेटाउँ । नेपालीप्रति विश्वको लालसा जगाइदिउँ । म हैन नेपाली बन्ने संस्कारको विकास गरौंँ । चेतनालाई कैदमुक्त गरौंँ । क्रियाशील विवेक र कर्मशील हातहरूले नेपाललाई उज्ज्वल बनाउँ ।
विनयको लेख पढ्दा पढ्दै मेरा गह रसाएर आए । मेरो प्रिय साथी विनय देशमा भएको राजनीतिक आन्दोलनमा सहभागी बनेको रहेछ । र मृत्युको कालो छाया उसको वरीपरी मडारिएको बेला पनि उ अविचलित भएर क्रान्तिको लागि योगदान गरेको रहेछ । यो थाहा पाएर विनयप्रतिको मेरो मनमा रहेको सद्भाव र माया थप अग्लिएको महसुस गरेँ ।
यतिका धेरै कष्टसाध्य बाटो हिँडेर जनयुद्धका कठीन दिनहरूदेखि शान्तिप्रकृयासम्म आइपुग्दा उसले भनेको जस्तो समानता समाजमा लागू हुन किन नसकेको ? के उसले भनेको जस्तो समाजमा कायम रहेको ठूलो अन्याय र भयंकर अत्याचारको अन्त्य भएको छ त । उसँगको भेटमा जरुर सोध्नेछु ।