गढवाको आदर्श रात्री आ.वि.मा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ५१९ जनाले लिए सेवा

आलोक भावुक

गढवा, ३० जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकाको कार्यालय र सञ्जिवनी टिचिङ हस्पिटल प्रालि, घोराही दाङको संयुक्त आयोजनामा शनिबार गढवा गाउँपालिक वडा नम्बर ३ स्थित आदर्श रात्री आधारभूत विद्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्थानीय नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा विभिन्न रोगहरूको परीक्षण, स्वास्थ्य परामर्श, औषधि वितरण, एक्स-रे तथा प्रयोगशाला परीक्षण लगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो।

शिविरमा कुल ५१९ जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विभागगत विवरण अनुसार मेडिसिनतर्फ १६२ जना, अर्थोपेडिक (हाडजोर्नी) तर्फ १७६ जना, स्त्री तथा प्रसूति रोग (गाइने) तर्फ ३० जना, बाल रोग (पेडियाट्रिक) तर्फ ५४ जना, नाक, कान तथा घाँटी (ईएनटी) तर्फ २८ जना तथा शल्यचिकित्सा (सर्जरी) तर्फ ६९ जनाले सेवा लिएका थिए। त्यसैगरी शिविरमा १२३ जनाको एक्स -रे तथा ९० जनाको प्रयोगशाला (ल्याब) परीक्षण समेत निःशुल्क रूपमा गरिएको आयोजकले जनाएको छ।

विशेषज्ञ सहितको टिममा डाक्टर ईरफान शेख जनरल फिजिसियन, डाक्टर राजु ढकाल जनरल सर्जन, डाक्टर सन्दिप पोख्रेल बालरोग विशेषज्ञ, डाक्टर सुनिल कुमार चौधरी हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ, डाक्टर विवेक कुमार चौधरी प्रसुति तथा स्त्री रोग विशेषज्ञ, डाक्टर जिसन धोज केसी रेडियोलोजिस्ट, डाक्टर सुवर्ण बिएम नाक कान घाँटी विशेषज्ञ लगायतका अन्य स्वास्थ्य कर्मीहरुको टोली शिविरमा सेवा दिनु भएको हो।

शिविरप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। विशेषगरी आर्थिक अवस्था कमजोर भएका, स्वास्थ्य संस्थासम्म सहज पहुँच नभएका तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसकेका नागरिकहरूलाई शिविरले प्रत्यक्ष लाभ पुर्‍याएको गढवा गाउँपालिका वडा नं.३ का वडाध्यक्ष तुलसीराम अधिकारीले बताउनुभयो।

कार्यक्रमका अवसरमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै गाउँपालिकाले नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै जानेछ। नागरिकको स्वास्थ्य नै समृद्ध गाउँ निर्माणको आधार हो।”

गढवा गाउँपालिका–३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले गाउँपालिकाले ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकलाई लक्षित गर्दै स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो।

शिविरमार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको र यस प्रकारका कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID